मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ २२ आइतबार
  • Sunday, 05 February, 2023
२०७९ मङ्सिर १२ सोमबार ०८:२०:००
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

अमेरिका किन कैदीको श्रमबारे बहस गरिरहेको छ ?

अमेरिकाका सात राज्यले कैदीलाई कामबापत केही पनि भुक्तानी दिँदैनन्

Read Time : > 2 मिनेट
२०७९ मङ्सिर १२ सोमबार ०८:२०:००

८ नोभेम्बरमा अमेरिकाले आफ्ना सिनेटर र कंग्रेसम्यान (सांसद) चयन गर्ने सिलसिलामा पाँच राज्यका मतदाताले दासत्वको उन्मूलन अपवादरहित ढंगले गर्ने कि नगर्ने ? भन्ने एउटा निकै वजनदार प्रश्नको सामना गरे । अलाबामा, ओरेगन, टेनेसी र भर्माेन्ट राज्यका मतदाताले अनिच्छित दासतालाई उन्मूलन गर्ने जवाफ दिएर प्रस्तावलाई पास गरे । लुजियानामा भने यो प्रस्ताव फेल भयो । दासत्वलाई प्रतिबन्धित गर्ने अमेरिकी संविधानले दोषी ठहर अपराधीहरूलाई नसमेट्ने भएकाले यो मतदान प्रक्रियाले त्यो अपवादको अन्त्य गर्ने भन्दै अभियन्ताले यो जनमत संग्रहको माग गरेका थिए । यस्तै प्रस्ताव सन् २०१८ मा कोलोराडोमा र सन् २०२० मा नेब्रास्का र उटाह राज्यमा पारित भएका थिए ।

अमेरिकामा कैदीबन्दीलाई कुन सर्तमा काममा लगाइन्छ र त्यो कामले उनीहरूलाई कसरी रूपान्तरण गर्छ त ? गृहयुद्धको अन्त्यमा पारित अमेरिकी संविधानको १३औँ संशोधनले अपराधमा दोषी ठहर मानिसहरूको हकमा बाहेक सबैखाले दासताको अन्त्य गर्‍यो । यहाँका १६ राज्यका राज्य–संविधानमा पनि दुरुस्तै यही भाषा छ । यो अपवादले श्रम–दण्डको दीर्घ परम्परालाई वैधानिकता प्रदान गरेको छ । कैदीबन्दीलाई सुधार्न कारागारमा राख्दा लागेको लागत उठाउन कैदीहरूलाई काममा लगाउने यो परम्परा १८औँ शताब्दीदेखिकै हो । (कारागारका प्रवर्तक बेन्जामिन रस निरन्तर श्रमले ‘शरीरलाई अनुशासित बनाउँछ, नयाँ बानीहरू सिकाउँछ र हराएको सद्गुण पुनः प्राप्ति गर्न सघाउँछ’ भनी लेखेका छन् ) ।

अहिले अमेरिकाका राज्य र संघीय कारागारहरूमा १२ लाख वयस्क कैदीबन्दी छन्, जसमध्ये आठ लाखले श्रम (काम) गर्छन् । कैदीहरूले क्यालिफोर्नियामा अग्नि शमनकर्ताको काम गर्छन् । एरिजोनामा तरबुजा टिप्ने काम गर्छन् । ओरेगनले सवारी विभागमा आएका टेलिफोनको जवाफ दिने काममा कैदीबन्दी खटाउँछ । धेरै जसोलाई मर्मतसम्भारका काममा लगाइन्छ । कसैले सरसफाइको काम गर्छन् । केहीलाई दराजमा सरसामान मिलाएर राख्ने काम लगाइन्छ । केहीले धोबीको काम गर्छन् । करिब सात प्रतिशत कैदीबन्दीले राज्यका लागि वस्तु तथा सेवा उपलब्ध गराउँछन् ।

तिनले सरकारी कल सेन्टरहरूमा सेवा दिन्छन्, बर्दी सिलाउँछन् वा कारका नम्बर प्लेटहरू छाप्छन् । एक प्रतिशतभन्दा पनि कम कैदीले मात्रै निजी कम्पनीका काम पाउँछन् । ती कम्पनीले प्रचलित पारिश्रमिक भुक्तानी गरे पनि त्यसको ८० प्रतिशत हिस्सा जेलले नै लिन पाउँछ । अमेरिकामा कैदीबन्दीले वर्षमा दुई अर्ब डलर मूल्यबराबरका सामान उत्पादन र नौ अर्ब डलरबराबरको सेवा प्रवाह गर्छन् । तर, उनीहरूले यो काम नाम मात्रको पैसामा गर्नुपर्छ । सन् २०१७ मा राज्य सञ्चालित जेलको औसत तलब २० सेन्ट प्रतिघन्टा थियो । अलाबामा लगायत सातवटा राज्यले कैदीहरूलाई कामबापत केही पनि भुक्तानी दिँदैनन् । तर, अलाबामाले भर्खरै यस्तो परम्परा तोडेको छ ।

कैदीबन्दीलाई कानुनअन्तर्गत कर्मचारी वा कामदारको रूपमा वर्गीकृत नगरिएकाले उनीहरू न्यूनतम ज्याला, भत्ता वा क्षतिपूर्तिका लागि योग्य मानिँदैनन् । उनीहरूका लागि कुनै रोजगारी–प्रशिक्षण वा कार्यस्थल–सुरक्षाका मापदण्डहरू छैनन् । काम गर्न इन्कार गर्दा प्राप्त सुविधा गुमाउनुपर्ने हुन सक्छ । त्यस्तो कैदीलाई एकान्त कारावासमा पठाइन सक्छ । 

कैदीबन्दीले अमेरिकामा वर्षमा दुई अर्ब डलर मूल्यबराबरका सामान र नौ अर्ब डलरबराबरका सेवा उत्पादन गर्छन् । तर, उनीहरूले कामबापत ज्याला निकै कम पाउँछन् । अमेरिकामा सन् २०१७ मा जेलमा कैदीलाई दिइने औसत ज्याला २० सेन्ट प्रतिघन्टा थियो । 

अधिकारकर्मीहरू जेल–श्रमको अभ्यास पूर्ण रूपमा अन्त्य गर्ने भन्दा पनि यी अवस्थामा सुधार गर्न इच्छुक छन् । ‘कैदीहरू उत्पादनशील रहन चाहन्छन्, किनकि जेलका कोठामा खाली हात चार दिवारीलाई टकटकी लगाई बस्दा बौलाउन सकिन्छ,’ लुजियानाको सबैभन्दा ठूलो कारागारामा २६ वर्ष बिताएका कर्टिस डेभिस भन्छन् । तर, उनी कैदीहरूलाई विनासुरक्षाडोरी अग्ला मचान वा भवनमा चढ्न लगाउनु हुँदैन, खेतमा काम गर्दा खुला शौच गर्न लगाउनु हुँदैन भन्छन् ।

अभियन्ताहरू कैदी आफूले गर्ने काममा दक्ष हुन् ताकि कैदबाट छुटेपछि त्यो काम राम्रोसँग गर्न सकून् भन्ने चाहन्छन् । जनमतको प्रक्रियाले मात्र ती अपेक्षित सुधारलाई कार्यान्वयन गर्न त सक्दैन, तर यी पहलले कैदीलाई कानुनी उपचार खोज्ने ढोका भने खोलिदिन सक्छ । त्यसपछि पनि कैदीहरूले अनेकन् बाधाको सामना गर्नुपर्नेछ । अगस्टमा कोलोराडोका न्यायाधीशहरूले एक गम्भीर अपराधको कैदीले काम गर्न इन्कार गरेकोमा काम गर्न इन्कार गर्नुपर्ने कुनै शारीरिक कठिनाइ वा चोटपटक नभएकाले ऊ अनिच्छित दासताको विषय नभएको फैसला सुनाएका थिए ।

तर, मार्चमा कोलोराडोको विधायिकाले दुई वर्षमा कैदमुक्त हुने कैदीलाई डे–रिलिज प्रोग्राम (दिनमा काम गर्न जान दिइने कार्यक्रम) अन्तर्गत बाहिर काम गर्दा राज्यले तोकेको न्यूनतम ज्याला प्रतिघण्टा १२.५६ डलर भुक्तानी गर्न आदेश दिएको छ । यो कानुनले कुनै न कुनै दिन सबै कैदी न्यूनतम ज्यालाका लागि योग्य हुने संकेत गर्छ । अन्य राज्य यसबारे अलमलमै छन् । अधिकारीहरूले यस्तो व्यवस्थाले कारागारलाई कैदीको ज्याला भुक्तानीका लागि एक अर्ब पाँच करोड डलरभन्दा बढीको भार पर्न सक्ने भनेपछि क्यालिफोर्नियाका विधायकहरूले गत जुनमा अनिच्छित दासतामाथि जनमतसंग्रह गर्न अस्वीकार गरेका थिए ।
– द इकोनोमिष्ट