मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ मङ्सिर १२ सोमबार १२:१०:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

नागढुंगा सुरुङमार्गअन्तर्गतका ११ संरचना तयार, असारमा सुरुङको ब्रेक थ्रु गर्ने लक्ष्य

Read Time : > 2 मिनेट
२०७९ मङ्सिर १२ सोमबार १२:१०:००

निर्माणाधीन नागढुंगा सुरुङमार्गअन्तर्गतका १२ मध्ये ११ संरचना निर्माण सम्पन्न भएका छन् । काम सुरु भएको करिब दुई वर्षमा आयोजनाअन्तर्गतको फ्लाई ओभरबाहेकका अधिकांश संरचनाको निर्माण सम्पन्न भएको हो । आयोजनाका अनुसार सुरुङमार्गअन्तर्गतको तीनवटा अन्डरपास र चारवटा बक्स कल्भर्ट (माथि गाडी, तल पानी बग्ने संरचना) निर्माण सम्पन्न भएको छ । 

यसका साथै आयोजनाअन्तर्गत हुने एउटा अन्डरपास, तीनवटा पुलको पनि निर्माण सम्पन्न भइसकेको छ । त्यसबाहेक एक फ्लाई ओभर भने निर्माणको चरणमा रहेको सडक विभागका प्रवक्ता भीमार्जुन अधिकारीले बताए । ‘फ्लाई ओभरको डिजाइन गर्ने काम भइरहेको छ । उक्त डिजाइन बनिसकेपछि निर्माण कार्य अघि बढ्छ,’ उनले भने । उक्त फ्लाई ओभरमा पर्ने जग्गाको ८५ प्रतिशत मुआब्जा वितरण भइसकेको छ । यसका अलावा फ्लाई ओभरअन्तर्गत बन्ने दुई फाउन्डेसन र एक सहायक संरचना तयार भइसकेको छ ।कात्तिक मसान्तसम्म आयोजनाको समग्र प्रगति भने ४५ प्रतिशत पुगेको छ । वित्तीय प्रगति ४८.८३ प्रतिशत पुगेको आयोजनाबाट प्राप्त पछिल्लो प्रगति प्रतिवेदनले देखाएको छ । 

आयोजनामा निर्धारित समयमा नबन्ने 
 नागढुंगा सुरुङमार्गको निर्माण कार्य निर्धारित समयमा नसकिने पक्का भएको छ । आयोजनाको पछिल्लो भौतिक र वित्तीय प्रगतिको अवस्थाअनुसार निर्धारित समयमा बाँकी काम नसकिने सम्भावना रहेको आयोजनाका अधिकारीहरू बताउँछन् । आयोजना सम्पन्न गर्नुपर्ने समय अब एक वर्ष पनि बाँकी छैन । बाँकी अवधिमा सम्पूर्ण कार्य हुने सम्भावना नरहेको उनीहरूको भनाइ छ । सडक विभाग र जापानिज निर्माण कम्पनी हाजमा एन्डो कर्पाेरेसनबीच भएको सम्झौताअनुसार अप्रिल ०२३ भित्र आयोजना निर्माण सम्पन्न गर्नुपर्नेछ । तर, बीचमा कोरोनाका कारण काम नभएपछि ८६ दिन म्याद थपिएको थियो । थपिएको समयअनुसार जुलाई ०२३ भित्र उक्त आयोजना बनिसक्नुपर्नेछ । तर, त्यस अवधिमा पनि आयोजना निर्माण नसकिने बताइएको छ । 

सुरुङमार्ग निर्माण कार्य डिसेम्बर ०२० (पुस ०७७) देखि सुरु भएको थियो । काम सुरु गरेको ४२ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो । कोरोनाका कारण त्यसमा ८६ दिन म्याद थप भएको छ । समयमा आयोजना नबन्ने देखिए पनि तत्काल म्याद थप गर्ने विषयमा कुनै निर्णय नभएको विभागका प्रवक्ता अधिकारीले बताए । 

असारभित्र सुरुङको ब्रेक थ्रु गर्ने लक्ष्य
विभागले आगामी असारभित्र सुरुङमार्गको ब्रेक थ्रु गर्ने लक्ष्य लिएको छ । विभागका प्रवक्ता अधिकारीले असारभित्र सुरुङमार्गको ब्रेक थ्रु गर्र्ने लक्ष्यसहित काम भइरहेको बताए । ‘सुरुङमार्गको निर्माणका क्रममा विभिन्न समस्या त आउन सक्छन् । तर, आगामी असारभित्र सुरुङको ब्रेक थ्रु गर्ने लक्ष्यसहित काम भइरहेको छ,’ उनले बताए । हालसम्म सुरुङमार्गको मात्रै प्रगति ६७.३० प्रतिशत पुगेको छ । आयोजनामा मुख्य सुरुङको लम्बाइ दुई हजार ६ सय ८८ मिटर रहेको छ  । त्यसमा हालसम्म एक हजार ६ सय ४२ मिटर सुरुङ निर्माण भएको छ । पूर्व (काठमाडौं)बाट सात सय ९५ मिटर र पश्चिम (नागढुंगा)बाट आठ सय ४६ मिटर सुरुङ खनिएको छ । 

यस्तै, इभ्याकुएसन सुरुङको कुल लम्बाइ दुई हजार पाँच सय ५७ मिटर रहेको छ । त्यसको भने एक हजार आठ सय ६० मिटर सुरुङ खनिएको छ । त्यसमा पूर्वबाट एक हजार मिटर र पश्चिमबाट आठ सय ६० मिटर सुरुङ खनिएको छ । वर्किङ अडिटको भने शतप्रतिशत अर्थात् एक सय २६ मिटर नै काम सम्पन्न भएको छ । क्रस–प्यासेजको भने ७४ मिटर निर्माण भएको छ । त्यसको कुल लम्बाइ एक सय २८ मिटर रहेको छ । त्यसमा पूर्वबाट ३८ मिटर र पश्चिमबाट ३६ मिटर निर्माण भएको छ ।

कति लगानीमा बन्दै छ आयोजना ? 
जाइकाको सहयोगमा नेपाल सरकारले ०६९ देखि ०७२ सम्म आयोजनाको सर्वेक्षण गरेको थियो । यसलाई नेपालको पहिलो आधुनिक सुरुङमार्गका रूपमा लिइएको छ । आयोजनाको कुल लागत २२ अर्ब १४ करोड पुगेको छ । पहिला २० अर्ब ६० करोड रुपैयाँमा उक्त अयोजना बन्ने भनिएको थियो । तर, जापानिज येन बलियो भएका कारण लागत बढेको हो । त्यसमा जाइकाले १६ अर्ब ६३ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउनेछ । बाँकी पाँच अर्ब ८५ करोड रुपैयाँ भने नेपाल सरकारको हुनेछ ।

नेपाल सरकारले उपलब्ध गराउने रकम जग्गाको मुआब्जा, संरचना र अन्य प्रशासनिक कार्यमा खर्च हुनेछ । जाइकाले दिएको रकम भने ठेक्कामार्फत आयोजना निर्माणमा खर्च भइरहेको छ । आयोजनामा २६ जनाको उच्च व्यवस्थापन जापानिज नेतृत्वमा रहेको छ भने करिब ५० जना नेपाली इन्जिनियर संलग्न छन् । कुल कामदार संख्या ६ सयको हाराहारीमा भएको आयोजना कार्यालयले जानकारी दिएको छ । यो टनेल बनेपछि काठमाडौं प्रवेश गर्ने सवारीसाधनको यात्रा केही छोटिनेछ ।