मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
अनिल यादव काठमाडाैं
२०७९ मङ्सिर १२ सोमबार ०६:४०:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नागरिक उन्मुक्ति पार्टी र प्रभु साह समूहसँग सहकार्यको प्रस्ताव

 सरकार गठनका लागि गठबन्धनको गृहकार्य 

Read Time : > 2 मिनेट
अनिल यादव, काठमाडाैं
२०७९ मङ्सिर १२ सोमबार ०६:४०:००

अहिलेसम्मको चुनावी परिणाम र समानुपातिकबाट प्राप्त हुने सिटलाई आधार मान्ने हो भने भने सत्तागठबन्धनलाई बहुमतका लागि एकदेखि चार सिट पुग्दैन । चार सिट रहेको नागरिक उन्मुक्ति पार्टी, दुई सिट रहेको प्रभु साह समूह र अमरेशकुमार सिंहले समर्थन गरे गठबन्धनलाई सहजै बहुमत पुग्छ । 

सत्तागठबन्धनमा आबद्ध दलका शीर्ष नेताले भावी सरकार गठनको बहुमत सुनिश्चित गर्न स्वतन्त्र र साना दलसँग संवाद थालेका छन् । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि एक सय ३८ सांसद चाहिने भए पनि अहिलेसम्मको मतपरिणाममा सत्तागठबन्धनको बहुमत सुनिश्चित भइसकेको छैन । अपुग सीमित सिट पूरा गर्न नेताहरूले साना दल र स्वतन्त्र सांसदसँग सम्पर्क थालेका हुन् ।

आइतबार रातिसम्मको मतपरिणामअनुसार सत्तारूढ गठबन्धन बहुमततर्फ उन्मुख भएको छ । हालसम्म कांग्रेस ५३ क्षेत्रमा विजयी भएको छ भने तीन क्षेत्रमा अगाडि छ । माओवादी १७ र एकीकृत समाजवादी १० क्षेत्रमा विजयी भएको छ । लोसपाका उम्मेदवार चार र जनमोर्चा एक क्षेत्रमा विजयी भएको छ । प्रत्यक्षतर्फ बाहेक सत्तारूढ गठबन्धनलाई बहुमतका लागि ४७ सिट पुग्दैन । हालसम्म प्राप्त समानुपातिक मतगणनाअनुसार कांग्रेसले समानुपातिकमा कम्तीमा ३० देखि ३२ र माओवादीले कम्तीमा १२–१४ सिट जित्ने देखिन्छ । गठबन्धनमा रहेका एकीकृत समाजवादी र लोसपाले थ्रेसहोल्ड कटाउने–नकटाउने निश्चित छैन । यी दुई दलले थ्रेसहोल्ड नकटाउँदा गठबन्धनलाई बहुमतका लागि एकदेखि चार सिट पुग्दैन । 

सरकार गठनमा कठिन अंकगणित नहोस् भनेर गठबन्धनका शीर्ष नेताले चार सिट जितेको नागरिक उन्मुक्ति पार्टी र दुई सिट जितेको प्रभु साह समूहसँग संवाद थालेका हुन् । गठबन्धनका नेताहरूले प्रतिनिधिसभातर्फ चार सिट जितेको रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी र साहको समूहसँग सहकार्यको प्रस्ताव गरिसकेका छन् । यसबाहेक कांग्रेसमा टिकट नपाएपछि स्वतन्त्रबाटै चुनाव जितेका अमरेश सिंह पनि गठबन्धनका केही नेतासँग सम्पर्कमा छन् । यी सबै सहकार्यका लागि तयार भए गठबन्धनमा थप सात सांसद जोडिन्छ । 

उन्मुक्ति पार्टीले कैलाली १ मा रञ्जिता श्रेष्ठ, कैलाली २ मा अरुणकुमार चौधरी, कैलाली ३ मा गंगाराम चौधरी र कैलाली ४ मा रेशमको उम्मेदवार खारेज भएपछि स्वतन्त्र उम्मेदवारी बनेका रेशमका बुबा लालवीर चौधरीले बर्दिया २ जित हासिल गरेका छन् । सत्तारूढ गठबन्धनको समर्थनमा साहले रौतहट ३ बाट र उनको समूहका किरणकुमार साहले रौतहत २ बाट निर्वाचन जितेका छन् । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार साँझ रेशम चौधरीलाई डिल्लीबजारस्थित कारागारमै गएर भेटेका थिए । प्रचण्ड अहिलेकै गठबन्धनको निरन्तरताको पक्षमा छन् । स्रोतका अनुसार करिब एक घन्टाको छलफलमा प्रचण्डले नयाँ सरकार र गठबन्धनमा सहकार्यबारे प्रस्ताव गरेका थिए । जवाफमा चौधरीले टीकापुर घटनाका आरोपीको रिहाइ, ५८ जनामाथि लागेको मुद्दा राजनीतिक भएकाले त्यसको खारेजीको माग र त्यस घटनापछि गठन भएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तयार भएको अवस्थामा मात्रै सरकारमा सहभागी हुने बताएका थिए । पार्टीभित्र छलफल गरेर बाँकी निर्णय गर्ने चौधरीको भनाइ थियो । 

नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले प्रचण्ड–चौधरीबीच भेट भएको पुष्टि गरे पनि के विषयमा छलफल भएकोबारे बताउन चाहेनन् । ‘अध्यक्ष रञ्जिता श्रेष्ठज्यू काठमाडौं पुगिसक्नुभएको छ । मचाहिँ सोमबार पुग्दै छु । त्यसपछि सरकारमा सहभागी हुनेबारे निर्णय हुन्छ,’ उनले भने । उनले आफ्नो पार्टीका चासो सम्बोधन हुने अवस्थामा मात्रै सरकारमा सहभागी हुने प्रस्ट पारे । ‘टीकापुर घटनाबारे तीनवटा आयोग बनाइएको थियो । त्यसमध्ये गिरीशचन्द्र लाल आयोगलाई सार्वजनिक गर्ने सर्तमा सहमति जनाउनेसँग हाम्रो सहकार्य हुन्छ । दोस्रो, ५८ जनामाथि लागेको मुद्दालाई खारेज र जेलमा रहेकालाई रिहाइ गर्नुपर्ने हाम्रो माग छ,’ उनले भने ।

०७८ जेठ १८ गते थरुहट थारुवान संयुक्त संघर्ष समिति र तत्कालीन केपी ओली नेतृत्वको सरकारबीच धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरीलगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्नेलगायत ६ बुँदे सहमति भएको थियो ।त्यसपछि जेलमा रहँदा–रहँदै श्रीमती श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन गरेर स्थानीय तहदेखि चुनावमा होमिएका थिए । यसपटक उन्मुक्ति पार्टीले प्रतिनिधिसभामा एक स्वतन्त्रसहित चार सिट र प्रदेशमा सातवटा सिट जितेको छ । 

निर्वाचनको अधिकांश परिणाम सार्वजनिक भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच शनिबार भेटवार्ता भएको थियो । दुवै नेता वर्तमान सत्तागठबन्धनलाई निरन्तरता दिने पक्षमा देखिएका छन् । थप छलफलका लागि चाँडै गठबन्धनको बैठक बोलाउने उनीहरूबीच सहमति छ ।

सत्तागठबन्धनको अंकगणित
बहुमतका लागि : १३८
सत्तागठबन्धनसँग : १३६
(कांग्रेसको ३ अग्रतासहित)
कांग्रेस : ८९
प्रत्यक्ष : ५६
(५३ जित, ३ अग्रता) 
समानुपातिक : ३३ (सम्भावित)
माओवादी : ३२
प्रत्यक्ष : १७
समानुपातिक : १५ (सम्भावित)
एकीकृत समाजवादी : १०
जनमोर्चा : १
लोसपा : ४
(दोलखा, स्याङ्जा २ र बाजुराको मतगणना बाँकी छ । यसमध्ये दुई सिट मात्रै गठबन्धनका दलले जिते भने १३८ को अंक भेट्टाउने सम्भावना रहन्छ । नागरिक उन्मुक्ति पार्टी र प्रभु साह समूह र अमरेश सिंहको समर्थन जुटाए गठबन्धनलाई सहज बहुमत हुन्छ ।)