Skip This
कैलाली १ : नागरिक उन्मुक्तिकी रञ्जिता १२ हजार मतान्तरले विजयी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १७:४o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कैलाली १ : नागरिक उन्मुक्तिकी रञ्जिता १२ हजार मतान्तरले विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:४o:oo

कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टीका रञ्जिता चौधरी विजयी भएकी छिन्। गठबन्धनबाट कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई १२ हजार ३२३ मतको फराकिलो अन्तरले हराउँदै उनी विजयी भएकी हुन्।

रञ्जिताले ३० हजार ४०४ र रामजनमले १८ हजार ८१ मत पाए। यो क्षेत्रमा नेकपा एमालेका तपेन्द्रबहादुर रावलले पाँच हजार ९१० मत पाएका छन्।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता टीकापुर घटनामा दोषी ठहर भई कारागारमा सजाय भोगिरहेका थारू नेता रेशम चौधरीकी पत्नी हुन्। 

२०७४ को निर्वाचनमा रेशम यही क्षेत्रबाट २० हजार ९३५ मतान्तरसहित विजयी भएका थिए। फरार अवस्थामै चुनाव जितेका उनी पाँच वर्षसम्म संसद् भवन भने छिर्न पाएनन्। 

थरुहट आन्दोलनका क्रममा नौजनाको ज्यान जाने गरी भएको घटनामा दोषी ठहर भई आजीवन काराबासको सजाय भोगिरहेका रेशमको योजनामा गत वर्ष रञ्जिताको अध्यक्षतामा नागरिक उन्मुक्ति गठन भएको थियो।

क्षेत्र नम्बर १ को प्रदेश सभाका दुवै क्षेत्रमा नागरिकका उम्मेदवारले जित हासिल गरेका छन्। प्रदेश सभा १ मा कैलाश चौधरी १५ हजार १०१ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्दी गठबन्धनबाट नेकपा माओवादी केन्द्रका दीर्घराज बिनाडीले १० हजार ३७७ मत प्राप्त गरे। 

राष्ट्रिय प्रजातन्त्र पार्टीका भीमबहादुर बमले चार हजार ६० र जनता समाजवादी पार्टीका भगतराम चौधरीले दुई हजार २७८ मत प्राप्त गरे। जसपालाई नेकपा एमालेको समर्थन रहेको थियो। 

प्रदेश सभा २ मा नागरिकका लक्ष्मणकिशोर चौधरीले कांग्रेसका केन्द्रीय सदस्य रणबहादुर रावललाई तीन हजार २६४ मतले पराजित गरे। चौधरीले ११ हजार ३१७ मत पाउँदा निकटतम् प्रतिस्पर्धी रावलले आठ हजार ५३ मत प्राप्त गरे। रावल प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हुन्। यो क्षेत्रमा नेकपा एमालेका द्वारिका न्यौपानेले पाँच हजार ३२० मत पाएका छन्। कैलाली क्षेत्र नम्बर ३ मा नागरिकले संघ र प्रदेशका तीनै क्षेत्र जितेको थियो।