मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
पवन तिमिल्सिना काठमाडाैं
२०७९ मङ्सिर ८ बिहीबार ०७:२०:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

चुनावी उपभोगले कात्तिकमा बढ्यो आयात

डलरको भाउ वृद्धि, चाडपर्व र चुनावका कारण असोजको तुलनामा कात्तिकमा चार अर्बभन्दा बढीको आयात

Read Time : > 2 मिनेट
२०७९ मङ्सिर ८ बिहीबार ०७:२०:००

केही महिनादेखि मासिक रूपमा घट्दै गइरहेको आयात कात्तिकमा भने बढेको छ । चाडपर्व तथा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा उपभोग बढ्दा त्यसको दबाब आयातमा परेको हो । भन्सार विभागले बुधबार सार्वजनिक गरेको चार महिनाको तथ्यांकअनुसार मासिक आयातमा वृद्धि भएको छ । तथ्यांकअनुसार कात्तिकमा एक खर्ब ३१ अर्ब ६९ करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ । यो असोज महिनाको तुलनामा चार अर्ब २९ करोड रुपैयाँले बढी हो । गत असोजमा एक खर्ब २७ अर्ब ३९ करोड रुपैयाँ मात्रै वस्तु आयात भएको थियो । 

त्यस्तै, असोजमा भएको आयात गत साउनको भन्दा ४० करोड रुपैयाँ बढी छ । यद्यपि, भदौमा भएको आयातको तुलनामा भने कम हो । दसैँलाई केन्द्रित गरेर बढी वस्तुको आयात हुने भएकाले भदौमा बढी चाप परेको थियो । तर, यसपालि मंसिरमा भएको आमनिर्वाचनमा उपभोग बढ्ने भएपछि व्यापारीले कात्तिकमै बढी वस्तुको आयात गरेको देखिन्छ । कात्तिकमा तिहार र छठमा पनि उपभोग बढ्ने हुँदा यसको असर आयातमा परेको हो । 

पछिल्लो समय सरकारले आयातमा कडाइ गरे पनि उपभोगमा कमी नआउँदा त्यसको असर आयातमा परेको हुन सक्ने अर्थशास्त्रीहरूको विश्लेषण छ । वैदेशिक व्यापार मामिला जानकारका पारस खरेलका अनुसार मूल्यवृद्धि र आयातमा कडाइले उपभोग घट्ने सैद्धान्तिक मान्यता भए पनि नेपालको आन्तरिक उत्पादन कमजोर भएकाले आयात बढेको उनको बुझाइ छ । उनले भने, ‘अर्थशास्त्रमा आयात कडाइ र मूल्यवृद्धिले उपभोग घट्छ भन्ने मान्यता छ । तर, नेपालमा त्यसको ठीक उल्टो भएको छ । आन्तरिक उत्पादन कमजोर भएको र उपभोग घट्न नसकेको अवस्थामा आयात नियन्त्रणमा आउन नसकेको हो कि भन्ने देखिन्छ ।’

वैदेशिक रोजगारीमा गएका कामदारहरूले पठाउने रेमिट्यान्सको आप्रवाह बढ्दै जाँदा यसले उपभोगलाई बढी प्रोत्साहित गरेको छ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अवमूल्यन हुँदै जाँदा पनि यसले आयातको परिमाणमा भन्दा पनि मूल्यमा बढेको देखिन्छ । कात्तिकमा प्रतिडलरको मूल्य बढेर १३१ रुपैयाँसम्म पुगेको थियो । यद्यपि, पछिल्ला केही दिनमा अमेरिकी डलरको भाउ घट्दै गइरहेको देखिन्छ । बुधबारको विनिमयदरअनुसार अमेरिकी डलरको खरिद मूल्य १३०.३७ रुपैयाँ र बिक्री मूल्य १३०.९७ रूपैयाँ कायम भएको छ । 

अर्थतन्त्रमा बाह्य क्षेत्रको दबाब कायमै रहँदा आयातमा तुलनात्मक कटौती हुन नसकेको अर्थशास्त्री खरेलको टिप्पणी छ । कोभिडपछि इन्धनको मूल्यसँगै हवाईभाडामा समेत भएको वृद्धिले व्यापारको लागत (कस्ट अफ बिजनेस)मा समेत वृद्धि भएको उनको भनाइ छ । उनका अनुसार अन्तर्राष्ट्रिय व्यापार आधारभूत रूपमै महँगो हुँदा नेपालमा लगाइएको प्रतिबन्धले पूर्ण रूपमा आयातमा कटौती गर्न नसकेको उनको बुझाइ छ । 

 गत वर्षको तुलनामा कम आयात
मासिक आयातमा वृद्धि भए पनि गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा आयात घटेको देखिन्छ । यसमा भने केही विलासिताका वस्तु आयातमा सरकारले लगाएको प्रतिबन्धको असर परेको देखिन्छ । गत आर्थिक वर्षको पहिलो चार महिना (साउन–कात्तिक) मा ६ खर्ब ५० अर्ब रुपैयाँबराबरका वस्तु आयात भएका थिए । तर, यसपालि सोही अवधिमा पाँच खर्ब ३२ अर्ब रुपैयाँको वस्तु आयात भएका थिए । अहिलेकै मासिक आयातको तथ्यांकलाई आधार लिने हो भने झन्डै एक महिनाको आयातमा कटौती भएको छ । 

यसले देशको व्यापार घाटामा सुधार देखिएको छ । गत आर्थिक वर्षको कात्तिकसम्ममा पाँच खर्ब ६८ अर्ब व्यापारघाटा पुगेकोमा अहिले चार खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ । अर्थात् व्यापारघाटामा १५.८८ प्रतिशतले कटौती भएको छ । व्यापारघाटामा आएको कमीले देशबाट रकम बाहिरिने समस्यामा सुधार हुँदै आइरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पहिलो तीन महिनामा देशबाट बाहिरिनेभन्दा भित्रिने रकम बढेको छ । यसको अर्थ शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँ बचतमा छ । 

चालू आर्थिक वर्षको चार महिनामा ४४ अर्ब २८ करोड रुपैयाँबराबरको डिजेल आयात भएको छ । २३ अर्ब ६९ करोड रुपैयाँको पेट्रोल आयात भएको छ भने १९ अर्ब ६४ करोड रुपैयाँको खाना पकाउने ग्यास आयात भएको तथ्यांकले देखाएको छ । त्यसबाहेक १८ अर्बको कच्चा भटमासको तेल, १२ अर्बको कच्चा पाम तेल, १२ अर्बकै फलामजन्य उत्पादन, १० अर्बभन्दा बढी मूल्यमा स्मार्टफोन आयात भएका छन् । सात अर्बभन्दा बढी मूल्यमा सुन आयात भएको छ । 

खुम्चिँदै वैदेशिक व्यापार
आयातमा भएको कटौतीले व्यापारघाटा र विदेशी मुद्राको क्षयीकरणलाई रोकथाम गरे पनि वैदेशिक व्यापारमा भने संकुचन आइरहेको छ । आयात घटेसँगै पछिल्लो चार महिनामा निर्यात पनि घटिरहेको तथ्यांकले देखाएको छ । यसबीच कुल आयात १८.०८ प्रतिशतले घट्दा निर्यात भने ३३.३० प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा ८२ अर्ब १२ करोड रुपैयाँको निर्यात भएकोमा चालू आर्थिक वर्षमा ५४ अर्ब ७७ करोड रुपैयाँ मात्रै निर्यात गरेको छ । वैदेशिक व्यापारमा आयातको तुलनामा निर्यातको अनुपात कम हुँदै जाँदा यसबाट देशले तुलनात्मक लाभ लिन भने नसक्ने जानकारहरूको टिप्पणी छ । तर, पछिल्लो समय नेपालमा खेती नै नहुने पाम आयलको निर्यातमा भएको कटौतीका कारण चिन्ता लिनु नपर्ने खरेलको तर्क छ । 

उनले भने, ‘पाम आयलकै कारण निर्यात घटेको हो । मूल्य अभिवृद्धि नभई प्याकेजिङ गरेकै भरमा पाम आयल निर्यात भइरहेको थियो । अहिले भारतले प्रशोधित तेलमा भन्सार घटाएपछि यसको व्यापार कम देखिएको हो । यसले निर्यातलाई खासै असर पर्दैन । किनभने यसको कच्चापदार्थ आयातमै बढी विदेशी मुद्रा बाहिरिन्थ्यो ।’ चालू आर्थिक वर्षमा आठ अर्ब ५४ करोड रुपैयाँबराबरको पाम आयल निर्यात भएको छ । जब कि यसका लागि १२ अर्ब ३२ करोड रुपैयाँबराबरको कच्च तेल आयात भएको छ ।