मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२०७९ मङ्सिर ७ बुधबार ०५:३६:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

७ सिटसहित कांग्रेसको अग्रता, एमाले तीन र नागरिक उन्मुक्ति एक सिटमा विजयी

Read Time : > 2 मिनेट
२०७९ मङ्सिर ७ बुधबार ०५:३६:००

प्रतिनिधिसभाका एक सय ६५ मध्ये मंगलबार मध्यरातिसम्म ११ क्षेत्रको नतिजा आएको छ । जसमध्ये सात क्षेत्रमा विजयी भएर कांग्रेसले अग्रता कायम गरेको छ । तीन सिट जितेर एमाले दोस्रो स्थानमा छ । नागरिक उन्मुक्ति पार्टीले पनि एक क्षेत्रमा जित निकालेको छ । कांग्रेस ४४ र एमालेले ४४ सिटमा अग्रता लिइरहेका छन् । माओवादी १६, राष्ट्रिय स्वतन्त्र पार्टीले ८, एकीकृत समाजवादी ८, जसपा ५, राप्रपा ५ र लोसपाले ३ क्षेत्रमा अग्रता लिइरहेका छन् । 

काठमाडौं ५ मा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पाँच हजार ६५ मतले पराजित गर्दै कांग्रेस युवा नेता प्रदीप पौडेल निर्वाचित भएका छन् । पौडेलले १५ हजार २३७ मत ल्याउँदा पोखरेल १० हजार १७२ मतमा सीमित भए । ०७४ को निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित पोखरेललाई पराजित गरेर पौडेलले पहिलोपटक संसद्मा ‘डेब्यु’ गरेका छन् । 

काठमाडौं ४ बाट कांग्रेस महामन्त्री गगन थापा तेस्रोपटक निर्वाचित भएका छन् । उनी २१ हजार ३०२ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका डा. राजन भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरे । त्यस्तै, काठमाडौं ३ मा कांग्रेसका सन्तोष चालिसे विजयी भएका छन् । उनले १४ हजार १५८ मत र उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर राईले ११ हजार १९६ मत पाएका छन् । 

रसुवाबाट कांग्रेसका मोहन आचार्य विजयी भएका छन् । एमालेका छोवाङ तेन्जिन तामाङलाई ९ हजार ६२१ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । आचार्यले १८ हजार २३५ मत प्राप्त गर्दा तामाङले आठ हजार ६१४ मत प्राप्त गरे । कांग्रेसबाटै यसअघि काठमाडौं १ मा प्रकाशमान सिंह, मनाङमा टेकबहादुर गुरुङ र मुस्ताङमा योगेश गौचन निर्वाचित भइसकेका छन् । 

काठमाडौं ९ बाट एमाले स्थायी समिति सदस्य कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेललाई ९ सय ९५ मतले पछि पार्दै विजयी भएका श्रेष्ठले ११ हजार ९५६ मत पाए । पोखरेलले १० हजार ९६१ मत प्राप्त गरे । त्यस्तै, उदयपुर २ बाट एमालेका अम्बरबहादुर रायमाझी एकीकृत समाजवादीका उपमहासचिव जगनाथ खतिवडालाई दुई हजार ३५८ मतले हराउँदै विजयी भएका छन् । रायमाझीले १५ हजार २५१ मत प्राप्त गर्दा खतिवडाले १२ हजार ८९३ मत पाए । सोमबार ललितपुर १ बाट जित निकाल्दै प्रेम महर्जनले एमालेका लागि खाता खोलेका थिए । 

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट कैलाली ३ मा गंगाराम चौधरी २३ हजार १२० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका कृष्णकुमार चौधरीले १७ हजार ७४९ मत पाए ।

प्रदेश सभाको १५ सिटको नतिजा : कांग्रेस पहिलो, एमाले दोस्रो 
मंगलबार राति अबेरसम्म प्रदेश सभा निर्वाचनको १५ सिटको अन्तिम नतिजा आएको छ । जसअनुसार कांग्रेसले ८, एमालेले २, जनमत पार्टीले २, माओवादी केन्द्रले १, राप्रपाले १ र स्वतन्त्रले १ सिट जितेका छन् । 

कांग्रेसले प्रदेश १ मा १, मधेसमा १, बागमतीमा २ र गण्डकीमा ४ सिट जितेको छ । एमालेले बागमतीमा २ सिट जितेको छ भने जनमत पार्टीले मधेस प्रदेशमा २ सिट जितेको छ । त्यस्तै, राप्रपाले बागमतीमा १ र स्वतन्त्रले लुम्बिनी प्रदेशमा १ सिट जितेको छ ।

कांग्रेसबाट मोरङ ५ (क)मा गयानन्द मण्डल गनगाईंले १४ हजार ८४३ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका सन्तोषकुमार साहले ९ हजार ४०२ मत पाएका छन् । पर्सा ४ (क)बाट शंकरप्रसाद चौधरी १२ हजार १५४ मतसहित विजयी भएका छन् भने प्रतिद्वन्द्वी जयप्रकाश थारूले १० हजार ४३८ मत पाएका छन् । काठमाडौं ३ (क) बाट छिरिङदोर्जी लामा ४ हजार ५५८ मत प्राप्त गरी विजयी भएका छन् । 

त्यस्तै, ललितपुर १ (ख)बाट मीनकृष्ण महर्जन १३ हजार ३७८ मतसहित तथा ललितपुर २ (ख)बाट रामकृष्ण चित्रकार ६ हजार ९९५ मत प्राप्त गरी विजयी भएका छन् । बाग्लुङ १ (क)बाट डिल्लीराम सुवेदी १३ हजार ३२० मत प्राप्तगरी विजयी भए । उनका प्रतिद्वन्द्वी एमालेका नवराज पौडेलले ७ हजार २५३ मत प्राप्त गरेका छन् । यसअघि कांग्रेसबाटै मनाङ (क)बाट मुनिन्द्रजंग गुरुङ, मुस्ताङ (क)बाट नुम्डु गुरुङ तथा मुस्ताङ (ख)बाट विकल शेरचन निर्वाचित भएका थिए ।

एमालेबाट ललितपुर १ (क)मा मधुसूदन पौडेल १२ हजार २९९ मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै, ललितपुर २ (क)बाट एमालेका रामेश्वर श्रेष्ठ ८ हजार २९८ मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै, जनमत पार्टीबाट सप्तरी २ (क)मा सतिशकुमार सिंह १६ हजार ७३४ मत ल्याएर विजेता बनेका छन् । सप्तरीकै २ (ख)बाट महेशप्रसाद यादवले १३ हजार ३५ मत प्राप्तसहित जित निकालेका छन् । 

म्याग्दी (ख)मा माओवादीबाट रेशमबहादुर जुग्जाली ९ हजार ४५४ मत ल्याई विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका यामबहादुर गर्वुजाले ९ हजार ३५३ मत पाएका छन् । त्यस्तै, काठमाडौं २ (क) मा राप्रपाबाट सुनील केसी ६ हजार ५९८ मत प्राप्त गरी विजयी भएका छन् । 

त्यस्तै, रुकुम पूर्व (क)बाट स्वतन्त्र उम्मेदवार सरुल पुन ४ हजार ४६५ मत ल्याएर विजयी भएका छन् । प्रतिद्वन्द्वी माओवादीका तेजबहादुर ओलीको ३ हजार ९३२ मत आएको छ ।