१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format २१:५९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दोलखाका विभिन्न ठाउँमा झडप, ३४ राउन्ड हवाई फायर 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:५९:oo

मतदानका क्रममा दोलखाका विभिन्न ठाउँमा झडप भएको छ । तनावपूर्ण स्थिति नियन्त्रणमा लिन प्रहरीले ३४ राउन्ड हवाइ फायर गरेको छ। 

मतदानका क्रममा आधा दर्जनभन्दा बढी मतदान केन्द्रमा झडप हुँदा स्थिति नियन्त्रण लिन प्रहरीले ३४ राउन्ड हवाइ फायर गरेको हो। 

दोलखाका प्रहरी प्रमुख गंगा पौडेलले तनाब सिर्जना भएका मतदान केन्द्रहररूमा स्थिति नियन्त्रणका लागि फायरिङ गर्नुपरेको जानकारी दिए।

उनका अनुसार बैतेश्वर गाउँपालिका २ पुतलीकाठ र गौरीशंकर गाउँपालिका–२, जुँगु , तामाकोसी गाउँपालिकाको जफे, मालुलगायतका ठाउँमा प्रहरीले हवाइ फायर गरेको हो। 

 त्यस्तै कालिञ्चोक गाउँपालिका ७ पल्लो सुनखानी सोही गाउँपालिकाको वडा नं १ बेगुम्पामा प्रहरीले गोली चलाएको छ। जिरी नगरपालिका–९ मा पनि गोली चलेको छ। तामाकोशी गाउँपालिका ३ स्थित कालापानी मावि मतदान केन्द्रमा झडप हुँदा १७ राउन्ड फायर गर्नुपरेको प्रहरीले जनाएको छ। 

कालापानीमा सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप भएको थियो। झडपमा सुरक्षाकर्मी पनि घाइते भएका छन्। झडपको क्रममा ब्यालेट बक्स फुटाउन खोजिएपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको प्रहरीको भनाइ छ। 

मतदान सुरु भएलगत्तै दोलखाको  जिरी नगरपालिकाको वडा नम्बर ९ चिपचिपे, मेलुङको वडा नम्बर ४ भेड्पु, बैतेश्वरको नाम्दु र तामाकोशीको मालु लगायतका मतदान केन्द्रमा पनि झडप भएको प्रहरीले जनाएको छ। 

एमालेद्धारा पुन मतदान गर्न उजुरी, बुथ कब्जा भएको आरोप 

नेकपा एमाले दोलखाले गठबन्धन दलले बुथ कब्जा गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेको छ। एमालेले जिल्लाको विभिन्न ५ मतदान केन्द्रको बुथ एकलौटी रुपमा कब्जा भएको भन्दै ५ बुथको निर्वाचन रद्ध गरी पुन निर्वाचन गर्न माग गरेको हो। 

एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका बालकृष्ण शिवाकोटीले मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठलाई भेटेर उजुरी पेश गरेका छन् । एमालेले निर्वाचनमा खटिएका कर्मचारी र शान्ति सुरक्षा दिने निकाय समेतको मिलेमतोमा बुथ कब्जा गरी मतदान केन्द्रनै भयावह बनाई गठबन्धनको एकलौटी सहयोग गरेको आरोप लगाएको छ।

५३.९८ प्रतिशत मत खस्यो 

एक लाख ६१ हजार मतदाता रहेको दोलखामा ५३.९८ प्रतिशत मात्रै मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय दोलखाका सुचना अधिकारी विशाल केसीका अनुसार जम्मा ८७ हजार १ सय ५५ मतदाताले मात्रै मतदान गरेका छन्। 

गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा ६८ प्रतिशत मत खसेको दोलखामा यो पटक भने मतदातामा उत्साहा कमी भएकै कारण कममात्रै मत खसेको कतिपय सरोकारवालाहरुले बताएका छन्। 

दुई नगरसहित ७ गाउँपालिका रहेको दोलखाका सबै मतदान केन्द्रको मतपेटिका सदरमुकाम ल्याउने काम भइरहेको र त्यसपछि सर्वदलीय बैठक राखेर गणनाको काम सुरु हुने दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले जानकारी दिए। 

उनका अनुसार विगु गाउँपालिकाको लप्ची र गौरीशंकर गाउँपालिकाको बेदिङबाट मतपेटीका ल्याउन २ दिन समय लाग्ने छ।