
दोलखाको बैतेश्वर गाउँपालिकास्थित एक मतदान केन्द्रमा तनावको स्थिति सिर्जना भएपछि प्रहरीले चार राउन्ड हवाई फायर गरेको छ।
बैतेश्वरस्थित जनज्योति मावि पुतलीकाठ (ख) मतदान केन्द्रमा मतदान गर्ने क्रममा एक समूह हुलदंगा गर्दै मतदान केन्द्रमा प्रवेश गरेपछि तनावको स्थिति सिर्जना भएको हो। स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड हवाई फायर गरेको छ भने मतदान प्रक्रिया स्थगित भएको छ।
मतदान अधिकारी पूजनप्रसाद अधिकारीका अनुसार साढे ११ बजेदेखि रोकिएको मतदान प्रक्रिया पुनः सुरु गराउने विषयमा अहिले छलफल जारी छ। दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले समस्या समाधानका लागि छलफल भइरहेको जनाएका छन्।
प्रजिअ खतिवडाकाअनुसार जिल्लाभर तनाव भएका स्थानमा १३ राउन्ड हवाई फायर भइसकेको छ। अहिले अन्यत्र शान्तिपूर्ण भए पनि बैतेश्वरको जनज्योति मावि र तामाकोसीको कालापानी मावि मतदान केन्द्रमा भने मतदान रोकिएको छ।