१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ मङ्सिर २ शुक्रबार ०७:२०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपालको निर्माण क्षेत्रले गति लिँदै छ : महासंघ अध्यक्ष सिंह

दक्षिण एसियाली निर्माण व्यवसायीहरूको ४५औँ सम्मेलन माल्दिभ्समा सुरु

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर २ शुक्रबार ०७:२०:००

एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण संगठनहरूको छाता संगठन (इफाप्का)को ४५औँ सम्मेलन माल्दिभ्सको राजधानी मालेमा सुरु भएको छ । ‘संरक्षणसहित निर्माण अझ सम्मुन्नत विश्व निर्माण गरौँ’ भन्ने नारासहित उक्त सम्मेलन मंगलबारदेखि सुरु भएको हो । 

पाँच दिनसम्म चल्ने उक्त सम्मेलनमा इफाप्कामा आबद्ध १९ मुलुकका निर्माण व्यवसायीहरूको सहभागिता छ । यो सम्मेलन शनिबारसम्म चल्नेछ । सम्मेलनलाई नेपाली प्रतिनिमिण्डलका तर्फबाट सम्बोधन गर्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले गोर्खा भूकम्प र कोभिड–१९ का कारण जोखिममा परेको नेपाली निर्माण उद्योगले बिस्तारै गति लिइरहेको बताए । विभिन्न चुनौतीका बाबजुद नेपाली निर्माण उद्योगले गति लिइरहेको उनको भनाइ छ । 

नेपालमा नौ सय मेगावाटका अरुण दोस्रो र अपर कर्णालीजस्ता जलविद्युत् परियोजना, २ हजार ६ सय ८० मिटर लामो सुरुङ मार्गजस्ता महत्वपूर्ण परियोजना निर्माणाधीन अवस्थामा रहेको पनि उनले बताए । 

नेपालले सन् २०३० सम्ममा मध्यम आय भएको राष्ट्रको रूपमा स्तरोन्नति भई दिगो विकास लक्ष्य हासिल गर्ने लक्ष्य लिएको प्रस्ट पारे । मौसम परिवर्तनको असर सामना गर्ने नेपाल पनि एक प्रमुख राष्ट्र भएको प्रसंग उल्लेख गर्दै अध्यक्ष सिंहले हरित पूर्वाधारको विकासलाई नेपालले प्राथमिकता दिएको जानकारी गराए । 

पूर्वाधार विकासमार्फतको आर्थिक विकास प्रक्रियाप्रति नेपालका राजनीतिक दलहरूको बलियो प्रतिबद्धता रहेको र सोहीअनुसार ऐन नियम तर्जुमा भइरहेको उनको भनाइ छ । रुस–युक्रेन युद्धबाहेक जग्गा प्राप्तिमा हुने झमेला, साइट क्लियरेन्सको समस्या, निर्माण सामग्रीको अभाव, मूल्यवृद्धि, दक्ष तथा प्राविधिक जनशक्तिको अभावलगायतका आन्तरिक समस्या नेपाली निर्माण उद्योगले सामना गर्नुपरिरहेको पनि उनले बताए ।

नेपालमा हाल १७ हजारभन्दा बढी निर्माण कम्पनी दर्ता भइसकेको र १५ लाखभन्दा बढी यस उद्योगमा आबद्ध रहेको तथ्यांक उनले पेस गरेका थिए । ४६औँ इफाप्का सम्मेलन अबको १२ देखि १८ महिनाभित्रमा दिगो पूर्वाधारमा साझेदारी भन्ने नारासहित काठमाडौंमा आयोजना हुने जानकारी पनि उनले गराए । 

४५औँ सम्मेलनको समाप्तिसँगै महासंघका अध्यक्ष सिंह नै इफाप्काको अध्यक्षसमेत हुनेछन् । इफाप्का महासचिवको जिम्मेवारी भने महासंघका सल्लाहकार वीरेन्द्र पाण्डेले सम्हानेछन् । सन् १९५६ मा स्थापना भएको इफाप्कामा हाल नेपालका तर्फबाट देशभरका निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघ आबद्ध रहेको छ । नेपालले सन् १९९३ मा इफाप्काको सदस्यता लिएको हो । इफाप्काको ३०औँ सम्मेलन सन् १९९९ मा नेपालमा भएको थियो ।