१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २ शुक्रबार
  • Wednesday, 16 October, 2024
कटक मल्ल
२o७९ मङ्सिर २ शुक्रबार o६:३७:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

के संसार तेस्रो विश्वयुद्धको संघारमा पुगेकै हो ?

परमाणु युद्ध भएमा त्यहाँ कसैको पनि बाँच्ने कुनै ग्यारेन्टी नहुने भएकाले सामूहिक विनाशकारी युद्धहरू कुनै पनि माध्यमबाट रोकिनुपर्छ

Read Time : > 5 मिनेट
कटक मल्ल
नयाँ पत्रिका
२o७९ मङ्सिर २ शुक्रबार o६:३७:oo

वर्तमान संसार तेस्रो विश्वयुद्धको संघारमा छ । अमेरिका रुस र चीनसँग युद्धको धारमा पुगेको ठान्छन्, प्रसिद्ध युद्ध रणनीतिकार अमेरिकी पूर्वविदेशमन्त्री हेनरी किसिंगर । उनी एक विवादास्पद नोबल शान्ति पुरस्कार विजेता पनि हुन् । उनले केही महिनाअघि रुसले कब्जा गरेका क्षेत्र फिर्ता गर्ने मूल्यमा पनि युक्रेनले रुससँग वार्ता सुरु गर्नुपर्छ भनेर वकालत गरेका थिए । यद्यपि, हालको समयमा रुसले युद्ध हारिसकेको छ भन्छन्, किसिंगर । यद्यपि, उनले परमाणु हतियारको सम्भावित प्रयोग हुने अवस्थाको आकलनसहित रुसी राष्ट्रपति पुटिनविरुद्ध लगनशीलतासाथ सामना गर्न सुझाब दिइरहेका छन् । 

वास्तवमा युक्रेनमा रुसी आक्रमण उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) र रुसबीचको प्रत्यक्ष युद्धमा परिणत भएको छ । यथार्थमा यो विश्वमा सबैभन्दा विनाशकारी हतियार भएका दुई आणविक शक्तिराष्ट्र अमेरिका र रुसबीचको युद्ध हो । यसका साथै ताइवानवरपर चीनको सतर्क सैन्य अभ्यास जारी छ । उत्तर र दक्षिण कोरियाले समुद्री सीमामा मिसाइलहरू प्रहार गरिरहेका छन्, जुन कोरियाली प्रायद्वीपमा अर्को अमेरिकी युद्ध हो । रुसलाई ड्रोन बेचेको आरोपमा इरानलाई पनि युरोपेली युद्धमा तानिएको छ ।

युरोपको युद्ध र एसियामा अमेरिका–चीन युद्धको विकासशील परिदृश्यलाई ध्यानमा राख्दै, तीनवटा महत्वपूर्ण अन्तरसम्बन्धित प्रश्न अन्तर्राष्ट्रिय न्यायविद्, राजनीतिज्ञ र रणनीतिक चिन्तकद्वारा विचारका लागि उठाइएका छन् । पहिलो प्रश्न, के ताइवान र युक्रेनको आत्मरक्षाको अधिकारका पक्षमा तेस्रो विश्वयुद्धको खतरा लिनु उचित छ (यदि यो उचित हो भने त्यसका लागि के विश्व समुदाय तयार छ) ? दोस्रो, के विश्व प्रेस÷मिडियाद्वारा युद्धका लागि ‘सहमति निर्माण’ कानुनी र नैतिक रूपमा उचित छ ? तेस्रो, नोबेल शान्ति पुरस्कार विजेताहरू शान्तिको पक्षमा किन बोल्दैनन् ?

सर्वप्रथमतः ‘न्यायोचित’, ‘आक्रामक’ र ‘रक्षात्मक’ युद्धका नियमबारे तार्किक व्याख्या गर्नु आवश्यक देखिन्छ । जब न्यायविद्ले ‘न्यायोचित युद्ध’को कुरा गर्छन्, आमजनताले बुझ्नुपर्छ कि आत्मरक्षा प्राकृतिक अधिकार हो, जसलाई संयुक्त राष्ट्रसंघको बडापत्रले स्वीकार गरेको छ । आत्मरक्षाबाहेक कुनै पनि विदेशी हस्तक्षेप, आक्रमण र अन्य सबै स्वरूपका युद्ध संयुक्त राष्ट्रसंघको बडापत्रद्वारा निषेधित छन् । अन्तर्राष्ट्रिय कानुनका यी आधारभूत मापदण्डबाट हेर्दा युक्रेनमा रुसी आक्रमण अवैध छ, जसरी इराकमा २००३ मा अमेरिकी आक्रमण अवैध थियो । इराकसँग आमविनाशकारी हतियार छन् भन्ने बहानामा इराक युद्ध गरिएको थियो । संयुक्त राष्ट्रसंघको बडापत्रअन्तर्गत सुरक्षा परिषद्का पाँच स्थायी सदस्य बेलायत, अमेरिका, चीन, फ्रान्स र रुस अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्न जिम्मेवार हुनुपर्छ । वास्तवमा, अमेरिका र रुसले नै सबैभन्दा बढी अन्तर्राष्ट्रिय शान्ति सुरक्षामा खलल पु¥याइरहेका छन् । समग्रमा बढ्दो विश्वव्यापी असुरक्षा सुरक्षा परिषद्को असफलताको कारण र परिणाम हो ।

युक्रेनमा रुस स्पष्ट रूपमा आक्रामक छ । यद्यपि, रुसले यसलाई रक्षात्मक युद्ध भन्छ किनभने युक्रेनलाई नेटो सदस्य राष्ट्रहरूले आधिकारिक रूपमा सैन्य समर्थन गरिरहेका छन् । यदि चीनले ताइवानउपर सैन्य कारबाही गर्छ र प्रतिक्रियामा अमेरिकाले ताइवानलाई समर्थन गर्छ (गरिरहेको छ) भने यो आक्रामक वा रक्षात्मक कार्य के हो भनेर निर्धारण गर्न गाह्रो हुनेछ । धेरै विज्ञ चीन–ताइवान र रुस–युक्रेन अवस्थालाई सन् १९६२ को क्युवाली मिसाइल संकटसँग तुलना गर्छन् । त्यतिवेला र अहिलेको फरक यत्ति हो कि अहिले संकट रुस र चीनको ढोकामा छ । त्यसवेला क्युवामा रुसी मिसाइल अमेरिकाको ढोकामा थियो ।

आणविक युद्धको खतरा : पहिलो प्रश्नको स्पष्ट जवाफ पत्ता लगाउन सजिलो छैन । उपयोगितावादी र यथार्थवादी रणनीतिकारहरू विश्वास गर्छन् कि ‘साध्यले साधनलाई न्यायोचित बनाउँछ ।’ यसलाई म्याकियाभेलियन रणनीति पनि भनिन्छ । यो ‘कौटिल्य नीति’जस्तै हुन्छ । कुनै एक राष्ट्रलाई आणविक आत्मरक्षाको अधिकार छ भने अरूलाई पनि हुन्छ । परमाणु युद्ध यस्तो चरम परिदृश्य हो, जहाँ कसैको पनि बाँच्ने कुनै ग्यारेन्टी हुँदैन । त्यसैले, म्याकियाभेलियन रणनीति वा ‘कौटिल्य नीति’ अन्तर्राष्ट्रिय सम्बन्धको सामान्य आचरण होइन र मानिनु पनि हुँदैन ।

आत्मरक्षाबाहेक कुनै पनि विदेशी हस्तक्षेप, आक्रमण र अन्य सबै स्वरूपका युद्ध संयुक्त राष्ट्रसंघको बडापत्रद्वारा निषेधित छन् । अन्तर्राष्ट्रिय कानुनका आधारभूत मापदण्डबाट हेर्दा युक्रेनमा रुसी आक्रमण अवैध छ । 
 

सामूहिक विनाशकारी युद्धहरू कुनै पनि माध्यमबाट जोगिनैपर्छ । जेफ्री साक्सले २८ सेप्टेम्बर, २०२२ मा एथेन्स डेमोक्रेसी फोरम ‘एरिस्टोटल–कन्फ्युसियस संवाद’मा एक अर्थपूर्ण टिप्पणी गरे । साक्सले युक्रेनका राष्ट्रपति जेलेन्स्की शान्तिवार्ताबाट टाढा भएका कारण आणविक युद्ध भएमा उनी सबैभन्दा दोषी हुने बताए । उनले विश्वका ठूला शक्तिलाई अरूमाथि औँला उठाउनु वा विपक्षीलाई गाली गर्नुको सट्टा संवाद गर्न सुझाब पनि दिए । साक्सले युद्धलाई लोकतन्त्र र अधिनायकवादबीचको लडाइँका रूपमा हेरिनु हुँदैन र अमेरिकाले आफ्नो मोडेललाई अरूको भन्दा उच्च साबित गर्ने प्रयास गर्नु हुँदैन भन्ने पनि सुझाब दिए । विदेशी शक्तिद्वारा लोकतन्त्रको प्रत्यारोपण दिगो साबित भएको छ भन्ने साक्सको दृष्टिकोण छ । स्पष्ट निष्कर्षमा साक्स भन्छन्, ‘रुसको सिमानामा नाटो विस्तार गरेर वर्तमान युक्रेन युद्ध उक्साइएको हो ।’

अमेरिकाको तुलनामा चीन आर्थिक रूपमा शक्तिशाली हुँदै गएकाले अमेरिकी ‘औद्योगिक सैन्य–कम्प्लेक्स’ले चीनसँग लड्न तयारी गरिरहेको छ । ताइवानका सन्दर्भमा केभिन रुड (‘द अभाइडेबल वार’, २०२२) लेख्छन्, ‘चीन र अमेरिकाबीचको युद्ध घातक र विनाशकारी हुनेछ ।’ चीन र अमेरिकाको भूराजनीतिक संकट अझै पनि टाढिन सक्नेछ र दुवै मुलुकले ‘रणनीतिक प्रतिस्पर्धाको माध्यमबाट आफ्नो मूल स्वार्थलाई धोका नदिई सह–अस्तित्वको बाटो खोज्नुपर्छ ।’

युद्धको सहमति निर्माण : दोस्रो प्रश्न हेर्दा आज विश्वमा वस्तुनिष्ठ, स्वतन्त्र र तटस्थ मिडिया फेला पार्न दुर्लभ बन्दै गएको छ । एडवर्ड हर्मन र नोम चोम्स्कीको ‘सहमति उत्पादन’ युद्धहरूका लागि सहमति सिर्जना गर्ने वास्तविकता भएको छ । केही सम्मानजनक अपवादबाहेक अधिकांश पश्चिमी मिडियाले युद्धलाई वैधानिकता दिइरहेका छन् । युद्धका लागि सहमति निर्माण गैरकानुनी हुनुका साथै अनैतिक र अमानवीय पनि छ । संयुक्त राष्ट्रसंघको महासभाले आफ्नो एक सय आठौँ पूर्ण सत्र (नोभेम्बर ३, १९४७) मा सदस्य राष्ट्रहरूलाई युद्धको प्रचार र युद्धका लागि उक्साउने कार्यविरुद्ध कारबाही गर्नुपर्ने प्रस्ताव पारित गरेको थियो । ‘युद्धका लागि प्रचार निषेध’ नागरिक र राजनीतिक अधिकारको अन्तर्राष्ट्रिय अनुबन्धमा उल्लिखित एक प्रमुख प्रावधान हो । यो अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा अव्यावहारिक प्रतिबन्ध होइन । रुस–युक्रेन युद्धका दुवै पक्षले आ–आफ्ना तथ्य र मिथकलाई बढावा दिइरहेका छन् । कुनै पनि युद्धको पहिलो हताहती (क्याजुएल्टी) ‘सत्य’ हुन्छ ।

नोबेल शान्ति पुरस्कार विजेताहरूको मौनता : अन्त्यमा सबैभन्दा जिज्ञासु प्रश्न– किन विश्वका नोबेल शान्ति पुरस्कार विजेताहरू शान्तिका लागि बोलिरहेका छैनन् ? ‘सन् २०२२ को शान्ति पुरस्कार बेलारुसका मानवअधिकार अधिवक्ता एलेस बिलियात्स्की, रुसी मानवअधिकार संगठन मेमोरियल र युक्रेनी मानवअधिकार संगठन सेन्टर फर सिभिल लिबर्टिजलाई प्रदान गरिएको छ । तर, यी नोबेल पुरस्कार विजेताहरू युरोपको युद्धबारे मौन बसेका छन् । चीनका लिउ सियाओबोलाई सन् २०१७ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । दलाई लामालाई सन् १९८९ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । यी नोबेल पुरस्कार विजेताहरूबाट पनि कुनै आधिकारिक टिप्पणी सार्वजनिक भएको छैन ।

दलाई लामालाई शान्तिका मानिस भनेर चिनिन्छ र एसियामा शान्तिका लागि उनको वकालत पहिलेभन्दा अहिले धेरै आवश्यक छ । यद्यपि, नोबेल शान्ति पुरस्कार आफैँ विवादबाट मुक्त छैन भन्ने कुरा पनि स्वीकार गर्नुपर्छ । नोबेल शान्ति पुरस्कारलाई ‘राजनीतिक रूपमा उत्प्रेरित, समयपूर्व वा शान्ति भनेको के हो भन्ने गलत परिभाषाद्वारा निर्देशित भएको’ आदि आरोप छन् । महात्मा गान्धीलाई कहिल्यै यो पुरस्कार दिइएन । जाँ–पल सात्र्रले १९६४ मा साहित्यतर्फको नोबेल पुरस्कार अस्वीकार गरे ।

जर्ज बर्नार्ड साले साहित्यमा १९२५ को नोबेल पुरस्कार स्वीकार गरे पनि ‘पुरस्कार रकम’ चाहिँ अस्वीकार गरे । बर्नार्ड साको ‘द म्यान अफ डेस्टिनी’ नाटकमा युद्धको भेषमा शान्तिको प्रचार कसरी हुन्छ भन्नेबारे सत्य प्रकट भएको छ । अर्थात् अंग्रेज मानिस राष्ट्रिय स्वतन्त्रताको महान् च्याम्पियनका रूपमा आधा विश्वलाई जित्छ र यसलाई औपनिवेशिकता भन्छ । जसले आफ्नो सामानका लागि नयाँ बजार चाहन्छ, उसले शान्ति प्रचार गर्न बाइबलसहित मिसनरी पठाउँछ । नर्वेजियन नोबेल समितिले यो पढेको हुनुपर्छ ।

नोबेल पुरस्कार स्थापना हुँदा नर्वे र स्विडेन दुवै एउटै देश थिए । अल्फ्रेड नोबेलको इच्छाअनुसार ‘शान्ति पुरस्कार’ नर्वेमा र अरूलाई स्विडेनमा दिइन्छ । नर्वे १९४९ मा उत्तर एट्लान्टिक सन्धिमा हस्ताक्षर गरेदेखि नाटो सदस्य हो । स्विडेनले हालै नाटो सदस्यताका लागि आवेदन दिएको छ । सोभियत समर्थित ‘वार्सा सैन्य सम्झौता’को विरोधमा नाटोको स्थापना भएको थियो । सोभियत संघको १९९१ विघटनसँगै वार्सा सैन्य सम्झौता समाप्त भयो । तर, अहिले पनि वार्सा सम्झौताको भूतले रुस र युरोपलाई समग्र रूपमा सिकार गरिरहेको छ ।

र, अन्त्यमा :  उल्लिखित तीन विषय संक्षेपमा यसरी भन्न सकिन्छ– संसारका सबैभन्दा शक्तिशाली देशहरू निर्वाचित वा अनिर्वाचित निरंकुशद्वारा सञ्चालित छन् । विश्व परमाणु हतियार आतंकअन्तर्गत भए पनि आणविक युद्ध कुनै पनि हालतमा जोगिनैपर्छ । पूर्ण आणविक युद्धले सबै नष्ट गर्नेछ भन्ने हामी सबैलाई थाहा छ । सही नीतिसाथ आणविक खतराबाट मुक्त संसारका लागि सामान्य नागरिकले पनि काम गर्न सक्छ । त्यसका लागि शक्तिमाथि प्रश्न उठाउने असल नागरिक बन्न आवश्यक छ । मिडियाले युद्धका लागि सहमति निर्माण गर्न बन्द गर्नुपर्छ । अहिले शान्ति र निःशस्त्रीकरणका लागि बोल्ने बट्र्रान्ड रसल र जाँ पल सात्र्र छैनन् । नोम चोम्स्कीले रुस–युक्रेन युद्धको सुरुवातदेखि नै शान्तिको आह्वान गर्दै आएका छन् । हेनरी किसिंगर भरपर्दा छैनन्, जेफ्री साक्स र केभिन रुड उपयोगी ज्ञान बताइरहेका छन् । शान्तिको आवाज पहिलेभन्दा बढी महत्वपूर्ण हुँदै गइरहेको छ ।

(कानुनका प्रोफेसर मल्ल हाल स्विडेनको स्टकहोम विश्वविद्यालयको ‘सेन्टर फर इन्टरनेसनल ल एन्ड जस्टिस’का सिनियर फेलो हुन् ।)