
अञ्जन विष्टको निर्णायक एक मात्र गोलमा नेपालले बुधबार पाकिस्तानलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा १–० ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा अञ्जनले खेलको ८२औँ मिनेटमा विजयी गोल गरेका थिए । फिफा प्रतिबन्धबाट अन्तर्राष्ट्रिय मैदानमा फर्किएको पाकिस्तानलाई १४ वर्षपछि नेपालले पराजित गरेको हो । दशरथ रंगशालामा नेपालको यो ५०औँ अन्तर्राष्ट्रिय घरेलु खेल थियो । घरेलु मैदानमा ६ हजार नौ सय ७२ समर्थकबीच नेपालले दोस्रो हाफमा मात्रै गोल गर्न सक्यो ।
नेपाल र पाकिस्तानले पहिलो हाफमा गोलका राम्रा अवसर बनाउन सकेनन् । दुवै टोलीले ‘टार्गेट’मा कुनै बल प्रहार गर्न सकेनन् । फिफा प्रतिबन्धको तीन वर्षपछि मैदान फर्किएको पाकिस्तानविरुद्ध ८४औँ मिनेटमा नेपालले उत्कृष्ट फिनिसिङ गर्न सफल भयो । दिनेश राजवंशीले दायाँ भागमा रहेका सुनिल बललाई बल उपलब्ध गराए । सुनिलले निकै चलाखीपूर्ण रूपमा लामो क्रस गरे । जुन बललाई पाकिस्तानी गोलरक्षक युसुफ बुटले समात्न नभ्याउँदै पहिलो बारनजिक रहेका अञ्जनले ‘राइट फुट’द्वारा उत्कृष्ट गोल गरे । खेलमा उनी नै सर्वाेत्कृष्ट खेलाडी भए । अट्याकिङ मिडफिल्डर आभास लामिछानेले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् ।
पाकिस्तानमाथि छैटौँ जित
समग्रमा नेपालले पाकिस्तानविरुद्ध छैटौँ जित निकालेको हो । सन् २०१८ मा नेपालले पाकिस्तानसँग अन्तिमपटक खेलेको थियो । नेपाल र पाकिस्तानबीच आधिकारिक रूपमा १८ खेल भएका छन् । जसमा ६ खेलमा जित निकाल्दा पाँच खेलमा बराबर र सात खेलमा हार बेहोरेको छ । सन् २०१८ मा बंगलादेशको राजधानी ढाकामा भएको साफ च्याम्पियनसिपमा पाकिस्तानले नेपाललाई २–१ अन्तरले पराजित गरेको थियो । नेपालले पाकिस्तानलाई १४ वर्षपछि हराएको थियो । २००८ सालमा पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा नेपालले पाकिस्तानलाई ४–१ अन्तरले पराजित गरेको थियो । नेपालले पहिलो खेल पाकिस्तानसँग १९८५ मा खेलेको थियो ।
अञ्जनले जुमानुसँग गोल बराबरी गरे
पाकिस्तानविरुद्ध निर्णायक गोल गरेका अञ्जनको अन्तर्राष्ट्रिय गोल संख्या ११ पुगेको छ । अञ्जनले स्ट्राइकर जुमानु राईको ११ गोलसँग बराबरी गरेका छन् । जुमानुले अन्तर्राष्ट्रिय खेलबाट आधिकारिक सन्न्यास लिएका छैनन् । तर, पछिल्लो समय उनी मैदानबाहिर छन् । यद्यपि, घरेलु प्रतियोगितामा जुमानु देखिँदै आएका छन् । नेपालको सर्वाधिक गोलकर्ता हरि खड्का र नीराजन रायमाझीले समान १३ गोल गरेका छन् ।
जितले खुसी छु
प्रवेश कटुवाल, प्रशिक्षक, नेपाल
यो जितपछि पक्कै पनि खुसी छु । मेरा लागि यो पहिलो अवसर थियो । पाकिस्तानलाई १४ वर्षपछि जित्न सफल भएका छौँ । यसको श्रेय खेलाडीमा जान्छ । हामीले १२ दिनको तयारी गरेका थियौँ । यसको बाबजुद पनि खेल हाम्रो पक्षमा आयो । पाकिस्तानविरुद्ध बल पोसेसन राख्यौँ, तर फिनिसिङमा चुक्यौँ । अन्तिम समयमा गोल निस्कियो । व्यावसायिक प्रशिक्षक भएपछि सबैको नजर राष्ट्रिय टोलीमा हुन्छ ।
नेपालले राम्रो खेल्यो
सहजाद अनवर, प्रशिक्षक, पाकिस्तान
जितका लागि नेपाललाई धन्यवाद ! साँच्चै नेपालले राम्रो खेलेको थियो । नेपालमा क्लब म्याच राम्रो थियो । पाकिस्तान फिफा प्रतिबन्धको धेरै पछि मैदानमा फर्किएको छ । मेरा खेलाडीले राम्रो खेले । आजको खेल निकै महत्वपूर्ण थियो । पाकिस्तानी फुटबलमा समस्या चलिरहेको थियो ।
यो नै अन्तिम होइन
अञ्जन विष्ट, स्ट्राइकर, नेपाल
यो नै अन्तिम हैन । लामो बाटो रहेको छ । अबका दिन अझै राम्रो गर्नु छ । समर्थकको समर्थनले समेत जित्न सहज भयो । खेलजीवनमा पनि तल–माथि हुन्छ । प्रदर्शन खस्कँदा कसैले समर्थन गर्दैनन् । यस्तो अवस्थामा आफैँ उठ्नुपर्छ । कमजोरीलाई नियालेर अगाडि बढेको छु । राम्रो गर्न सधैँ तयार छु । हरेक समय टोलीको जितका लागि खेल्दै आएको छु ।