Skip This
१० महिनामै टिआइएबाट ६५ लाखले गरे हवाई यात्रा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ३० बुधबार
  • Tuesday, 13 May, 2025
२o७९ कार्तिक ३० बुधबार o६:२९:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

१० महिनामै टिआइएबाट ६५ लाखले गरे हवाई यात्रा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक ३० बुधबार o६:२९:oo

आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रा गर्ने यात्रुहरूको संख्या यस वर्ष उल्लेख्य बढेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाट सन् २०२२ को १० महिनामा ६४ लाख ८५ हजारले यात्रुले देश तथा विदेशमा यात्रा गरेका छन् । जबकि, गत वर्षभरिमा आन्तरिक र अन्तर्राष्ट्रिय यात्रा गर्ने यात्रुहरूको कुल संख्या ४९ लाख ८५ हजार थियो ।यस वर्षको १० महिना (जनवरी–अक्टोबर)मा त्रिभुवन विमानस्थल भएर आन्तरिक यात्रा गर्ने यात्रुको संख्या ३७ लाख १५ हजार पुगेको छ । यस्तै, २७ लाख ७० हजार यात्रुहरूले अन्तर्राष्ट्रिय यात्रा गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।  

यो तथ्यांकमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए), पोखरा, नेपालगन्ज, सुर्खेत, विराटनगरलगायत विमानस्थललाई बेस बनाएर यात्रा गरेका यात्रुहरूको संख्या जोडिएको छैन । २ जेठदेखि भैरहवामा कुवेतको जजिरा एयरवेजले सातामा तीन अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । पोखराबाट नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुर, विराटनगरलगायत प्रादेशिक उडान भइरहेको छ । सीता, तारा, समिट एयरलाइन्सले पोखरा, नेपालगन्ज, सुर्खेत, विराटनगर, रामेछापलगायत विमानस्थलाई बेस बनाएर दुर्गम क्षेत्रका गन्तव्यमा उडान गर्दै आइरहेका छन् ।

सन् २०२१ मा वर्षभरि त्रिभुवन विमानस्थल भएर १४ लाख ४४ हजार यात्रुले अन्तर्राष्ट्रिय र ३५ लाख ४२ हजारले यात्रुले आन्तरिक गन्तव्यमा यात्रा गरेको तथ्यांक छ । कोभिड महामारीपछि सन् २०२१ मा आन्तरिक हवाई यात्रु उल्लेख्य बढेका हुन् । पछिल्लो समय आन्तरिक उडान गर्ने ठूला जहाजहरूको संख्यामा वृद्धि हुनुका साथै सडकको अवस्था पनि अत्यन्तै नाजुक हुँदा हवाई यात्रु बढिरहेको वायुसेवा कम्पनीको दाबी छ । आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटक बढ्दा पनि हवाई यात्रु बढिरहेका हुन् ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार यस वर्षको १० महिनामा कुल १९ हजार दुई सय ७८ उडान अवतरणमार्फत १४ लाख ९३ हजार यात्रु त्रिभुवन विमानस्थलबाट विभिन्न देशमा यात्रा  गरेका छन् भने १२ लाख ५५ हजार यात्रु विभिन्न देशबाट नेपाल भित्रिएका छन् । अहिले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम, हिमालयन एयरलाइन्ससहित दुई दर्जन अन्तर्राष्ट्रिय वायुसेवाले त्रिभुवन विमानस्थलमा उडान गर्दै आइरहेका छन् । 

यस्तै, १० महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८९ हजार ६ सय १५ उडान तथा अवतरणमार्फत १८ लाख ९४ यात्रु देशका विभिन्न ठाउँमा उडेका छन् भने १८ लाख २२ हजार यात्रु देशका विभिन्न ठाउँबाट काठमाडौं आएका छन् । अहिले नौवटा वायुसेवाहरू बुद्ध, यती, श्री, नेपाल वायुसेवा, सौर्य, गुण, तारा, सीता र समिट एयरलाइन्सले आन्तरिक उडान गर्दै आएका छन् । यस्तै, एक दर्जन हेलिकोप्टरले पनि आन्तरिक उडान सेवा दिइरहेका छन् । जहाज र हेलिकोप्टर गरी २१ कम्पनीमध्ये बुद्ध एयरको बजार हिस्सा ५३.६ प्रतिशत रहेको छ । यती एयरलाइन्सको २१ प्रतिशत बजार हिस्सा छ भने श्री एयरलाइन्सको १६ प्रतिशत बजार हिस्सा रहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ सबैभन्दा धेरै यात्रु बोक्नेमा कतार एयरवेज पहिलो र नेपाल वायुसेवा निगम दोस्रो बनेको छ ।