Skip This
औद्योगिक क्षेत्रलक्षित सुनवल सबस्टेसन एक महिनाभित्र सञ्चालनमा आउने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २९ मंगलबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक २९ मंगलबार o७:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

औद्योगिक क्षेत्रलक्षित सुनवल सबस्टेसन एक महिनाभित्र सञ्चालनमा आउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २९ मंगलबार o७:४१:oo

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का उद्योगहरूलाई लक्षित गरेर अघि बढाइएको एक सय ३२ केभी सुनवल सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । अबको एक महिनाभित्र नै सञ्चालन हुने गरी सबस्टेसनको काम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । त्यस क्षेत्रका उद्योगहरूमा पर्याप्त र गुणस्तरीय विद्युत् आपूर्ति गर्न सुनवल नगरपालिका–७ मा उक्त सबस्टेसन बनाउन लागिएको थियो ।

हाल सबस्टेसनका उपकरणहरू जडान धमाधम भइरहेको छ । १३२÷३३÷११ केभी सबस्टेसनमा ६३ एमभिएका दुईवटा, २२.५ एमभिएको एउटा पावर ट्रान्सफर्मर रहनेछन् । सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि ३३ केभीका सातवटा र ११ केभीका चारवटा फिडरहरू निकालिनेछन् । हाल सञ्चालनमा रहेको पूर्व–पश्चिम एक सय ३२ केभी प्रसारण लाइन सुनवल सबस्टेसनमा भित्रिने (लुप इन) र बाहिरिने (लुप आउट) छ । यही एक सय ३२ केभी लाइनबाट सुनवल सबस्टेसनमा विद्युत् आपूर्ति दिइनेछ ।    

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, लुम्बिनी प्रादेशिक कार्यालयका निर्देशक नवराज ओझालगायतको उच्चस्तरीय टोलीले निर्माणाधीन सबस्टेसनको अनुगमन गरेका थिए ।  

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले उक्त सबस्टेसन उद्योगहरूको विद्युत् आपूर्तिका लागि मेरुदण्ड हुने बताएका छन् । ‘परासी क्षेत्रका सिमन्ट, स्टिललगायतका ठूला उद्योगहरूलाई विद्युत् आपूर्तिका लागि सुनवल सबस्टेसन मेरुदण्ड हो, अहिले बुटवल सबस्टेसनबाट लामो र कम क्षमताको ३३ केभी प्रसारणमार्फत आपूर्ति दिँदा पर्याप्त विद्युत् नपाएको, भोल्टेजको समस्या भएको जस्ता गुनासो उद्योगीहरूबाट आउने गरेको छ,’ उनले भने, ‘सुनवल सबस्टेसनलाई सञ्चालनमा ल्याएर यहीँबाट विद्युत् आपूर्ति दिन थालेपछि सबै समस्या हट्छ, परासी बजार क्षेत्रलाई पनि सुनवल सबस्टेसनबाटै विद्युत् आपूर्ति दिन सकिन्छ । यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ भने प्राविधिक चुहावट पनि घट्नेछ ।’ औद्योगिक करिडोरमा विद्युत् आपूर्तिको व्यवस्थापनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत प्राप्त भएको बजेटमा सुनवल सबस्टेसन निर्माण गरिएको हो । 

यस्तै, प्राधिकरणले परासी र रुपन्देहीको भैरहवा औद्योगिक करिडोरमा गुणस्तरीय विद्युत् दिन सुनवल (भुमही)–हकुई एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण अगाडि बढेको छ । यस्तै, नवलपरासीको सुनवल नगरपालिका–१३ मा २२०÷१३२ केभी नयाँ बुटवल सबस्टेसन निर्माण गरिएको छ । यही सबस्टेसनबाट भारतको गोरखपुरसम्म चार सय केभीको प्रसारण लाइन बन्दै छ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बाट प्राप्त हुने अनुदान रकमबाट नयाँ बुटवलमा चार सय केभीको सबस्टेसन निर्माण गरिनेछ ।   

 बुटवल–लुम्बिनी प्रसारण लाइन बनेपछि भैरहवाको विद्युत् आपूर्तिमा सुधार
योगीकुटी (बुटवल)बाट मैनहियासम्मको एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएपछि भैरहवा क्षेत्रमा विद्युत् आपूर्तिमा सुधार आएको छ । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता वृद्धि र प्राविधिक चुहावट नियन्त्रणका प्रसारण लाइन र मैनहियामा एक सय ३२ केभी सबस्टेसन निर्माण गरी विद्युत् आपूर्ति दिइरहेको छ ।

मैनहिया सबस्टेसनबाट भैरहवा क्षेत्रको विद्युत् दिन थालेपछि त्यस क्षेत्रको भोल्टेज सुधार भएको प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए । साथै, उद्योगीहरूबाट गुनासो पनि आउन छाडेको उनको भनाइ छ ।  स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिएको छ । विद्युत्को भोल्टेजको सुधारका लागि दुईवटा क्यापासिटर बैंक राखिएको छ । 

मैनहिया सबस्टेसनबाट भारतको उत्तरप्रदेशसँग विद्युत् प्रवाहका लागि एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । भारतर्फको सबस्टेसनमा केही काम बाँकी रहेकाले प्रसारण लाइन सञ्चालनमा नआएको प्राधिकरणको भनाइ छ । अहिले उत्तरप्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेको छ । मैनहिया–सम्पत्तिया प्रसारण लाइनले नेपाल–भारतबीचको अन्तरदेशीय विद्युत् व्यापारलाई अझ सहज बनाउनेछ ।

ad
ad
ad
ad