१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवीन अर्याल काठमाडाैं
२०७९ कार्तिक २९ मंगलबार १२:०५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पोखरा विमानस्थल उद्घाटनकै दिनबाट बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान गर्ने

२०२३ जनवरीबाट भारतको बनारससँगै दिल्ली र देहरादुनमा नियमित उडान गर्ने तयारी

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७९ कार्तिक २९ मंगलबार १२:०५:००

पर्यटकीय सहर पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनकै दिनबाट नै बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । बुद्धले पोखरा विमानस्थल सञ्चालनमा आउनेबित्तिकै सातामा तीन दिन आइतबार, मंगलबार र बिहीबार पोखरा–बनारस अन्तर्राष्ट्रिय उडान सुरु गर्ने भएको हो । ‘जनवरी २०२३ देखि अन्तर्राष्ट्रिय उडानका लागि पोखरा विमानस्थल तयार हुने जानकारी प्राप्त भएको छ,’ बुद्ध एयरले भनेको छ, ‘त्यहाँबाट हुने प्रथम अन्तर्राष्ट्रिय उडानका रूपमा बुद्ध एयरले पोखरा–बनारस–पोखरा सातामा तीन दिन उडान गर्ने योजना बनेको छ ।’

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले १ जनवरी २०२३ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने तयारी गरेको छ । विमानस्थल सञ्चालनका लागि रिट्ठेपानी डाँडो कटानदेखि ल्यान्डफिल साइट सार्नेसम्मका पूर्वतयारीका कामहरू अहिले भइरहेका छन् । 

 १६ मंसिरदेखि क्यालिब्रेसन फ्लाइट
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि १६ मंसिरदेखि क्यालिब्रेसन (यान्त्रिक परीक्षण) उडान गर्ने क्यानको तयारी छ । एरोथाईको विशेष उपकरणजडित विमान ल्याएर विमानस्थलमा जडान गरिएका सूचना–सञ्चारका यन्त्र उपकरणको परीक्षण गरिँदै छ ।क्यालिब्रेसन फ्लाइटका लागि रिट्ठेपानी डाँडो १४ मिटर कटान गर्नुपर्ने हुन्छ । अहिले धमाधम डाँडो कटानको काम भइरहेको क्यानले जनाएको छ । उमा–गल्वा जोयन्ट भेन्चर कम्पनीले करसहित ३२ करोड ३० लाख ४४ हजार रुपैयाँमा डाँडा कटानीको जिम्मेवारी पाएको छ । 

विमानस्थलमा नियमित उडान सञ्चालनका लागि रिट्ठेपानी डाँडो ४० मिटर काट्नुपर्ने देखिएको छ । डाँडो एउटा चुच्चोबाट ४० मिटर र अर्को चुच्चोबाट साढे १२ मिटर कटान गर्नुपर्ने हुन्छ । ‘डाँडो कटान सुरु भइसकेको छ, समयमै ल्यान्डफिल साइट सारिसक्ने पोखरा महानगरपालिका मेयरको प्रतिबद्धता छ,’ क्यानका महानिर्देशक प्रदीप अधिकारीले भने, ‘तोकिएकै मितिदेखि नियमित उडान सुरु हुनेमा विश्वस्त छौँ ।’

विमानस्थल सञ्चालनका लागि अर्को अवरोध भनेको ल्यान्डफिल साइट हो । पोखरा महानगरका मेयर धनराज आचार्यले १ जनवरीसम्म ल्यान्डफिल साइट सारिसक्ने प्रतिबद्धता जनाएको अधिकारीले बताए । यो विमानस्थल चिनियाँ निर्माण कम्पनी सिएएमसी इन्जिनियरिङ असार ०७४ देखि निर्माण सुरु गरेको थियो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ)को मापदण्डअनुसार फोरडी मोडेलमा विमानस्थल बनाइएको हो, जसको अनुमानित लागत २१ अर्ब ६० करोड छ । 

पर्यटक आउने अन्तर्राष्ट्रिय गन्तव्य देशहरू पोखराबाट सीधा उडान गरी ठूलो संख्यामा पर्यटक भिœयाउने सरकारको लक्ष्य छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएपछि होटेल, रिसोर्ट तथा अन्य पर्यटकीय गतिविधिमा ठूलो लगानी भइसकेको छ । तर, स्वदेशी तथा विदेशी पर्यटकमाझ पोखराको पहिचान नै बनिसकेको साहसिक मनोरञ्जनात्मक खेल प्याराग्लाइडिङ उडान भने विमानस्थल सञ्चालनमा आएपछि करिब विस्थापित नै हुने देखिएको छ ।

 पोखरा–दिल्ली दैनिक दुई उडानको तयारी
बुद्ध एयरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाट भारतको बनारसमा नियमित उडान गर्दै आइरहेको छ । पोखरा विमानस्थलबाट भारतका विभिन्न सहरमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने बुद्ध एयरले पहिल्यै घोषणा गरेको थियो । बुद्धले एटिआर ७२ जहाजबाट पोखरा–बनारस उडान गर्नेछ । यस्तै, एयर ट्राफिक सर्भिस (एटिएस) रुटका लागि नेपाल सरकारले भारतसँग पहल गरिरहेको छ । भारतबाट रुट र स्लट पाउनासाथ पोखरा–दिल्ली–पोखरा प्रत्येक दिन दुई उडान र पोखरा–देहरादुन–पोखरा सातामा तीन उडानका लागि प्रक्रिया यथाशीघ्र अगाडि बढाउने बुद्ध एयरले जनाएको छ । बुद्धले पोखराबाट विभिन्न देशमा अन्तर्राष्ट्रिय उडान गर्नका लागि न्यारोबडी जहाज ल्याउने घोषणा गरिसकेको छ ।