महाकालीपारिबाट देउकलीको प्रश्न : देशले हामीलाई नेपाली नठानेको हो ?

पदम बडाल पदम बडाल
शनिबार, २९ चैत, २०७६
डिजिटल संस्करण

‘राति अबेरसम्म निद्रै लाग्दैन । छोराछोरीको धेरै याद आउँछ, अरूले गहुँ काटिसके होलान्, हाम्रो गहुँ के भयो होला ? बालबच्चाले के खाए होलान् ?’ महाकालीपारिबाट देउकली पुन मगरले फोनमा भनिन् ।

घरमा पन्ध्रवर्षे छोरा र दशवर्षे छोरीलाई छाडेर पाँचवर्षे छोरा काखी च्यापी चार महिनापहिले श्रीमान् प्रेमबहादुर पुन मगरसँगै देउकली भारतको बरम ओखलढुंगामा खरिखानमा काम गर्न पुगेकी थिइन् । बाली लगाएर बर्सेनि काम खोज्न हिँड्ने देउकली र प्रेमको जोडीलाई यो वर्षको गहुँ भिœयाउन पाउँछौँ जस्तो लागेको छैन । ‘अस्ति १८ गते पुल खुल्ने कुरा थियो, खुलेन, कहिले खुल्ने हो, थाहा छैन । घरमा छोराछोरीले के खाए होलान् ?’ देउकलीलाई प्रश्न त अरू सोधेको थिएँ, तर उत्तर भने छोराछोरी र पाकिसकेको गहुँ मात्रै आइरह्यो । 

बरम ओखलढुंगाबाट दुई दिन हिँडेर धार्चुला पुग्दा जन्मभूमि पस्ने पुल बन्द भइसकेको थियो । उनी बन्द भएको पुलपारि उभिएर वारि नेपाल धेरै बेर चिहाइरहिन् । त्यसपछि लागिन् क्वारेन्टाइनतर्फ । ‘बस्न दिएको छ, खान दिएको छ । तर, मन घरमा रहेका बालबालिका र गहुँतिरै हुन्छ, यहाँ बस्ने मनै छैन,’ देउकली भन्छिन्, ‘श्रीमान् अन्य पुरुषसित गफिन्छन्, आफू पाँचवर्षे छोरा र अन्य महिलासँग बस्छु । कुरा पनि के गर्नु, सबै सकिए ।’ 

देउकलीलाई यसरी बन्दमा परिन्छ भन्ने लागेको थिएन । देउकलीको सोझो रोडम्याप थियो, दार्चुला पुगेर अत्तरियासम्म बसमा जाने अनि पाक्नै लागेको गहुँ धमाधम काटेर भिœयाउने । तर, अड्किनुप-यो, सिमानामा । 

महाकालीपारि रोकिएका महिलाहरू भन्दै छन्, ‘राति अबेरसम्म निद्रै लाग्दैन । छोराछोरीको धेरै याद आउँछ, अरूले गहुँ काटिसके होलान्, हाम्रो गहुँ के भयो होला ? बालबच्चाले के खाए होलान् ?’

देउकली दैनिक साढे तीन सय कमाउँथिन् । उनी ठेकेदारसँग छुट्टी मागेर पाक्नै लागेको गहुँ भित्र्याउन आफ्नो गाउँ (कैलाली सुख्खड) फर्कने तयारीमा थिइन् । तर, ठेकेदार आफैँले काम बन्द ग-यो । उनको योजना सफल भएन । अहिले क्वारेन्टाइनमा महिला र बालबालिकालाई दूध र फलफूल दिन बिराएर दिइएको छ । ‘तर, घरको चिन्ताले खान मनै लाग्दैन,’ देउकली भन्छिन्।

देउकलीकै समूहमा सोही गाउँकी गीता चौधरीलाई पनि घरकै चिन्ता छ । १६ वर्षे छोरा र श्रीमान्सँगै उनी पनि धार्चुलाबाट झन्डै ८० किलोमिटर टाढा पर्ने खरिखानमा पुगिन् । गीताको घरमा वृद्धवृद्धा सासू–ससुरा छन्, २ छोराछोरी छन् र उनको पनि गहुँ पाक्नै लागेको छ। 

‘हामीलाई यताका डाक्टरले जाँचेका छन् । सबैलाई सञ्चै छ भनेका छन् । तर, आफ्नै देशले गेट खोल्दैन । के हामीले हाम्रो घर जान नपाउने ? घरका बुढाबुढीलाई कसले हेर्छ, पाकेको गहुँ कसले काटिदिने हो ?’ गीता प्रश्नैप्रश्न गर्छिन् । ‘नेपालले हामीलाई के नेपाली नमानेको हो ?’ उनी आक्रोशित हुन्छिन् ।

स्थानीय निर्वाचनमा देउकलीका श्रीमान् प्रेमबहादुर निकै खटिएका थिए । प्रेमबहादुरले भोट हाले, नेतालाई जिताए । तर, भारत पस्दा आफ्नो क्षेत्रका नेताको फोन नम्बर ल्याएनन् । फोन नम्बर ल्याएको भए केही गर्थे कि भन्ने आशा छ प्रेमबहादुरलाई । ‘हामी रोग लागेको क्षेत्रबाट आएका होइनौँ, यता चेकजाँच गर्दा कसैलाई केही बिराम लागेको छैन । तर, नेपालले पुल किन नखोलेको होला,’ उनी प्रश्न गर्छिन्, ‘आफ्नै घरमा मर्छु भन्न पनि नपाइने हो र ?’

देउकली, गीता र प्रेमसँगै धार्चुलाको मिनी स्टेडियममा ५० जना त सुख्खड क्षेत्रकै मजदुर छन् । पहलमानपुर, मसुरियाका गरी सो ठाउँमा ८ जना महिला, १ बालकसहित ५९ जना छन् । उनीहरूसँगै बैतडी, दार्चुला, डडेल्धुराका ३ सय ३६ जना नेपाली सीमावर्ती क्षेत्रमा रात बिताइरहेका छन् । सीमावर्ती जिल्ला पिथौरागढका विभिन्न १० क्याम्पमा १ हजार २ सय ७३ जना नेपालीलाई राखिएको छ ।

सम्पादकको रोजाइ

सुझावित समाचार