पवन नोस्टाल्जिया

बुधबार, २९ फागुन, २०७५
डिजिटल संस्करण

वीरगन्जले अनेक आन्दोलन र क्रान्तिको ज्वाला खेपेर बाँच्यो । सहिदको रगतले लतपतिएर पनि बाँच्यो । शताब्दीदेखिको परिवर्तनको साक्षी हो वीरगन्ज । अहिलेको चकाचक सहरको अभिलाषामा जन्मिएको थिएन वीरगन्ज । प्रथम विश्वयुद्धको धङधङी बाँकी नै रहेको वेला जन्मिएको यो सहरमा केवल सानो रेल्वे स्टेसन थियो । इस्ट इन्डिया कम्पनीबाट सामान ल्याउँथ्यो र काठमाडौंसम्म पठाउँथ्यो ।

सहर भइनसकेको र गाउँको परिवेशलाई पनि छाडिनसकेका ठाउँहरू अहिले पनि देखिन्छन्, भेटिन्छन् । जहाँ मानिस दोधारमा बाँचिरहेका छन् । कतै आकर्षित छन्, कतै अनाकर्षित । र, अनेकतामा अधकल्चो परिचयको धङधङी बोकेर मानिसहरू बाँच्छन् । सहर बन्ने मोहमा गाउँलाई बिर्संदै गइरहेका ठाउँहरूले बिस्तारै काँचुली फेरिरहेका छन् । 
धच गोतामेको ‘घामका पाइलाहरू’ त्यही वीरगन्जको कथा हो, जतिवेला वीरगन्ज न पूर्ण गाउँ थियो, न पूर्ण सहर । तर, वीरगन्ज रहरलाग्दो थियो । पवन ! सम्झँदा पनि उसको आकृति सामुन्ने ठडिन्छ । घामको पाइलामा बाँचेको पवन पाठकको हृदयमा नबाँच्ने कुरै भएन । 

कि कतै पवन म नै त होइन ? बडो यादगार पात्र ल्याए– धच गोतामेले । पवनले बाँचेको जीवन आफूले पनि कहीँ न कहीँ बाँचेर आएको जस्तो लाग्छ । रुखको हाँगामा चढेर हाम फालिरहेको सानो फुच्चे, चकचके, पोखरीमा पौडी खेलेर समय बिताउने, हजुरबाको पछिपछि दौडिने, हजुरबाले भनेका कुरालाई चाख लिएर सुन्ने– फुच्चे पवन । जसको बाल्यकालले पाठकलाई बाल्यकालमा फर्काइदिन्छ । पूरै नोस्टाल्जिक बनाइदिन्छ । बाल्यकालपछिको किशोर पवन कति लोभलाग्दो । कति निर्दोष आकर्षण भरिएको उसमा । सम्झिँदा पनि धमिलो नोस्टल्जियामा पाठकलाई लछारेर पु-याउँछ ।

रेल, ट्रली, एक्का, हजुरबाको तमाखु र खोकी, बासँगको दूरी, आमासँगको समिप्य । पवनले लिएर आउने यी र यस्ता गुणले पठकलाई एकपटक पुरानो दिनमा हु-याएर पछारिदिन्छ । र, होसमा ल्याउँछ, प्याजका पत्र जसरी स्मृतिका पत्र पत्र उप्काएर । पवन बा पिताम्बरसँग कहिल्यै नजिक हुन सक्दैन, न सीधा आँखा जुधाएरै संवाद गर्न सक्छ । हाम्रा बाहरू पनि त्यस्तै त हुन्, सन्तानप्रति सपना पालेर बसेका हुन्छन् । छातीभित्र गर्व र वंशको सानोतिनो अहंको तमाखु सल्काएर बसेका हुन्छन् । पवनको बासँगको सम्बन्धले एउटा दूरीको माग गरिरहन्छ । बरु हजुरबा दुर्गानाथसँग बढी नजिक हुन्छ, हजुरबालाई आफ्ना कुरा सजिलोसँग भन्छ । हजुरबा वृद्ध अवस्थामा आफ्नो खस्किँदै गरेको जीवनको कायाहरू केलाउँदै बस्छन् । 

रुखको हाँगामा चढेर हाम फालिरहेको सानो फुच्चे, चकचके, पोखरीमा पौडी खेलेर समय बिताउने, हजुरबाको पछिपछि दौडिने, हजुरबाले भनेका कुरालाई चाख लिएर सुन्ने– फुच्चे पवन । 

हजुरबाको एक्लो साथी पवन । पवन हजुरबाको साथी मात्र नभएर भावनात्मक लयहरूको ठेगाना पनि भयो । पण्डित दुर्गानाथ आफ्नो अनुभूति र ज्ञानको अन्तिम गन्तव्य पवन भइदियो । आफ्नो जीवनको ठेगाना त ऊ आफैँलाई थाहा छँदै छ– मृत्यु । पाठक यही सत्य भने चाहँदैन ।  ‘घामका पाइलाहरू’ उपन्यास आएपछि पवन पात्र हिट भयो ।पाठकहरूमा प्रिय भयो । बिर्सनै नसकिने भयो । पवन सम्झिनेहरूले आख्यानकार धच गोतामेको आफ्नै कथा हो भनेर धेरैले अनुमान गरे । आख्यानकार ध्रुवचन्द्र गौतम पवन धच गोतामे नै हुन् भनेर ठोकुवा गर्दैनन् । तर, आफ्ना दाइको बाल्यकालको केही अंश भने पवनमा समेटिएको ठान्छन् । 

ध्रुवचन्द्र गौतमभन्दा धच गोतामे निकै नै जेठा थिए । ध्रुवचन्द्र गौतमले आफूले हजुरबाको संगत गर्न नपाए पनि दाइले भने मजाले पाएको बताउँछन् । परिवेश पनि त्यही आफ्नो गाउँ भएकाले दाइको बाल्यकालका केही अंश पवनमा आएकोबारे ध्रुवचन्द्र गौतम दुईमत छैनन् । लेखक नारायण ढकाललाई भने पवन धच गोतामेको अटोबायोग्राफिकल उपन्यास लाग्छ । भन्छन्, ‘त्यो किन पनि भने हुबहु नमिले पनि त्यो उमेरमा जिज्ञासु स्वभाव सबैको हुन्छ ।’ अर्का लेखक बुद्धिसागर पनि नारायण ढकालसँग सहमत छन् । 

‘लेखकले आफूले बाँचेको जीवनको कति हिस्सा आफूले सिर्जना गरेको पात्रमा लगाउँछ, त्यो लेखकमा भर पर्छ,’ ध्रुवचन्द्र गौतम भन्छन्, ‘अलिअलि त होला, तर सबै भने होइन ।’ लेखकले आफ्नो इम्याजिनेसनअनुसार पात्रलाई ढाल्ने र त्यसमा आफ्नो जीवनको निजी अनुभूतिलाई समेट्ने कुरामा ध्रुवचन्द्र सहमत छन् । बाजे र नातिको जुन सम्बन्ध छ, सबै यथार्थ नभए पनि वातावरणचाहिँ यथार्थ भएको ध्रुवचन्द्रको दाबी छ । लेखकसँगको जुन किसिमको पवनको अन्योन्याश्रित सम्बन्ध छ, जसले गर्दा पाठकलाई पनि कहीँ त लागिहाल्छ कि पवनको कथा धच गोतामेकै बाल्यकालको कथा होला । ध्रुवचन्द्र गौतमलाई भने पवनले त्यो समय, स्थानलाई त्यसरी सुन्दर ढंगले सम्बोधन गरेको कारण पनि हो जस्तो लाग्छ ।

उपन्यासमा कथा अघि बढ्नुको प्रमुख कारक पण्डित दुर्गानाथ । दमका रोगी दुर्गानाथलाई उपचार गर्नकै लागि स–परिवार सानो सहर छिरेका छन् । त्यो सानो सहरमा बसेको परिवारको कथामा पवनले पाठकको यसरी प्रेम पायो कि धच गोतामेले ‘यहाँदेखि त्यहाँसम्म’ अर्काे उपन्यास नै लेखे । 

‘घामका पाइलाहरू’मा रेल ल्याउनका लागि पहल गरेका अमलेन्दु भट्टाचार्यकी छोरीसँग पवनको अव्यक्त प्रेमले पाठकमा गुलाफ फक्राइरहन्छ । हरेक मान्छे प्रेममा परेपछि उसका सोचाइहरूले छलाङ मार्छन् । पवन सोचको गहिरो गल्छीहरूमा मिलनको दोभान खोज्दै कुदिरहन्छ । पवन चिन्तनशील हुनुमा उसको अन्तर्मुखी स्वभावको भूमिका प्रमुख रहेको ध्रुवचन्द्र गौतम स्विकार्छन् । अहिले प्रेम व्यक्त गर्ने माध्यम अनेक छन्, सन् १९२७ वरिपरिको समयमा प्रेम हो पनि र होइन पनिको दोधारमै रहेर प्रेम गर्दा रहेछन्, जुन पवन र अणुको सम्बन्धले बताउँछ । यो कुरा अहिलेका हरेक पाठकले महसुस गर्छन् । ध्रुवचन्द्र भन्छन्, ‘त्यस्तो कुरा नै त्यो वेलाको प्रेम थियो ।’ त्यही अव्यक्त प्रेमकै कारण पनि पवन हिट भएको कुरा ध्रुवचन्द्रलाई लाग्छ । चिठीपत्र र पोस्टकार्डहरूमार्फत् आफ्नो प्रेमलाई पोख्ने समयका लेखक बुद्धिसागरलाई पनि लाग्छ कि पहिलाको प्रेम ‘इम्याजिनेसन’मा बढी हुन्थ्यो ।

पवन र अणुको प्रेमले सामाजिक र जातीय तहलाई भत्काउन सक्छ कि सक्दैन ? अमलेन्दु भट्टाचार्य १२ सय तलब खाने मान्छे, पीताम्बर ३० रुपैयाँमा चार परिवारलाई धानेको मान्छे । पवन आफ्ना पिता पीताम्बरको आज्ञालाई अमृतवाणी ठान्ने सुपुत्र । पण्डित दुर्गानाथ ब्रह्मण, अमलेन्दु उर्फ लोकोबाबु बंगाली । उनीहरूको परिवारमा उभिएको जातीय पर्खाल त्यो समयमा कति जटिल थियो, त्यो हामी अहिले अनुमान मात्र गर्न सक्छौँ । उनीहरूको मिलनलाई धच गोतामेले भने थाती नै राखेका छन् । यस पक्षलाई लिएर लेखक नारायण ढकाल भन्छन्, ‘अहिले पो बदलिएको छ, त्यो वेला त्यस्तो हुनु स्वाभाविक नै थियो ।’ उनलाई लाग्छ, त्यो वेला पवन र अणुको प्रेम सफल नहुने देखेरै धच गोतामेले अन्तिममा यत्तिकै छाडेका हुन् । यसमै बुद्धिसागर जोड्छन्, ‘पवन र अणुलाई यत्तिकै छाडिनुमा सामाजिक रूपमा कहिलेकाहीँ आदर्शवाद चाहिन्छ भन्ने कुराले भूमिका खेल्यो होला ।’ 

एउटा मात्र कोठा, दुईतिर बरन्डा भएको, त्यो पनि मारवाडी सेठको घर । उनीहरू दुई–तीन रुपैयाँ तिरेर बहालमा बसेका छन् । पश्चिमपट्टिको बरन्डालाई कर्कटपाटा ठड्याएर भान्साघर बनाएका छन् । भान्साघरमा रित्ता भाँडाकुँडाहरू, बस्दा—बस्दा बच्चाको झोलुङजस्तो भएको पुरानो खाट, त्यहीँ सुत्छन् पीताम्बर र रम्भी । कोठाको एउटा कुना दुर्गानाथ र पवनको सुत्ने थलो । यस्तो परिस्थितिमा बाँचेका पवनका परिवारले अमलेन्दु भट्टाचार्यको वैभव र ओज कसरी थेग्लान् ? पाठकलाई किञ्चित निराशामा लगेर राखिदिन्छ उपन्यासको कथाले । 

बाजे दुर्गानाथमा भएको अथाह बुझाइको तह उप्किएर नाति पवनमा टाँसिएको जस्तो पनि लाग्छ पाठकलाई । पीताम्बर र रम्भी रोमान्टिक हुँदामा बाजेले भन्छन्, ‘पवन आइज, पसलतिर जाऊँ ।’ त्यो सहरको सानो कोठाको अवस्था र परिस्थितिलाई पवनले बाजेको थ्रुबाट सिक्ने कुराले पनि पाठकलाई घायल बनाउँछ । पवनले पाठकको मनमा यसरी हिर्काइदिन्छ, पाठकले आफूबाट पवनलाई मुक्त गर्नै सक्दैन । नारायण ढकाल भन्छन्, ‘हरमानिसले एक समय पवनले जसरी बाँचेकै हुन्छ र पवन सम्झनामा आइरहन्छ ।’ 

सम्पादकहरूको रोजाइ

ती त मरिरहेछन्

६ वर्ष अघि

म माधवी

७ वर्ष अघि

फिसफ्राई

६ वर्ष अघि

सुझावित समाचार