ती त मरिरहेछन्

कविता

मनीषा गौचन मनीषा गौचन
शनिबार, २५ असोज, २०७६
डिजिटल संस्करण

योनी, 
अचेल योनी भन्ने चिज 
बेकार लाग्न थालेछ
लाग्छ स्वाट्ट झिकिदिऊँ 
र फालिदिऊँ धेरै पर
कसैले गन्ध नै नपाओस् ।

सृष्टिको मुहान भएर
मुस्काउन नपाउने योनी
चरम आनन्दको सागर भएर
निदाउन नपाउने योनी
यो त बेकार
ब्वाँसोहरू लोभ्याउने तलाउ भइदियो
कति वेला झ्वाम्म हाम्फाल्छन्
अनि मनलाग्दी पौडिन्छन्
छचल्काउँदै पीडाका चित्कारहरू

कतै योनी 
यस्तो नशा भइदियो 
लतमा मर्दहरू दिउँसै ढलिरहेछन् 
गुप्त कोठीहरूमा 
जहाँ कैयौँ जीवन उठाउन
सुकोमल हृदय पत्थर बनिरहेछन्

यहाँ सुन्नुपरेको छ 
एउटी कलिलो नानीको योनी 
उनकै बाउले च्यातचुत पारिदिएको 
देख्नुपरेको छ 
छोरीचेलीको योनी    
आफ्नैहरूले लिलाममा राखेको 

दिनदिनै यहाँ लाचार लोग्नेहरू
मेडिकलका ढोकाहरूमा 
दारी सुमसुमाउँदै 
कर्तव्य निभाइरहेका हुन्छन्
भित्र तिनका स्वास्नीहरूको गर्भबाट
टुक्रा–टुक्रा हुँदै झरिरहेका हुन्छन्
योनी बोकेका मान्छेहरू

यता कोही आमा–बाहरू 
पुर्पुरोमा हात राख्दै हुन्छन्
उनका सामुन्ने 
कहिले हाँस्छन्, कहिले रुन्छन्
उमेरले पाका तर सधैँ बालक छोरीहरू
घरमा ताला लगाए पनि 
चोरिन्छन् ती र पोखिन्छ आवेग 
तिनका योनीभरि
पिएर तिनका अबोध खुसी
तैपनि अघाउँदैनन् चोरहरू

कठै ! ताला के–केमा लगाओस् 
सुन्छु, 
अस्ति भर्खरै रजस्वला भएकी सानीलाई
संगिनीसुईले नमीठोसँग घोच्यो रे
उता ठूलीको त पेटै चिरिदियो रे
बोल्न नजाने पनि 
जोडजोडले चिच्याइन् रे
आम्मा आम्मा आम्मा...
तर अब त उनकी आमा ढुक्क हुँदै थिइन्
योनी जति च्यातिए पनि 
कमसेकम छोरी आमा त बन्दिनन् ...  

बेकार भएन त यो योनी भन्ने चिज ?
अचानक मलाई लाग्छ
म एउटा संसार निर्माण गर्दै छु 
योनीविहीन संसार 
जहाँ मान्छेहरू निश्चिन्त 
काममा छन् 
ध्यानमा छन् 
कति अनुशासित छन् लिंगहरू पनि ?
जो चुपचाप प्रार्थना गरिरहेछन् 
तर थाहा छैन के मागिरहेछन् ती 
म आनन्दित हुन्छु
न सुन्नुपरेको छ 
बलात्कारका चीत्कार
न देख्नुपरेको छ 
नदीकिनार र झाडीमा
चुसेर फालिएका अनुहार
न थाहा पाउनुपरेको छ
भ्रूण हत्याको व्यापार

अहा ! 
कति शान्त लाग्छ संसार
म निदाएझैँ गर्छु 
एकाएक केही गुञ्जिएझैँ लाग्छ
आँखा उघारी हेर्छु 
मन्दिरमा बज्ने घन्टाहरू
एकतमासले हल्लिरहेछन्
भुइँभरि प्रार्थनामा तल्लीन लिंगहरू 
ढलिरहेछन् 
अझै नजिक जान्छु र नियाल्छु 
ती त मरिरहेछन्...
ती त मरिरहेछन्...

सम्पादकहरूको रोजाइ

सुझावित समाचार