अकथा
याे कथामा ‘घटना’हरू त छन्, ‘कथा’ भने छैन । यो कथाको हरेक अध्यायबीच जुन ग्याप छ, खासमा ‘कथा’ चाहिँ त्यहीँ कतै छ । ग्यापभित्रका ती कथालाई लेख्न यो कथाकारको बुताले भ्याएन । त्यसैले आफ्नो सिर्जनात्मक कमजोरी ढाकछोप गर्न यसलाई ‘अकथा’ भनिएको ठीक साँचो हो ।
हुन त सबै कथा लेखिनैपर्छ भन्ने पनि त छैन । सबै कथा लेखकले नै लेख्नुपर्छ भन्ने पनि त छैन । जे कथा भनेर लेखिए, ती सबै कथा नबनेका पनि हुन सक्छन् र जे लेखिएका छैनन्, ती कथै होइनन् भन्ने पनि त छैन । उसो त यो खराब लेखोट पनि सावित हुन सक्छ । किनभने यसमा भन्न खोजिएको कुरा स्पष्ट छैन । यसमा सन्देश पनि छैन र जीवनोपयोगी उपदेश पनि छैन । चरित्रहरू खासै स्पष्ट छैनन् र परिवेश चित्रण पनि कमजोर छ । यसमा कुनै डिटेलिङ छैन । केही अप्रासङ्गिकजस्ता लाग्ने प्रसङ्ग र वाक्यहरू पनि छन् । यसमा पाठकको मनमा स्थायी किसिमले हस्तक्षेप गर्ने गहकिला संवाद पनि छैनन् र छैन चकित पार्ने ट्विस्टिङ पनि । यसमा ‘जनता पनि एकखालका माछा नै हुन्’ भनेर भनिएको पनि छैन र युगौँदेखि ‘हाम्रा नेता या ठूलाबडाले जनता या जनताका सपनालाई माछाझैँ तारेर भकाभक खाइरहेका छन्’ भन्ने खालको प्रगतिशील वा क्रान्तिकारी निष्कर्ष निकालेर कथानकको अन्त्य गरिएको पनि छैन ।
महाकवि देवकोटाले ‘मेरो शाकुन्तल महाकाव्य बुझेर पढ्ने एक हातको औँलामा गन्न पुग्ने पाठक भए मलाई पर्याप्त हुन्छ’ भनेका थिए रे ! म त्यही कुरा त भन्दिनँ । बस् यति भन्छु, यो अकथा पढेर केही पाठकले माछा फ्राई गर्ने तरिका सिक्नुभयो भने पनि त्यो मेरा लागि ठूलो पुरस्कार हुनेछ ।
अध्याय १
फिसफ्राई : रेसिपी र विधि
माछा अत्यन्त गुणकारी कुरा हो भन्ने कुरा डाइटिसियन र विज्ञान दुवैले सावित गरिसकेको कुरा हो । माछामा फ्याटी एसिड हुने भएकाले यसको सेवनले मस्तिष्कको विकासमा सहयोग पुर्याउँछ । त्यसैले अचेल डाक्टरहरूले बालबालिकालाई पनि फिसफ्राई ख्वाउने सल्लाह दिने गर्छन् । उनीहरू भन्छन्, ‘माछामा पाइने ओमेगा थ्रीले मुटुलाई बलियो बनाउँछ । छाला र कपाल राम्रो बनाउनमा पनि यसले सहयोग गर्छ । यसको सेवनले क्यान्सरको सम्भावनालाई कम गर्छ ।’
परिवार या साथीभाइसित रमाइलो जमघट गर्दे हुनुहुन्छ भने सितन या स्टार्टरको रूपमा तात्तातो फिसफ्राई उपयोगी हुन सक्छ । जाडोयाममा त यो झनै स्वादिलो लाग्छ । सर्भ गर्ने वेलामा फ्राइड फिसमाथि हल्का क्रिम हाल्नुभयो भने राम्रो देखिन्छ । वरिपरि गाँजर, मुला, काँक्रोका पिसहरू राखेर बीचमा फिसफ्राई राख्दा झनै राम्रो देखिन्छ । सलादसित फिसफ्राई खानु झनै स्वास्थ्यकर हुन्छ । फिसफ्राईलाई आकर्षक देखाउन खाने रङ प्रयोग गर्न सक्नुहुन्छ । यहाँ म चारजनालाई पुग्ने किसिमले फिसफ्राई बनाउने सजिलो तरिका सिकाउँदै छु । वास्तवमा यो विधिले तारेको माछा ‘अमृतसरी फ्राइड फिस’को रूपमा चर्चित छ ।
फिसफ्राईका लागि आवश्यक सामग्री :
करिब दुई–तीन इन्चका आठ पिस माछा (गोलाइमा काटिएका माछा भए झन् राम्रो । हेर्दा आकर्षक देखिन्छ)
चारवटा हरियो पाकिस्तानी खुर्सानी ।
एक चिया चम्चा रातो कास्मिरी खुर्सानीको धुलो ।
दुई चम्चा नेपालगन्जीया टाइपको गाढा सादा दही ।
एक चिया चम्चा चामलको पिठो ।
एउटा ठिक्क साइजको तर विद्रोही कविको कविताजस्तो नेपालगन्जदेखि दिल्लीसम्मै धुँवा पुग्ने पिरो प्याज ।
बीस ग्राम हरियो धनियाँ ।
एक चिया चम्चा बेसार ।
दुई चिया चम्चा बेसन ।
एक चिया चम्चा अदुवा र लसुनको पेस्ट ।
एक चिया चम्चा ज्वानो ।
एक चिया चम्चा कागतीको रस ।
दुई ठूलो चम्चा तेल ।
नुन स्वादअनुसार ।
फ्राई विधि :
पहिला माछाका दुई–तीन इन्चका टुक्रा बनाएर सफा पानीले पखाल्नुस् । यसरी पखालेको माछामा नुन र कागतीको रस हालेर मोल्नुस् र १० मिनेट खुला भाँडोमा राखेपछि फेरि पानीले पखाल्नुस् । यसले माछाको गन्ध कम गर्छ । पखालिसकेको माछालाई पानी निथ्रिने किसिमले कपडामा सुकाउनुस् ।
माछाबाट पानी निथ्रुन्जेल लसुन, अदुवा र जिरालाई सिलौटा वा मिक्सीमा पिसेर पेस्ट बनाउनुस् । एउटा ठूलो बाउलमा दुई चम्चा दही राखेर ती पेस्टहरू मिसाउनुस् । त्यसमा चामलको पिठो, कस्मिरी खुर्सानीको पाउडर र नुन पनि हाल्नुस् । अलिकति बेकिङ पाउडर पनि हाल्नुस् । आधा चम्चा कागतीको रस पनि हाल्नुस् । त्यसमा मसिनो गरी काटेको हरियो खुर्सानी र हरियो धनियाँ पनि मिसाउनुस् । चाइनिज सेरामिक बाउलमा अलिकति पानी हालेर ती सबै मेरिनेसन सामग्रीलाई एउटैमा घोलेर गाढा लेदो बनाउनुस् । यी सबै काम गर्दा तपाईं कुनै गरिब कविको उर्दु सायरी पनि गुन्गुनाउन सक्नुहुन्छ । घोलमा राम्रोसित माछा मोलेर मेरिनेट हुनका लागि बीस मिनेटजति छोपेर राख्नुस् । यसले मसलाहरू मज्जाले माछाभित्र पस्छ ।
त्यसपछि फ्राइङ प्यानमा दुई ठूलो चम्चा रिफाइन्ड तेल हाल्नुस् र तेल तातिएपछि माछाहरूलाई पालैपालो प्यानमा हाल्नुस् । तलतिर गोल्डन ब्राउन भएपछि माछा पल्टाउनुस् । दुवै साइडमा गोल्डेन ब्राउन भएपछि फिसफ्राई तयार हुन्छ । प्यानबाट निकालिएको माछालाई फराकिलो भाँडामा अब्जोरबेन्ट पेपर अर्थात् सोख्ता कागजमाथि राख्नुस् । कागजले एकैछिनमा माछाबाट निस्किएको चिल्लो सोस्छ । यसरी तयार भएको फिसफ्राईलाई सलाद र कागतीको स्लाइसले सजाएर पस्किनुस् । एक अमेरिकन अनुसन्धान केन्द्रका अनुसार, यस्तो फिसफ्राईमा क्यालोरी करिब ६०० र प्रोटिन करिब ४० ग्राम हुन्छ । यसमा सोडियम र पोटासियम पनि प्रशस्त हुन्छ । भिटामिन ए, सीलगायत क्याल्सियम र आइरनको मात्रा पनि हुने भएकाले यो स्वस्थकर पनि छ । काठमाडांैमा अचेल यस्तो फिसफ्राई एकदमै खपत हुन्छ ।
राम्ररी फिसफ्राई भएको निधो भएपछि ग्यास बन्द गर्न पटक्कै नबिर्सनुस् ।
अध्याय २
राजनीति र माछा
मत्स्येन्द्रकुमार अचेल राजधानीमा हिट छन् र हिट छ उनको फिसफ्राईको माथि उल्लेखित रेसिपी । उनी पढेर पाकशास्त्री भएका होइनन् । तर, समयले उनलाई यही विधामा चर्चित बनाएको छ ।
उनलाई पहिला खानेकुरा पकाउने सोख थिएन । उनी हुनेखाने परिवारका थिएनन् । हुँदा खाने परिवारका थिए । त्यसैले उनी ‘खानका लागि हैन, बाँच्नका लागि खाने’ भन्ने मान्यतामा हुर्किएका थिए । उनको एउटै सोख थियो– राजनीति । त्यही सोख पूरा गर्न उनले बन्दुक समाते र समाजबाट अन्याय, अत्याचार, गरिबी, शोषण र शोषकलाई समाप्त गर्न क्रान्तिको बाटो रोजे । क्रान्ति सफल पनि भयो । तर, क्रान्तिको सफलतासँगै उनी राजनीतिबाट बेपत्ता भए । कसैले उनको खोजखबर गरेन । उनीसँगै बन्दुक समातेर एउटै मोर्चामा लडेकाहरू कोही सांसद भए, कोही मन्त्री पनि भए । केही साथीहरू पार्टीका उपल्लो ओहदामा पुगे ।
राजनीतिमा लागेर उनले घरखेत जोडेका होइनन् । तर, राजनीतिबाट हराएको केही वर्षमै उनले घरखेत जोडे । एउटा गरिब कामरेड एकाएक करोडपति बनेर मार्केटमा देखा परेपछि सबै उनको कायापलटबाट चकित भए । केहीले भने, ‘उनले पश्चिम नेपालको एउटा गाउँलाई माछापोखरीमा परिणत गरे । त्यसमा माछापालन गरे र त्यही माछा बेचेर प्रशस्त कमाए ।’
कसैले भने, ‘पशुपालनमा लागे । अकुत कमाए ।’
कसैले च्याउखेतीबाट करोडपति भएको अनुमान लगाए । कमाउनका लागि राजनीतिजति उपयुक्त माध्यम अरू हुँदैन भन्ने मान्यता समाजमा स्थापित हुँदै गरेको स्थितिमा उनी त्यही समाजमा एउटा उदाहरणीय पात्र बने ।
तर, अर्को रोचक कुरा के भयो भने, उनी जब करोडपति भएर दृश्यपटलमा प्रकट भए दौरासुरुवालसहित प्रकट भए । शिरमा ढाका टोपी र पाउमा कालो जुत्तासहित देखापरे । अथाह पैसाका कारण उनी फेरि समाजमा प्रभावशाली व्यक्तिको रूपमा चिनिन थाले ।
उनी नपुगेको ठाउँ रहेन । उनी नघुमेको देशै भएन । कुनै देशमा माछा उत्पादनमा कमी भयो भने उनको राय लिन थालियो । माछामा कुनै रोग देखाप¥यो भने उनीसितै उपचारविधि सोध्न थाले विश्वभरिका माछापालकले । माछा सम्मेलनमा उनी प्रमुख वक्ता हुन थाले । उनका साथी कामरेडहरू उनको घरमा आएर माछा–भात खान थाले । अचेल उनको बैठकमा पृथ्वीनारायण शाहको पूर्णकदको फोटो छ । उनको दराजमा दिव्योपदेश पनि छ ।
यति हुँदा पनि उनले राजनीति गर्ने रहर गरेनन् । एउटा पार्टीका अध्यक्षले ‘तीन करोड दिनुस्, सांसद पद लिनुस्’ पनि भनेकै थिए । तर, उनले सांसद पद किनेनन् । राजनीतिको पुरानो सोख उनीबाट पूरै गायब भइसकेको थियो । तर, जब फिसफ्राई लिएर दृश्यमा आए, माछा र माछाका परिकारहरू लिएर आए । यही उनको सोख भयो, यही उनको प्राप्ति भयो ।
उनी वाक्पटु छन् । अन्तर्वार्ता लिनुस् या लेख माग्नुस्, यताउता गरेर उनी माछाकै कुरामा आइहाल्छन् । फिसफ्राई, फिसकरी, फिस चिल्ली, फिस टिक्काकै कुरा गर्छन् । माछा उनको दैनिकीको हिस्सा भइसक्यो ।
पत्रपत्रिकामा उनका फिस आइटमहरू लोकप्रिय छन् ।
माछाले सेलिब्रिटी बनायो उनलाई । माछासम्बन्धी थरीथरीका किताब पनि लेखेका छन् उनले । माछाकै कुरा गरेर उनले दुइटी छोरीलाई डाक्टर बनाए । माछाकै कुरा लेखेर उनले श्रीमतीलाई सुन र हिराका गहनाले झपक्कै बनाए । उनी आफैँ पनि माछाकै कारणले बने यो समयको सबैभन्दा चर्चित राष्ट्रवादी । उनी भन्छन् पनि, ‘समयलाई उल्टो घुमाउन सक्ने भए म नेपालका एकीकरणकर्ता श्री ५ बडामहाराज पृथ्वीनारायण शाहलाई आफ्नो भान्सामा बोलाएर आफ्नै हातले बनाएको फिसफ्राई ख्वाउँथेँ ।’
उनकै कारणले अचेल सहरमा फिसफ्राई एउटा राष्ट्रवादी खान्गी बनेको छ ।
अध्याय ३
माछापोखरी र नयाँ नेपाल
‘अब नयाँ नेपाल बन्छ ।’
खबरी लखीरामको रेडियोले यही भनिरहेको थियो ।
लखीराम हरेक बिहान रेडियो बोकेर बुढो बरगदको रूखमुनि आउँथे । गाउँमा बरगद र पीपलका अरू रूख पनि थिए । तर, कसैमा रूख चढवा भूत, कसैमा अगैया बेताल र कसैमा जखैया भूत बस्छ भनेर गाउँलेहरू डराउँथे । त्यसैले यही एउटा बरगदको रूख नै गाउँलेहरूको आस्थाको केन्द्र बनेको थियो । यो रूखमा गाउँका गरिब महिलाहरूले वर्षौंदेखि आफ्नो परिवारको सुख र समृद्धिको मनौती माग्दै राता, पहेंला र हरिया मौलीहरू बाँध्ने गरेका थिए । होसीलाल भन्थे, ‘यो बडा सहनशील रूख हो । यसले गर्मीमा पात र डाँठ पनि सुकाइदिने पतसोखा नामको पछुवा हावा पनि सहन्छ र सर्दीमा त्यही पछुवाले बगाएर ल्याउने र छिनछिनमा दिशा बदल्ने पुसको चिसो हली चौवाई हावालाई पनि सहन्छ । दक्षिण–पश्चिम भएर बग्ने हडहोडा हावाले ल्याउने तापलाई पनि सहन्छ । भदौमै चल्ने ठन्डी पुरवाई र जेठमा बालुवा लिएर आउने भुतरा हावा पनि सहन्छ ।’
मत्स्येन्द्रकुमार भन्छन्, ‘समयलाई उल्टो घुमाउन सक्ने भए म नेपालका एकीकरणकर्ता श्री ५ बडामहाराज पृथ्वीनारायण शाहलाई आफ्नो भान्सामा बोलाएर आफ्नै हातले बनाएको फिसफ्राई ख्वाउँथेँ ।’
बरगदका जटाहरू हाँगाहाँगाबाट पलाएर भुइँभुइँसम्म लत्रिएका थिए । दिनभरि यो रूखमा लोखर्केहरू एउटा हाँगाबाट अर्को हाँगामा बुद्रुकबुद्रुक ओहोरदोहोर गरिरहन्थे । साँझपख दर्जनौँ कागहरू र अरू थुप्रै चराचुरुङ्गी यहाँ बास बस्न आइपुग्थे । यही रूखलाई छुँदै बग्ने सिरवाई भनिने साँझको हावाले सबैलाई गर्मीबाट राहत दिन्थ्यो । बिहानपख यही रूखमा वास बसेका कोइलीहरूको कुहुकुहुले गाउँलेहरूको कानलाई आराम दिन्थ्यो ।
त्यसैले गाउँलेहरूका लागि यो आत्मीय स्थान थियो । भन्थे, ‘एउटा अघोरी बाबा तपस्या गर्दागर्दै यो बरगदको रूखमा परिणत भयो । त्यसैले यसको जरामा ब्रह्मा, जटामा विष्णु र हाँगा अनि पात–पातमा शङ्कर भगवान् बस्छन् ।’
‘कसरी बन्छ नयाँ नेपाल ?’, खबरी लखिरामको रेडियोमा खबर सुनिसकेपछि एकजना सुधो गाउँलेले प्रश्न गरे ।
हजार किसिमका जवाफ आए । कसैले भन्यो, ‘नगरपालिकामा नयाँ नक्सा पास गरेर बनाउँछन् ।’
अर्काेले भन्यो, ‘सडक नयाँ बन्छ । चौबीसै घन्टा बत्ती बल्छ । सबै गरिबलाई फिरीमा भोजन गराउने लङ्गरहरू खुल्छन् । गर्मीमा ठन्डा र सर्दीमा गरम हुनेवाला नयाँ–नयाँ बस चल्छ । बडी लाइनको रेल पनि चल्छ । विनाटिकस काठमाण्डु जान पाइन्छ ।’
अर्को अझ लालबुझक्कड भएर निस्क्यो । भन्न थाल्यो, ‘पहिला जमिनको माप लिन्छन् । बादमा नक्सा तयार हुन्छ । अनि जग्गा पिलाटिङ हुन्छ । त्यसमा कुतुबमिनार जत्रा बडेबडे इमारत बन्छन् । बडेबडे दरबार बन्छन् । अनि हामी सबैलाई रोजगार मिल्छ । कोही दरबानी गर्छौं । कोही चौकीदारीको काममा लाग्छौँ । अब हाम्रो भविस अच्छा हुन्छ ।’
सबैलाई नयाँ नेपाल राम्रै हुन्छ भन्ने लाग्यो । सबै खुसी भए । तर, उनीहरूले जीवनमा यति सजिलै कहिल्यै खुसी हुन पाएका छैनन् । त्यसैले यो खुसीप्रति पनि उनीहरूको मनमा संशय कायमै थियो ।
केही दिनपछि लखीरामले अर्को खबर ल्याए–
‘नयाँ नेपाल बन्ने फिक्स भयो । नयाँ नेपालमा नयाँ–नयाँ नेता हुनेछन् । तिनीहरू सबलाई माछा बहुत मन पर्छ । त्यसैले यो गाउँमा अब ठूलो ताल बन्छ । तालमा मछली पाल्छन् । अब हाम्रो घर, खेत सबै ताल बन्छ ।’
लखीरामसित गाउँलेहरूले सोधे, ‘हाम्रो जमाजेथा, घरबास सखाप भएपछि सरकारबाट डेमरेज मिल्छ कि मिल्दैन ?’
उदास भएर लखीरामले भने, ‘अहँ, हामीहरू सबै ऐलानी जग्गामा बसेका छौं । त्यसैले हामीहरूलाई कुनै मुआब्जा दिन मिल्दैन । बस्, घर भत्काएको र माटो खनेको ज्याला मात्र मिल्छ ।’
सबैले दुखेसो पोखे, ‘धरती माई हाम्रो लागि विमाता बनिन् । हाम्रो गिरिहस्थी, हामो जमाजेथा सबै धुवाँको दरबार रहेछ । अब सब फुरर्र बिलाइजान्छ । अब हामीले माथापिट्टन गरेर कौनो फाइदा छैन ।’
केही दिनमै गाउँमा ठेकेदारहरू आए र गाउँलेहरूको हात हातमा कोदालो राखिदिए । गाउँलेहरूले रुँदै कोदालो हातमा लिए । विश्वकर्मा बाबालाई सम्झेर सबैले कोदालोको पूजा गरे र लाचार भएर आ–आफ्नो घर भत्काउन थाले ।
घर भत्किइसकेपछि जमिन खनेर माछापोखरीका लागि माटो झिक्न थाले ।
खन्दाखन्दै गाउँ भएको ठाउँमा असाध्यै ठूलो र गहिरो खाल्टो तयार भयो । केही दिनपछि लगातार वर्षात् भयो । खाल्टोमा पानी जम्यो र विशाल ताल बन्यो । केटाकेटीहरूले विशाल ताल देखेर भने, ‘अरे बाफ रे, यो ताल हो कि मसुद्र (समुद्र) ?’
एकजना वयोवृद्धले भने, ‘अब यो समुद्र मन्थन हुन्छ । यसबाट हलाहल विष पैदा हुन्छ । पहिला त भगवान् शिवले त्यो हलाहल विष पिइदिएका थिए । तर, अब हामीलाई यो विपत्तिबाट बचाउन कुनै भगवान् आउनेछैनन् ।’
केही महिनामै समुद्रजस्तो तालमा कमल फुल्यो । हाँस र बकुल्लाहरू जलकेली गर्न थाले ।
आफ्नो घर भत्काएबापत र आफ्नै गाउँलाई ताल बनाइदिएबापत सबैले ज्याला पाए । गाउँलेहरूले निर्णय गरे, ‘यो आफ्नै घर भत्काएर पाएको पैसा हो । अपसगुन हो यो । यसलाई जमा गरेर राख्नुहुँदैन ।’
उनीहरूले त्यही पैसाले बाजा बजाउने र सङ्गतियाहरू ल्याए । सङ्गतियाहरूको तालमा गाउँलेहरूले आल्हा गाउन थाले । गाउँलेहरूको एक गु्रपले आधा ड्रम अङ्गुरी किनेर ल्यायो । अर्कोले बजार गएर खसीको भुटुवा पनि लिएर आयो ।
‘आज सबैले पेट फुट्ने गरी भकोस्नुपर्छ । अब यसपछि हाम्रो नसिबमा माडभात खान लेखेको छैन ।’
रातभरि भोज चल्यो । गाउँलेहरूको जीवनको अन्तिम भोज थियो यो । उनीहरूले आफ्नै बर्बादीको उत्सव मनाइरहेका थिए । तर, यो उत्सव थिएन । उनीहरूलाई मान्छे भएर बाँच्न नदिने समाज, उनीहरूलाई मान्छे बनाउन नचाहने राजनीति र उनीहरूलाई कहिले आशीर्वाद नदिने कपटी र ऐयास ईश्वरप्रति गरिएको व्यङ्ग्य थियो ।
तर, सत्ता, सरकार या नेताहरूको भजन र स्तुति भए पो सबैले बुझ्थे । को माइकालालले बुझ्ने उनीहरूको व्यङ्ग्य ? कुन सरकारले बुझ्ने उनीहरूको व्यथा ?
एकजना वयोवृद्धले प्रस्ताव राखे, ‘आज हामी सबले चिनिया बेगम खाएर मस्त हुनुपर्छ । अब आफ्नो दुःख र दलिद्रीलाई सम्झेर कुनै फाइदा छैन ।’
प्रस्तावको विपक्षमा कोही भएन ।
प्रचण्ड गर्मीको दिन थियो त्यो । तर, त्योभन्दा गर्मी त गाउँलेहरूको मनमा फैलिएको थियो । अब त त्यो गर्मीबाट जोगिने रामझुपडी पनि थिएन उनीहरूसित । त्यसैले आकाशको सूर्य र आफ्नै मनको आगोले एकसाथ पोलिरहेको थियो उनीहरूलाई ।
मनभित्रका सबै सपना उडाउने गरी चरित्रहीन बतास पनि बेतोडले चलिरहेको थियो । मदारका सेता भुवा यत्रतत्र उडेर वातावरण झनै उराठलाग्दो भएको थियो ।
सबैले टन्न अङ्गुरी पिए । चिलम ताने । चुरोटमा मिसाएर चिनिया बेगम अर्थात् अफिमलाई धुवाँमा उडाए । सबैले खसीको भुटुवा, बोडीको तरकारी र देसी घिउले झानेको अरहरको दालसित बासमती चामलको भात भुँडी चर्किने गरी खाए ।
त्यही रात त्यहाँ एकजना जादुगर आए । गाउँलेहरूले जादुगरसित भने, ‘जादुगर भैया, हाम्रो घरबास सब गुम्यो । अब हामीलाई जादु गरेर यही तालमा बस्ने माछा बनाइदेऊ !’
जादुगरले आफूसित ल्याएको पोकोबाट जादुका सामान झिके । गाउँलेहरू सबैले आफ्नो जमिनलाई म्वाइँ खाए । निधारमा माटोको टीका लगाए । छेउछाउमा उडिरहेका मुनिया र भँगेराहरूलाई दाना छरिदिए ।
सबै गाउँलेले एकअर्कालाई अङ्कमाल गरे । आँसु झार्दै विगतमा एकअर्कासित गरेका झगडा र मारपिटका निम्ति हात जोडेर क्षमा माग्दै भने, ‘हामी सबैको यो गाउँको भोग यति नै रहेछ । अब चलाचलीको वेला भयो । कहा सुना माफ गरिदिनू !’
जादुगरले मन्त्र पढ्यो र सबैलाई माछा बनाइदियो ।
मत्स्येन्द्रकुमारको पोखरीबाट अचेल तिनै माछा बेचिन्छन् । स्वादका पारखी भन्छन्, ‘यहाँको माछाको फिसफ्राई साह्रै मिठो हुन्छ ।’
अध्याय ४
माछा र नागरिकता
माछासित नागरिकताको के सम्बन्ध ?
यो कुरा कथाकार स्वयंलाई पनि थाहा छैन ।
अनि थाहा नभएको कुरा पनि लेख्ने हो त ? लेखकलाई तपाईं यस्तो प्रश्न सोध्न सक्नुहुन्छ । यसमा लेखकको जवाफ हुन सक्छ– जुन कुरा आफूलाई थाहा हुँदैन, त्यसैबारे त प्रश्न गर्ने हो ।
‘यो कथा हो कि प्रश्नपत्र ?’, लेखकलाई फेरि अर्को प्रश्न सोध्न सक्नुहुन्छ तपाईं ।
तर, लेखकले तपाईंलाई यो प्रश्नको जवाफ नदिन पनि सक्छ ।
०००
धेरै वर्षअघिको कुरा हो यो । जनयुद्ध भर्खर सकिएको थियो । तर, त्यतिवेला मत्स्येन्द्रकुमार चर्चामा थिएनन् र उनको फिसफ्राई पनि चर्चामा थिएन ।
त्यहीवेला गरिबीको अनेक मार झेलिरहेका थिए, रजिया र रज्जाक ।
‘कुनै वेला मरवाडी नश्लको घोडाजस्तो हट्टाकट्टा थियो रज्जाक । कठमस्त थियो शरीर । हाथीजस्तै लचकलचक गरेर हिँड्थ्यो । बजारका औरतहरू उसको शरीर देखेर हाय हाय गर्थे । उनीहरूको नाभीमुनि दनदनाएर ज्वाला बल्थ्यो । तर, अब त ऊ दुब्लाएर पूरै हडिला भैसक्यो । उसको देहींमा कौवाले खानेजति पनि मासु बचेको छैन ।’
गाउँलेहरू रज्जाकको यसरी चर्चा गर्थे ।
रज्जाकका पाइतालाहरू चरचरी फुटेका थिए । घाउबाट रगत बग्थ्यो । भयङ्कर आर्थिक अभावका कारण उनले आफ्नो घाउको उपचार पनि गर्न सकिरहेका थिएनन् । रजियाले चिन्ता गर्लिन् भनेर उनी आफ्नो दुःख कसैलाई भन्न पनि सक्दैनथे । रजियाले अँध्यारो अनुहार लगाउँदा हाँसेजस्तो गरेर सम्झाउँथे, ‘जाके फटे न पैर बिवाई, सो का जाने पिर पराई । आफूले दुःख भोगेपछि पो त आदमीले अरूको दुःख सम्झिन्छ ।’
एक दिन, यो पङ्क्तिको लेखक उनीहरूको घरमा पुग्दा रजियाले रज्जाकसित मनको बह पोख्दै यसो भनिरहेकी थिइन्:
‘घरमा भात पकाउन एक मुठी चाउर पनि छैन । मटकामा रोटीमा परथन लगाउन पुग्नेजति पनि आँटा छैन । बिहान पन्सारीले दश रुपियाँको नुन र खुर्सानी पनि उधारी दिएन । छप्परमा फल्न लागेको लौकीको जरा पनि मुसाले काटिदियो । सब्जी किन्नलाई बटुवामा एक आना पनि छैन । गडाहामा केर्मुआ पनि नफलेका भए हाम्रो त दुर्गत हुन्थ्यो । जमुनीकी माईसित थोरै चोकर मागेर ल्याएकी छु । साँझ यही केर्मुआको सागसित चोकरको रोटी खाने ।’
रजियाले दुःखको बिस्कुन सुकाइन् र भनिन्, ‘अरूले गाईभैंसीलाई चोकर ख्वाउँछन् । हामीले भने रोटी बनाएर खान्छौँ । मलाई त रोटी हैन, भैंसाको चमडा चपाइरहेजस्तो लाग्छ ।’
रज्जाकले रजियाको कुरो नसुनेजस्तो गरे र पटुआको डोरी बाट्दै फत्फताए, ‘पगाहा र लसरीका लागि यति जाबो वनकस ल्याउन पनि कति पापड बेल्नुपर्यो मैले । रेन्जरसित अनेक चिरौरी विनती गरेर र पाँच सौ रुपियाँ घुस दिएपछि बल्ल खरखडाइको सिफारिस पाएँ । त्यसपछि मात्र वनकस काटेर ल्याउन पाएँ मैले ।’
अचेल त्यही वनकसको मुढा र डोरी बेचेर घरखर्चको जोहो गरिरहेका थिए रज्जाकले । तर, वर्षमा एकचोटि मात्र खरखडाइका लागि निकुञ्जमा पस्न पाइन्छ । त्यो पनि तीन दिनका लागि । बिहान पसेर बेलुका घाम नअस्ताउँदै जङ्गलबाट निस्किसक्नुपर्छ । बिस्तारै जंगलमा वनकस पनि कम हुँदै गएको छ । त्यसैले अब वनकसको सामान बेचेर गुजारा गर्नु पनि रज्जाकहरूलाई मुस्किल भइसकेको थियो ।
अन्ततः अनेक रिनपान गरेर रज्जाक कामको खोजीमा मलेसिया गयो । रजियालाई भने नकिमलाई हुर्काउनै समस्या भयो । यसै पनि उनी साह्रै दुब्लीपातली थिइन् । नकिम पेटमा हुँदा त झन् सुकेर आधा भइन् । आफू कमजोर भए पनि सन्तान बलियो जन्मिएला भनेर उनले पलासको पात पिसेर बाख्राको दूधमा मिसाएर पनि खाइन् । तर, त्यस्तो भएन । छोरा सात महिनामै जन्मियो । ‘सतमासी’ बच्चा कसरी बलियो हुन्थ्यो !
जसोतसो बचाइन् नकिमलाई । छोरो हुर्कन त हुर्कँदै थियो । तर, ऊ चराले जति पनि खाँदैनथ्यो ।
‘काँच्चर किच्चर कौवा खाय, दूधभात हमार बेटवा खाय’ भनेर फकाउँदै बल्लबल्ल दुई–चार गाँस ख्वाउँथिन् । तर, नकिमको सुकेको जिउ कहिल्यै फुकेन । असाध्यै रोगी भयो ऊ । एक दिन ठीकठाक भयो भने, दोस्रो दिन आँखा पल्टाइहाल्थ्यो । ऊ हरेक दिन मर्दै र हरेक दिन बाँच्दै हुर्किएको थियो ।
उसको पेट दुख्थ्यो पनि असाध्यै । रातभरि रोइरहन्थ्यो । अस्पतालमा जचाउँदा पो पेटमा पानी भरिएको रहेछ भन्ने थाहा भयो । तर, मलेसिया गएको खसमको अत्तोपत्तो थिएन । पैसाको अभावमा रजियाले छोरोको राम्ररी उपचार गराउन सकिनन् । बाबा र ओझालाई झारफुक गराइन् । अनेक पिर पयम्बरको फेरी लगाइन् । रमजानको तेस्रो शुक्रबार मस्जिदको चिरागमा तेल पनि चढाइन् । तर, नकिम झन्झन् कमजोर हुँदै गयो ।
‘हे, निमको रूखमा बस्ने जिन्न बाबा ! मेरो नकिमलाई तन्दुरुस्त बनाइदेऊ । म तिमीलाई यो सिजनमा मेरो छाप्रोमा फल्ने पहिलो लौका चढाउँछु ।’
छाप्रोको छतमा लौका फल्यो पनि । कुहियो पनि । निमको रूखमा बस्ने जिन्न बाबाले दयामाया देखाएनन् ।
एक दिन नकिमले भन्यो, ‘अम्मी, मलाई मछली खान मन लाग्यो ।’
आफ्नो अनुहारभरि बाँच्ने रहर उमारेर कमजोर आवाजमा छोराले यसो भन्दा रजियाको मुटु बटारियो । नगदी पैसा थिएन उनीसित । तर, यो संसारमा एउटा माछा दिने दयालु कोही त कसो नभेटिएला भन्ने आशासहित उनी घरबाट निस्किइन् । उनी गाउँनजिकैको तालमा पुगिन् । मत्स्येन्द्रकुमारसित याचना गरिन्, ‘मालिक, छोराका लागि एउटा माछा चाहियो ।’
मत्स्येन्द्रकुमारले भने, ‘गाउँपालिकाको सिफारिस चाहिन्छ ।’
उनी गाउँपालिका पुगिन् । अध्यक्षसित पनि याचना गरिन् । उनले भने, ‘ताल त प्रदेश सरकारको अधीनमा छ । मैले माछाका लागि सिफारिस दिन मिल्दैन ।’
उनी कति दिन हिँडेर प्रदेश मुख्यालय पुगिन् र जलमन्त्रीलाई भेटिन् । जलमन्त्रीले भने, ‘मुख्यमन्त्रीको अनुमतिविना मैले माछा दिन मिल्दैन ।’
कति दिन लगाएर मुख्यमन्त्रीलाई भेटिन् । मुख्यमन्त्रीले भने, ‘तिमीसित जग्गाको लालपुर्जा छ ?’
जादुगरले मन्त्र पढ्यो र सबै गाउँलेलाई माछा बनाइदियो । मत्स्येन्द्रकुमारको पोखरीबाट अचेल तिनै माछा बेचिन्छन् । स्वादका पारखी भन्छन्, ‘यहाँको माछाको फिसफ्राई साह्रै मिठो हुन्छ ।’
दिन बित्यो । महिना बित्यो । वर्ष बित्यो । माछा लिन गएकी अम्मी फर्किनन् । माछा खाने रहर पालेको नकिम एक दिन भोक र रहरसहित म¥यो ।
मरेपछि उसको आत्मा आमालाई खोज्न निस्कियो ।
ऊ मत्स्येन्द्रकुमारको माछापोखरीमा पुग्यो । उनले भने, ‘गाउँपालिका गएर खोज् ।’
गाउँपालिका गयो ऊ । अध्यक्षले भन्यो, ‘जलमन्त्रीकहाँ गएर खोज् ।’
जलमन्त्रीले भने, ‘मुख्यमन्त्रीकहाँ गएर खोज् ।’
नकिमको आत्मा मुख्यमन्त्री निवास पुग्यो । उसले त्यहाँ अम्मीलाई देख्यो । माछा खोज्न गएकी जवान अम्मी अहिले बुढी न बुढी देखिएकी थिइन् । नकिमले अम्मीसित भन्यो, ‘तिमी फर्केर किन नआएको अम्मी ?’
‘बेटा, मैले तेरो लागि आजसम्म पनि माछा पाएकी छैन । माछाका लागि लालपुर्जा चाहिने रहेछ । मसित त एक धुर जमिनको पनि लालपुर्जा छैन ।’
आमाछोरा खुब रोए । रुँदारुँदै रजिया पनि मरिन् । आमाछोरा दुवै आत्मा भए ।
यतिन्जेल देशमा मत्स्येन्द्रकुमारको फिसफ्राई हिट भइसकेको थियो ।
मुख्यमन्त्री निवासमा आमाछोराको आत्मा भट्किरहँदा मत्स्येन्द्रकुमार भने बैठकमा मुख्यमन्त्रीलाई फिसफ्राई ख्वाइरहेका थिए ।
अध्याय ५
कविता र माछा
देशमा प्रजातन्त्र ल्याउन रज्जाकको हजुरबुबाले मुट्ठी उठाएका थिए । फेरि बहुदलीय प्रजातन्त्र ल्याउनुपर्दा रज्जाकको अब्बाले पनि मुट्ठी उठाए । फेरि जनआन्दोलन हुँदा रज्जाकले मुट्ठी उठाए । सहरमा जबजब आन्दोलन गर्नुपथ्र्यो, नेताहरू रज्जाकलाई बोलाउन आइपुग्थे । रज्जाक खुसी भएर मुट्ठी कस्दै आन्दोलनमा लाग्थे ।
रज्जाकहरूको हात र मुट्ठीलाई देशले पटक–पटक प्रयोग गर्यो । तर, जब पहिचान र अधिकारको कुरा उठ्यो, सरकारले रज्जाकहरूको हात र मुट्ठीको योगदान बिर्सिदियो । सरकारले कहिले उनीसित नागरिकता खोज्यो, कहिले लालपुर्जा खोज्यो । गरिब रज्जाकसित एक धुर जमिनको पनि लालपुर्जा थिएन ।
त्यसपछि नै निराश रज्जाक गर्भवती श्रीमतीलाई एक्लै छाडेर पैसा कमाउन मलेसिया गएका हुन् । तर, दुःखले अगैया बेताल बनेर मलेसियामा पनि उनको पिछा गर्न छाडेन । उनी मलेसियामा निकै बिरामी भए । मालिकले खर्चपर्च दिएन । कमाएको पैसाजति आफ्नै उपचारमै सिध्याए उनले । यतिन्जेल उनको भिसाको म्याद पनि समाप्त भइसकेको थियो । अवैध रूपमा बसेको आरोपमा उनी समातिए र केही वर्ष मलेसियाको जेलमा बिताए । मलेसिया सरकारले आममाफी दिएपछि बल्ल उनी देश फर्किन सके । उनी फर्किंदा देशमा गणतन्त्र स्थापना भइसकेको थियो ।
गाउँ फर्किंदा रज्जाक र रज्जाकजस्ता अरू सयौँ गाउँलेले वर्षौंदेखि भोगचलन गरिआएको सयौँ बिगाहा ऐलानी जमिन सरकारले मत्स्येन्द्रकुमारलाई लिजमा दिइसकेको थियो । उनले त्यो जग्गामा पनि विशाल माछापोखरी बनाइसकेका थिए । अब रज्जाकको यो देशमा खुट्टा टेक्ने जग्गा पनि थिएन । उनी बेघर भएका थिए । घरबास नै नभएपछि माटोले पनि चिनेन रज्जाकलाई । गाउँले पनि चिनेन । गाउँको बाटो र कुलोले पनि चिनेन । अनि चित्त दुखाउँदै उनी सहर आए । सहरमा सबैलाई उनले आफ्नो हात र मुट्ठी देखाउँदै भने, ‘यो देश बनाउन मेरो हात र मेरो मुट्ठीको पनि योगदान छ ।’
तर, पत्याएन कसैले । अनि निराश भएका रज्जाकले दुःखी गीत गाए–
हामीले टेकेको जमिन
अनि हाम्रै मुट्ठीभित्रको माटोले पनि चिनेन हामीलाई
र धोबीपाट दाउ लगाएर पछार्यो हामीलाई हाम्रै घरको आँगनमा ।
लखतरान परेर आउँदा घाममा
सरकार ! तिमीले खोलिदिएनौ आफ्नो दरबारको साँकल
र बोलाएनौ हामीलाई भित्र ।
हाम्रै गाउँको हावाले पनि माग्न थाल्यो हामीसित
हामीले गुमाएको हाम्रो लालपुर्जा,
र रिसाएर मेटिदियो धुलोमा युगौँदेखि बनेका हाम्रा पाउका छापहरू ।
सरकार ! के अब तिम्रो मौजामा
हाम्रो पाइतालाको छाप पनि वर्जित भएको हो ?
अब त यहाँको कुलियाको पानीले पनि चिन्दैन हामीलाई
र त बगाउँछ अब यसले हाम्रो शरीरसँगै हाम्रा आँखाभित्रका सपनाहरू ।
टेक्ने धरातल खोसेर मेरो सरकार
तिमी मलाई ढाका टोपी लगाएर
जुलुसमा सामेल हुने उर्दी दिन्छौ पटक–पटक
र बीच चौराहामा उभिएर गाउन लगाउँछौ हामीले नबुझ्ने राष्ट्रगान ।
के अझै पनि हामीले तनक्क तन्किएर
सलाम ठोक्नुपर्ने हो मेरो सरकारलाई ?
के अब पनि ढाड दुखुन्जेल
पाउलागी गरिरहनुपर्ने हो तिमीलाई मालिक ठानेर ?
के अब पनि हामीले रुँदै दिइरहनुपर्ने हो
आफ्नै माटो, आफ्नै जमिन, आफ्नै हावा,
र आफ्नै पानीलाई आफ्नो परिचय ?
सरकार ! म र मजस्ता हजारौँ हातहरूले खोस्रिदिएको हो
तिमी उभिएको जमिन
तर, यही जमिनमा किन उभिन पाउँदैनौँ हामी सगौरव ?
सरकार, के तिम्रो र मेरो पाइताला फरक हो ?
के तिम्रो र मेरो पाइतालाको अधिकार फरक हो ?
०००
एक दिन अचानक आफ्नो जमिन र पहिचान खोजिरहेका रज्जाक नामको कवि आफूले पढाइरहेको मदरसाको गेटमा मारिए । भारतीय नम्बर प्लेटका दुईवटा मोटरसाइकलमा आएका चारजनाले उनको छातीमा एकसाथ छवटा गोली हानेका थिए ।
उनको हत्या गर्ने को थिए ? सरकारले पत्ता लगाउन सकेन । सकेन हैन चाहेन ।
रज्जाकको हत्या भएको केही दिनभित्रै मत्स्येन्द्रकुमारको माछापोखरीको एक ट्रक ताजा माछा काठमाण्डौ पठाइएको थियो ।
गाइँगुइँ हल्ला थियो, रज्जाकको हत्या भएकै दिन मुख्यमन्त्री निवासको पार्किङमा भारतीय नम्बर प्लेटका दुईवटा मोटरसाइकल पनि पार्किङ गरेर राखिएका थिए र साँझतिर मुख्यमन्त्री निवासको भान्साबाट फिसफ्राईको बास्ना आइरहेको थियो ।
अध्याय ६
माछा र राष्ट्रवादको नौटङ्की
अध्याय एकमा उल्लेख गरिएको मत्स्येन्द्रकुमारको फिसफ्राईको रेसिपी रज्जाकको हत्या भएको केही दिनअघि मात्र प्रकाशित भएको थियो । नेपालमा विदेशी जासुसको चलखेलबारे जानकार एकजना पत्रकारले रज्जाकको हत्याको रहस्य मत्स्येन्द्रकुमारको फिसफ्राईको रेसिपीभित्र लुकेको उल्लेख गर्दै एउटा लेख लेखे ।
लेखमा उनले रेसिपीमा उल्लेखित ‘चारवटा हरियो पाकिस्तानी खुर्सानी’, ‘कास्मिरी खुर्सानीको घुलो’, ‘अमृतसरी फ्राइड फिस’, ‘नेपालगन्जीया दही’, ‘चाइनिज सेरामिक बाउल’, ‘विद्रोही कविको कविताजस्तो नेपालगन्जदेखि दिल्लीसम्म धुवाँ पुग्ने पिरो प्याज’, ‘अमेरिकन अनुसन्धान केन्द्र’, ‘क्यालोरी ६०० र प्रोटिन ४०’ र ‘ग्यास बन्द गर्नुस्’ जस्ता शब्दहरू उल्लेख भएका कतिपय प्रसङ्गलाई मसिनो गरी केलाएका थिए । पत्रकारको भनाइ मान्ने हो भने रेसिपीमार्फत विदेशी निकायलाई ‘नेपालमा कास्मिरको बाटो अमृतसर हुँदै चारजना पाकिस्तानी युवाहरू दिल्लीमा विस्फोटको योजना कार्यान्वयन गर्न ६००४० अमेरिकी डलरसहित नेपालगन्जमा भेला हुँदै छन् र त्यसमा नेपालगन्जका स्थानीय एकजना गरिब उर्दु कविले सहयोग गर्दै छन्’ भन्ने सूचना दिइएको थियो । संकेतमा उल्लेख भएअनुसार यसमा चीन सरकारको पनि संलग्नता हुन सक्छ । फिसफ्राईको रेसिपीभित्रै दिल्ली विस्फोटको यो योजनाको अनुसन्धानमा नेपाल सरकारले सहयोग नगरेको खण्डमा भारतले ग्यासलगायतका पेट्रोलियम पदार्थ नेपाल पठाउन बन्द गर्नुुपर्ने सुझाबसमेत दिइएको थियो ।
०००
के मत्स्येन्द्रकुमारको अस्वाभाविक उन्नति र प्रगतिको रहस्य उनकै फिसफ्राईको रेसिपीमा लुकेको छ ? के फिसफ्राईको नाममा उनी अर्कै धन्धामा लागेका छन् ? के राष्ट्रवादी छविको आडमा उनी राष्ट्रघात गर्दै छन् र रज्जाकजस्ता सोझा नेपालीलाई बलिको बोको बनाउँदै छन् ? के गरिब जनता र मत्स्येन्द्रकुमारको पोखरीको माछाको हैसियत समान हो ?
जवाफ कथाकारलाई थाहा छैन । किनभने कथाकारसित प्रश्न मात्र छ र छ एउटा सूचना । सूचनाअनुसार, मत्स्येन्द्रकुमारलाई चाँडै सरकारले माछापालनको क्षेत्रमा योगदान दिएबापत ठूलो राष्ट्रिय पदक दिने तयारी गरिरहेछ ।
रज्जाक, रजिया र नकिम अझै पनि मुख्यमन्त्री निवासका कुनाकाप्चामा भूत बनेर बसेका छन् । उनीहरू मान्छे देख्दा तर्सिन्छन् । राजनीतिसित डराउँछन् । सरकारसित आतंकित हुन्छन् । रज्जाकहरूलाई मरेपछि पनि सुख छैन ।
गरिबहरू यसै पनि माछा न हुन्, जसलाई फ्राई गरेर बेच्छन् मत्स्येन्द्रकुमारले । चुनावका बेला उनको फिसफ्राई सबैभन्दा बढ्ता बिक्री हुन्छ । यसै पनि चुनाव भनेको माछाको सिजन हो । त्यतिबेला रज्जाकको कविता सुन्नुको कुनै औचित्य हुन्न ।