सन्तपुर डबलीमा साँझपख टहलिन निस्किएका मानिसको बाक्लो भिड थियो । ट्याक्सी, मोटरसाइकल, रिक्सा आउजाउ गरिरहेको थियो । कतै सेल्फी खिचिरहेका युवा देखिन्थे, कतै भारी बोकिरहेका भरिया देखिन्थे । यस्तै भिडको बिचमा सारंगीको मन्द आवाज आइरहेको थियो । भिड छिचोल्दै सारंगीको धुन पन्छ्याउँदै गएँ । डबलीको कुनामा एकजना अग्ला कदका मानिस सारंगी बजाइरहेका थिए ।
उनीसँगै मञ्चमा थिए अन्य वाद्यवादक । ती अग्ला कदका व्यक्तिले सारंगी बजाइरहेका थिए । भिड उनको नजिक आउँथ्यो । सारंगीको धुन पच्छाउँदै मानिसहरू उनको नजिक आए । त्यस्तैमा अग्ला कदका सारंगीवादक मञ्चबाट बाहिर आए । छेउमा बसेर सारंगीको धुनमा मन्त्रमुग्ध भइरहेकी एक महिलाले सोधिन्, ‘तपाईं गन्धर्व हो ?’ ती अग्ला कदका व्यक्ति बोलेनन् । मुस्कुराए मात्रै । ती युवतीले फेरि भनिन्, ‘तपाईंको नाम के हो ?’ ती सारंगी वाधकले भने, ‘लोचन रिजाल ।’ यति भनेर उनी भिडमा हराए । ती युवती अवाक् भइन् ।
०००
सारंगी भन्नेबित्तिकै गन्धर्व जातिले मात्रै बजाउँछन् भन्ने मान्यता छ । तर, संगीतले जात भन्दैन । पछिल्लो समय लोचनजस्तै गैरगन्धर्वले पनि सारंगी बजाउन थालेका छन् । किशोरदेखि युवासम्म ‘जातभात हेरिनँ, सारंगीको धुन र सुरले मलाई गायक बनायो,’ लोचन रिजाल भन्छन् । ४० वर्षीय लोचन रिजालले सारंगीमै विद्यावारिधि गरे । विगत २० वर्षदेखि सारंगीलाई प्रेम गरिरहेका छन् उनी । अनेक मञ्चमा उनले सारंगी बजाइसकेका छन् । सारंगी उनको ‘लत’जस्तो भइसक्यो । उनी भन्छन्, ‘धुनले जातलाई भन्दा बढी भावनालाई जोड्छ र भावना जोडिएपछि जातपात रहँदैन ।’
०६७ सालतिर विदेश जाँदा सानो सारंगी बोकेर गएका थिए । त्यसले चित्त नबुझेपछि दिदीलाई सारंगी पठाइदिन भने । पछि श्याम नेपालीले सारंगी पठाइदिए । विदेशको भूमिमा मौलिक बाजा सारंगी बोकेर डुले । गाए । सिके । र सारंगी सिक्नकै लागि भरत नेपालीलाई गुरु माने । अघिल्लो वर्ष उनले नेपाल आइडलमा सारंगी बजाए । उनी भन्छन्, ‘हामी राम्रो बजाउँला, सफा बजाउँला, तर शैलीमा निखार आउन अझै सकेको छैन ।’ गन्धर्वको शैलीको विकास गर्न गैरगन्धर्वहरूलाई अझै जोखिम देख्छन् उनी । धेरै ठाउँमा उनलाई गन्धर्व नै भनेर हेला गरे । तत्काल स्विकारेनन् । उनी भन्छन्, ‘हातमा सारंगी देखेर नजिकिन नचाहने नाम सुनेर नजिकिन्थे ।’ जसले जे भने पनि उनले सारंगीको संगत छाडेनन् ।
०००
झापा स्थायी घर भएका ३५ वर्षीय टंक संग्रौला टाइगरले सारंगी बजाउन थालेको दश वर्ष भयो । आफ्नो गाउँघरमा गन्धर्वहरूले बजाएको सारंगीको धुनले उनलाई छुन्थ्यो । तर, सारंगी नछोएरै उनको बालापन बित्यो । ‘सानैदेखि मलाई सारंगी बजाउन मन थियो । तर, बाआमाको डरले सारंगी छुन सकिनँ, त्यही रहर काठमाडौं आएर पूरा गरेँ ।’ सारंगीका तार खेलाउँदै भन्छन् उनी ।
सहरले युवाहरूलाई मनलाग्ने चिज सिक्न सहयोग पु-याएको छ । टंकको डर सहर पसेपछि हरायो । गाउँको अधुरो सपना राजधानीमा पूरा गरे उनले । नाट्यकर्मी टंक संग्रौलाले जहाँ गए पनि सारंगी छुटाउँदैनन् । नेपाल संगीत विद्यालय पिंगलास्थानबाट सारंगी सिक्दै नाटकको पनि प्रस्तुति देखाउन थाले । एक दिन उनले स्कुलकै केटाकेटीलाई सारंगी बजाउँदै नाटक सिकाइरहेका थिए । उनकै सहकर्मी मिसले उनको सारंगी बजाइ देखेर सोधिछन्, ‘तपाईं गन्धर्व हो ?’ उनले पनि हो भनिदिए । त्यसपछि ती मिस कहिल्यै बोलिनन् । उनी भन्छन्, ‘ती मिसले मलाई बाहुन सम्झेकी रहिछिन् हा हा हा ।’
गन्धर्वले बजाउने बाजा भन्दै उनलाई सारंगी बजाउन दिएका थिएनन् घरपरिवारले । तर, उनी निराश भएनन् । बरू सारंगी सिकेको दुई वर्षपछि सारंगी बोकेरै टंक झापा स्थायी घर झापा पुगे । उनका बुबाआमा छक्क परे । ‘बाउलाई देखेर सारंगी घरभित्र लानै सकस लाग्यो ।’ सुरुवाती चरणको दकस सुनाउँछन् र उनले सारंगीलाई पालीकै खाँबोमा राखे पनि । छरछिमेकले पो केही भन्छन् कि भन्ने पिर पनि लाग्यो उनलाई । तर, सारंगीको धुनले तिनै रिसाउलान् भन्ने पात्रलाई रिझाउने कोसिसमा लागे । उनको हृदयमा बसेको धुनले उनलाई ऊर्जा दिइरह्यो ।
कामका आधारमा जात बनाइयो । काम देखेर मान्छे धारणा बनाउँछन् । तर, संगीतको शक्तिले बसमा पारेका गैरदलित युवाहरू सारंगी मोहमा छन् । सारंगी रेटेर धुनको भाषामा अभिभावकको चित्त बुझाए । प्रत्येक दिन रियाज गर्छन् । पिठ्युँमा सारंगी बोकेर हिँड्छन् । उठ्नेबित्तिकै उनी सारंगीका तारसँग खेल्छन् । धुनमा मनमुग्ध हुन्छन् । र, सारंगीको -याइँ-याइँसँगै आलाप्छन्, सा रे ग म प ध नि सा ।
चाबहिल बस्ने ३२ वर्षीय युवा के. सी. राजा पनि सारंगी बजाउँछन् । ‘मैले सारंगी बजाउन थालेको सात वर्ष भयो ।’ सारंगीका नोट कस्दै भन्छन् उनी । नेपालमा पहिलोपटक उनले ५ र ६ तारे सारंगी पनि बजाए । विभिन्न मञ्चमा उक्लिए । दमदार प्रस्तुति दिए । अहिले उनीसँग सारंगी सिक्नेको घुइँचो छ । उनको परिवारले अहिले पनि स्विकार्न अन्कनाउँछन् सारंगी । तर, उनले सारंगीकै धुनले मन जित्ने कोसिसमा लागिरहे । कतिले ‘गाइने दाइ’ भनेर जिस्काउँछन् । उनी हाँसेर स्विकार्छन् ।
‘काम नपाएर सारंगी बजाउँदै हिँड् तेरा साथीहरूले कत्रो प्रगति गरिसके ।’ यसरी उनका अभिभावकले असन्तुष्टि पोखे । हप्काए । तर, उनले टेरेनन् । उल्टो लुकीलुकी सारंगी सिक्न थाले । सारंगीको संगतमा उनी पर्दै गए । अहिले उनीसँग कत्ति पनि सारंगी छुट्दैन । बाटोमा सारंगी बजाएको देखेर उनी सानो छँदा टक्क रोकिन्थे । ध्यानले सुन्थे । उनी धुनसँगै तारमा तार रेटिएको गहिरो हेर्थे । त्यसपछि उनी गन्धर्वसँग संगत नै गर्न थाले । उनी भन्छन्, ‘जातैले नगरेको के गर्छस्, अच्छा काम गर भन्थे, तर टेरिनँ ।’ सारंगी बजाउनकै लागि उनी जापान पुगे । उनी भन्छन्, ‘सुरुवाती चरणमा घरपरिवारबाट सपोर्ट पाइनँ, तर सारंगी बजाउन छोडिनँ ।’मान्छेको मन न हो । जहाँ लगाव त्यहाँ झुकाव । उनी भन्छन्, ‘सारंगी बजाउने अधिकार मेरो पनि हो, त्यसैले जातपात हेरिनँ ।’ सारंगी संरक्षणमा सबै नेपालीको कर्तव्य ठान्छन् उनी । भन्छन्, ‘कुनै निश्चित जातिले होइन, यो सारंगी बजाउन नेपालीको अधिकार छ ।’
०००
१६ वर्षीय प्रसुनकुमार क्षेत्रीले सारंगी सिकेको दुई वर्ष भयो । किशोरवयमा उनको सारंगी मोह गज्जबको छ । उनी सारंगी नरेटी, धुन नसुनी निदाउँदैनन् । राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चमा सारंगीवादक भएर उभिने सोच छ उनको । ‘करिअर सारंगीमै खोज्दै छु ।’ भन्छन् । उनका बुबाआमा जागिरे हुन् । उनले सारंगी सिक्छु भन्दा उनका अभिभावक छक्क परेका थिए । छोरोको इच्छामा शंका गरेका थिए ।
‘गिटार सिक्छु भनेको भए ड्याडिममी खुसी हुनुहुन्थ्यो होला सायद । तर, मैले सारंगी सिक्छु भनेँ,’ उनले भने । बुबाआमाले उनलाई हप्काए । केही दिन अडानै लिए । तर, प्रसुनले पनि आफ्नो इच्छा फेरेनन् । कलिलो उमेरमा सारंगी मोहमा परेका प्रसुन भन्छन्, ‘मैले ड्याडिममीलाई निरन्तर रिक्वाइस्ट गरे ।’ उनका अभिभावकले उनलाई सारंगी बजाउन छुट दिए । उनी भन्छन्, ‘सप्पैले गिटार बोकेर हिँडे, तर मैले मौलिक बाजा सारंगी बोकेँ ।’सहरमा गैरगन्धर्वहरूको संख्या बढ्दै छ । गाउँको चोक र पिँडीमा बसेर गन्धर्व गाउँदै आउँथे । सहरका पेटी र सार्वजनिक यातायातमा गाउँदै हिँड्थे । परम्परागत पेसाका रूपमा रहेको सारंगीलाई गैरगन्धर्वहरूले बजाउँदा गन्धर्वको अवसर त खोसिन्न ?
गन्धर्वहरू के भन्छन् ?
द भ्वाइस अफ नेपालको टप २४ मा परेकी वर्ता गन्धर्वले सारंगी सिकाउँदै आइरहेकी छिन् । नेपाल संगीत विद्यालयमा सारंगी सिक्ने गैरदलित युवा बढी छन् । त्यहाँ प्रसुनसहित, उत्तम श्रेष्ठ, राजेश श्रेष्ठ, सुमन पौड्यालजस्ता विद्यार्थी सिकिरहेका छन् । ‘गैरगन्धर्व युवाहरूलाई मैले सिकाउन पाएको छु र उहाँहरूले लगनका साथ बजाउँदै आउनु भएको छ ।’ उनी आफ्नो अनुभव सुनाउँछिन् ।
सुरुवाती चरणमा उनलाई दकस लागेको थियो । बिस्तारै हट्यो । गाउँघरमा सारंगी सिक्छु भनेर कुनै गैरदलित उनका सामु आएका थिएनन् । तर, सहरमा यत्ति फरक देख्दा उनलाई खुसी लाग्छ । श्याम नेपाली गैरगन्धर्व युवाको सारंगी मोहलाई स्वागत गर्छन् । उनी भन्छन्, ‘नेपालको साझा बाजा, हरेकले बजाउन पाउनुपर्छ ।’ सारंगीले गन्धर्वहरूको स्तर उकास्थ्यो भन्ने सोच मान्छेमा हट्दै आएको छ । त्यसैले, यस बाजालाई सबैले बजाएको देख्दा श्याम नेपाली खुसी छन् । नेपालमा परम्परागत बाजाहरू जातका आधारमा बजाइन्छ भन्ने पठन–पाठन भयो । यसकारण, बाजाका आधारमा पनि विभेद गरिन्छ ।
काठमाडौं युनिभर्सिटीमा २० वर्षदेखि सारंगी पढाउँदै आएका भरत गन्धर्वका विद्यार्थी दलितभन्दा गैरदलित बढी छन् । बाहुन र जनजाति समुदायका युवा विद्यार्थी सारंगी पढ्न थालेको देखेर उनले सिक्नुको कारण पनि सोधेका थिए । ‘नेपाली मौलिक बाजा सिक्न पाए नेपालीपन चिनाउन सकिन्थ्यो कि’ भनेर उनका विद्यार्थीले जवाफ दिए ।
गन्धर्वहरू सारंगीबाट पलायन भइरहेका वेला सारंगीको क्रेज बढेकोप्रति खुसी छन् भरत गन्धर्व । उनी भन्छन्, ‘यो मौलिक बाजा गैरगन्धर्वले पनि बजाउनु सबैभन्दा बढी खुसी गन्धर्वहरूलाई लाग्छ ।’
एक मञ्चमा गन्धर्व र गैरगन्धर्व उभिँदा सद्भाव झल्किन्छ । समानता देखिन्छ । जातका आधारमा हेरिन्न । तर, घरसम्म पुग्दा गैरगन्धर्व अभिभावकमय हुन्छ ।
विज्ञ के भन्छन् ?
नेपाल, भारत र पाकिस्तानको स्थानीय बाजाका रूपमा हेरिए पनि सारंगी विशेष नेपालमा अझ लोकप्रिय छ । हिन्दुस्तानमा शास्त्रीय संगीतमा प्रयोग गरिए पनि नेपालमा लोकगीतसँग प्रयोग गरिन्छ । आलंकारिक रूपमा सारंगीको स्वर प्रयोग हुँदै आएको छ । र, लोकसंस्कृति झल्काउने यो बाजा, बाजाहरूको पनि बाजा हो । हेर्दा सानो । बोकेर सजिलै हिँड्न सकिने ।
सारंगीलाई संरक्षण गर्नुपर्ने बताउँछन् लोकबाजा संकलक रामप्रसाद कँडेल । उनी भन्छन्, ‘नेपाली मौलिक बाजा सारंगीलाई लोप हुन दिनु हुँदैन । सारंगीलाई जोगाउन गैरगन्धर्वहरूको काम प्रशंसनीय छ ।’ श्याम गन्धर्व भन्छन्, ‘लोप हुन लागेको सारंगी नयाँ पुस्ताले स्विकार्नु आफैँमा परिवर्तन हो ।’ गन्धर्व जातिले सारंगीलाई जीविकोपार्जनको माध्यम बनाएको देखिन्छ । तर, गन्धर्वहरूले विस्तारै पेसा फेर्दै छन् । ‘गीत–संगीतले मान्छेको मन बहलाउँछ । मनलाई सम्हाल्न प्रेरणा दिन्छ । हरेक मान्छेभित्र गीत–संगीत छ । र, धुनले मानिसलाई पक्रिन्छ,’ मनोविद् गोपाल ढकाल भन्छन् । सारंगी गन्धर्वहरूको आधार हो । पहिचान हो । यसले गन्धर्व जातिलाई बचाइराखेको छ । र सारंगीलाई बचाउने काम पनि उनै गन्धर्वहरूले नै गर्दै आइरहेका छन् । त्यही पेसा अहिले धराशयी परिरहेको बताउँछन् साहित्यकार आहुति । उनी भन्छन्, ‘सारंगी संरक्षण प्रवद्र्धन संवद्र्धनमा टेवा पुगे पनि गन्धर्वहरूको पेसा भने धराशयीमा नपर्ला भन्न सकिन्न ।’ राज्यले गन्धर्वहरूलाई क्षतिपूर्ति तथा सेवासुविधा नदिएको र सम्मान गर्न नसकेको उनको गुनासो छ ।
एक मञ्चमा गन्धर्व र गैरगन्धर्व उभिँदा सद्भाव झल्किन्छ । समानता देखिन्छ । जातका आधारमा हेरिन्न । तर, घरसम्म पुग्दा गैरगन्धर्व अभिभावकमय हुन्छ । साहित्यकार आहुति भन्छन्, ‘गैरगन्धर्व युवामा चेतनाको मात्रा बढ्दै गएको छ । त्यसैको परिणाम सारंगीलाई बजाउन थालेका हुन् । यो परिवर्तनको छनक हो ।’ छुवाछुत न्यूनीकरण बाहिरी समाजमा भए पनि घरभित्र पुगेपछि फेरियो भन्नचाहिँ अझै सकिन्न । किनकि, छुवाछुतका समाचार अहिले पनि पत्रिकाको मुख्य समाचार बनेका छन् ।
संगीतकार वसन्त सापकोटाले आफ्नो छोरोलाई सारंगी नै पढाइरहेका छन् । उनी छोरोलाई सारंगीवादक बनाउन चाहन्छन् । जात र समुदाय हेरेर कर्म गर्ने प्रचलन हराएको उनको दाबी छ । अहिले उनको स्टुडियोमा गैरगन्धर्व साथी पनि सारंगी बजाउन आइपुग्छन् । उनी भन्छन्, ‘कर्म गर्न पाउनुपर्छ । त्यसलाई कुनै जात र धर्म जोडेर हेरिनुहुन्न ।’
गैरगन्धर्वले सारंगी बजाएको ‘हिप्पोक्रेयसी’ लाग्छ प्राध्यापक डा. अभि सुवेदीलाई । ‘समाजका अगुवा भन्ठान्नेहरू सुख–दुःखका वेला गन्धर्वहरूको गीत सुन्छन्,’ उनी भन्छन्, ‘गन्धर्वहरूबाट प्रेरणा लिन्छन्, तर उनीहरूलाई नै घरभित्र पस्न दिँदैनन् ।’
संगीतको शक्तिले आजका गैरदलितलाई मोहित पारेको छ । सारंगी गन्धर्वहरूले मात्रै बजाउनुपर्छ भन्ने धारणा हराउँदै गएको छ । त्यसो हुनु संगीतकै शक्तिले ल्याएको परिवर्तन ठान्छन् सुवेदी । भन्छन्, ‘संगीतको शक्ति भावनासँग सरोकार राख्छ ।’ सारंगी कति इमानदारीका साथ बजाइरहेका छन् त गैरगन्धर्वहरूले । त्यसमा चुनौती देख्छन् संस्कृतिविद् जगमान गुरुङ, भन्छन्, ‘गन्धर्वहरूलेझैँ कर्खा बजाउन सक्छन् कि सक्दैनन् गैरगन्धर्वहरू ? यो सोचनीय कुरा छ ।’
परिवर्तनको छनक
पेसागत सम्मान हुने, परम्परागत सांस्कृतिक मौलिक बाजा संरक्षण हुन सक्ने, जातीय छुवाछुतचाहिँ न्यूनीकरण नहुने ? यो प्रश्न गन्धर्वहरूले गर्ने गरेका छन् । गैरगन्धर्वले पनि सारंगी बजाउँदा सारंगी वाद्यवादकबीच सम्बन्ध बन्छ । सद्भाव रहन्छ । गन्धर्व र गैरगन्धर्वका बीचमा सुमधुर सम्बन्ध बनिरहन्छ । रैथाने बाजा सारंगीबाटै आफ्नो गीतसंगीत सुनाउँदै आएका गन्धर्वको इतिहास सारंगीबाटै सुरु हुन्छ । इतिहास र घटनाक्रम गाउन सक्छन् कि सक्दैनन् त अहिलेको गैरगन्धर्वहरूले ?
गन्धर्व समुदायको पेसा र संस्कृति बनेको सारंगी समयक्रमसँगै लोप हुन गइरहेको अवस्थामा गैरदलित युवाहरूले सारंगी बजाउनु संरक्षणको प्रयास पनि हो । सारंगीलाई विशुद्ध लोकबाजाका रूपमा हेरिन्छ । र सारंगीवादकलाई अहिले इज्जत दिन थालिएको छ । सारंगीप्रतिको लोकप्रियताका कारण यो सबैमाझ प्रिय हुँदै गएको हो । र, भित्रिँदो आधुनिकतासँगै जातप्रति मित्थ्या मान्दछन् अहिलेका गैरगन्धर्वहरू ।