कथाको गर्भ
खासमा मलाई प्रेमको बारेमा केही भन्नु छैन । सुरुसुरुमा त जोसँग सहमतिमा शारीरिक सम्बन्ध हुन्थ्यो, उसलाई म ‘प्रेमी’ भन्ने गर्थें । पछि बिस्तारै यो सम्बोधन आफैँमा यति बोझिलो र बेकारको लाग्न थाल्यो कि मैले ‘प्रेमी’ शब्दको प्रयोग नै छाडिदिएँ ।
पहिले यस्तो थिएन । ‘प्लस टु’ पढ्दै गरेको वेला थियो । एक दिन बिहान उठ्दै गर्दा थाहा पाएँ– बा बिरामी हुनुभएछ । अघिल्लो दिन सामान्य अवस्थामा सुत्नुभएको बा बिहान उठ्नै नसक्ने हुनुभएको थियो । खपिनसक्नु टाउको दुखेको थियो रे । अस्पताल जाने कुरा भयो । छिमेकीहरू जम्मा भए र बालाई नजिकैको अस्पताल लगियो । डाक्टरले बालाई तत्काल काठमाडौं लैजान भनेछन् । एम्बुलेन्समा काठमाडौंतिर लगियो, आमा र दाइ पनि जानुभयो । म घरमा एक्लै भएँ ।
विश्वाससँग फोनमा कुरा भयो । विश्वास अर्थात् मेरो कक्षाको केटा जोसँग म प्रेममा परेको ठान्थेँ । उसले मेरोमा बस्ने गरेर आउँछु भन्यो । म रोमाञ्चित भएँ, केही डराएँ पनि । रोमाञ्चित यसकारण कि कुनै केटा साथी पहिलोपटक घरमा आउँदै थियो र डर यसकारण कि यो कुरा छिमेकीले थाहा पाउन सक्थे ।
सल्लाहअनुसार नै झमक्क साँझ परेपछि ऊ आयो । त्यो रात हामी शारीरिक रूपमा नजिक भयौँ । यौन सम्बन्धलाई लिएर मेरो मनमा जुन अनौँठो सन्देह थियो, उत्सुकता थियो खासमा मलाई त्यस्तो कुनै अनौठो लागेन । सबै प्राकृतिक लाग्यो र त्यो रात रमाइलो बित्यो ।
भोलिपल्ट बिहानै ऊ फर्कियो । ‘बाको टाउकोमा रगत जमेको छ रे, जतिसक्दो छिटो अपरेसन गर्नुपर्छ भनेको छ’– आमाले फोनमा भन्नुभयो । त्योभन्दा बढी केही भन्नुभएन, रुनुभयो मात्र । पछि दाइसँग कुरा भयो । पैसाको जोहो गर्न गाह्रो भएको छ पछि कुरा गर्छु, राम्रोसँग बस भन्यो ।
लगत्तै विश्वासको फोन आयो र त्यो दिन पनि आउने कुरा गर्यो । मैले केही भन्नै सकिनँ । दिनहरू बितिरहे ।
कहिले आमासँग, कहिले दाइसँग कुरा हुन्थ्यो ।
– अपरेसनको दिन फिक्स्ड भयो ।
– रगत म्यानेज गर्न कत्ति गाह्रो ।
– बाको अपरेसन सफल भयो ।
– पोस्ट अपरेसन वार्डमा सारेको छ, आमाले भेटेर आउनुभयो । तर, मभित्र जान सकिनँ ।
– होस अझै आएको छैन ।
– होस आयो, अब आइसियूमा सारेको छ ।
– तर बाले मलाई चिन्नुभएन ।
यस्तै–यस्तै कुरा हुन्थ्यो ।
विश्वास कहिले दिनमा र रातमा सधैँजसो आइरह्यो । कहिले मन लागेर र कहिले रत्तिभर मन नहुँदा पनि ऊसँग यौनसम्बन्ध भइरह्यो । तर, त्यत्तिका दिनमा उसले कहिल्यै ‘बालाई कस्तो छ ?’ भनेर सोधेन । र, मलाई यौनसम्बन्ध मात्र होइन उसको अनुहार देख्दा पनि दिक्क लाग्न थालिसकेको थियो ।
‘बालाई अझै केही हप्ता अस्पतालमै राख्नुपर्लाजस्तो छ । तँ पनि एक्लै भइस् । एक दुई हप्तालाई चितवनबाट शिशिर काका आउनुहुन्छ । त्यतिवेलासम्म हामी पनि आउछौँ कि !’– आमाले भन्नुभयो । शिशिर, मेरै काका तर, उमेरमा मभन्दा त्यस्तै पाँच वर्ष मात्र जेठो । हामी केटाकेटी नै हुँदा हजुरबा हजुरआमा चितवन बसाइँ सर्नुभएको, काका त्यतिवेला सानै हुनुहुन्थ्यो ।
काका आउने कुरा विश्वासलाई भनेँ । उसले मुख अँध्यारो बनायो । म भने भित्रभित्रै खुसी भएँ ।
‘काका भने पनि विश्वास नगर,’ सधैँ कोठामा चुकुल लगाएर सुत । उसले भन्यो ।
‘उहाँ मेरो काका हो यार, मेरो आफ्नै बाको भाइ’– म झर्किएँ ।
तैँले केटा मान्छे चिनेकै छैनस् । कसैलाई विश्वास गर्न हुदैन । – ऊ पनि झर्कियो ।
‘तँ विश्वास नगर न त, म त पूरै विश्वास गर्छु’– मैले बेवास्तापूर्वक भनेँ ।
०००
काका आउनुभयो । अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका काका भलाद्मी लाग्यो मलाई । अलि ठूलो भएपछि काकासँग खासै कुरा भएको थिएन । उहाँमा संगीत, साहित्य, फिल्मलगायत समसामयिक राजनीतिमा पनि प्रशस्त चासो र ज्ञान रहेछ । काकाले मलाई पढ्नका लागि धेरै किताबका नामहरू टिपाउनुभयो र केही फिल्महरू हेर्न सुझाउनुभयो । कहिलेकाहीँ आफ्नै मुक्तकहरू पनि सुनाउनुहुन्थ्यो । बालाई बिस्तारै सन्चो हुँदै गएको थियो र यता शिशिर काकाको कुरामा म रमाउन थालेकी थिएँ र त्यो दुई हप्ता रमाइलोसँग बित्दै थियो । त्यसैवेला विश्वासले भेट्न बोलायो । घरनजिकैको मन्दिरमा भेट्यौँ । उसले अप्रत्याशित रूपमा यौन सम्बन्धको प्रस्ताव राख्यो ।
‘घरमा त काका हुनुहुन्छ’– मैले इन्कार गर्ने सजिलो बाटो रोजेँ ।
‘त्यसो भए उता जाऊँ’– उसले जंगलतर्फ देखायो ।
नचाहिँदो कुरा । मलाई ऊसँग घृणा लाग्न थाल्यो ।
तेरो सबै कुरा बुझ्या छु । उसले दाँत किटकिटायो । म घर फर्केँ ।
त्यो दिन पनि काकाले मीठो खाना बनाउनुभयो, रमाइला कुराहरू गर्यौँ । मैले मनमनमा विश्वास र शिशिर काकालाई तुलना गरेँ । झन्डै एउटै उमेर समूहका भएर पनि एउटा यौनमा मात्र लिप्त र अर्को भने कस्तो बहुमुखी प्रतिभा । केके–केके कुराहरू गर्दागर्दै कतिखेर निदाएछु पत्तै भएन ।
यो कथित प्रेम दिवसको उखरमाउलोले छोरीलाई मात्र होइन, उसका साथीहरूलाई पनि त्यसरी नै गाँजेको म भेउ पाउँछु । त्यसो त यो कथित प्रेम दिवसको औडाहाले बजार तताएको छ र केही विज्ञहरू ‘भ्यालेन्टाइन्स डेको अर्थशास्त्र’ चिरफार गर्न लागिपरेका छन्
अप्ठ्यारो र उकुसमुकुसको अवस्थामा म ब्युझेँ । मेरो नांगो शरीरसँग काका खेलिरहेका थिए । मैले प्रतिरोध गर्न सकिनँ, भावशून्य र पीडाशून्य महसुस भयो । त्यो काका जसले मलाई बितेका पन्ध्र दिनमायोगमाया, पारिजात, तस्लिमा नसरिन, सिमोन दी वाउवरजस्ता व्यक्तिहरूबारे सुनाएको थियो । टोनी मरिसन, माया एंगेलो, महाश्वेता देवी, अमृता प्रितम, अरुन्धती रोयका लेख–रचनाका बारे भनेको थियो । महिला आन्दोलन र नारी सशक्तीकरणका शब्दहरूसँग परिचित गराएको थियो । समाजचेत, विद्रोह, क्रान्ति र परिवर्तनबारे बुझाएको थियो । त्यही काकाले, त्यो रात मलाई बलात्कार ग¥यो । र, भोलिपल्ट बिहानै केही नबोली घर छोडेर निस्कियो । काकाको पछिल्लो व्यवहारले म नराम्ररी बिथोलिएँ । सायद मेरो मनमा असल र खराबको भिन्नताको सीमारेखा भत्कियो ।
बा फर्कनुभयो केही सन्चो भएर, तर ज्यादै कमजोर हुनुभएको थियो । आमाबा नै अस्पताल गएपछि भैँसी, बाख्राहरू हेर्नुपर्ने भएकाले म क्याम्पस गएको थिइनँ । उहाँहरू फर्केपछि क्याम्पस जान सुरु गरेँ । क्याम्पस गएको पहिलो दिन नै केही केटाहरूले भद्दा किसिमले जिस्क्याए । केटीहरूले पनि अनौठो ढंगले हेरे । एउटाले त ‘हामीलाई कहिले चान्स दिने त ?’ सम्म भन्यो । म केही बोल्नै सकिनँ । दुईजना बीचको अन्तरंग सम्बन्धलाई सार्वजनिक ठट्टाको विषय बनाएको विश्वासले नै रहेछ । मैले प्रेमिल र प्राकृतिक ठानेको सम्बन्ध यस्तो मजाकको विषय बन्ला भनेर सोचेकै रहेनछु । १२ कक्षाको परीक्षा आइसकेको थियो । बा बिरामी हुनुभएकाले आमालाई सहयोग गर्ने बहानामा नियमित क्याम्पस जानै छोडिदिएँ ।
पछि स्नातक पढ्न काठमाडौं आएँ । यसबीचमा विविध प्रेमका प्रस्ताव आए । प्रेमप्रस्ताव भनिए पनि मलाई भने ती सबै यौन प्रस्तावजस्तो लाग्थ्यो । यतिसम्म भोगेँ कि कक्षाका कतिपय सहपाठी, शिक्षक र घरबेटी अंकलसम्मले मौका मिल्नेबित्तिकै व्यक्त–अव्यक्त रूपमा यौन प्रस्ताव राख्दथे । शब्दहरू र शैलीमा फरक हुन्थ्यो, तर उनीहरूको आँखामा देखिने तृष्णामा कुनै अन्तर हुन्थेन । प्रेमको अविभाज्य ठानेको यौनको सर्वव्यापकता र हिंस्रक अस्तित्व देखेर बिस्तारै कहाली लाग्न थाल्यो । यो मनोदशामा न म कसैलाई अस्वीकार गर्न सक्थेँ न स्वीकार गर्न नै । व्यवहारमा भने उनीहरूप्रति समभाव देखाएको जस्तो हुन थाल्यो । म घर जानै छाडेकी थिएँ । तीन वर्षमा झन्डै दुई दर्जन काम फेरिसकेकी थिएँ । सहकारी संस्थामा ‘कलेक्टर’को कामदेखि निजी प्राथमिक विद्यालयमा पढाउनेसम्मका काम गरेँ । यसबीचमा संगत गरेका पात्रहरू फेरिए, तर प्रवृत्ति उस्तै पाएँ । के हामीले बाँचेको समय यस्तै कहालीलाग्दो छ ? मान्छेहरू कसरी बाँच्छन् हँ यस्तो समाजमा ? यस्तै, विचार मनमा आउँथे ।
०००
सायद आमाले केही कुरा थाहा पाउनुभएछ कि, तत्काल घर बोलाउनुभयो । नजाने बहाना बनाउन नखोजेकी पनि होइन, तर बिरामी बाले नै कर गरेपछि नाइँ भन्न सकिनँ । आमाले बिहेको कुरा गर्नुभयो । झसंग भएँ । मेरो जीवन त नर्क भइसकेको थियो । खासमा बिहे, प्रेमजस्ता कुरा मेरो मनमा आउनै छाडेका थिए । पारिवारिक जीवन बिताउनेबारे सोच्नसम्म पनि नसक्ने भइसकेकी थिएँ । तर, यी सब आमा–बाको अगाडि भन्ने आँट थिएन । मनमा भने बिहेको कुरा चल्ने केटासँग सबै कुरा खुलेर भनिदिन्छु अनि ऊ आफैँ बाटो लाग्छ भन्ने लागेको थियो । बिहे गर्छु भन्ने सोच एक प्रतिशत पनि थिएन ।
सोचेजस्तो कहाँ हुनेरहेछ र ? केटी हेर्ने÷देखाउने र ‘इन्गेजमेन्ट’ यति अपर्झट भयो कि मैले चाहँदा–चाहँदै पनि केही भन्नै सकिनँ । र बिहे भयो । बिहेजति सहजै भयो त्यसपछिका दिनहरू साह्रै अप्ठ्यारा भए । बिहेअघि यौन प्रस्तावले दिक्क भएको म बिहेपछि भने अन्य व्यक्तिसँगको यौन अभीप्साले दिक्क भएको थिएँ । आफूलाई अनियन्त्रित पाउँथेँ र आफ्नै यो अवस्था सम्झेर औडाहा हुन्थ्यो, आत्महत्या गरौँजस्तो लाग्थ्यो । अहिले लाग्छ, म त्यतिवेला ‘निम्फोम्यानिया’ले ग्रस्त थिएँ ।
तर, ऊ भने शान्त थियो । हरेक हप्ताको शुक्रबार एउटा नयाँ पुस्तक उपहार दिने गथ्र्यो । दैनिक पत्रपत्रिकामा आएका लेखहरू पढेर सुनाउने गथ्र्यो । यी सबमा मलाई चासो थिएन । तर, ऊ भने यसतर्फ प्रेरित गरिराख्थ्यो । सधैँजसो शुक्रबारको साँझ हामी एउटा फिल्म हेथ्र्यौँ । हेरिसकेपछि फिल्मबारे छलफल हुन्थ्यो । साताका अरू दिनहरू पनि किताब तथा लेखहरूमा छलफल हुन्थ्यो । म बिस्तारै अभ्यस्त हुँदै गएकी थिएँ ।
बाहिर अलिअलि शान्त देखिएपनि मनभित्रको ज्वारभाटा झनै अनियन्त्रित हुँदै गएको थियो । त्यसैताका उसले एक महिना लामो पदयात्रामा जाने प्रस्ताव राख्यो । हिँड्न भनेपछि दिक्क मान्ने म, महिना दिन लामो पदयात्रा सम्झेर मात्र पनि फत्रक्क गलेकी थिएँ, तर अस्वीकार गर्ने आँट पनि थिएन । पछि छलफलमा झन्डै महिना दिनको ‘मुगुको रारा हुँदै डोल्पाको से–फोक्सुन्डो’ पुगेर फर्कने प्रस्तावित पदयात्रा ‘गोसाइँकुण्डसम्म पुगेर फर्कने’मा सीमित भयो ।
पदयात्रामा जीवन र जगत्बारे प्रशस्त कुरा भए । त्यतिवेला उसले मदनमणि दीक्षितद्वारा लिखित ‘माधवी’ उपन्यासको कथा सुनाएको थियो । यसै पदयात्रामा त हो उसले धार्मिक तथा पौराणिक कथाका पात्रहरू कुन्ती, तारा, अहिल्याबारे सुनाएको । त्यति मात्र होइन, ती दिनहरूमा ऐतिहासिक पात्र क्लियोपाट्रादेखि म्यारिलिन मनरो, मोनिका लेविन्स्की तथा नेपाली नायिकाहरू श्रीषा कार्की र नम्रता श्रेष्ठसम्मका कुराहरू भए । यी छलफलमा महिलाका कुरा मात्र भएनन्, उनीहरूसँग जोडिएर आउने पुरुष पात्रहरूको चर्चा भयो । अनि मैले बिस्तारै शक्ति सम्बन्ध र यौनलगायतका अन्य विषयलाई बुझ्ने र व्याख्या गर्ने सामाजिक दृष्टिकोण कसरी बन्दोरहेछ भन्ने बुझ्न थालेँ ।
पदयात्राबाट फर्केपछि भने धेरै हलुंगो महसुस गरेँ । बिस्तारै औपचारिक तथा अनौपचारिक अध्ययन अगाडि बढाएँ । स्नातकोत्तरसम्मको पढाइसकेँ । रोजगार छु, आर्थिक रूपमा आत्मनिर्भर छु । छोरा नै दश वर्षको भइसकेको छ । तर, पनि विद्यमान समाजको शक्ति सम्बन्ध र मैमत्त पुरुषसत्ताको आडमा गरिएका अत्याचारले आफ्नै विगत सम्झिन्छु र ऐँठन हुने गर्छ ।
प्रारम्भः
‘टिनएज’को अन्तिम वर्षमा रहेकी दाइकी छोरीलाई यो हप्ता ‘भ्यालेन्टाइन्स सप्ताह’ उधुमै लागेको छ । रोज डे, पर्पोज डे यस्तै के–के भन्दै छे । कहिले टिकटक भिडियो बनाउन ‘थिम’ भन्नुस् न आन्टी भन्छे त कहिले ‘अंकल–आन्टी’को लभ स्टोरी सुनाउनु न भन्छे । यो कथित प्रेम दिवसको उखरमाउलोले छोरीलाई मात्र होइन, उसका साथीहरूलाई पनि त्यसरी नै गाँजेको म भेउ पाउँछु । त्यसो त यो कथित प्रेम दिवसको औडाहाले बजार तताएको छ र केही विज्ञहरू ‘भ्यालेन्टाइन्स डेको अर्थशास्त्र’ चिरफार गर्न लागिपरेका छन् ।
छोरीको उत्साहले म भित्रैदेखि तरंगित हुन्छु र झन्डै १६ वर्षअघि यही प्रेम दिवसको बहानामा सुरु भएको सम्बन्धले म झन्डै मानसिक रोगी भएकी थिएँ । अहिले सम्झँदा मात्र पनि मनमा ऐँठन परेजस्तो हुन्छ, अतीतले झस्काउँछ । त्यसै रनाहामा छोराछोरीको अगाडि म कथित प्रेम र प्रेम दिवसका बारेमा झन्डै २० मिनेट विषवमन गर्छु । ‘अंकल–आन्टीको लभ स्टोरी सुनाउनु न’ भन्ने छोरीको सामान्य आग्रहमा अकस्मात्को मेरो आवेग देखेर छोरा र उसको बाबा वाल्ल पर्छन् । छोरी अँध्यारिन्छे ।
र अन्त्यः
त्यसपछि मैले छोरी, छोरा र छोराको बाबालाई राखेर माथिको आफ्नै कथा सुनाइदिएँ । यति भन्ने आँट जुटाउन मलाई झन्डै १२ वर्ष लाग्यो । भनिसक्दा छोरा र छोरीको आँखामा आँसु टल्पलाइरहेको थियो । भावशून्य अनुहारमा छोराको बाबाले भन्यो– ‘तिमी त कलम चल्ने मान्छे, लेख न यो सबै ।’ र, यो लेख तयार भयो ।