ब्रेख्त मन्थन

नीरज लवजू नीरज लवजू
शनिबार, २ चैत, २०७५
डिजिटल संस्करण

समय सन्दर्भमा उद्धरण गरिने केही कविताका टुक्रा र विश्वविद्यालयका एकाध संकायअन्तर्गतका पाठ्यपुस्तकमा समावेश एक–दुई पाठबाहेक नेपालमा बर्टोल्ट ब्रेख्तबारे उत्ति चर्चा सुनिँदैन ।काठमाडौंका  थिएटरमा ब्रेख्तका नाटक कमै संख्यामा मञ्चन भएका छन् । नाट्य निर्देशक सविना लेहम्यानको स्टुडियो सेभेनले ब्रेख्तका नाटकहरू ‘गुड म्यान अफ सिचुवा“’ र ‘थ्री पेनी अपेरा’ मञ्चन गरेको थियो भने आरोहण गुरुकूलले ‘ककेसियन चक सर्कल’मा आधारित नाटक ‘खरीको घेरो’ मञ्चन गरेको देखिन्छ ।

होमर श्रेष्ठले ब्रेख्तको नाटक ‘ग्यालिलियो’ नेपालीमा अनुवाद गरेका छन् । ब्रेख्तका केही कविताहरू विभिन्न पत्रपत्रिकामा फुटकर प्रकाशित भएका छन् । तर, ब्रेख्तका सैद्धान्तिक मान्यताबारे भने निकै काम मात्र छलफल र बहस भएको सुनिन्छ । विश्वविद्यालयको पाठ्यक्रमअन्तर्गत ब्रेख्तको इपिक थिएटरबारे पढाइ त हुन्छ । तर, अपुग स्रोत–साधन र कक्षाकोठाभित्र सीमित प्रणालीले ब्रेख्तको आन्तर्यसम्म पुग्न भने त्यत्ति सहज अवस्था छैन ।  विश्वविद्यालयमा हुने नाट्यसिद्धान्तसम्बन्धी पढाइमा अझै पनि अरस्तुको नाट्य सिद्धान्त नै केन्द्रमा राखेर पढाइने गरेको छ । अरस्तुको नाट्य सिद्धान्तभन्दाविपरीत मान्यता बोकेको ब्रेख्तको नाट्य सिद्धान्तलाई सन्दर्भ सिद्धान्तमै मात्र सीमित राखिएको देखिन्छ । अझ तत्कालीन सोभियत संघ पक्षधर हुनुको कारणले ब्रेख्तप्रतिको वैचारिक पूर्वाग्रहले पनि सकेसम्म उनलाई छायामा राख्ने सोचको असरलाई 
नकार्न सकिन्न ।
सत्ता, धर्म, पुँजीवाद, युद्ध, फासीवाद आदिबारे ब्र्रेख्तका चोटिला कविता हरेक प्राधिकार वा सत्ताविरुद्धको औजारका रूपमा प्रयोग हुने 
गरेका छन् ।
‘नेताहरू जब शान्तिको कुरा गर्छन्, युद्धको तयारी भइसकेको हुन्छ ।’
०००
‘जसको थालमा मासु भात पाकेको छ 
ऊ सन्तोषको पाठ पढाउन बसेको छ,
जसले तिर्नुपर्नेछ अनेकन कर नतिरी 
समर्पणको हल्ला गर्दैै बसेको छ
पो पेटभरि खाएर अघाएको छ 
भोकालाई हेरे भन्दै छ–
‘पर्ख ज्यादै सुन्दर समय आउनेछ ।’
जसले देशलाई अशान्तिको भुमरीमा 
धकेलेको छ
उसले धर्तीपुत्रहरूलाई भन्दै छ–
‘हेर, शासन गर्न ज्यादै गाह्रो छ ।’
यस्ता सत्ताविरोधी कविताकै कारण ब्रेख्त सधैँ सत्ताको बागी मानिए । तत्कालीन समयको फासीवादी सत्ता र सत्ताधारीको विरोधमा उनले लेखेका कविता आज पनि कुनै स्वेच्छाचारी सत्ताको विरुद्ध प्रयोग हुन सक्ने सबभन्दा चोटिलो हतियार बनिरहेकै छन् । त्यसकारण ब्रेख्तको चर्चा कुनै पनि सत्तासीनलाई रुच्दैन । तथापि समाजको द्वन्द्वात्मक प्रकृतिले ब्रेख्तका कविता र विचारलाई मनपराउने एउटा तप्का पनि सँगै हुर्किरहेको हुन्छ । उनीहरू कुनै न कुनै रूपमा ब्रेख्तका कृतिलाई प्रकाशमा ल्याउने प्रयास गरिरहेका हुन्छन् । कतिवेला कवितांशको रूपमा त कहिले नाट्य सिद्धान्तका रूपमा । 

हालै प्रकाशित ‘ब्रेख्त र बे्रख्त’ पुस्तकलाई यसैको सिलसिला मान्न सकिन्छ । (समयको विरोधाभाष यसका अनुवादक र सम्पादक निनु चापागाईंसम्बद्ध राजनीतिक दल भने यतिवेला सत्तासीन छ) । माक्र्सवादी सौन्र्यशास्त्री चापागाईंले माक्र्सवादी साहित्य र संस्कृतिसम्बन्धी वैचारिक लेखहरू अनुवाद गरी पुस्तकाकारमा प्रकाशित गरी नेपालको वैचारिक वृत्तमा अध्ययन र छलफलको विषय बनाउँदै आएका छन् । ‘बे्रख्त र बे्रख्त’ नेपाली साहित्यमा खडेरीग्रस्त विषयमा अनुवाद गरिएको पुस्तक हो । यसले नेपाली साहित्यलाई समृद्ध बनाउनुका साथै ब्रेख्तबारे अध्ययन र छलफललको लागि प्रस्थानबिन्दु स्थापना गरिदिएको छ । ब्रेख्तले लेखेका र ब्रेख्तबारे लेखिएका सामग्री अनुवाद गरी संकलन गरिएको कृतिको नाम ‘ब्रेख्त र ब्रेख्त’ राखिएको छ । 

पुस्तक चार खण्डमा विभाजित छ । पहिलो खण्डमा ब्रेख्तको जीवनी वा परिचयात्मक लेख छ । दोस्रो खण्डमा ब्रेख्तले लेखेका तीनवटा रचना समावेश छन्– थिएटरको एक संक्षिप्त तर्कशास्त्र, लोकप्रियता र यर्थाथवाद र मेस्सिङ्फ संवाद (केही अंश) । तेस्रो खण्डमा बे्रख्तका रचनासम्बन्धी दुईजना लेखकका समीक्षात्मक लेख समावेश छन् भने चौथो खण्डमा ब्रेख्तका विषयमा विभिन्न देशका स्रष्टाहरूको संस्मरणात्मक लेख छन् । बे्रख्तकै नाट्य सिद्धान्तअनुसार, यी चारवटै खण्ड एक–अर्कासँग स्वतन्त्र पनि छन् र साथै यिनको क्रम आपसमा जोडिएका पनि छन् । 

परम्परागत नाट्य सिद्धान्तभन्दा फरक नाटकको अभिनेताले भावनाभन्दा पनि तर्क वा तर्कनामा आधारित रहेर दबुमा अभिनय गर्नुपर्ने ब्रेख्तको विचार हो । दर्शक नाटकमा जे देखाइएको छ, त्यसैमा पूरै डुबेर त्यसैलाई नै सत्य मान्ने सिद्धान्तसँग असहमति राख्दै उनले नाटकका घटनाक्रम वा प्रतिक्रियामाथि दर्शकले चिन्तन गर्ने ठाउँ छोड्नुपर्ने मान्यता अघि सारेका हुन् । यसअघिका सबै नाट्यसिद्धान्तले नाटकको घटनाक्रमलाई नै सत्य, नाटकका अभिनेताले जुन पात्रको अभिनय गरेका छन् त्यही व्यक्ति नै वास्तविक व्यक्ति र नाटक निर्देशकलाई प्रश्न उठाउन नसकिने ‘भगवान्’का रूपमा प्रस्तुत गरिएको हुन्छ । तर, ब्रेख्तको सिद्धान्तले यो अवधारणा नकार्दै नाटकको अभिनेताले जुन पात्रको अभिनय गरेको हो, त्यसैमा निर्लिप्त हुन नहुने बरु त्यसको कमजोर नक्कल गरी वास्तविक पात्रको मनस्थिति अवलोकन गर्नुपर्ने सिद्धान्त अघि सारे । ब्रेख्तले यसैलाई पार्थक्य (एलिनेसन) भनेका छन् । यस्ता विशेषतायुक्त थिएटरलाई उनले महाकाव्यिक(एपिक) थिएटरको रूपमा परिभाषा गरिएको छ । ब्रेख्त यथास्थितिलाई बदल्दा आनन्द लिन मानिसलाई प्रशिक्षित गर्नु नै एपिक थिएटरको लक्ष्य हुने विचार राख्छन् । 

 ब्रेख्त निःसन्देह संसारका विख्यात नाटककारमध्ये एक हुन् । तर, बे्रख्तका नाटकजत्तिकै चर्चित छन्, उनका कविता र सूक्तिहरू । उनका कविताका गुण–अवगुणबारे किताबमा कुनै चर्चा गरिएको छैन ।


ब्रेख्तले थिएटरलाई राजनीतिक प्रतिक्रियाका रूपमा बुझेका छन् । उनको शब्दमा, ‘कुनै पनि मानिस द्वन्द्वरत वर्गभन्दा माथि उभिन सक्दैन, किनभने कोही पनि मानव जातिभन्दा माथि रहन सक्दैन । समाज वर्गहरूमा विभाजित रहेसम्म यसमा सम्प्रेषणको कुनै सामान्य प्रणाली हुन सक्दैन । यसरी कला ‘गैरराजनीतिक’ हुनुको अर्थ यसले आफूलाई केवल ‘शासक’ गुटको सहयोगी बनाउनु हुन्छ ।’ ‘लोकप्रियता र यथार्थवाद’ शीर्षकको संक्षिप्त निबन्धमा ब्रेख्तले यर्थाथवाद समयसापेक्ष हुने र हिजोको यर्थाथवाद र आजको यर्थाथवादबीच भिन्नता हुने विचार प्रस्तुत गरेका छन् । हिजोको यर्थाथवादको मापदण्डमा आजको यर्थाथवादको विश्लेषण गर्दा सही निष्कर्षमा नपुग्ने तर्क गर्दै लोकप्रिय कला–साहित्यको परिभाषा गर्दै लेखेका छन्, ‘लोकप्रिय कला भनेको व्यापक समुदायका लागि रचना गरिएको कला हो, अल्पसंख्यक शोषित बहुसंख्या, स्वयम्मा वास्तविक जनता, उत्पादक समुदाय, लामो समयदेखि राजनीतिकको वस्तु बनेका र अब त्यसको कर्ता बन्नुपर्ने जनताका लागि रचना गरिएको कला हो ।’

सोभियत नाटककार स्तानिस्लाभ्स्की र ब्रेख्तको वैचारिक मतभेदबारे सत्यव्रतको लेखले दुवै नाटककारका प्रवृत्ति र भिन्नताबारे बुझ्न सहज बनाएको छ । स्तानिस्लाभ्स्कीले ब्रेख्तले जस्तै भावनात्मक पक्षलाई पूर्णतः उपेक्षा गरेका छैनन् । उनी दर्शक र अभिनेताको भावनात्मक पक्षलाई पनि समान रूपमा जोड दिन्थे । जीवनको अन्तिम दशकमा ब्रेख्तले आफूले भन्दै आएको एपिक थिएटरको सिद्धान्तमा अपूर्णता भएको निष्कर्ष निकाल्दै स्तानिस्लाभ्स्कीका कतिपय मान्यता अंगीकार गरी एपिक थिएटरलाई ‘डाइलेटिक थिएटर’ अर्थात् द्वन्द्वात्मक थिएटर भन्नु उपयुक्त हुने विचार राखेका थिए । 

ब्रेख्तसम्बन्धी संस्मरणहरूमा उनीसँग जीवनको कुनै कालखण्डमा काम गरेका विभिन्न देशका नाटककार, समालोचक र स्रष्टाले उनीबारे लेखेका छन् । तत्कालीन सोभियत सरकारद्वारा लेनिन पुरस्कारले सम्मानित ब्रेख्तले सो पुरस्कार पाउँदा पोखेको खुसीदेखि दोस्रो विश्वयुद्धताका जर्मनीमा हिटलरको फासीवादी दबदबाबाट जोगिन सोभियत संघको भ्लादिभोस्टक हुँदै संयुक्त राज्य अमेरिका गएका प्रंसगबारे चर्चा गरिएका छन् । उनले अमेरिका, डेनमार्क, जर्मनीमा नाटक निर्माणका क्रममा गर्ने व्यवहार र मिहिनेतबारे संस्मरणहरूमा लेखिएको छ । लेनिनको वैचारिकीले उनमा पारेको प्रभावले जीवनको उत्तराद्र्धमा उनको वैचारिक मान्यतामा अझ प्रस्टता आएको केही संस्मरणले प्रस्ट्याएका छन् । 

ब्रेख्त निःसन्देह संसारका विख्यात नाटककारमध्ये एक हुन् । तर, बे्रख्तका नाटकजत्तिकै चर्चित छन्, उनका कविता र सूक्तिहरू । उनका कविताका गुण–अवगुणबारे किताबमा कुनै चर्चा गरिएको छैन । त्यसकारण यो किताबले ब्र्रेख्तको समग्र साहित्यिक वैचारिकीको प्रतिनिधित्व गर्न सक्दैन । यसमा ब्रेख्तका कविताबारे केही वैचारिक लेखहरू समावेश हुँदो हो त यसले अझ पनि पूर्ण आकार पाउने थियो । 

चापागाईंले अनुवाद गरेका यसअघिका किताबजस्तै यो पनि बुझ्न सरल छैन । पुस्तक पढ्दै जाँदा धेरै ठाउँमा लाग्छ, ‘वास्तवमा ब्रेख्तका सिद्धान्त र विचार बुझ्न यति कठिन छन् ?’ अनुवादकै जटिलताले मात्र पो बुझ्न यति धेर कठिन भएको हो कि भन्ने पाठकलाई लाग्न सक्छ । सौन्दर्यशास्त्री सिद्धान्तको अनुवाद त्यत्ति सरल पक्कै होइन । मूल पाठ नै पनि सहज रुपमा बुझ्न थुप्रै जटिलता हुने अवस्थामा अनुदित कृति बुझ्न केही कठिनाइ हुनु अस्वाभाविक होइन । एकसरो अध्ययनले पुस्तकमा सबै कुरा बुझ्न त्यत्ति सजिलो नहोला । यद्यपि सुख्खाग्रस्त यात्रामा थोरै भए पनि पानीको जोहो हुँदा जस्तो आनन्द प्राप्त हुन्छ, त्यस्तै सन्तोष पुस्तकले दिने आशा गर्न सकिन्छ ।  

सम्पादकहरूको रोजाइ

ती त मरिरहेछन्

६ वर्ष अघि

म माधवी

७ वर्ष अघि

फिसफ्राई

६ वर्ष अघि

सुझावित समाचार