घडीले बिहानीको साढे सात हानिसक्दा पनि मदन गिरीको घरमा ओछ्यानबाट उठेका मान्छेको नामोनिसान छैन । मदनको छोरा मौसम गिरी तकियालाई दाहिने खुट्टा र दाहिने हात बोकाएर निद्रामा निर्लिप्त छ । छोरी निलिमा गिरी सिरकबाट टाउकोसमेत ननिकाली सम्भवतः निद्रामै निश्चेष्ट देखिन्छिन् । मदन आफैँ पनि निद्रा र तन्द्राको द्वन्द्वमा आँखा नउघारी छट्पटाइरहेका छन् ।
र पत्नी मनोरमा आँखा खुला भएता पनि ओछ्यानमै अल्छी गरेर अनकनाइरहेकी छिन् ।
आज कसैलाई चाँडो उठ्नु छैन । जतिसुकै निद्रामा भए पनि, नभए पनि सुत्नुअघि अर्को दिन शनिबार हो भन्ने कुरालाई मस्तिष्कमा ल्याप्चे लगाएर सुतेका जो छन् ।
सबैको निद्रा मदनको मोबाइलको कर्कस रिङटोनले बिथोलियो ।
मदन मोबाइलमा मन्द मुस्कानका साथ कसैसित मस्किरहेका थिए, ‘गुड मर्निङ ।’
‘छैन नि ।’
‘हिहिहि ।’
‘खासै छैन ।’
‘हो र ?’
‘हुन्छ ।’
‘हस् ।’
‘बाई’
मदनले फोन राखिसकेपछि मनोरमा जुरुक्क उठिन् र पलङको आडमा गुजुमुज्ज परेको कुर्ताको सल ओढिन् अनि नित्यकर्मतिर लागिन् ।
करिब आठ बजे सबैले आफ्नो हातमा बाफ उडिरहेको तात्तातो चियाको कप फेला पारे ।
निलिमाले दालभात र रायोको साग पकाइन् । मौसमले खसीको मासु पकायो ।
खाना खाइसकेपछि मदन पुरानो गीतको स्थायी सुसेल्दै लुगा फेर्न लागे । मनोरमाले ढोकैमा उभिएर मदनलाई ‘आज शनिबार भन्ने थाहा छैन’ मार्काको जानकारीमूलक हेराइले हेर्दै सोधिन्, ‘कताको तयारी हो र आज पनि ?’
‘यसो साथीभाइ,’ मदनले खिइएका दाँत देखाउँदै ङिच्च हाँस्दै जवाफ दिए र पाइन्टको बेल्ट लगाउन केन्द्रित भए । मनोरमा ढोकाबाट मोडिइन् र बैठक कोठामा गई सोफामा थ्याच्च बसेर टिभी अन गरिन् ।
०००
दिउँसो एक बजेतिर मौसम पनि तयार पर्न थाल्यो । विन्डचिटरको चेन लगाउँदै आफ्नो कोठाबाट बाहिर निस्कियो ।
‘काँसम्म हो ?’ निलिमाले सोधिन्, ‘मलाई पनि छोड्दे न ।’
‘कहाँ ?’ ढोकै छेउमा पुगिसकेको मौसमले पछिल्तिर फर्कंदै सोध्यो ।
निलिमाको जवाफ, ‘जय नेपाल हल । तयार परूँ ?’
‘साथीसित मात्र फिल्म हेर्न जान्छन्, कहिलेकाहीँ बाआमालाई नि लैजानू ।’ मनोरमाको मधुरो गुनासो ।
‘अर्कोपटक ल ममी ।’
‘भैहाल्छ नि छोरी,’ मनोरमाले आँखा र ध्यान टिभीबाट पूर्ण रूपमा हटाउँदै व्यंग्यात्मक वाणीमा बोलिन् ‘मैले पत्याएँ ।’
निलिमा मुसुक्क हाँस्दै आफ्नो कोठा छिरिन् ।
०००
मौसमले मोटरबाइक स्टार्ट ग-यो । निलिमा चढिन् । शनिबार भएकाले बाटो अलिक होलो थियो । करिब पन्ध्र मिनेटमै उनीहरू जय नेपाल हल पुगे । शनिबार भए पनि हलवरपरको माहोल त्यति भिडभाड थिएन । हलको गेटभित्र छिर्नेबित्तिकै मौसमले बाइक साइड लगाएर रोक्यो । निलिमा उत्रेकी मात्र के थिइन्, उनीहरू दुवैको ध्यान दाहिने हातमा टिकट बोकेका मदन र उनको देब्रे साइडमा मुस्कुराउँदै गरेकी यस्तै करिब चालीसको हाराहारीमा पुगेकी महिलामा पुग्यो ।
त्यो दृश्य देखेपछि मौसम र निलिमाले सशंकित र डराएको भावमा एक–आपसलाई हेरे । मदनको ओठको मुस्कान र ती महिलाको मुहारको लजाएको रंगले सबै पोल खोलिदिएको थियो । टिकट काउन्टरदेखि भलाकुसारी गर्दै, मस्किँदै, टाँस्सिएर हलभित्र प्रवेश गर्ने गेटतिर उनीहरू गए ।
बाइकबाट उत्रिसकेकी निलिमा एक कदम पनि अगाडि बढ्न सकिनन् । साथीहरू कतातिर थिए भनेर खोज्न मन पनि उनलाई लागेन । मौसम पनि बाइक मोडेर पछाडि फर्किन सकेन ।
दुवैले एकअर्कालाई हेरिमात्र रहे । ‘के गर्ने अब ?’ को भावमा । हलपरिसरमा मान्छेहरूको भिड थोरै बढ्न थालेको थियो । निलिमा आफैँ पुनः मौसमको बाइकमा चढिन् । मौसमले केही नभनी घरतिरै बाइक दौडायो, मानौँ कुनै ठूलो संकट आइपरेको छ । अनुहारभरि सन्त्रास र मुटुभरि अधैर्य बोकेर तुफानझैँ हानिएको छ, मौसमको बाइक केही अनिष्ट, केही प्रलयले मानौँ उनीहरूलाई लखेटिरहेछ ।
घरको गेटभन्दा बाहिर बाइक रोकिएपछि पनि उनीहरू घरभित्र छिरिहाल्न सकेनन् ।
‘ममीलाई भन्ने ?’ निलिमाले मौसमको मन चोरिन् ।
मौसमले के भनूँ, के नभनूँको अलमलमा भन्यो,
‘खोइ ।’
‘भन्नुपर्छ,’ निलिमाले नअल्मलिईकन भनिन् ।
मौसम मौन । निलिमा अघि लागिन् । मौसम बाइक पार्किङ गरेर निलिमाको पछिपछि लाग्यो ।
०००
मनोरमा आफ्ना पतिका लागि स्वेटर बुनिरहेकी थिइन् । कलेजी रङको एउटा ऊनको डल्लो सोफामुन्तिर थियो । र, त्यहाँबाट निस्केको धागोलाई मनोरमाका हातमा भएको काँटाले नचाइरहेको थियो ।
ढोका खुल्नासाथ उनको ध्यान भंग भो । छोराछोरी देखेर जिल्ल परिन् । सोधिहालिन्, ‘फर्किहालेछौ त ?
के भो ?’
‘एउटा नराम्रो समाचार छ ।’ झोलालाई आमा बसिरहेको सोफाको छेउमा फुत्त मिल्काउँदै निलिमाले
फ्याट्ट भनिन् ।
मौसमले हेलमेट ढोकैछेउमा रहेको टेबलमा थन्क्यायो र बहिनी निलिमाकै आडमा गएर उभियो ।
‘के ?’ बुन्दै गरेको स्वेटरलाई दायाँतिर राख्दै मनोरमा देब्रेतिर बसेकी छोरीतिर ध्यान दिन लागिन् ।
‘हलमा एउटा दृश्य देख्यौँ,’ निलिमाले भनिन्, ‘बाबा, यस्तै चालीस,–बयालीस जतिकी महिलासित फिल्म हेर्न जानुभएको रैछ । जे देख्यौँ त्यो मात्र सत्य नहुन सक्छ, तर दुवैजनालाई निकैबेरसम्म नियाल्दा निको लागेन ।’
मनोरमा केही बोलिनन् । उनको अनुहारको रंग क्रमशः पहेँलो, रातो, र निलोकालो हुँदै परिवर्तित हुँदै गयो । निधारका रेखीहरू खुम्चँदो थियो । आँखा एकनासका भए । एक टकले कतै हेरिरहेजस्तो । स्वेटर बुन्दै गरेका हात निष्क्रिय भए ।
निलिमाले आमाका आँखामा हेर्दै भनिन्, ‘केही त्यस्तो शंका थियो ममी ?’
मनोरमा अझै बोलिनन् ।
‘छ भने नलुकाउनुस्,’ निलिमाले नम्र भएर सोधिन् ।
योपटक मौसमले बाउप्रति रिस पोख्यो, ‘रिटायर हुन पाँच वर्ष बाँकी भएको मान्छेको कस्तो चाला यो ?’
‘कहाँ जाने भनेर हिँड्नुभाथ्यो आज बाबा ?’ निलिमाले आफ्नी आमालाई सोधिन् ।
‘साथीभाइ,’ मनोरमाको एकशब्दे जवाफ ।
‘देखियो ।’ मौसम पड्क्यो ।
‘भयो, नकरा,’ निलिमाले मौसमलाई भनिन्, ‘भरे बाबा आएपछि क्लियर गरौँला ।’
०००
करिब ६ बजेतिर मदन घरभित्र छिरे । तीनैजना सोफामा उनकै आगमन कुरेर बसिरहे जस्ता देखिन्थे । सबका आँखामा किञ्चित आक्रोशको आगो थियो । मनोरमाका आँखामा आक्रोश नभएर भयका त्यान्द्रा देखिन्थे । मदन बडो खुसीको मुद्रामा थिए । एक झोला तरकारी पनि किनेर ल्याएका थिए । भित्र छिर्नासाथ निलिमाको हातमा थमाउँदै भान्सामा राख्न भने । निलिमाले आफ्ना पिताको त्यो भनाइ मानिन् । तर, भान्साबाट फर्कनासाथ विलम्ब नगरी यतिन्जेलसम्म गुम्सिएका जिज्ञासा र आक्रोशलाई एकसाथ एउटा प्रश्नको माध्यमबाट ओकेलिन्, ‘फिल्म कस्तो थियो बाबा ?’
छोरीको यो प्रश्नले मदन अलिक सम्हालिए । उनका आँखीभौँ कुच्चिए । मनलाई एक्कासि घेरेको डरको बाँधमा परेर सास ढक्क रोकिए जस्तो महसुस गरे । भएका शब्द पनि परिस्थितिको प्रतिकूलतासितै पग्लिएर नष्ट भयो । उठेर हिँड्ने आँट आएन । सामना गर्ने हिम्मत पलाएन । कसैका अनुहारमा हेर्न पनि सकेनन् । अघिपछि खुट्टा हल्लाइरहने बानी भएका उनका हातखुट्टै स्थिर थिए । पातजस्तो लचिलो शरीर क्षणभरमै काठजस्तो अररो भएको थियो ।
‘राम्रो लागेन ?’ मौसमले रिसलाई मनभित्र थुन्दै अबोध आवाजमा सोध्यो । मनोरमा भुइँतिर हेरिरहेकी थिइन्, केही नबोली, मानौँ सारा जवाफ भुइँसित छन् । मदनलाई त्यो स्थिति र त्यो स्थितिसँगै गाँसिएर आएको सबै यथार्थबारे ज्ञान हुन बेर लागेन ।
अझै अघि बढेर केही सोधौँ कि आफैँ भन्नुहुन्छ ?’ निलिमाले आफूभित्रको नम्रतालाई न्याकिन् र कठोरतालाई ब्युँताइन् ।
मदनले चस्मा खोले र आँखा मिचे । सायद बिझाएको थियो भन्ठानेर । होइन रैछ । बिझाएको अन्तै कतै रैछ । जहाँ मिचेर निको पार्न सकिन्न । मन ।
आजसम्म छोराछोरीको कठोरताले उनको आत्मसम्मानको कठालो समातेको याद छैन । आजसम्म छोराछोरीका सामु उनी यति डराएका पनि थिएनन् ।
मदन जुरुक्क उठे र जवाफलाई कुनै अज्ञात भुमरीमा छाडेर आफ्नो कोठातिर गए ।
‘अब केही सोधिराख्नु पर्ला ?’ निलिमाले दाइ र आमातिर हेर्दै भनिन् ।
‘बाबा मौन हुनुले नै सबै पोल खुलिहाल्यो,’ मौसमले भन्यो ।
मनोरमा निःशब्द छिन् अझै । आवाज र भावना दुवैले मानौँ उनीसँग कट्टी गरेका छन् ।
०००
‘भन्नुस् ममी के गर्ने अब ?’ भोलिपल्ट मदन अफिस गइसकेपछि निलिमा आफ्नी आमालाई प्रश्न गरिरहेकी छिन् । गए राति मदनले पनि आफ्नो गल्ती स्विकारे ।
सबैका अघि आएर भने, ‘मबाट गल्ती भएकै हो । स्विकार्छु । आइन्दा यो गल्ती दोहो¥याउनेछैन ।’ त्यति भनेर मदन खाना नखाई पाहुना कोठामा गएर सुते । मदनबाहेक सुतेका सबै आआफ्नो कोठामै थिए, तर निद्रा भने पराइ भइरहेको थियो ।
छोरीको प्रश्नका अघि मनोरमा अझै मौन थिइन् । गएको दिनदेखि मनोरमाको एउटा पूर्ण वाक्य पनि कसैले सुन्न पाएन । न उनका छोराछोरीले, न उनको पतिले । खाना मौसम र निलिमाले मिलेर बनाए । उसै पनि मनोरमा बेलुकी मात्र आफू किचनमा अघि सर्थिन् । बिहान छोराछोरी नै अघि सर्थे ।
त्यो साँझ त उनी किचनमा समेत गइनन् । मौसम र निलिमा नै अघि सरे । खाना खाने वेलामा पनि कोही कसैसित बोलेन । अर्को दिन पनि उसैगरी बित्यो । अर्कोपछिको अर्को दिन पनि उसैगरी बित्यो ।
निलिमा आफ्नी आमालाई भनिरहन्थिन्, ‘ममी यसरी सधैँ चल्छ ? यसरी सँगै बसेर पनि नबसेजस्तो गर्नुभन्दा त अलग भएको राम्रो, होइन ?’
मौसम खण्डन गथ्र्यो, ‘यो उमेरमा आफ्ना बाआमालाई अलग गराउने कुरा गर्छे ! बाबाले रियलाइज गरिसक्नुभो त ।’
‘अनि ममीको आत्मसम्मान ?’ निलिमाले मौसमतिर घुरेर हेर्दै प्रश्न गरिन् ।
‘अलिकति आत्मसम्मानका लागि घर त्याग गर्नु ? अलग हुनु ?’ मौसमको प्रतिप्रश्न ।
‘अलिकति आत्मसम्मान ?’ निलिमा अलिक कडा आवाजमा भन्न लागिन्, ‘आत्मसम्मान बस् आत्मसम्मान हो । अलिकति न बढी । फेरि यो अलिकति हो कि बढी, तँ कसरी नाप्न सक्छस् ?’
‘तँ पनि त कसरी नाप्न सक्छेस् ? आत्मसम्मान त ममीको हो ।’
‘पुरुषहरूको यस्तै सानातिना गल्तीलाई महिलाले सहने हुँदा नै पछि गएर उनीहरूको गल्तीको लेभल पत्नीद्रोहसम्म पुग्छ ।’
‘तँ जेसुकै भन्, मलाई यो घर टुक्र्याउने कुरा पटक्कै चित्त बुझेन,’ मौसमले भन्यो ।
मनोरमा अझै मौन छिन् । केही बोलेकी छैनन् ।
एक रात, मदन घर आएर सरासर आफ्नी पत्नीछेउमा गए र भने, ‘माफ गर्दिनौ अझै मनोरमा ?’
मनोरमा अझै मौन । यो दृश्य र श्रव्यलाई निलिमा र मौसमले परैबाट ग्रहण गरिरहेका थिए ।
अर्को दिन पनि उसैगरी खाना खाने वेलामा मदनले माफी मागे, ‘अब मबाट गल्ती दोहोरिँदैन ।’
मनोरमाको वाक्य अझै फुटेन । चुपचाप खाना खाएर उठेर गइन् मात्र ।
निलिमा दिउँसो मदन नभएका वेला भनिरहन्थिन्, ‘केही निर्णयमा त पुग्नै पर्छ ममी । यसरी न यताको न उताको भएर कति बस्नु ?’
‘फेरि घर तोड्ने कुरा नगर् है !’ मौसमले निलिमालाई हपा¥यो ।
‘घर तोड्ने होइन, खिल उखाल्ने कुरा गरेकी मैले,’ निलिमाले मौसमको मुखमै नहेरी जवाफ फर्काइन् ।
‘केही निर्णय लिनुस् ममी,’ मौसमलाई बेवास्ता गर्दै आफ्नी आमाको अनुहारमा हेर्दै उनले भनिन्, ‘ताकि बाबालाई पनि सजिलो होस्, तपाईंलाई पनि सजिलो होस् र हामीलाई पनि । यो सम्बन्ध, कतै गाँस्ने ठाउँ देख्नुहुन्छ भने गाँसिदिनुस् । देख्नुहुन्न भने मासिदिनुस् । तर एउटा निर्णय गर्नुस् ।’
मनोरमा चुपचाप झ्यालबाहिर कतै पर हल्लिरहेका कपुरका पात हेर्नमा तल्लीन थिइन् ।
‘यति महँगो नबनाऊ मनु माफीलाई,’ फेरि अर्को दिन आएर मदनले मनोरमा सामुन्ने माफी मागे । मनोरमाको माफी मात्र होइन, आवाज पनि महँगो भएको छ, त्यस घरमा आजकाल । सस्तो भएको छ त केवल मनोरमाको मौनता । जो कसैलाई रुचेको छैन । कसैलाई पचेको छैन ।
‘ममी जे निर्णय गर्नुस्, घरचाहिँ नतोड्नुस्,’ मौसमले आँखा टिलपिल बनाउँदै भन्यो ।
‘जे निर्णय गर्नुहुन्छ गर्नुस् तर सिर नझुकाउनुस्,’ निलिमाले भनिन् । मनोरमाले दुवै छोराछोरीको अनुहारमा पुलुक्क हेरिन् । छोराको आँखामा करुणाको कुलो देखिन् र छोरीको अनुहारमा विद्रोहको बस्ती देखिन् ।
अर्को दिन ।
मदन अफिसबाट आए । सरासर कोठामा गए । मनोरमा बिस्तारै मदनको पछिपछि लागिन् । मदन कोट फुकालेर किलामा झुन्ड्याउँदै थिए । मनोरमाले मदनलाई पछ्याउँदै गएको दृश्यले निलिमा र मौसमलाई समेत तान्यो । बसिरहेको ठाउँबाट उनीहरू जुरुक्क उठे र पछ्याउँदै ढोकाछेउ पुगे ।
मनोरमाको वाक्य बल्ल फुट्यो । पतितिर हेर्दै भनिन्, ‘मौसम जन्मेको पनि थिएन । हाम्रो बिहा भएको यस्तै डेढ वर्षजति भएको थियो । तपाईंको जागिर नारायणघाटमा हुँदा म माइती बीरगन्ज गएर बस्ने दिनहरूमध्ये एकजना लेक्चररसित मेरो पनि यस्तै केही सम्बन्ध भएको थियो । सम्बन्ध भइसकेपछि मलाई डर लाग्यो । कतिपटक भनूँजस्तै पनि लागेको थियो । कतिपटक भन्छु भनेर हिम्मत गर्दा पनि भन्न सकिनँ । भर्खर भएको बिहा थियो । के सोच्नुहोला । कतै मलाई छाडिदिनुहुन्छ कि भन्ने डरले कोसिस गर्दागर्दै पनि भन्न सकिनँ । किन हो थाहा छैन, आज एकदमै उचित लागिरहेछ यो सब भन्नलाई । र, मनमा रत्तिभर डर पनि छैन । तपाईंलाई मैले माफी दिइसकेँ । सक्नुहुन्छ भने मलाई पनि माफी दिनुस् ।’ भनिसकेर मनोरमा पूरै उज्यालिइन् ।
मदनले सर्टको सबभन्दा माथिल्लो बटन खोलिसकेका थिए । दोस्रो खोल्न उनको हात अघि सरेन ।
निलिमा र मौसमले फेरि एक–आपसलाई त्यसरी नै हेरिरहेका थिए, जसरी उनीहरूले मदनलाई जय नेपाल हलमा अपरिचित महिलासित देख्दा हेरेका थिए ।