भेटेकाे भए
प्रिय कवि पाश,
संवत् २०५५ तिर हुनुपर्छ, ‘मूल्यांकन’ मासिकमा पहिलोपल्ट तिमीलाई भेटेको । तिमीसँग मलाई चिनाउने कवि श्यामल हुन् या गोविन्द वर्तमान, यकिन छैन । किनभने त्यतिवेला म उनीहरूलाई पनि राम्ररी चिन्दिनथेँ । त्यो वेला पढेको अनुवाद कविता ‘सबभन्दा खतरनाक’ म राम्रोसँग सम्झन्छु ।
त्यहाँ जे लेखिएको थियो, ती केवल अक्षर र वाक्य मात्रै थिएनन् । जालन्धरदेखि हावामा उड्दै–उड्दै आएका विचारका वासना थिए । बिम्बका पराग थिए । तिनै पराग मेरो युवा आँखाबाट पलभित्रै हृदयमा बसिसकेछन् । पछि काठमाडौं, जमलमा तिम्रो सिंगो किताब किनेँ, ‘बीचका रास्ता नहीं होता ।’
घरिघरी सोच्छु, मैले लेख्ने कतिपय कवितामा तिम्रा कविताको बास्ना मिसिएको छ । अहिले तिमी भएका भए र मेरा कविता पढेका भए सोच्दा हौ, ‘मेरा भावहरूकै नक्कल उतारेर कविता लेखिछ ।’
तिमी छौ नै चैतको हावाजस्तो बलियो । जहाँ पुग्छौ, सबै चिजलाई आफूसँगै लैजान्छौ । मलाई तिम्रा कविताको यही सामथ्र्यले लोभ्याउँछ । त्यहाँ विचारले लयमा सास फेर्छन् । बिम्बमा कोरस गाउँछन् । र, दिमागमा केही गम्भीर भुइँचालो ल्याइदिन्छन् । जस्तो कि तिमी भन्छौ,
मेरी प्रिय, कविता साह्रै निसत्व भएको छ
जबकि, हतियारका नंग्राहरू बडो नराम्ररी बढेका छन्
मलाई यी शब्द मेरै लागि लेखेकोजस्तो लाग्छ । खासमा यो तिमीले आफ्नी प्रेमिकालाई लेखेको प्रेम कविता हो । मैले यति भव्य प्रेम–कविता सायदै पढे हुँ । जहाँ प्रेम एक्लो र सपाट छैन । प्रेमसँगै जिन्दगी जिउने कारिगरी छ । कविताको सत्वको समेत चिन्ता छ ।
बाँचिरहेको भए अहिले तिमी अठसठ्ठी वर्षका हुने रहेछौ । म दुई वर्षअघि नै अठ्तीस पुगिसकेँ । मेरो उमेरमा त तिमीले एउटा इतिहास बनाएर धर्ती छाडिसकेका थियौ । तिमीलाई खालिस्तानी आतंकवादीले गोली हानेर मारे । जालन्धरको तलबन्डी सलेममा सायद चल्दाचल्दैको हावा जाम पर्यो । बग्दाबग्दैको नदी स्तब्ध भयो । अथवा केही पनि भएन । तर, म ठान्छु त्यहाँ केही त अवश्य भयो । हावाले पनि मतो मिलायो, मुठ्ठी उठायो ।
हुन सक्छ, रेलका डिब्बाभित्र भेटिँदा हौ, किताब पढ्दै बसिरहेका तिमी । मलाई किताब पढिरहेका मानिसलाई व्यवधान गर्न पटक्कै मन हुन्न । परन्तु सायद नथामिँदी हुँ र सोध्दी हुँ, ‘के तपाईं अवतारसिंह पाश हो ?’
प्यारो कमरेड, सोच्छु तिमी बाँचेका भए यो गोलो संसारमा कहीँ त हाम्रो भेट हुँदो हो ? कतिपल्ट तिम्रो देशमा पुगेकी छु । लखनउ, गोरखपुर, दिल्ली, हरियाणा, राजस्थान, लुधियाना कतै त हाम्रो भेट हुँदो हो । एकैछिनलाई कल्पना गरौँ । इमान नबेचेका कविहरूको धारो–चौतारो त एकै हो । तिमीसित भेटिँदो हो भन्नेमा म पूरै ढुक्क छु (हुन सक्छ यो कसैलाई आत्ममुग्धता पनि लागोस् । लाग्नेलाई त मैले सास फेरेको पनि ‘अहंकार’ लाग्छ रे ! म के गर्न सक्छु र ?)
भेटिँदो हो दिल्लीको विश्व पुस्तक मेला वा त्यतै कतै दरियागन्ज र लक्ष्मीनगरका किताब–गल्लीहरूमा । वा जसरी भेटिए विष्णु खरे (केही महिनापहिले बिते), नरेश सक्सेना, वीर सक्सेना, कात्यायनी, नूर जहिर, विष्णु नागर, शिवमंगल सिद्धान्तकारहरू त्यसरी नै कतै कला साहित्यका साना ठूला डबलीमा । वा फेसबुक र ट्विटर आदिमा । अवश्य पनि तिमी आजको दुनियाँका समस्यामाथि नै बुलन्द प्रतिरोध गरिरहेका हुँदा हौ । हुन सक्छ, रेलका डिब्बाभित्र भेटिँदा हौ, किताब पढ्दै बसिरहेका तिमी । मलाई किताब पढिरहेका मानिसलाई व्यवधान गर्न पटक्कै मन हुन्न । परन्तु सायद नथामिँदी हुँ र सोध्दी हुँ के तपाईं अवतारसिंह पाश हो ? तिमी मुस्कुराउँदा हौ र त्यसपछि थालिँदो हो हाम्रो दोस्ती । कल्पना गरौँ, हाम्रा बीच कस्ता संवाद हुँदा हुन् ?
जसरी तिमी कवितामा भन्छौ,
हामी लड्नेछौँ साथी
कारण, नलडी त केही पाइन्न
हामी लड्नेछौँ, किन अहिलेसम्म लडेनौँ ?
यसरी नै केही भन्दा हौ । तिम्रै जैविक लवजमा, हम लडेंगे साथी !
तिमी लडाकु कवि हौ । तिम्रा कविताका परागले सिँचिएका हामी कति लडाकु बन्यौँ ? म आफैँलाई पनि घरिघरी ऐनामा हेर्छु । यदाकदा म कुन्नि कोसँग, खै केकेसँग डराइरहेकी हुँ जस्तो ठान्छु । त्यस्तो वेला तिम्रा कविताका अगाडि उभिँदा सरमजस्तो लाग्छ । बाँच्नु लडिरहने भाव बोक्नु हो भन्छौ तिमी । लड्ने तागत नै मानिसको शक्ति हो भन्छौ । हुन त सत्तासँग झुटको हतियारसँगै सबै थरीका अस्त्र हुन्छन् । तिमीले भन्यौ, साधारण, सच्चा मानिससँग इमानको हतियार हुन्छ । मलाई तिमीले इमानको हतियार बोक्न सिकाएका छौ । बाँच्ने हजार रहरमा पनि सहादत रोज्ने त्यो अद्भूत इमान ! एउटा सानदार जिन्दगी बाँच्न यति सिक्नु पर्याप्त छैन र ?
म के सोच्छु भने कविहरू छन् र दुनियाँमा सारा कल्पना र आशा जीवन्त छन् । यो तिमीजस्तै कविलाई देखेर आउने सोच हो । मलाई कति कुरा भन्नु छ, तिमीसित । जस्तै भनिहालौँ, तिम्रा कविताका गहिराइ नै नछामी तिनलाई नारा भनेर गरिने टिप्पणी (जुन नेपाली अखबारी समीक्षामा समेत धेरैपल्ट भएको छ) माथि तिम्रो कस्तो जवाफ हुँदो हो ? जबकि विचार र बिम्बको यति सघन सम्मेलन बिरलै कविले आयोजन गर्छन् ।
कल्पना आउँछ, परिहासको मुद्रामा उनीहरूसित तिमी भन्दा हौ, यति साधारण कुराको जवाफ त सरिताले पनि दिइहाल्छे हौ !