नयन भलाद्मी छ, न्यायप्रिय छ, मृदुभाषी छ । सुगठित देहयष्टिको, ठिक्कको उचाइ भएको, नेपाली वर्णको बहुरुचिसम्पन्न, बहुविधाचारी साहित्यिक मनुष्य हो ऊ । अचेल धेरैले उसलाई बढीजसो उपन्यासकारका रूपमा चिन्छन्, तर आरम्भमा उसले कविता लेखेर कैयौँ डायरी भरेको थियो । कथामा उसको राम्रो बजार छ । फिल्मको पटकथा लेखेर पनि उसले जीवनको पांग्रो गुडायो । यसरी गुडाउँदा–गुडाउँदै उसले फिल्मको निर्देशन पनि ग-यो । विविध बान्कीका उत्तरोत्तर शैली प्रयोग गर्ने क्रममा उसले स्वयंमाथि पनि प्रयोग ग-यो । भद्रता उसमा जन्मजात छ, कहीँकतै सहिनसक्नु लागे अभद्रताको पराकाष्ठामा पुग्न उसलाई लाज लाग्दैन । प्रेमस्रेमप्रति उसलाई रुचि नभएको होइन, तथापि उसलाई अघाएको प्रेमी भन्नु उचित हुन्छ ।
नयनराज पाण्डेले धेरै यारको संगत गरेको छ । संगत गरेका केहीका बारे ‘यार’ भन्ने एक लघुकाय ग्रन्थ लेखेर भ्याएको पनि छ । यस पंक्तिकारको शब्दचित्र खिच्ने क्रममा उसले उसमाथि गजबका सहानुभूतिपूर्ण वाक्य गठन गरेको छ । ती पढेर पंक्तिकार एक्लै हाँसेको थियो, धेरैबेरसम्म । किनभने तिनमा उसका बारे आफैँले थाहा नपाएका अद्भूत प्रसंग आएका थिए । जस्तै, ऊ ढल्ने गरी पिउँछ रे (मानौँ नयन या पिउँदैन, या त पिएपछि अरूलाई मात्र ढाल्छ, स्वयं ढल्न बिर्सन्छ अथवा यसो भनौँ, ऊ अरू ढलेको हेर्न चाहन्छ) । अनि एकपल्ट उसलाई नयनले घरमै पुगेर पारिश्रमिक दिन चाहँदा–चाहँदै नदिएर फर्कंदा कतै बाटैमा पैसा हराएर पछुतो मानेको थियो (मानौँ नयनभित्र इमानदारीको पेटारो छ र ग्रन्थ निकाल्दा मात्र त्यस पेटाराको ढकनी उघारिन्छ) ।
नयनलाई ‘यार’ पात्रले उसको जुंगारेखी देखिएपछि मात्र देखेको हो । तर, अब उसका जुंंगा फुलिसकेका छन् । त्यसकारण अब उसमा वाञ्छितभन्दा बढी प्रौढता झल्किरहेको हुन्छ । ऊ भद्रतापूर्वक सबैसँग मिल्छ । बाझ्नुपर्ने खण्ड आइपरे ऊ कुनै बहाना बनाएर हिँडिदिन्छ । अथवा जीवनको सत्य बुझेर ऊ चुपचाप उँधोमुन्टो लगाएर अर्को व्यक्ति थाकेको र आत्मसमर्पित भएको हेर्न कुरिबस्छ । यसो भन्नु उचित होला, ऊ अर्को यारको यारचरित लेख्ने ताकमा चरितचर्चा गरिरहन्छ ।
यो उही नयनराज पाण्डे हो, जो आफ्नो साहित्यिक यात्राको उषाकालमा नयनराज पाण्डे ‘पीयूष’ थियो । पैंतीस वर्षअघि नै यस प्राणीलाई महान्, वरदहस्त, सिद्धहस्त, बहुप्रतिभाशाली काव्यप्रतिभा ठानेर होला, नेपालगन्जस्थित सुर्खेत रोडमा रहेको उसको घरमा एकाबिहानै स्वागत गरी रोटी तरकारी खुवाएको थियो । र, साना–ठूला आकारका सयौँ कविताले अलंकृत तीनवटा मोटामोटा डायरी पढाएको थियो । अनि यस अकिञ्चनबाट उसले कविता रचनाको प्राथमिक उपदेशका झन्झटलाग्दा वाक्य शिरोपर गरेको थियो ।
यसले तीमध्ये केहीलाई पूरै रातो मसीले काटेको थियो र सस्ता कोरा वाक्य वा भावुकताले परिपूर्ण शब्दावलीले कविता नबन्ने भएकाले तीबाट बच्न सुझाब दिएको थियो ।
हो, उही नयनराज पाण्डे आज नेपाली आख्यानको आदरणीय नाम भएको छ । श्यामल र ऊजस्ता अन्य केही अल्छे लेखक उसको ख्याति लब्धताको कायल छन् । ऊ अहिले अग्रासनमा विराजमान छ । सन्तोष भन्ने कुरा केही हुन्छ भने मलाई उसलाई अग्रासनमा बसिरहेको वा प्रशंसकहरूमाझ घेरिएर पुस्तकमा दस्तखत गरिरहेको हेर्नमा हुन्छ । अर्को सन्तोष के हो भने ऊ खुलेरै मलाई साहित्यिक गुरु भनेर लेख्दै पुस्तक समर्पण गरिरहेको हुन्छ ।
मलाई ऊ केही न केही लेखिरहेको हुन्छ भन्ने लागिरहन्छ । तर, नयाँ स्वादको गद्य हुँदाहुँदै पनि उसका ‘नांगो मान्छेको डायरी’ र ‘विक्रमादित्य एउटा कथा सुन’ ले उसलाई उत्कृष्ट आख्यानकार बनाउँदैनन् भन्ने लाग्यो । साना र चोटिला कविता लेखेर उसले सस्ता महँगा नेपाली पत्रिकामा आफ्नो उपस्थिति देखाइरहेको थियो, अचानक जस्तो ‘तन्नेरी’ नामक एक पत्रिकाको कुनै अंक दिएर उसले मलाई भन्यो, ‘दाइ यसमा मेरो सानो उपन्यास छापिएको छ, पढिदिनुप-यो र सानो भूमिका लेखिदिनुप-यो ।’
पढिदिनलाई त केही थिएन, उपन्यासका बारेमा अल्पज्ञान भएको मलाई भूमिका लेख्नु भने कम गाह्रो थिएन । तैपनि उसलाई अनेक थोक भनेर म मेरो बाफलस्थित डेरा फर्कें । राति डेढ घन्टामै पढिसकेको त्यस ‘उलार’ शीर्षक उपन्यासको भूमिकामा मैले जे लेखेँ, जगजाहेर छ । उसले त्यसबाट धेरै साहित्यकारको अघोर आदर पायो ।
ऊ रोकिनुहुन्नथ्यो, अतः रोकिएन । ‘उलार’का धेरै संस्करण बजारमा आए । ‘घामकिरी’ र ‘सल्लीपीर’ आदि अन्य बहुप्रशंसित उपन्यास ल्यायो । ‘खोरभित्रको जोकर’ र ‘निदाएँ जगदम्बा’ जस्ता कथा संग्रह पनि बजारमा आए । सायद अरू केही लेख्दै होला ! मेरो भाइ–यार बडो क्रियाशील छ । ऊ धेरै अघि बढिसक्यो, म बाटोछेउमा घाइते बाघझैँ पल्टिरहेको छु । सोच्तै छु, ‘उलार’ मैले किन लेखिनँ ? उसको जस्तो लयात्मक धारदार यथार्थको पुनर्रचना मैले किन गर्न नसकेको ?
अब मैले सोच्नैपर्छ । यारहरूको यारसँग केही त्यस्तो क्षमता छ, जो ममा पनि छ । तर, उसमा जुन धैर्य छ, ध्रुवचन्द्र गौतम, राजव र नारायण ढकालझैँ, त्यो ममा आउनुपर्छ । मलाई पनि कम्तीमा ‘अलिखित’, ‘सोटिट’ र ‘दुर्भिक्ष’जस्तै लेख्न मन छ र ‘उलार’झैँ कैयौँ संस्करणमा देखिन मन छ । तथापि यो जादुमयी यथार्थलाई मार्खेझकाझैँ सिर्जन सक्छ । त्योचाहिँ पढ्न पाइएको भए अर्कै आनन्द आउँथ्यो । लेखौला त नयन भाइ ?