पारिजातको देह हामीमाझ छैन । तर, पारिजातले जन्माएको शिरीषको फूलकी पात्र सकमबरीले भने अहिलेसम्म पनि हाम्रो दिमाग चर्काइरहन्छे । अनेक सवाल हाम्रो मस्तिष्कमा उठाइरहन्छे । लेखकहरू, समीक्षकहरू, साहित्यप्रेमीहरू सकमबरीलाई लिएर कित्ताकाट हुन्छन् । बहस गर्छन् । कोही सकमबरीलाई आदर्श युवती ठान्छन्, कोही जीवनबाट हारेकी विसंगत युवती ।
सकमबरी सम्झनासाथ दिमागमा एउटा दृश्य खडा हुन्छ– खिरिलो शरीर, मुडुलो टाउको, निकोटिनले पहेँलिएका झिना औँला, त्यही औँलामा सल्किरहने चुरोट, पर्खालमा झुन्डाइएका ‘इन्सेक्ट किलर’ सुनगाभामा मरेका किरा हेर्दै रोमाञ्चित भइरहेकी २४ वर्षीया युवती । पारिजातले सकमबरीलाई कुन मुडमा कसरी ‘पोट्रेट’ गरिन्, रहस्यको गर्भमै रह्यो । समीक्षकहरू भन्छन्, ‘हरेक पात्रसँग लेखकको अनुभूति र जीवनको हिस्सा भेटिन्छ ।’ सकमबरीमा पारिजातको जीवनको कुन, कति र कस्ता हिस्सा समेटिए, यकिन छैन ।
सकमबरी अनेक दायरा र सीमालाई भत्काएर बाँच्न चाहने पात्र हो भन्ने कुरामा लेखकहरू सहमत छन् । सकमबरीसँग जीवनलाई हेर्ने आफ्नै आँखा छ, जीवनप्रतिको आफ्नै परिभाषा छन् । उनीसँग भएको रहस्यमय अदाकै कारण सुयोगवीर पराजित हुने कुरामा पनि पाठकलेविमति राख्दैनन् । कवि निभा शाहलाई लाग्छ, सकमबरीले त्यो मृत्युलाई जित्न सक्थिन् । भन्छिन्, ‘पारिजात दिदीले पात्रलाई त्यस्तो बनाउनु ठीक भएन ।’ कृतिको बिसौनीसँग सहमतछैनन्, उनी ।
‘शिरीषको फूल’ पढिसकेपछि सकमबरीप्रतिका अनेकन विचारले पाठक तिलमिलाउँछन् । सम्भव हुने भए सकमबरी आफ्नो लासमा पनि आफ्नै अधिकारको दाबी गर्न खोज्छिन् । उनको त्यस्तो अनौठो प्रवृत्तिले पाठकलाई हालयकायल बनाउँछ । सकमबरी सुनगाभाको फूलमा भवँरा छोपिएर मरेको हेर्नमा आनन्द मान्छे । जतिसुकै एक्लै बाँच्न खोजे पनि जीवन सापेक्षित छ भनेर सकमबरीले नबुझेको देख्दा पाठक अलमलमा पर्छन् । ‘सकमबरी डिप्रेस्ड पात्र हो । ऊसँग समाजप्रतिको चेतना छैन,’ कवि शाह भन्छिन्, ‘उनले समाजलाई डिप्रेसनको आँखाले हे-यो ।’ तर, लेखक कुमार नगरकोटीलाई भने सकमबरीपना मनपर्छ । उनी सकमबरीलाई प्रेम गर्छन् । सकमबरी स्वयं डिप्रेस्ड युवती नभई उनी बाँचेको समाजबाट डिप्रेस्ड भएको पात्र लाग्छ, उनलाई । सकमबरीलाई अरू मानिसमा खासै रुचि नराख्ने युवती ठान्छन् नगरकोटी । भन्छन्, ‘आफ्नै मानसिक संसारमा विचरण गर्ने पात्र हुन्, सकमबरी ।’
कतिपय लेखक सकमबरीलाई निस्सार जीवन बाँचिरहेकी र जीवनप्रतिको कुनै जीजीविषा नभेटिने युवतीका रूपमा अथ्र्याउँछन् । लेखक सरस्वती प्रतीक्षा सकमबरी कुनै नदीको नाम हुन्थ्यो भने त्यो नदी उल्टो बहने बताउँछिन् । भन्छिन्, ‘आवेगहरू उल्टा, क्रिया र प्रतिक्रियाहरू उल्टा, जीवनलाई हेर्ने समग्र र आंशिक दृष्टिकोणहरू उल्टा ।’ लेखक नगरकोटीलाई भने सकमबरीको त्यही उल्टोपन मनपर्छ । उनी थप्छन्, ‘त्यही भएर सकमबरी मनपरेको मलाई ।’ प्रा.डा. ताराकान्त पाण्डेयलाई भने सकमबरी सकारात्मक सोच नभएको पात्र लाग्छ । उनी भन्छन्, ‘सकमबरीलाई जीवनभन्दा मृत्यु प्यारो लाग्छ ।’
सकमबरी चुरोट तान्छिन् । कपाल मुडुलो पारेकी छिन् । लाज फिटिक्क छैन । परपुरुषसँग धक फुकाएर बोल्छिन् । त्यो समयको समाजले हेर्ने नजरमा (यद्यपि अहिले पनि जीवित छ) सकमबरी कुनै सुशील युवती होइनन् । त्यही स्वभावमा कतिपय पाठक विद्रोह देख्छन्, कतिपय अराजकता देख्छन् । कवि निभा शाहलाई भने सकमबरीले त्यस्तो ठूलो विद्रोह गरेजस्तो लाग्दैन । भन्छिन्, ‘कपाल त आनीहरूले पनि काट्छन्, तर सत्तासँगको उसको कुनै विद्रोह छैन ।’
सकमबरी चुरोट तान्छिन् । कपाल मुडुलो पारेकी छिन् । लाज फिटिक्क छैन । परपुरुषसँग धक फुकाएर बोल्छिन् । त्यो समयको समाजले हेर्ने नजरमा सकमबरी कुनै सुशील युवती होइनन् । त्यही स्वभावमा कतिपय पाठक विद्रोह देख्छन्, कतिपयले अराजकता ।
लेखक सरस्वती प्रतीक्षा भने सुयोगवीरले लामो कपाल मनपर्छ भनेको भोलिपल्टै सकमबरीले टाउको मुडुलो बनाएकाले नै आफू प्रशंसक भएको बताउँछिन् । भन्छिन्, ‘त्यो रिस र प्रतिक्रियाको आवेग केसँग जोडिएको थियो कुन्नि, एउटा बूढो भूतपूर्व सैनिकसँग वा आफैँसँग वा सौन्दर्यको पुरातन मापदण्डसँग ? जुन शिराबाट सकमबरीले सौन्दर्यको मानक भत्काई, त्यही शिराबाट म उसको उच्चाट प्रशंसक भएको हुँ ।’ प्रा.डा. पाण्डेय लेखक सरस्वती प्रतीक्षासँग सहमत छैनन् । उनी सकमबरीको विरोधको शैलीले सामाजिक रूप धारण नगरेको तर्क गर्छन् । भन्छन्, ‘त्यो केवल अराजकता मात्रै भयो ।’
भवँरा, मौरी, अरिंगाललाई आफ्नो पत्रदलभित्र कोचेर मार्ने सुनगाभा घरमा फुलाएकी छे सकमबरीले । सुयोगवीरलाई सकमबरीको चोटिलो डाइलग छ, ‘झर्न त पर्छ–पर्छ भने भवँराको चोट सहेरै किन झर्ने ! आफू मात्र झर्ने, आफ्नो इच्छाले झर्ने । आफ्नै लागि बाँच्ने र आफ्नै लागि मर्ने । सकमबरीको यस्ता कुराले पाठकलाई सोचमग्न बनाइदिन्छ । यसबारे कवि निभा शाह भन्छिन्, ‘पारिजात दिदीले प्रकृतिसँग समायोेजन गर्न नसकेको किताब हो– शिरीषको फूल । डिप्रेसनको पनि औषधि छ, त्यसको खोजी गर्न सकिन्थ्यो ।’ यसैमा सरस्वती प्रतीक्षा थप्छिन्, ‘शिरीषको फूल लेखिनेवेला केवल सामाजिक र मनोवैज्ञानिक उपन्यासहरू मात्र लेखिन्थे । त्यस्तो समयमा सकमबरीले जुन काव्यात्मक हस्तक्षेप गरिन्, त्यसपछि ऊ पात्र भएर पनि पात्र मात्र रहिन, एउटा मिथक बनिन् ।’
अहिले पारिजात हामीमाझ जीवित भएको भए धेरै सोधिने प्रश्न हुन सक्थ्यो, ‘सकमबरी तपाईं स्वयं हो ?’ पारिजातले आफूले बाँचेको जीवन कहीँ न कहीँ त सकमबरीको माध्यमबाट अवश्य ल्याएकी हुन सक्छिन् । पारिजातका सबै कृति पढेका पाठकलाई यस्तो लाग्न सक्छ । पारिजातका आफ्ना निजी अनुभूतिहरूले पनि रंगिएको हुन सक्छ यो किताब । नगरकोटी भन्छन्, ‘पारिजातको पर्सनल वर्क हो, उनको मेमोयर पढ्दा त्यो पारिजात र सकमबरी मिल्न आउँछ, पारिजातले आफ्नो मेमोयर नलेखेर ‘शिरीषको फूल’ लेखेजस्तो लाग्छ ।’
सुयोगवीरले लडाइँताका तीनजना फूलजस्ता निर्दोष युवतीलाई च्यातचुत पारेका थिए । तर, सकमबरीसँग किन आकर्षित भयो ऊ ? सकमबरीको निस्सारता या विसंगतिवोधलाई प्रेम गरेको हो या सकमबरीप्रति क्षणिक आकर्षण ? पाठकलाई यस्ता प्रश्नले अल्झाइरहन्छ । सरस्वती प्रतीक्षा भन्छिन्, ‘सुयोगवीर यति धेरै पराजित हुन्छ कि, ऊ सपनामा पनि सकमबरीलाई बलात्कार गर्नेबारे सोच्नसमेत सक्दैन । सायद पारिजातले त्यसै लेखेको होइन होला, जहाँ प्रेम हुन्छ, त्यहाँ बलात्कार हुँदैन, जहाँ बलात्कार हुन्छ, त्यहाँ प्रेम हुँदैन ।’