सुफियाना साँझ

राजेन्द्र पराजुली राजेन्द्र पराजुली
बुधबार, २९ फागुन, २०७५
डिजिटल संस्करण

रम्य रचना

कस्तो अरूप ! अदृश्य अनि अपरिचित र अपरिभाषित पनि ! मेरो मुटुभित्र सुफियाना झंकार प्रवेश गरिसकेको थियो– ‘म्युजिका मेडिसिना’ नाममा । तर, म देखिरहेको थिइनँ । खै कुन्नि, कुन बाटो मभित्र ऊ पुगिसकेको थियो । एउटा बेजोड प्रभाव । एउटा सत्य जसलाई टुक्रा–टुक्रामा विभाजित गर्न सकिन्न । यस्तो सत्य, जसको उत्पत्तिको कुनै विश्वसनीय इतिहास छैन । सायद मानव उत्पत्तिसँगै यो जन्मिएको थियो वा त्योभन्दा पनि अघि नै, र यसलाई चिनियो धेरै पछि ।

यो बोल्दैन, शब्द र वाक्य छैनन् यसका आफ्नै । तर, लयमा बग्छ । म लयभित्र आफ्ना जीवनका थुप्रै दुःख, पीडा, हैरानी, असफलता, अपमान, बदला र कतिपय कुण्ठा खोज्न थाल्छु । मेरा यी सम्पूर्ण पिरलाई ऊ सिरानी बनाएर सुतिदिन्छ मस्त । साहित्य एकेडेमी नयाँदिल्लीको सभागार पूरै मौन छ । मौन बनाएका छन्, विशेष कालिमेरो र राहुल जिज्ञासुले । बाहिर उभिएका रूख र तिनका पात चुपचाप छन् । चराहरू विश्राम गरेर मसँगै सन्ध्याकालीन सुफियानामा मग्न छन् । सायद सुफियानाभित्र चरा आफ्ना आवाज महसुस गरिरहेका छन् र मौन छन् । चराहरूको जिन्दगीको लय बोलिरहेको छ सुफी संगीत । सत्यको नजिक पुगेको महसुस गरिएको त्यो क्षण !

म त मान्छे । पृथ्वीको सबैभन्दा खराब र चतुर जीवको कोटीमा पर्ने । म सोच्थेँ– मेरो भाषा छ, आफ्नै शब्द–वाक्य र लिपि छ । मेरा आफन्त छन्, साथी छन् । मित्रु र शत्रु पनि छन् । मेरा निम्ति मेरा पुस्ताले आविष्कार गरिदिएका थुप्रै सुविधाहरू छन् । तर, मसँग लय रहेनछ भन्ने तत्वज्ञान यो सुफियाना साँझमा हुनपुगेको छ । मलाई घमण्ड थियो– मेरो देश छ, सिमानाले मलाई सुरक्षित पारेको छ । मेरो सरकार छ, मेरो दुःखमा मसँगै उभिने ! म राष्ट्रवादी मान्छे । मेरो आफ्नो छुट्टै परिचय छ, त्यसले मेरो रक्षा गर्छ । म जे पनि गर्न सक्छु । तर, वास्तविकता त्यो होइन रहेछ ।

म मान्छेले आफूभित्रको मान्छेलाई एउटा सीमित घेरोमा कैद गरिरहेको रहेछु । सुफियानाको लयमा तरंगित हुँदै जाँदा मेरो देशको सीमा फैलिएर दुरदुर इरान, चीन, अफगानिस्तान, भारत, टर्की, मंगोलिया, अस्ट्रेलिया, इन्डोनेसिया, तिब्बतभन्दा पनि अझै सुदूरसम्म फैलिएको थियो । कालिमेरो र जिज्ञासुले दुनियाँको सीमा भेद गर्न यी मुलुकहरूबाट वाद्ययन्त्र ल्याएका छन् । ध्वनिको एउटा मिस्टिकल रियाल्म तिनको शक्ति बनेको छ । समुद्रदेखि हिमाल र पहाड अनि तराईका लमतन्न सुतेका फाँटसम्म स्पर्श गरेको थियो तिनको झंकारले । मेरा आँखाले अघिल्तिर र वरिपरिका केही पनि देखिरहेका थिएनन् । तर, तिनमा टाँस्सिएरै रहेका थिए संसारभरका लयहरू । संसारका धेरैथोकभन्दा पर, एउटा रहस्यमय दुनियाँ निर्माण गरिरहेका थिए दुई युवा । त्यो रहस्यमय दुनियाँ सुखको थियो । 

लय भन्नु जीवन हो, यो कायम रहनु जीवित रहनु हो । लयहीनता मृत्यु । लयभंग त सक्रिय तथा सिर्जनशील मान्छेको जीवनमा भइ नै रहन्छ । भंग भएको लयलाई पुनः लयमा फर्काउनुचाहिँ बुद्धिमानी हो । लय फिर्ता ल्याउने उपाय भनेको बहुजन हिताय, बहुजन सुखायको गीत गाएरै हो । सुफियाना साँझले सभागारमा रहेका बहुजनलाई सुखी र आनन्दित पारेको थियो । सुखको सबैभन्दा बढी हिस्सा मेरो भागमा परेको थियो, यो मेरो दाबी हो । सुफियानाको सँगसँगै बहिरहेको बुद्धिजमको वाणी मनका भित्री तहसम्म स्पर्श गरिरहेका थिए । अप्पदीपो भव: । सधैँ बाहिर र अरू मान्छेको सहायताबाट उज्यालो खोजिरहेको म सुफियाना साँझमा आफूभित्र बलेको दियोको प्रकाशबाट केही उज्यालिएको थिएँ, यस्तै महसुस भएको थियो । बुद्धिजम र सुफिज्मको फ्युजनले म अर्कै लोकको दर्शन गर्न समर्थ भएको थिएँ । 

बुद्धिजमलाई नयाँ ढंगमा बुझिँदै छ अहिले । कमाइ वा नाफाको अधिकतम् हिस्सा जनहितमा लगाऊ । अझै आधुनिक परिभाषाको आलोकमा पनि यसलाई हेरिँदै छ र परख गर्ने प्रयास गरिँदै छ । आफूले खानै नसक्ने गरी प्लेटमा झुसी खानेकुरा राख्ने र पछि फाल्ने काम आधुनिक समाजको सबैभन्दा खराब आदत । तर, समय कस्तो विरूप बनेको ! प्लेटमा झुसी वा पोखिने गरी खानेकुरा राख्दा मान्छे आफूलाई सुरक्षित ठान्छ । यस्तो लाग्छ, ऊ कुनै एउटा भोजमा मिलेको खानेकुरा केही दिनसम्म खान्छ । नाकाबन्दीको समय आफ्नै घरमा रहेको ग्यास सिलिन्डर दुईबाट चार पुगेको सम्झन्छु । अनावश्यक ढंगमा दुईवटा सिलिन्डर घरमा थुपार्नाले अरू दुईजनाको चुलो चिसै रहन पुगेको महसुुस हुन्छ, ग्लानि पनि हुन्छ । 

एकेडेमीको सभागारभित्र दुई कलाकार जंगली जनावर, समुद्रीजीव, पन्छीका आवाज उत्पन्न गरिरहेका थिए । हामी एकैपटक सुफिज्मको समुद्र, पहाड, हिमाल, तराई, जंगल, मरुभूमिको यात्रा गरिरहेका थियौँ । 

विचार र धर्मभन्दा धेरै पर छ सुफिज्म । राजनीतिका नाममा जन्मेको विचारले मान्छेलाई कहिल्यै एकसूत्रमा बाँध्न सकेन । हरेकका छुट्टाछुट्टै विचार, तेरो र मेरोको बढोत्तरी । आजको संसार धर्मका नाममा उसैगरी एक–आपसमा लडिरहेको छ । हिन्दू, मुस्लिम, क्रिस्चियन, बौद्ध । यीभित्र पनि अन्य हाँगाबिँगा ! बुद्धले त आफू हिँडेको बाटोलाई कहिल्यै धर्म नाम दिएनन् त ! धर्म र विचारले संसारमा सधैँ झगडा मात्रै पारिदिएको छ । सम्भवतः सुफिज्म र बुद्धिज्मले सोही कारण नै सीमारहित दुनियाँको कल्पना गरेको होला । यस्तै कल्पनाका कारण नै सुफियाना साँझ मलाई मान्छेको सीमातीत साँझ लाग्यो । एउटा साधना, योग, ध्यान र तपस्या गरेजस्तै त्यो सुन्दा । त्यो साँझले खोज्यो बुद्धिज्म र सुफिज्मका माध्यमबाट संसारको शान्ति । थाहा छैन, शान्ति यतिखेर कसले मुठ्ठीमा कैद गरेर राखिदिएको छ । अचम्म लाग्छ, मान्छे ईश्वरको मूर्ति र त्यसलाई कैद गर्न घर (मन्दिर) मा असीमित खर्च गरिरहेको छ । तर, साँच्चैको मान्छेको ‘घर’ बनाउने सवालमा चुक्दै आएको छ ! 

साहित्यमा सुफिज्म
के हुन्छ सुफी साहित्यमा ? वस्तुगत उत्तर मसँग छैन । संसारलाई शान्त, समन्यायी, विभेदरहित बनाउन यस्तो साहित्यले मात्रै सक्छ भन्ने सन्देश सुफियाना साँझले दिइरहेको थियो । हामीमध्ये कतिपय नेपाली लेखकले लेखिरहेको साहित्य यस्तो कोटीमा पर्दैन र ! कुन जिम्मेवार लेखकले गरिबमाथि अन्याय गर, किनारीकृतमाथि थिचोमिचो गर भन्न सक्ला र ! जादुमयी, टुनामुनाका दुनियाँको कल्पनामा लेखिएका रचना सुफी साहित्य हुन सक्ला ? म उत्तर खोज्न सक्दिनँ । तर, भन्न सक्छु– असल साहित्य सबै सुफी साहित्य हुन् । 

अग्घोर मिस्टेरियस छ सुफिज्म । प्याजको डल्लोभित्र कुनै अर्कै थोक खोजेजस्तै, एब्स्ट्र्याक्ट । धेरैथोक भन्छ सुफिज्म, तर चुपचाप । मौनता ईश्वरको भाषा हो । कस्तो मिस्टिकल डाइमेन्सन हो यो ! एकैपटक फूलको सुगन्ध र आलो रगतको दुर्गन्ध फैलिइरहेको छ वातावरणमा । आलो रगतको दुर्गन्ध सबैभन्दा बढी महिलाले सुँघे, सुँघ्न बाध्य भए । धेरै रोए महिला । संसारमा सबैभन्दा पहिला महिला जन्मिएका हुन् । त्यसैले विरूप समाजले उत्पादन गरेको आलो रगतको दुर्गन्ध तिनैले सुँघेका हुन् । 

सुफिज्मले मभित्र केही आला प्रश्न जन्माइदिएको छ । तर, यी प्रश्नमा प्रश्नचिह्न छैनन् । मानवीयता धरापमा पार्ने कट्टरतावाद । राष्ट्रवादको खोल ओढेको संकुचनवाद वा नक्कली राष्ट्रवाद । क्रोनिपोलिटिक्स, क्रोनिधर्म, क्रोनी विचार । युरोप र अमेरिकामा चिसो बढ्दा हामीलाई हाच्छ्युँ आउने, यो कस्तो राष्ट्रवाद ! यो कुन हदको परजीवीपना ? भौगोलिक सीमालाई तारबारले रेखांकन गर्छ राजनीति ! हावा, घाम, पानी, चिसो, तातो अनि सुफिज्मलाई कंक्रिटको पर्खालले रोक्न नसक्ने भुसुक्कै बिर्सन्छ राजनीति । राष्ट्रवादको नारा लगाउँदै कुक्रुक्क आफ्नो पर्खालभित्र लुक्छ राजनीति । यस्तो राष्ट्रवाद त कुकुर–बिरालोमा पनि हुन्छ । मेरो घरछेउमा केही भुस्याहा कुकुर बस्छन् । दिनभरि ती आहाराको खोजीमा कताकता पुग्छन्, साँझ परेपछि तिनलाई आफ्नो गुँडको याद आउँछ र बाटो नबिराई ती जीव आफ्नो वासस्थानमा आउँछन् । तिनले सहजै चिन्दछन् आफ्नो भूगोल र खुरुखुरु त्यहाँ पुग्छन् । कत्ति अनुकरणीय राष्ट्रवाद मेरो घरछेउ बस्ने कुकुरको । कस्तो विशाल राष्ट्रवादी भावना कुकुरमा । 

एकेडेमीको सभागारमा सुफिज्मलाई आफूभित्र समाहित गरिरहेका दुई कलाकार जंगली जनावर, समुद्रीजीव, पन्छीहरूको आवाज उत्पन्न गरिरहेका थिए । मलगायतका स्रोताहरू एकैपटक सुफिज्मको समुद्र, पहाड, हिमाल, तराई, जंगल, मरुभूमिको यात्रा गरिरहेका थियौँ । 

सम्पादकहरूको रोजाइ

ती त मरिरहेछन्

६ वर्ष अघि

म माधवी

७ वर्ष अघि

फिसफ्राई

६ वर्ष अघि

सुझावित समाचार