सल्मा खातुन हो । उमेरले २५ कटेकी । बिहे गर्दा १४ वर्षकी थिई । १५ वर्षमा छोरा पाई । सौन्दर्यबजारले तोकेजस्तो उमेर सुहाउँदो ज्यान छ । हिस्सी परेको अनुहार चलाख लाग्छ । साँच्चै चलाख पनि छे ।
पटनाको अनिसावाद उसको माइती हो । अनिसावाद मुस्लिम बस्ती हो । त्यही बस्तीको बीचमा उसको माइतीघर छ ।
बिहे गरेपछि कहिलेकाहीँ माइत जान्थी । अहिले ऊ माइत नगएको आठ वर्ष भयो । उसलाई माइत जान मन लाग्दैन ।
जिन्दगीप्रति उसको आफ्नै परिभाषा छ । माइतीलाई सुख देखाउने हो, दुःख आफैँसँग राख्ने हो । सकेसम्म दुःख कसैलाई नदेखाउनु । दुनियाँका आँखाबाट लोग्नेसँगको दुःख जोगाउनुपर्छ । निरक्षर जिन्दगीले उसलाई मजाले ज्ञान दिएको छ ।
सल्मासँग जिन्दगीको गणित निकै टेढो छ । बिहेअघि हिन्दी र मैथिली जान्दथी । बिहेपछि नेपाली बोल्नुपर्ने बाध्यता भयो । अलिअलि बोलेको बुझ्थी । नद्देपाली बोल्न सिक्दै थिई । छोरो ६ महिनाको थियो । छुनुमुनु गर्दै खेल्न थालेको थियो । मुखमा हेरेर हाँस्न थालेको थियो । हो त्यही वेला, उसको लोग्नेलाई पुलिसले समात्यो । र, जेल हाल्यो ।
लोग्ने जेल परेपछि उसको जिन्दगी तीनवटा भँगालोमा बाँडियो । एउटा भँगालोमा ऊ आफैँ उभिएकी छे । अर्को भँगालोमा छोराको भविष्यसँग जोडिएको सपना छ । र, अर्को भँगालो जेलभित्र छ । जुन भँगालोमा उसको लोग्ने १० वर्षदेखि भुक्तान काटिरहेको छ ।
अहिले ऊ नेपाली बोल्न जान्दछे । खासमा उसले जानेकी होइन । जिन्दगीले सिकाइदियो । लोग्ने जेल परेको १० वर्ष भयो । छुटेको छैन । अघिल्लो दसैँमा छुट्छ भनेको थियो । छुटेन । के कारणले छुटेन ! उसलाई थाहा छैन । ऊ नियम कानुन जान्दिनँ । बरु लोग्ने जेल परेको कुरा अरूबाट लुकाउन जान्दछे । चिनेका मान्छेसँग तर्केर हिँड्न जान्दछे । वरिपरिका मान्छेसँग कसरी संगत नगर्ने भन्ने पनि जान्दछे । माइत नजानलाई के बहाना बनाउने त्यो पनि राम्ररी जान्दछे । तर, लोग्ने अझै किन जेलबाट छुट्दैन ! त्यो भने जान्दिनँ ।
विराटनगर महानगरपालिकाभित्र ऊ बसेको ११ वर्ष भयो । मधेसमा अधिकारका कुरा उठेको उसलाई थाहा छैन । गणतन्त्र आएको कुरा थाहा छैन । संघीयता आएको कुरा थाहा छैन । ऊसँग भोट माग्न हात जोड्दै मान्छेको हुल दुई तीनपटक आएको थाहा छ । ती ‘ठूला’ मान्छेले उसलाई नमस्कार गर्दा खुब लाज लागेको थियो । भोट दिन ऊ पनि चाहन्थी । भोट दिने ‘छाप’ उसले निक्र्योल गरेकी थिई । दुईपटक गरेर पाँच सय रुपैयाँ दिएको थियो । हो, उसैको ‘छाप’मा भोट दिन चाहन्थी । उनीहरूले गाउँमा भोज पनि दिएका थिए । तर, भोजमा गइन । छोरोलाई पनि जान दिइन । ऊ हत्तपत्त मान्छेको जमघटमा जान्न । लोग्नेका बारेमा सोधिदेलान् भन्ने डर लाग्छ उसलाई । चुनावको दिन थाहा पाई । भोट दिन नागरिकता चाहिने रहेछ । उसको नागरिकता छैन ।
बाढी आएको वेला उसको डेरा पनि डुबेको थियो । अलिअलि राहत पाई । तर, राहत लिन अरूका झैँ गइन । उसले भनी, ‘अरूको नागरिकता छ, मेरो छैन ।’ बिहे गरेको वेला उमेर पुगेको थिएन । उमेर पुगेपछि लोग्ने जेलमा छ । कसरी बनाउनु नागरिकता ! उसो त लोग्नेको पनि नागरिकता छैन । ऊ जेलमा पर्दा जम्मा १७ वर्षको थियो । अहिले ससुरा मरिसक्यो । सासू छ । अब नागरिकता कसरी बन्छ । उसलाई थाहा छैन । तर, उसले चाल पाएकी छे ‘उताबाट’ आउने ऊजस्तै अरूले नागरिकता लिएका छन् ।
बोर्डर साइडमा उसको बूढो ससुराको १७ बिघा जमिन थियो अरे । बूढो ससुरा अचानक म-यो । उसका कति छोराछोरी थिए, त्यो पनि यकिन थिएन अरे ! बूढी पनि धेरै थिए अरे ! उसको ससुराको फर्निचर दोकान थियो । लफडा परेर ससुरा पनि गायब भयो । सासू छे– ऐलानी जग्गामा फुसको छानो लगाएर बसेकी । उसको लोग्ने एक मात्र छोरा जेलमा छ । लोग्नेको इतिहास यत्ति थाहा छ ।
जमिनदार बूढो ससुराको गरिब नाति हो उसको लोग्ने । त्यस गरिबकी दुःखी स्वास्नी हो सल्मा । त्यसैले अहिले भूमिविहीन छन् । नागरिकताविहीन छन् ।
लोग्नेका बारेमा झुटो बोल्नु उसको लागि कवच हो । लोग्ने विदेश गएको छ भन्छे । छोरालाई पनि झुटो बोल्न सिकाएकी छे । छोराले पनि यही भन्छ । छोरो ७ वर्षको भएपछि बाउसँग भेट गराएकी थिई । जेलभित्र उभिएको बाउलाई छोराले डण्डीबाहिरबाट पहिलोपटक देख्यो । छोराले किन यहाँ बस्नुभएको भनेर सोधेको थियो । बाउले केही भन्न सकेन । बस् ! भुइतिर आँखा झुकायो ।
बाउ किन जेल परेको हो भनेर सल्माले छोरालाई पनि भनेकी छैन । बस् यति भन्ने गर्छे, ‘कस्ता–कस्ता धनी मान्छे त जेलमा छन्, हामी गरिब जेलमा हुन केही हुनुपर्दैन ।’ छोराले के, कसरी बुझ्छ होला कुन्नी ! तर आमाले भनेको पत्याउँछ ।
एकदिनको कुरा हो । छोराको रिजल्ट लिएर आई । ‘मेरो छोराको नम्बर कति आएको छ भनिदिनु न ।’ मैले क्रमशः विषयको नाम भन्दै नम्बर भनँे । अरू विषयमा साठी र पचहत्तरको बीचमा नम्बर थियो । साइन्समा अन्ठाउन्न थियो । अन्ठाउन्न सुन्नासाथ साठी पनि कटेन भन्दै विस्मात् गरी । डिल भत्किएर पानी ह्वात्त झरेँ झैँ उसका आँखाका डिल पट्ट फुटे । दुई हत्केलाले मुख छोपेर रुन थाली । भक्कानिएको स्वरमा भनी ‘मेरो छोराको पढाइ बिग्रियो !’
मेरो छोरालाई ट्युसन पढाइदिनुहुन्छ ? सोधी । ऊ अक्षर चिन्दिनँ । तर, उसले कति बुझेकी छे भने पढाइ राम्रो हुन सबै विषयमा असी कट्नुपर्छ । छोराको हरेक विषयमा असी कटोस् चाहन्छे । फेरि भनी, ‘यसपालि कुनैमा
असी कटाएन ।’
भूमिविहीन, नागरिकताविहीन छे सल्मा । लोग्नेबारे झुटो बोल्नु उसका लागि कवच हो । लोग्ने विदेश गएको छ भन्छे । छोरालाई पनि झुटो बोल्न सिकाएकी छे । छोरा पनि यही भन्छ ।
सल्मा अर्काको घरमा भाँडा माझ्ने काम गर्छे । दुई घरमा भाँडा माझेको महिनाको पाँच हजार रुपैयाँ हुन्छ । त्यही पाँच हजारले छोरालाई बोर्डिङ पढाइरहेकी छे । लोग्नेलाई हप्तामा एकदिन मासु–भात लगिदिन्छे । आफ्नो घरखर्च गर्छे । आठ सय कोठा भाडा तिर्छे ।
एक दिन गफैगफमा सोधेँ, ‘बुर्का किन नलगाएकी ?’ उसले आक्रोशयुक्त भाषामा भनी, ‘धनीलाई पो भगवान्को डर हुन्छ । हामी गरिबलाई भगवान्सँग के को डर ? हामी काम गरिखाने मान्छेलाई भगवान् रिसाए पनि खुसाए पनि के मतलब ! धनी मान्छेले बुर्का लगाउँछन् । गरिबले बुर्का कसरी लगाउनु ! काम गरेर खानुपर्छ । गरिबलाई बुर्का लगाउन कहाँ पुग्छ । बुर्का लगाउन पनि धनी हुनुपर्छ ।’
‘सिन्दुर–पोते किन लगाएकी त ?’
बडो साहसका साथ भनी, ‘हिन्दूहरूको बीचमा छुइनँ ? सिन्दुर–पोते लगाएपछि कसैले आँखा लगाउँदैन नि ! लोग्ने साथै छ ठान्छ । अरूले हेप्तैन ।’
‘सिन्दुर–पोते लगाउँदा कसैले केही भन्दैनन् ?’
‘तपाईहरूजस्तै धनी मान्छेले भन्ने हो । हामी गरिबको के कुरा ! गरिबले धेरै लाज मान्न त पाउँदैन !’
‘लोग्ने यतिका वर्षदेखि जेलमा छ । अब कहिले छुट्छ थाहा छैन । उमेर गइसक्यो, किन अर्को बिहे नगरेकी त ?’
उसले साह्रै नमिठो अनुहार पारी । भनी, ‘बिहे त गर्थें । तर, उसकै अनुहारजस्तो छोरो छ । मेरो छोरो साह्रै ज्ञानी छ । ऊ पनि ज्ञानी छ । ऊ जे कारणले जेलमा प¥यो नि त्यो उसले
गरेको होइन । मलाई थाहा छ । ऊ इमानदार छ । त्यो मान्छे मारेको वेला ऊ र म सँगै थियौँ । उसले मारेको होइन । त्यसैले उसलाई छाडेर अर्को बिहे गर्नै मन छैन ।’
त्यसदिन उनीहरू दुईजना हटिया गएका थिए । तीनजना चिनेकै दाइहरू उसलाई खोज्दै आए । ती दाइहरूसँग ऊ घरमा काम गर्न जान्थ्यो । त्यसदिन पनि काम छ भनेर लिएर गए । बेलुका नहरको छेउमा लगेर खाजा खुवाए । रक्सी खुवाउन खोजे, मानेन । ऊ कहिल्यै रक्सी खाँदैनथ्यो ।
खाजा खाइसक्दा निकै राति भइसकेको थियो । खाटमुनिबाट तन्नाले बेरेको बोरा निकाले । बोरा निकालेपछि उसको हातमा दश हजार रुपैयाँ राखिदिए । कसैले नदेख्ने गरी बोरा नहरको पानीमा हालिदिनु भने । दश हजारको मिटर ब्याज तिर्नु थियो । त्यो पैसा देखेपछि उसले केही नबोली बोरा काँधमा बोक्यो । साह्रै अप्ठ्यारो भएको थियो बोक्न । ठेला
मगाउन खोज्यो । तर, दाइहरूले दिएनन् । जसोतसो नहरमा बोरा पु-यायो । अनि सीधै घर गयो । घर आएर ऊ खुब छटपटिएको थियो । निदाएको थिएन । ज्वरो आउलाजस्तो भएको थियो । तर्सिएझैँ गथ्र्यो । के
भयो भन्दैनथ्यो ।

राति घरमा पुलिस आयो । उसलाई समातेर लग्यो । किन लग्यो पनि थाहा भएन । सल्माको काखमा छोरा थियो । रातभरि होहल्ला भयो । तर, उसलाई कसैले केही भनेन ।
रातभरि पुलिसले घर छोडेन । भोलिपल्ट बिहान थाहा भयो त्यो बोराभित्र मान्छे थियो ।
सल्मा भन्छे, ‘उसको गल्ती हो दश हजारमा लोभिनु । हामी गरिब, पैसा देख्दा लोभ लाग्यो । उसले १० हजारको लोभ र मालिकहरूको डरले नहरमा बोरा लग्यो । तर, मारेको उसले होइन । मालिकहरू त धनी मान्छे हो । पैसा धरौटी राखेर छुट्यो । तर, ऊ छुटेको छैन । धरौटी राख्ने पैसा छैन ।’ छुट्ला एकदिन– उसलाई त्यति आस छ ।
‘दाइहरू त छुट्यो । धनी छ नि त ! गरिब कसरी छुट्नु ! उसलाई कानुनका बारेमा थाहा छैन । सबै कुरा खरिद गर्न सक्ने धनी मान्छे पनि जेलमा छन् । केही नभएको गरिब जेलमा हुने नै भयो,’ उसले यसैगरी बुझेकी छे ।
उसलाई म वेला–वेला फोन गर्थेँ । एकदिन दिउँसो आई र भनी, ‘मलाई फोन नगर्नु आन्टी । उसले हप्तामा एकपटक मोबाइल चेक गर्छ । अरूको नम्बर देखेपछि केरकार गर्छ । अरूसँग लाग्छे भनेर शंका गर्छ । लोग्नीमान्छी हो । शंका त गरिहाल्छ नि ।’
आफ्नो लोग्नेको लोग्नेत्वलाई स्वीकार गर्छे । लोग्नेको निगरानीलाई प्रश्न गर्दिनँ ।
यतिका वर्षसम्म लोग्ने जेलका डन्डीभित्र छ । स्वास्नी बाहिर । हप्तामा एकपटक भेट गर्छन् । चिनेका पुलिसले जेलबाहिरको विश्रामस्थलसम्म आएर बस्न दिन्छन् । त्यहाँ
बसेको वेलामा सबैका आँखा छलेर एकअर्काका हात समाउँछन् । र, भक्कानिन्छन् ।
‘लोग्ने–स्वास्नी हो मन त लागिहाल्छ नि !’ अस्ति भर्खर उसलाई लोग्नेले भन्यो, ‘बच्चा त अर्को पनि चाहिन्छ । म जेलबाट छुट्नेवेलासम्ममा तेरो उमेर त नजाला नि !’