वर्षाैँ शासन गरे पनि नागरिकका सरोकार सम्बोधन गर्नुको साटो दमन गर्ने शासकहरू विद्रोहअघि टिक्न नसकेर देशै छाडेर भागेका छन्
जनतालाई दबाएर शासन गर्नेहरूलाई लाग्न सक्छ, मनोमानी यसैगरी चलिरहन्छ । तर, जनता जागेको दिन ठुलाभन्दा ठुला शासकको उल्टो दिनगन्ती सुरु भएको इतिहास पटक–पटक दोहोरिएका छन् । तानाशाहहरू इतिहासबाट पाठ सिक्दैनन्, त्यसैले त विश्वका विभिन्न भागबाट नेताहरू लखेटिएको समाचार बारम्बार आइरहन्छ । यसै वर्ष लामो समयदेखि एकछत्र शासन गर्दै आएका दुई नेता देश छाडेर भाग्न बाध्य भए । दक्षिण एसियाली मुलुक बंगलादेशमा शासन गरिरहेकी प्रधानमन्त्री सेख हसिना विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनबाट बढारिइन् । त्यस्तै ५४ वर्षअघिदेखि सिरियामा चलिरहेको असद वंशको शासन पनि विद्रोहीहरूले अपदस्थ गरिदिएका छन् । उनीहरू देशै छाडेर भागेका छन् । दशकौँ शासन गर्ने यी शासकले अन्ततः किन लुकेर भाग्नुपर्ने अवस्था आयो ?
सेख हसिना, बंगलादेश
बंगलादेशमा वर्षको सुरुमै अर्थात् ७ जनवरीमा चुनाव भयो । सत्तारुढ प्रधानमन्त्री सेख हसिनाको पार्टी अवामी लिग चौथोपटक ३०० सिटमध्ये २२६ सिट जित्न सफल भएको थियो, जुन संसद्को दुईतिहाइभन्दा बढी सिट हो ।
तर, संसद्मा दुईतिहाइभन्दा बढी सिट जितेको दल र सो दलकी नेता सेख हसिनाको शासन सात महिना पनि बित्न नपाउँदै आम विद्रोहबाट हट्यो । यहाँसम्म कि सुरक्षामा खतरा उत्पन्न भएपछि प्रधानमन्त्री सेख हसिना देश छाडेर भाग्न बाध्य भइन् । उनी अहिले पनि भारतको अज्ञातस्थलमा लुकेर बसिरहेकी छन् । देशमा रहेका अवामी लिगका कार्यकर्ता पहिचान लुकाएर हिँडिरहेका छन् । उनीहरू अवामी लिगका कार्यकर्ता भनेर चिनाउँदा आक्रमणको जोखिममा छन् ।
कुनै वेला देशलाई स्वतन्त्र गराउने संघर्षको नेतृत्व गरेको पार्टीका कार्यकर्ता देशवासीसामु किन लुकी–लुकी हिँडिरहेका छन् ? सन् २००८ मा पार्टी सत्तामा आएदेखिका घटना हेर्नुपर्छ । सन् २००८ मा अवामी लिग दुईतिहाइभन्दा बढी सिट जितेर सत्तामा आएको थियो । हसिना पार्टीबाट प्रधानमन्त्री बनिन् । सत्तामा आएपछि हसिनाले संविधानको कार्यवाहक सरकारले निर्वाचन गराउने व्यवस्था हटाइन् । यो संवैधानिक व्यवस्था जनताले लडेर संविधानमा लिपिबद्ध गरेका थिए । सन् १९९६ मा बंगलादेश नेसनल पार्टी (बिएनपी)की प्रधानमन्त्री खालिदा जियाको सरकारले निर्वाचन गरायो । पार्टी ठुलो मतका साथ सत्तामा फर्कियो ।
तर, लगत्तै निर्वाचनमा व्यापक धाँधली भएको भन्दै ठुलो विरोध प्रदर्शन सुरु भयो । प्रदर्शनकारीको एउटै माग थियो, स्वतन्त्र कार्यवाहक सरकार गठन गरेर उसले निर्वाचन गराउनुपर्ने । विरोध प्रदर्शन बढ्दै गएपछि जिया पदत्याग गर्न र नागरिक समाजका सदस्य सम्मिलित अन्तरिम सरकारबाट पुनः निर्वाचन गराउन सहमत भइन् । भविष्यमा पनि त्यो वेलाजस्तो निर्वाचनमाथि अविश्वास नआओस् भनेर देशको संविधानमै आमनिर्वाचन अन्तरिम सरकारले गराउने व्यवस्था गरियो ।
सन् २००८ मा अन्तरिम सरकारले निर्वाचन गराउने व्यवस्था हटाएपछिका तीन निर्वाचन सबैमा धाँधलीको आरोप लाग्यो । तीनमध्ये दुई निर्वाचन विपक्षीहरूले बहिष्कार नै गरे । धाँधलीको आरोप र बहिष्कारबिच गरिएका निर्वाचनमा अवामी लिगले भारी जित हासिल गरिरह्यो । हसिनाले विपक्षी तथा नागरिक समाजको विरोध तथा असन्तुष्टिलाई पूर्ण बेवास्ता मात्र गरिनन्, विरोध गर्नेहरूलाई विभिन्न आरोप लगाएर थुनिन् । त्यसैले यसपटकको निर्वाचनअघि प्रायः सबै विपक्षी दलका नेता कैद गरिएका थिए ।
हसिनाले शासन गरेको १६ वर्षमा बंगलादेशमा विधिको शासन र लोकतन्त्र बिस्तारै कमजोर बन्दै गएको थियो । देशका सबैजसो प्रमुख निकायमा अवामी लिगका कार्यकर्ता भर्ती गरिएका थिए । सरकारको विरोध गरेकै आधारमा जोकोहीविरुद्ध झुटा आरोप लाग्ने र थुना हुने शृंखला तीव्र बनेको थियो । अर्थतन्त्रमाथि पार्टीनजिकका सीमित व्यापारीको नियन्त्रण बन्दै गएको थियो । यसैले देशले तीव्र आर्थिक विकास गरिरहँदा पनि ठुलो समुदायले यसको लाभ हासिल गर्न सकिरहेका थिएनन् । यही कारण पढेलेखेका युवाहरूका लागि सरकारी जागिर आर्थिक सुरक्षाको मुख्य माध्यम बन्दै गएको थियो । तर, तिनमा पनि सत्तारुढ दलले नीतिगत रूपमा पार्टी कार्यकर्ताको पकड बढाउँदै लगेपछि असन्तुष्टि चुलिनु स्वाभाविक हो ।
बंगलादेशलाई पाकिस्तानबाट स्वतन्त्र बनाउन सन् १९७१ मा लडेका योद्धाहरूको सन्तान दरसन्तानलाई सरकारी जागिरमा ३० प्रतिशत आरक्षणको व्यवस्था गरिएको थियो । बंगलादेशको स्वतन्त्र संग्राम अवामी लिगको नेतृत्वमा भएकाले यस कोटा मूलतः अवामी लिगका कार्यकर्तालाई छुट्याएजस्तो भएको थियो । सन् २०१८ मै सरकारी जागिरमा लागू ठुलो परिमाणको कोटा प्रणालीमा सुधार गर्नुपर्ने माग गर्दै ठुलो विरोध प्रदर्शन भएको थियो । प्रदर्शन लम्बिँदै गएपछि अन्ततः सरकार प्रदर्शनकारीको माग पूरा गर्न बाध्य भयो । उसले ४६ वर्षदेखि लागू कोटा प्रणाली उन्मूलन गर्यो । असन्तुष्टि केही सेलायो । यो मुद्दा ६ वर्षपछि यसै वर्ष जुनमा पुनः उधिनियो । गत जुन ५ मा एक उच्च अदालतले ३० प्रतिशत आरक्षण खारेज गर्ने सरकारको निर्णय उल्ट्याइदियो । देशका हरेक क्षेत्रमा सत्तारुढ दल हाबी हुँदै गएको हसिना शासनमा न्यायपालिकासमेत पार्टीप्रति बफादार रहेको आरोप लाग्थ्यो । आर्थिक सम्भावना खुम्चिँदै गएबाट पहिले चिन्तित विद्यार्थी यस निर्णयको विरोधमा उत्रिए । सुरुमा राजधानी ढाकाका प्रमुख विश्वविद्यालयका विद्यार्थी मात्र विरोधमा उत्रिएका थिए ।
विरोधको समन्वयन गर्न भन्दै प्रमुख विश्वविद्यालयका विद्यार्थी नेता सम्मिलित ‘भेदभावविरोधी विद्यार्थी आन्दोलन’ समन्वय समिति गठन गरियो । योसँगै विरोधको देशव्यापी रूप थप बलियो बन्यो । सरकारी विश्वविद्यालय केन्द्रित विरोध निजी विश्वविद्यालयका विद्यार्थीमाझ पनि फैलियो । बिस्तारै आन्दोलन देशव्यापी बन्न थाल्यो । अदालतको निर्णयबाट आन्दोलन सुरु भए पनि यस विषयलाई सरकारले सम्बोधन गर्नुपर्ने तिनको माग थियो । तर, यसपटक सरकार सन् २०१८ मा जस्तो नरम भएन ।
आफ्नो मागप्रति सरकारी बेवास्ताबाट आजित भएका विद्यार्थीले जुलाई ७ मा देशव्यापी बन्द घोषणा गरे । त्यसपछि सरकारले माग सम्बोधन गर्नेचाहिँ होइन, राज्य संयन्त्र र सत्तारुढ दलको विद्यार्थी संगठन आन्दोलनकारीको आलोचनामा उत्रियो । प्रदर्शनकारीमाथि मारपिट भइरहँदा जुलाई १४ मा प्रधानमन्त्री सेख हसिनाले एक विवादास्पद अभिव्यक्ति दिइन् । उनले स्वतन्त्र सेनानीका सन्तानका लागि छुट्याइएको कोटाको विरोध गर्नेहरूलाई ‘रजाकर्स’को संज्ञा दिइन् । ‘आरक्षण स्वतन्त्र सेनानीका नाति–नातिनाले नपाएर के ती रजाकर्सका सन्तानले पाउँछन् त ? देशवासीलाई म यो प्रश्न गर्छु,’ पत्रकार सम्मेलन आरक्षणको विरोधमा भइरहेको प्रदर्शनबारे पत्रकारले सोधेको प्रश्नको जवाफमा हसिनाले भनिन् ।
रजाकर्स बंगादेशलाई पाकिस्तानबाट अलग गर्न लडेका स्वतन्त्र सेनानीलाई दबाउन पाकिस्तानी सेनाले बनाएको बंगाली सम्मिलित अर्धसैनिक फौज थियो । बंगलादेशमा यो शब्द झन्डै ‘देशद्रोह’को समानार्थीका रूपमा प्रयोग गरिन्छ । प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिपछि आम आक्रोश झन् बढ्यो र पूरै सरकारतर्फ मोडियो । हसिनाको अभिव्यक्तिको भोलिपल्ट विद्यार्थीहरू ‘हामी सबै रजाकर्स’को नारामा उत्रिए । अवामी लिगको छात्र संगठनले देशद्रोहीलाई ठेगान लगाउने भन्दै प्रदर्शनकारीविरुद्ध बल प्रयोगको नीति लियो । आन्दोलनले अर्को दिनबाट उग्र रूप लियो । कोटाको खारेजीको सामान्य माग अब प्रधानमन्त्रीले विद्यार्थीको निधनका लागि माफी माग्नुपर्ने र सम्बद्ध मन्त्रीहरूको राजीनामासम्म विस्तार भयो । सरकारले आन्दोलनकारी माग सुन्ने भन्दा दमनको मार्ग अपनाएपछि अब विद्यार्थी आन्दोलन आम विरोधको रूपमा बदलियो । सरकारकै राजीनामाको माग उठ्न थाल्यो । सरकार भने दमनबाटै असन्तुष्टि दबाउन सकिने सोचका साथ कठोर बनिरह्यो । तर, अब पूरै देश आन्दोलित बनिसकेको थियो ।
हसिनाको १६ वर्षे शासनकालमा भएका सबै खराबीप्रतिको दमित असन्तुष्टि विस्फोट भएझैँ भयो । प्रदर्शनकारी अब हसिनाको राजीनामाबिना घर नफर्किने भन्न थाले । जुलाई २१ मा देशको सर्वोच्च अदालतको पुनरावेदन शाखाले सरकारी जागिरमा लागू भएका विभिन्न नामका ५६ प्रतिशत कोटालाई सात प्रतिशतमा झार्ने निर्णय गर्यो । यस निर्णयले आन्दोलनको समन्वय गरेको भेदभावविरोधी छात्र आन्दोलनले केही समयका लागि विरोध बन्द गर्ने निर्णय गर्यो । तर, सरकारको व्यवहारले रुष्ट जनता पुनः जुलाई २९ बाट विरोधमा उत्रिए । सरकारले सेनासमेत उतार्यो । तर, पनि आन्दोलन थामिएन । अन्ततः सेनाले हात उचालेपछि हसिना अगस्ट ५ मा सेनाकै हेलिकोप्टर चढेर भारत पुगिन् ।
बसर अल–असद, सिरिया
१३ वर्षदेखि विरोधीमाथि कठोर दमन गरेर सत्ता जोगाएको आरोप खेप्दै आएका सिरियाका पूर्वराष्ट्रपति बसर अल–असद अन्ततः १२ दिन लामो विद्रोहीहरूको अतिक्रमण थेग्न नसकी भाग्न बाध्य भए । नोभेम्बर २७ बाट इदलिबबाट अघि बढेको विद्रोही समूहले डिसेम्बर ८ मा राजधानी कब्जा गर्यो । ‘हयात तहरिर अल–साम (एचटिएस)’ले नेतृत्व गरेको यस सैन्य अभियानलाई अरू विभिन्न विद्रोही समूहले सघाएका थिए । विद्रोहीहरू एकपछि अर्को प्रमुख सहर कब्जा गर्दै अघि बढिरहँदा तिनले असदका सेनाबाट खासै प्रतिरोध सामना गरेनन् । डिसेम्बर ८ मा विद्रोहीहरू राजधानी दमास्कस पस्दा असद गुप्त रूपमा देश छाडेर भागिसकेका थिए । उनी आफ्नो परिवारसहित रुसको शरणमा पुगेको क्रेमलिनले पुष्टि गर्यो ।
सन् १९६३ मार्चमा बसर अल–असदका पिता हाफिज अल–असदसहितको सिरियाको बाथ पार्टीको सैन्य विभागले देशमा कु गरेर सत्ता कब्जा गर्यो । सिरियामा एकदलीय व्यवस्था कायम गरियो र विरोधीहरू कठोरतापूर्वक दबाइए । पार्टीको शासन स्थापित गरेर बाहिरका विरोधी दबाइएपछि हाफिजले ‘मिनी कु’ गर्दै भित्रका प्रतिद्वन्द्वीलाई समेत पाखा लगाए । पार्टीमाथि उनको पारिवारिक कब्जा कायम भयो । हाफिज विरोधीप्रति निकै कठोर हुन सक्ने नेता थिए । यो कुरा सन् १९८२ को हामा नरसंहारमा विश्वले देख्यो । सहरमा हाफिज र उनका शासनविरुद्ध विरोध उठ्यो । उनको सुरुवाती चेतावनीपछि विरोध बढ्दै गएपछि उनले सहरलाई नाकाबन्दी लगाएर विषालु रसायन आक्रमण गरे । आक्रमणमा विरोधी मात्र होइन, सहरमा बसोवास गर्ने आम नागरिकसमेत मारिए । २५ हजारदेखि ४० हजारबिच मानिसको ज्यान गयो । भनिन्छ, हाफिजले विरोधीविरुद्ध प्रयोग गर्न उन्नत रासायनिक हतियार उद्योग गठन गरेका थिए ।
हाफिजले सत्तामाथिको पकड कायम गर्न शीर्ष पदमा सकेसम्म परिवारको सदस्य राख्थे । त्यो नसके आफ्नो धार्मिक समुदायको मानिस भर्ती गर्थे । सुन्नीबहुल सिरियामा १० प्रतिशतजति हिस्सा भएको सिया सम्प्रदाय अलाविका सदस्य हाफिजले धमाधम सोही सम्प्रदायका मानिस शीर्ष पदमा आसिन गराए । भन्नलाई उनले आफ्नो शासनलाई समाजवादी र धर्मनिरपेक्ष भन्थे । तर, ७५ प्रतिशतभन्दा बढी जनसंख्या रहेका सुन्नीले आफूलाई राज्य शासनबाट बहिष्कार गरिएको मान्न थालेको थियो ।
हाफिजले आफ्नै सन्तानलाई उत्तराधिकारीसमेत तोकेका थिए । तथापि, बसार अल–असद उत्तराधिकारी रूपमा उनका पिता हाफिज अल–असदका पहिलो चयन थिएनन् । युवाकालमा राजनीतिमा खासै रुचि नभएका भनिएका बसर बेलायतमा बसेर चिकित्सा करिअर अपनाइरहेका थिए । तर, सन् १९९४ मा दाइ बासेलको कार दुर्घटनामा निधन भयो । हाफिज अल–असद आफ्नो घोषित उत्तराधिकारीको निधनको शोकमा डुबेका थिए । उनलाई बासेलको स्थान कसले लेला भन्ने चिन्ताले पनि सताउन थाल्यो । त्यसपछि बसर सिरिया बोलाइए । उनलाई देशको भावी नेताको रूपमा तयार गर्न थालियो । सन् २००० मा पिता हाफिजको निधनपछि सत्तामा आएका बसर पश्चिमका लागि रहस्य थिए । सुरुमा उनका केही कदमले देशमा परिवर्तनको आशासमेत पलाएको थियो । तर, आशा लामो समय टिकेन । बसर उनका पिताजत्तिकै कठोर र दमनकारी हुन सक्ने तथ्य बाहिरिँदै गयो । यो कुरा सन् २०११ मा देशमा आन्दोलन सुरु भयो । पछि झन् स्पष्ट भयो, जुन सत्ताको कठोर दमनका कारण गृहयुद्धमा बदलियो ।
झन्डै १४ वर्ष लामो सिरियी गृहयुद्ध निकै निर्मम रह्यो । अरबी क्षेत्रभर देखिएको अरब वसन्तको लहर सिरिया पुग्दा प्रारम्भमा यो शान्तिपूर्ण प्रदर्शनमा सीमित थियो । तर, सरकारले प्रदर्शनमाथि निर्मम दमन गरेपछि सशस्त्र युद्धको घोषणा हुन थाल्यो । देशभर दर्जनौँ विद्रोही समूह देखिए । विद्रोही समूहमा असदलाई हटाएर धर्मनिरपेक्षतावादी उदार प्रजातन्त्र स्थापना गर्नुपर्नेदेखि कट्टर सरिया कानुन लागू गर्नपर्ने इस्लामिकसम्म थिए । सिरियाको भूराजनीतिक अवस्थितिले कैयाैँ देश यस द्वन्द्वमा जोडिए । युद्धमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा कम्तीमा पनि ६ विदेशी सेनासमेत प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न थिए । युद्धमा भएको विशाल हताहती संख्याले पनि यो कति विकराल थियो भन्ने संकेत गर्छ । विभिन्न प्रक्षेपणले सिरियाको गृहयुद्धमा ६ लाखसम्म मारिएको देखाउँछन् । युद्धको विविषिकाबाट बच्न देशका झन्डै आधा जनसंख्या तिनको घरबार छाडेर देशभित्र वा बाहिर विस्थापित भए । गृहयुद्धका कारण दोस्रो विश्वयुद्धयताकै सबैभन्दा ठुलो शरणार्थी विस्थापन भएको संयुक्त राष्ट्र संघले बताएको छ ।
बसरको शासन त अन्त्य भएको छ । तर, उनीसँगै सिरियामा निरंकुशता पनि ढलेको भन्नेमा केहीले आशंका गरेका छन् । बसरलाई विस्थापित गर्न मुख्य भूमिका निभाएको विद्रोही समूह एचटिएसले पुनः दमनकारी शासन सुरु गर्ने हो कि भन्ने धेरैले चिन्ता गरेका छन् । एचटिएस इस्लामको कठोर व्याख्याअनुसार शासन चल्नुपर्छ भन्ने मान्ने समूह हो । यसका प्रमुख नेता अबु मोहम्मद अल–गोलनी विगतमा अलकायदासँग आबद्ध थिए ।
दमासकस कब्जा गर्नुअघि एचटिएसको आधार क्षेत्र रहेको इदलिबमा सरकार चलाउन एचटिएसले ‘नेसनल स्याल्भेसन गभर्मन्ट (एनएसजी)’ नामको नागरिक प्रशासन गठन गरेको थियो । एनएसजीले त्यहाँ सरिया कानुनअनुसार शासन चलाउँथ्यो । इदलिब सहरमाथि नियन्त्रण कायम गरेपछि एचटिएसले प्रतिस्पर्धी लडाकु समूहलाई दबाएको आलोचना हुने गर्छ । अब सम्पूर्ण देशमा शासन गर्दा एचटिएसमाथि सारा विश्वको नजर हुनेछ । उसले आफ्नो पुरानो प्रवृत्ति फेर्ला?
असरफ घानी, अफगानिस्तान
सन् २०२१ अगस्ट १५ मा अफगानिस्तानको राजधानी काबुलमाथि पुनः तालिबानले नियन्त्रण कायम गर्यो । केही दिनदेखि काबुललाई चारैतर्फबाट घेरेका तालिबान विद्रोही राजधानी पसेको खबर पाएपछि देशका राष्ट्रपति असरफ घानी देश छाडेर सुरक्षित स्थानमा भागिसकेका थिए । उनी कहाँ गए भने केही दिनसम्म पनि अनुमानको विषय बन्यो । सोही रात फेसबुकमा एक पोस्ट गर्दै घानीले ‘आफू रक्तपात नहोस् भन्ने उद्देश्यले देश छाड्न उपयुक्त भएको सोचेको’ बताए । घानीले त्यस पोस्टमा पनि आफू रहेको स्थान खुलाएनन् । अन्ततः तीन दिनपछि संयुक्त राज्य एमिरेट (युएई)ले घानी र उनको परिवार उनको देशको शरणमा रहेको स्विकार्यो । घानी परिवारलाई ‘मानवीय आधार’मा शरण दिएको युएईले दिएको जानकारीमा उल्लेख थियो ।
घानी भागेको केही समयपछि नै सामाजिक सञ्जालमा एउटा पुरानो पत्रिकाको कटिङ भाइरल हुन थाल्यो । लस एन्जलस टाइम्स उल्लेख भएको उक्त कटिङ सन् १९८९ फेब्रुअरी १५ को भएको इन्टरनेटका धुरन्धर विज्ञहरूले पत्ता लगाए । त्यही दिन दश वर्षदेखि अफगानिस्तान अतिक्रमण गरी बसेका सोभियत सैनिक स्वदेश फर्किएका थिए । सामाजिक सञ्जालमा भाइरल भएको पत्रिकाको हिस्सामा ‘सोभियत सैनिक फर्किएपछि तिनका कठपुतली सरकार पनि चाँडै ढल्ने निश्चित भएको’ भविष्यवाणी गरिएको थियो । तत्कालै नभए पनि लेखकको पूर्वानुमानअनुसार अफगानिस्तानको समाजवादी सरकार तीन वर्षपछि मुजाहिद्दिनबाट अपदस्थ भयो ।
रोचक सो लेखका लेखक थिए, त्यो समय अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयका मानवशास्त्रका सहप्राध्यापक रहेका असरफ घानी । ३१ वर्षअघि घानीमाथि पहिले आफैँ गरेको भविष्यवाणी लागू भएको थियो । यसपटक विदेशी शक्ति सोभियत संघको ठाउँमा अमेरिका नेतृत्वको नेटो गठबन्धन थियो ।
अमेरिकाको रक्षा मन्त्रालय पेन्टागन अफगान सेनाको तालिममा ठुलो धनराशी खर्च गर्दा पनि तिनले गुरिल्ला युद्ध लडिरहेका तालिबानको अतिक्रमण थेग्न सकेनन् । मेमा पश्चिमी सेना अफगानिस्तानबाट बाहिरिन थालेपछि तालिबानले सरकारी सेनाविरुद्ध युद्ध तीव्र बनाएका थिए । सुरुमा ग्रामीण क्षेत्रमाथि कब्जा जमाएका तालिबानलाई पूरै देशमाथि नियन्त्रण कायम गर्न तीन महिना पनि लागेन । अफगान राष्ट्रिय सेना ठाउँठाउँमा युद्धबिनै तालिबानसामु आत्मसमर्पण गरेको वा विद्रोहीहरू आउँदै छन् भन्ने खबर पाएपछि पहिले भागेका खबर आएका थिए ।
उच्च शिक्षाका लागि अमेरिका गएका घानी अध्ययन सकिएपछि उतै प्राज्ञिक कर्ममा लागे । ब्रिटानिकायको अनलाइन संस्करणअनुसार घानीले पिएचडी पूरा गरेपछि सात–आठ वर्ष अमेरिकाको जोन हप्किन्स युनिभर्सिटी पठाए । त्यसपछि उनी विश्व बैंकमा प्रमुख मानवशास्त्रीको रूपमा जोडिए र दश वर्षसम्म बैंकका लागि विभिन्न देशमा काम गरे ।
सन् २००१ मा अमेरिकाले अफगानिस्तानमाथि आक्रमण गरेर तालिबान शासन अन्त्य गरेपछि मात्र उनी देश फर्किए । त्यसपछि उनको राजनीतिक करिअर सुरु भयो । उनी नयाँ अन्तरिम सरकारमा वित्तमन्त्री बने । आठ वर्षपछि उनी राष्ट्रपति निर्वाचनका उम्मेदवारी दिइसकेका थिए । उक्त निर्वाचनमा हारेका घानी अर्कोपटकको निर्वाचनमा विजयी भए । सन् २०१४ मा अफगानिस्तानका राष्ट्रपति बनेका थिए ।
सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकाका विभिन्न स्थानमा भएको आतंकवादी आक्रमणको जिम्मा अलकायदाले लिएको थियो । पूरै अमेरिका बदला लिने मानसिकतामा थियो । अमेरिकी गुप्तचर निकायले अलकायदाका प्रमुख बिन लादेन अफगानिस्तानमा आश्रय लिइबसेको दाबी गरेपछि तालिबान सरकारमाथि दबाब सुरु भयो । अमेरिकाले तालिबानलाई लादेन आफूहरूलाई सुम्पिन अन्यथा आक्रमणको सामना गर्न चेतावनी दियो । तालिबानले लादेन आफ्नो भूमिमा नरहेको दाबीबिच अन्ततः अमेरिकाले अफगानिस्तानमा आक्रमण सुरु गर्यो । आक्रमणमा अमेरिकालाई नेटो गठबन्धनका सदस्य देशका सेनाको पनि सहयोग थियो ।
अक्टोबर सातदेखि सुरु भएको आक्रमणको दुई महिनाभित्रै काबुलको तालिबान सरकार ढल्यो । सरकार ढलेको भए पनि तालिबान समूह निर्मूल भएको थिएन । तालिबान समूह देशका कठोर पहाडी तथा ग्रामीण क्षेत्रतर्फ लाग्यो । उसले ती भेगबाट निरन्तर नयाँ स्थापित राज्य व्यवस्थामाथि आक्रमण गरिरह्यो । काबुलमा स्थापित पश्चिम समर्थित नयाँ व्यवस्थाको सम्पूर्ण देशमाथि कब्जा थिए । उनीहरू मुख्यतः सहरी भेगमाथि शासन गरिरहेका थिए । ग्रामीण तथा पहाडी क्षेत्रमा रहेर तालिबानले आफूलाई पुनः सशक्त बनाइरह्यो । अमेरिकामा दुई दशकभन्दा लामो समयदेखि चलिरहेको यस युद्धबाट (जहाँ यसलाई फरेभर वार भन्न थालिएको थियो) जसरी पनि बाहिरिनुपर्ने बहस तीव्र बनेको थियो । यसै सन्दर्भमा अमेरिकालाई विदेशी युद्धमा सरिक गराउने कदमविरुद्ध रहेका डोनाल्ड ट्रम्पले आफ्ना सेना फिर्तीको समयसीमा तोके । उनी आफूले तोकेको समयसीमामा सेना फिर्ता गराउन सत्तामा नरहे पनि त्यसलाई बाइडेनले रोक्न चाहेनन् । अन्ततः सन् २०२१ मे देखि अमेरिका र उसलाई सहयोग गर्न अफगानिस्तान रहेका नेटो गठबन्धन चरणबद्ध रूपमा अफगानिस्तानबाट बाहिरिन थाल्यो । त्यस समयदेखि तालिबानले उसका ग्रामीण आधार क्षेत्रबाट तीव्र रूपमा ठुला बस्ती, सहर हुँदै राजधानीसम्म कब्जा गर्ने अवस्थामा पुग्यो । अन्तिम अमेरिकी फौजले अफगान भूमि छाडेलगत्तै पश्चिम समर्थित अफगान सरकार तासको घरझैँ गल्र्यामगुर्लुम ढल्यो ।
सायद घानी उनी आफैँले भविष्यवाणी गरेको सरकार प्रमुखको नियति भोग्न चाहँदैनथे । सन् १९८९ मा सोभियत सेना अफगानिस्तानबाट बाहिरिएपछि तिनको बलमा सो इस्लामिक मुलुकमा कम्युनिस्ट शासन चलाइरहेको मुजाहिद्दिनबाट ठुलो प्रतिरोध सामना गर्यो । तीन वर्षपछि मुजाहिद्दिनले राजधानी कब्जा गर्दा पनि अन्तिम कम्युनिस्ट अफगान राष्ट्रपति मोहम्मद नजिबुल्ला देशमै थिए । उनलाई कट्टरपन्थी धार्मिक मुजाहिद्दिनका सदस्यले पक्रेर बिच सडकमा ट्राफिक लाइटमा झुन्ड्याएर मारेका थिए । अझ मार्नुअघि उनका गुप्तांगलगायत अंग काटेर उनलाई चरम यातना दिइएको थियो ।
महिन्दा राजपाक्षे, श्रीलंका
सन् २०१९ मा सम्पन्न श्रीलंकाली राष्ट्रपति निर्वाचन जित्दा गोटाबाया राजपाक्षे तीन वर्षभित्रै आम विद्रोहका कारण देश छाडेर भाग्न बाध्य हुनेछन् भनेर थोरैले मात्र सोचेका थिए होला । हुन पनि देशको शक्तिशाली राजनीति परिवारका ‘राजपाक्षे’का सदस्य थिए । उनका दाइ सन् २००५ देखि २०१५ बिच श्रीलंकाको राष्ट्रपति थिए भने गोटाबाया रक्षा मन्त्रालयका सचिव थिए । त्यही अवधिमा देशमा दशकौँदेखि चलिरहेको अल्पसंख्यक तामिलको सशस्त्र विद्रोहलाई निर्ममतापूर्वक दबाइएको थियो । राजपाक्षे देशको धार्मिक बहुसंख्यक ‘सिनहाला’माझ निकै लोकप्रिय थिए । यही लोकप्रियताको बलमा आखिर गोटाबायाले सन् २०१९ को निर्वाचन जितेका थिए । गोटाबाया राष्ट्रपति भएपछि प्रधानमन्त्री बने एक दशकसम्म राष्ट्रपति पदमा रहिसकेका गोटाबायाका दाइ महिन्दा राजपाक्षे ।
तर, तीन वर्षमै उनको लोकप्रियता पातालमा पुगेको थियो । हुन पनि सम्पूर्ण देश चरम आर्थिक संकटबाट गुज्रिरहँदा जनता शासकसँग पक्कै खुसी हुन सक्दैनन् । देशको खराब आर्थिक स्थितिको आम श्रीलंकालीले तत्कालीन राष्ट्रपति गोटाबाया राजपाक्षे र प्रधानमन्त्री महिन्दा राजपाक्षेलाई जिम्मेवार माने । देशमा वैदेशिक मुद्राको सञ्चिीत विदेशी ऋण तिर्न नपुग्ने अवस्थामा पुगेको थियो । यसले सरकार इन्धन र खाद्यान्नजस्ता अत्यावश्यक सामग्रीको आयातको मूल्य पनि तिर्न असमर्थ बनेको थियो । सन् २०२२ अप्रिलमा श्रीलंकाले स्वतन्त्रतापछि पहिलोपटक राज्य विदेशी ऋण तिर्न नसक्ने अवस्थामा पुगेको (टाट पल्टिएको) घोषणा गर्यो ।
अर्थतन्त्र तथा समाजका हरेक पक्ष प्रभावित हुन थाल्यो । श्रीलंकामा विद्युत् मुख्यतः खनिज इन्धनबाट उत्पादन हुने भएकाले लोडसेडिङ सुरु भयो, जुन लम्बिएर दैनिक १३ घन्टासम्म पुग्यो । आम श्रीलंकन नागरिकलाई खाद्यान्न, औषधिजस्ता दैनिक उपभोग्य सामग्रीसमेत पाउन धौधौ पर्न थाल्यो । पाउनेले पनि तिनका लागि उच्च मूल्य तिरिरहेका थिए । यसबिच सरकारविरुद्ध आमआक्रोश बढ्दै गयो, जुन सडकमा पनि पोखियो । प्रदर्शन बढ्दै गएपछि महिन्दा राजपाक्षेको मन्त्रिमण्डलका सदस्यले धमाधम राजीनामा दिन थाले । तर, महिन्दा राजपाक्षे भने प्रधानमन्त्री पदमा आसिन रहिरहे । प्रदर्शनमाथि दमन हुन थालेपछि त्यो झन् भड्कियो । कैयौँ ठाउँमा प्रदर्शन हिंसात्मक बन्यो । प्रदर्शन हिंसात्मक बन्नेपछि मेमा प्रधानमन्त्री पदबाट महिन्दा राजपाक्षेसमेत राजीनामा दिन बाध्य भए ।
दाइको राजीनामापछि पनि देशको सर्वोच्च पदमा रहेका गोटाबाया राजपाक्षे सत्ता छाड्ने पक्षमा देखिएनन् । प्रदशनकारी उनले सत्ता नछाडेसम्म सडक छाड्ने भन्दै आन्दोलन जारी राखे । सरकारले प्रदर्शन रोक्न संकटकाल लगायो । तर, त्यसले कुनै प्रभाव पारेन । सडकमा मानिसको भिड घटेन । देशको आर्थिक संकट राजनीतिक संकटमा बदलिसकेको थियो ।
समस्या २०२२ मा भयावह रूपमा सतहमा आएको थियो । तर, यसका लागि एक दशकदेखिका सरकारका गलत आर्थिक निर्णय जिम्मेवार रहेको विज्ञहरूको ठम्माइ थियो । संकटअघिका १७ वर्षमा पाँच वर्षबाहेक (जुन समय मैत्रीपाला सिरिसेना राष्ट्रपति थिए) राजपाक्षे दाजुभाइ श्रीलंकाको राष्ट्रपति रहेका थिए । त्यसैले संकटको सिर्जनामा तिनको भूमिका बढी रहेको मान्न थालियो । यति लामो समयसम्म शासन गरेका यिनले सरकारी शोधनान्तर घाटाको स्थितिलाई सच्याउन वास्ता गरेनन् । परिणाम सम्पूर्ण देशले भोगेको जनताको ठम्याइ थियो ।
महिन्दा राजपाक्षे राष्ट्रपति भएदेखि नै ठुलो ऋण लिए तत्काल आर्थिक प्रतिफल नदिने ठुल्ठुला पूर्वाधार बनाउने लहर चलेको थियो । फराकिला सडक, विशाल विमानस्थल तथा बन्दरगाह यसरी नै उपयोगिता बेवास्ता गरेर बनाइएका थिए । पछि सन् २०१९ को चुनाव गोटाबायाले आफ्ना मतदाता खुसी पार्न विनाअध्ययन करका दरमा भारी कटौती गरेका थिए । यसले संकटलाई तीव्र बनाउन सघायो । विज्ञहरूको चेतावनीलाई लोकप्रियतावादको घोडा चढेका राजपाक्षेहरूले सुने–नसुनेको गरिदिए । करको दरमा कटौतीले राजस्वमा उलेख्य ह्रास निम्त्याएको थियो । लगत्तै विश्वलाई कोभिड–१९ महामारीले घेर्यो । कोरोना महामारीको आगमनपछि श्रीलंकाको वैदेशिक मुद्राको प्रमुख स्रोत पर्यटन उद्योग र रेमिट्यान्समा नराम्ररी धक्का लाग्यो । महामारीको समयमा विश्वभर कठोर प्रतिबन्ध तथा लकडाउन लागेका आर्थिक क्रियाकलाप ठप्पप्रायः थियो । यस्तोमा विदेशमा काम गर्न गएका श्रीलंकाली श्रमिकहरू रोजगारविहीन हुँदा रेमिट्यान्ट रोकियो । यसले गर्दा श्रीलंकाको विदेशी मुद्राको सञ्चिति उलेख्य घट्न पुग्यो ।
सन् २०२१ मा अकस्मात रासायनिक मलमा प्रतिबन्ध लगाउने निर्णय ठुलो गल्ती साबित भयो । हठात लागू गरिएको यो निर्णयका कारण देशको कृषि क्षेत्र नराम्ररी प्रभावित भयो । देशको प्रमुख अन्नबाली धानलगायतको उत्पादन उल्लेख्य घट्यो । श्रीलंका खाद्यान्नमा पनि विदेशमा भर पर्नुपर्ने स्थितिमा पुग्यो । करको दर कटौती गर्दा आयमा भएको उलेख्य कमी, महामारीले पर्यटन र रेमिट्यान्सको आयमा धक्का पुर्याएपछि अन्तर्राष्ट्रिय रेटिङ एजेन्सीहरूले श्रीलंकाको हैसियत अवमूल्यन गरिदियो । नयाँ परिस्थितिमा श्रीलंकाले नयाँ ऋणलाई पुरानो ऋण तिर्न प्रयोग गर्ने जुन रणनीति अपनाएको थियो, त्यसमा गम्भीर धक्का लाग्यो । र, देश चरम आर्थिक संकटमा फस्यो । जनताको आक्रोशको चरम रूप जुलाई ९ मा देखियो, जब दसौँ हजार प्रदर्शनकारी श्रीलंकाको राष्ट्रपति भवन प्रवेश गरे । यस विशाल प्रदर्शनकारीको भेलले डराएर गोटाबाया राष्ट्रपति भवनको भूमिगत मार्ग हुँदै भागे । उनी इमेलमार्फत राजीनामा दिएर सिंगापुर भागे ।
अरब क्रान्तिबाट सत्ताच्युत हुनेहरू
- सन् २०११ मा ट्युनिसियाबाट अरब वसन्त (विद्रोह) सुरु भयो । अधिकांश अरबबहुल देशमा दशकौँदेखि तानाशाही शासकले शासन गरिरहेको पृष्ठभूमिमा छिटै आन्दोलन छिमेकी इजिप्ट हुँदै अन्य अरबी देशमा पनि फैलियो । यस आन्दोलनले एकपछि अर्का बुढा तानाशाही नेतालाई सत्ताच्युत गर्न सफल भएको थियो । खासमा असदविरुद्धको आन्दोलनको बिउ पनि त्यही वेला नै रोपिएको थियो । त्यसले फल अरू अरबी मुलुकको तुलनामा धेरै ढिलो १३ वर्षपछि फलेको हो ।
- सन् २०११ मा ट्युनिसियाका २२ वर्षदेखिका राष्ट्रपति जिने अल अबिदिने बेन अली अपदस्थ गरिए ।
- लगत्तै छिमेकी इजिप्टमा ३० वर्षदेखि निरंकुश शासन गरिरहेका होस्नी मुबारकले आन्दोलनका अघि घुँडा टेके ।
- सोही वर्ष अरब वसन्तको लहरमा परेर लिबियाका नेता मुअम्मर गद्दाफी सत्ताच्युत मात्र भएनन्, विद्रोहीको कब्जामा परेपछि मारिए । उनी सन् १९६९ देखि ४२ वर्षदेखि निरन्तर सत्तामा थिए ।
(एजेन्सीको सहयोगमा)