काफल किन पाकेन साहिँला ?

जीवन लामा जीवन लामा
शनिबार, २९ भदौ, २०८१
डिजिटल संस्करण

रुखै राताम्य बन्ने गरी
फल्थे काफलका झुण्डहरू
राता राता गेडा
फुत्त टिप्न 
झुन्डिन मन लागिरहन्थ्यो रुखहरूमा 
बसिरहन मन लागिरहन्थ्यो फेदमा ।

तर अहिले समय फेरियो साहिँला 
काफलका रुख चिन्नै गाह्रो भो
लटरम्मै फल्ने ऐंसेलुका झाङहरू पनि कता हराए कता ?
झुप्पा–झुप्पा फल्ने चोथ्रोका पोथ्रा पनि हराए साहिँला ?
एकहल गोरु चराउँदै
साहिँला दाइ भन्छन्
सधैँ भोक, प्यास मेटाउने काफल किन पाकेन 
काफल पाक्यो, काफल पाक्यो भन्दै खबर दिने
चरी नै कता हरायो ।

साहिँलीको शिरमा सिउरिने
रंगीबिरङ्गी लालीगुराँस र सुनाखरी
पर्खिंदै महिनौँ, वर्षौं बिते
गोठाला निकै निरासिँदै
सोध्छन्–
फूलहरू किन फुलेनन् साहिँला ?

हिउँले चुलिएका शैलुङ, चेर्दुङडाँडा
दिनदहाडै नांगिँदै होचिएका छन्
सेताम्मे ती डाँडाकाँडाहरू
चौंरीका जुरोमा फुस्स हिउँ झर्दा
हिउँ बिलायो हो साहिँला ?

घाँसको भारी चौतारीमा बिसाउँदै
पसिना पुस्छन्
खुइय सास फेर्छन् र
अञ्जुलीभरि कुवाको पानी भर्दै
घटघट पिएको सम्झिन्छन्
तर, अहिले न कुवा छ, न ढुंगेधारा नै ?

सम्पादकहरूको रोजाइ

ती त मरिरहेछन्

६ वर्ष अघि

म माधवी

७ वर्ष अघि

फिसफ्राई

६ वर्ष अघि

सुझावित समाचार