कथा : पाहुनाले थिचिएको डेरा

मुना चौधरी मुना चौधरी
शुक्रबार, १ चैत, २०७५
डिजिटल संस्करण

पिपीऽऽऽ गाडीको हर्नले मेरो निद्रा खुल्यो । कोठाबाट घाम छिरिसकेको थियो । त्यही उज्यालोमा ऐतेसाको निद्रा खुल्यो । उसले पिठ्युँ फर्काएर सुतिरहेको सहर्ष देखी । आफ्नो श्रीमान् आफूतिर नफर्किएर सुतेको देखेर निराश भई ऐतेसा ।ऐतेसा केही बोलिन । अनुहार खुम्च्याई । उसको मन भारी भयो । उसले सहर्षलाई बोलाउन उचित ठानिन । 

ऊ चुप लागेर ओछ्यानबाट उठी । राति सुत्ने वेलामा दुवै लोग्नेस्वास्नीबीच भनाभन परेको थियो । ऐतेसा झर्केर बोलेकी थिई । सहर्षले पनि ऐतेसालाई रिसाएर जवाफ फर्काएको थियो, ‘बर्ता नबोल है ।’ उनीहरूको घरमा पाहुनाको कमी कहिले हुँदैनथ्यो । पाहुनाहरूको कारणले दुवै लोग्नेस्वास्नीबीच सानोतिनो कुरामा मनमुटाव र झगडा भइरहन्थ्यो । सहर्षको काकाका छोराछोरी, ठुलोबुबाका छोराहरू, आमाबुबा, भान्जाभान्जी, बहिनीज्वाइँ, दिदीभिनाजु  मामामाइजू, ठुलोबुबा र काका अफिसको काम परेर काठमाडौं आइरहन्थे । 

सहर्षका दुईजना र ऐतेसाको एकजना भाइ गरी जम्मा तीनजना केटाहरू उनीहरूसँगै बसेर कलेज पढिरहेका थिए । सहर्षको मात्र होइन, ऐतेसाका पनि फुपू, आमाबुबा, मामामाइजू, काकाकाकी र तिनका छोराछोरीहरू काम पर्दा काठमाडौं आइरहन्थे । 

ऐतेसा बैंकको जागिरे हो भने सहर्ष नापी शाखाको सुब्बा । दुवैजनाको दिनचर्या व्यस्त तरिकाले बितिरहेको थियो । त्यस्तो व्यस्त जीवनमा पनि घरमा भने कोही न कोही पाहुना आइनै रहन्थे । त्यसमाथि तीनजना पढ्ने केटाहरूको जमात छँदै थियो । 

उनीहरू जेठा छोरा–बुहारी थिए । घरको सबै जिम्मेवारी सहर्षको काँधमा थियो । उनीहरू काठमाडौंमा दुईओटा कोठा र एउटा किचेन भएको फ्ल्याट लिएर बसेका थिए । एउटा कोठामा सहर्ष बस्थ्यो भने अर्को कोठामा तीनैजना केटा बस्थे । दुवै लोग्नेस्वास्नी जागिरे छन् भन्ने हल्ला गाउँभरि थियो । उनीहरूकहाँ बस्ने ठाउँ छ भनेर काठमाडौं कामले आएका आफन्तहरू उनीहरूकहाँ बस्न आउँथे । 

उसको मानसिक तनाव झन् बढ्यो । घरमा महिनाभरि पाहुनाको भिड, राति सुत्ने वेलामा स्वास्नीसँग मनमुटाव, अफिसमा हाकिमको गाली खानुपर्ने बाध्यताले ऊ शारीरिक र मानसिक रूपमा थकित भयो ।

सहर्षलाई गाउँभरिका मान्छेहरूले सुब्बा साहेब भनेर प्रशंसा गर्थे । आफ्नो प्रशंसा सुनेर उसको छाती गर्वले नाङ्लो जत्रो हुन्थ्यो । गाउँभरिमा दुवै लोग्नेस्वास्नीको ठूलो इज्जत थियो । गाउँभरिका मान्छेले भन्ने गर्थे– छोराबुहारी हुन् त सहर्ष र ऐतेसा जस्ता । 

उनीहरू दुवै लोग्नेस्वास्नी सोझा थिए । आफूकहाँ बस्न आउने पाहुनालाई यहाँ बस्ने ठाउँ छैन भन्न सक्दैनथे । नाइँ भन्न नसक्नुको परिणाम उनीहरू दुःख र हैरानी व्यहोर्थे तर आपसमा झगडा पथ्र्यो । 

कोही न कोही आइरहन्थे । कोठा कत्ति खाली हुन पाउँदैनथ्यो ।  सानो किचेन थियो । किचेनमा जबर्जस्ती कोची–कोची खाट लगाइएको थियो । पाहुना आएका वेला किचेनको खाटमा पाहुनालाई सुत्न दिइन्थ्यो । एकजना पाहुना आएका वेला ठिकै हुन्थ्यो । दुईजनाभन्दा बढी पाहुना आएको दिन भाइ सुत्ने कोठामा भुइँमा ओछ्यान लगाएर सुत्न दिन्थ्यो । नभए केटाहरूकै खाटमा कोची–कोची सुत्थे पाहुनाहरू । पाहुनाहरू आएका वेला केटाहरूलाई पढाइमा अवरोध सिर्जना हुन्थ्यो । केटाहरू पाहुनालाई देखेर मनमनै रिसाउँथे, तर खुलेर केही भन्न सक्दैनथे । 

सुबोध थियो पाहुना । सहर्षको भान्जा । मामा र भान्जाबीच खुबै हाँसोठट्टा हुन्थ्यो । सहर्ष र ऐतेसाबीच केही विवाद प¥यो भने सहर्षको पक्ष लिन्थ्यो सुबोधले । त्यतिखेर ऐतेसाको चित्त दुख्थ्यो, तैपनि केही बोल्दिनथी ऊ । सुबोध दिनभरि घरमा बसिरहन्थ्यो । घरमा फोन गर्नुपर्यो भने सुबोध सहर्ष वा ऐतेसाको मेबाइलबाट फोन गथ्र्यो । ऐतेसा सहर्षभन्दा चाँडै अफिस जानुपर्ने भएकाले उसले चाँडै खाना खान्थी । भान्जा सुबोधलाई पनि खाना खान भन्थी, त्यतिखेर सुबोधले भन्थ्यो, ‘म हजुरजस्तो होइन नि माइजू, मामाभन्दा अगाडि खाना खाने । म मामालाई कुर्छु ।’ ‘कति न मामाको चम्चे’ मनमनै भन्दै ऐतेसा आफ्नो अनुहार कालोनिलो पार्थी । बिहानै उठेर दुवै मामाभान्जा मर्निङ वाक जान्थे । बिहानै उठेर नुवाइधुवाइ सकाएर एक्लै खाना पकाउन ऐतेसालाई भ्याई–नभ्याई हुन्थ्यो । 

ऊ भ्याई–नभ्याई सबैका लागि खाना पकाउँथी । ऊ अफिस जाने वेलामा दुवै मामाभान्जा लखरलखर हिँड्दै मर्निङ वाकबाट आइपुग्थे । आफूलाई खाना पकाउन नसघाएको देखेर रिसले ऐतेसाको अनुहार कालो हुन्थ्यो । उनीहरूसँग नबोली ऊ अफिस हिँड्थी । त्यतिवेला पनि सुबोधले बीचमा प्याच्च बोलिहाल्थ्यो, माइजू रिसाउनुभयो कि क्या हो ? एक महिना भइसकेको थियो । घरबाट सुबोधकी स्वास्नीले सधैँ फोन गर्थी । त्यतिवेला उसले स्वास्नीको फोन काटेर सहर्षको मोबाइलबाट घरमा फोन गथ्र्यो । स्वास्नीसँग घन्टौँ कुरा गथ्र्यो । सहर्षलाई पनि दिक्क लाग्थ्यो, तर ऊ केही भन्न सक्दैनथ्यो। 

उनीहरूको कुरा सुनेर राति ऐतेसाले सहर्षसँग भनी– ‘भान्जाबाबुलाई घर पठाइदिए हुन्न । घरमा बुहारी के–के झेल्दै बसेकी छे । योचाहिँ यहाँ मोज गरेर बसेको छ ।’ यति मात्र के भनेकी थिई, उताबाट सहर्षले भन्यो, ‘मेरो भान्जा तँलाई भारी लाग्यो ? आफ्नी बैनी एक–एक महिनासम्म बस्दा केही नभन्ने । भान्जालाई समस्या पर्दा तैंले यस्तो भन्ने ?’ सल्लाह गर्न खोजे पनि अफिस र घरको कामको बोझले उसको कुरा सुनेर ऐतेसाले झर्किंदै भनी, ‘हो, मलाई भारी लाग्यो तपाईंको भान्जा । अरूको ऋण लिएर भूमिगत हुनु राम्रो होइन । त्यो अपराध हो र त्यस्तो अपराधीलाई लुक्ने ठाउँ दिने तपाईं झन् महाअपराधी हो, बुझ्नुभो ।’‘धेरै नकरा । जहिले कचकच गर्छेस् । जहिले ठुस्स परेकी हुन्छेस् । राम्ररी कहिले बोल्दिनस्,’ सहर्षको कुरा सुनेर ऐतेसा मौन रही ।

‘भोलिदेखि यो घरमा कि तपाईंको भान्जा बस्छ कि म बस्छु,’ केही दिनपछि ऐतेसाको कुरा सुनेर सहर्षले भन्यो, ‘तँलाई बस्ने मन छ भने यो घरमा बस् । बस्ने मन छैन भने जहाँ जान मन लाग्छ जा ।’सहर्षले यति मात्र के भनेको थियो, ऐतेसा सहर्षतिर पिठ्युँ फर्काएर खाटमा पल्टी । सहर्ष पनि ऐतेसातिर पिठ्युँ फर्काएर पल्टियो । दुवैजना एकअर्कासँग रिसाइरहेका थिए । एकअर्कामाथि दोष थुपारिरहेका थिए । कोठा अँध्यारो थियो । सुनसान कोठामा भित्ते घडीको सियो घुमेको प्रस्ट सुनिन्थ्यो । दुवैजना एकअर्काको अनुहार नहेर्ने गरी रिसाएका थिए । जति रिस उठे पनि दिनभरिको थकाइले उनीहरू एकअर्कासँग नबोलीकन निदाए । अफिसबाट फर्केपछि ऐतेसाले सुबोधलाई भनी, ‘भान्जाबाबु, दिनभरि घरमै बस्नुभन्दा काम खोजेर काम गरेको भए राम्रो हुन्थ्यो । पैसा पनि आउँथ्यो । पैसा जम्मा गरेर ऋण तिर्दा पनि हुन्थ्यो ।’

ऐतेसाको कुरा सुनेर उसले ठूलो स्वरमा भन्यो, ‘कुन काम गर्न जाने माइजू ? काम कहाँ पाइन्छ ?’ उसको कुरा सुनेर ऐतेसाले नम्र स्वरमा भनी, ‘नेटमा कति विज्ञापन आइरहेको हुन्छ । त्यहीँबाट विज्ञापन हेरेर काम खोजे हुन्छ नि ।’ ऐतेसाको कुरा सुनेर उसले भन्यो, ‘नेटमा कुन काम खोज्नु माइजू ? त्यही मार्केटिङ त होला नि । म गर्दिनँ त्यस्तो काम । तपाईं नै जानुु मर्केटिङ गर्न । मैले मामाको कमाइ खाएको हुँ, तपाईंको होइन ।’उसको कुरा सुनेर ऐतेसाको चित दुख्यो । व्यर्थमा बोलेर मुख दुखाएजस्तै लाग्यो उसलाई । उसको अनुहार रातोनिलो भयो । ऊ त्यहाँबाट उठेर किचेनतिर गई । बेलुकी खाना खाने वेलामा सबैजना सँगै खाना खान बसे । ऐतेसा उदास थिई । मनमनै भान्जादेखि उसलाई रिस उठिरहेको थियो । सहर्ष पनि ऐतेसासँग बोलेको थिएन, तर भाइ र भान्जाका अगाडि दुवै लोग्नेस्वास्नी हाँसेर बोल्थे ।  घरमा भान्जा सुबोध र सहर्षको कारणले ऐतेसाले एक हप्ताभित्रमा तीन–चार दिन क्यान्टिनमै खाना खाई । 

आज पनि खाना नपकाई अफिस हिँडी । खाना पाकेको थिएन । सहर्ष अलमल्लमा प¥यो । सबैका अगाडि सहर्षले ऐतेसासँगको मनमुटाव लुकाउने प्रयास गर्दै मुसुक्क हाँस्दै भान्जालाई भन्यो, ‘आज तेरो माइजूको अफिसमा मिटिङ थियो । त्यसैले ऊ चाँडै हिँडी ।’यति बोलेर सहर्ष आफैँ खाना पकाउन थाल्यो । छ–सातजनाको खाना पकाउँदा उसलाई ढिलो भयो । खाना खाएर अफिस गयो । अफिस ढिलो पुग्यो । अफिस ढिलो पुगेकाले हाकिमबाट गाली खायो । स्वास्नीसँग ठाकठुक परेर एक हप्तादेखि मानसिक रूपमा ऊ ठीक थिएन ।  उसको मानसिक तनाव झन् बढ्यो । घरमा महिनाभरि पाहुनाको भिड, राति सुत्ने वेलामा स्वास्नीसँग मनमुटाव, अफिसमा हाकिमको गाली खानुपर्ने बाध्यताले ऊ शारीरिक र मानसिक रूपमा थकित भयो । उसलाई केही गर्न मन लागेन । यो संसारबाट धेरै टाढा गइदिऊँ जस्तो लाग्यो । यो संसार नै उसलाई बिरानो लाग्यो । जुन वस्तुतिर हेर्यो, त्यही वस्तुदेखि रिस उठ्थ्यो उसलाई । चार बजे ऊ अफिसबाट निस्कियो । उसको मन शान्त थिएन । उसलाई घर जान मन लागेन । उसलाई घर जान एउटा बोझ बोकेजस्तै गाह्रो लाग्यो । स्वास्नीको अनुहार पनि सम्झिन चाहेन उसले । दिनदिनै हुने लोग्नेस्वास्नीबीचको कलहले ऊ थाकिसकेको थियो । 

ऊ हिँड्दै पशुपतितिर गयो । मन्दिर पनि जान मन लागेन । उसलाई भगवान्देखि पनि रिस उठ्यो । ऊ मन्दिरको छेउको डाँडामा बस्यो । हातमा अफिसको कालो झोला बोकिरहेको थियो । ऊ आफ्नै धुनमा थियो । उसको वरिपरि को–को थिए र के भइरहेको थियो, उसलाई केही चासो थिएन । शारीरिक र मानसिक थकाइले ऊ विरक्तिएको थियो । उसको हातबाट बाँदरले झोला झम्टियो । झोला झम्टेपछि उसले सम्झियो, त्यो झोलाभित्र अफिसको महत्वपूर्ण कागज छ । बाँदरले झम्टेको झोला खोस्न ऊ दौड्यो । बाँदरको हातबाट उसले झोला खोस्यो ।  बाँदर रिसाएर उसको काँधमा बसेर उसको गालामा एक झापड हान्यो । उसको आँखा तिरिमिरी भयो तैपनि उसले झोला हातमा च्यापिरह्यो । बाँदरले उसको हातमा भएको झोला खोस्न खोज्यो तर सकेन । उसले बेस्सरी झोला समातेको थियो । बाँदरको झम्टाइले उसको कमिजको बाहुला च्यातियो । बाँदर भुइँमा पछारियो । उसको छेउमा भएका मान्छेहरू पनि बाँदरको झम्टाइ देखेर त्यहाँबाट भागे ।

बाँदरबाट बच्न ऊ हतार–हतार हिँड्न थाल्यो । बाँदर आउँदै छ कि भनेर ऊ पटक–पटक पछाडितिर फर्केर हेर्दै पाइला अगाडि सार्दै थियो । उसलाई कुनै पनि ठाउँ शान्तले बस्न सक्ने जस्तो लागेन । घरमा स्वास्नीको कचकच र पाहुनाहरूकको लर्कोले ऊ विरक्तिएको थियो । यो संसार नै उसलाई अभिशापजस्तै लाग्यो । कहाँ जाऊँ, के गरूँ लाग्यो उसलाई । अन्तिममा ऊ घरकै बाटो लाग्यो ।झट्ट हेर्दा ऊ पागलजस्तै देखियो । अबेर राति घरतिर गयो । 

राति सुत्ने वेलामा ऐतेसा सहर्षतिर पिठ्युँ फर्काएर पल्टी । मानसिक थकाइले सहर्ष खाटमा पल्टिरहेको थियो । केही समयपछि ऊ निदायो ।  घरमा आमा बिरामी परेकीले सुबोध बिहानै घर फर्कियो । सहर्ष बिहानको खाना खायो अनि अफिस गयो । बेलुकी अफिसबाट घर पर्कियो । घर फर्किंदा घरको ढोको खुला थियो झमक्क साँझ परिसकेको थियो । घर सुनसान थियो । खाना पकाएर खाना खान ऐतेसा सहर्षलाई कुरिरहेकी थिई । 

सहर्ष मानसिक तनावले पहिलाको भन्दा दुब्लाइसकेको थियो । ऐतेसाले सहर्षतिर पुलुक्क हेरी । सहर्षको अनुहार हेरेर उसलाई माया लाग्यो । उसले सहर्षको अनुहार निर्दोष देखी । कति दिनदेखि उसले सहर्षको अनुहारतिर हेरेकी थिइन । उसको अनुहार उदास थियो । उसको उदास अनुहार हेरेर ऐतेसा पश्चात्तापमा परी । 

सम्पादकहरूको रोजाइ

ती त मरिरहेछन्

६ वर्ष अघि

म माधवी

७ वर्ष अघि

फिसफ्राई

६ वर्ष अघि

सुझावित समाचार