बैंकको जागिर छाडेर ‘कृष्ण पाउरोटी’ सम्हाल्दै नातिनीहरू

शान्ति तामाङ शान्ति तामाङ
शनिबार, २५ चैत, २०७९
डिजिटल संस्करण

काठमाडौंको कमलपोखरी र कृष्ण पाउरोटी पर्याय हो भन्दा फरक नपर्ला । किनभने कमलपोखरीसँगै जोडिए आउने अर्को नाम हो कृष्ण पाउरोटी । राणा शासन अस्ताउन लाग्दा वि.सं. २००५ सालमै कृष्णबहादुर राजकर्णिकारले ‘कृष्ण पाउरोटी भण्डार’ नेपाल भित्र्याएका थिए । ७५ वर्षको इतिहास बोकेको कृष्ण पाउरोटीले राणा शासन, पञ्चायत, बहुदल र गणतन्त्रसम्म देख्यो । बदलिँदो समयको साक्षी बनेको कृष्ण पाउरोटी अहिले कृष्णबहादुरका नातिनीहरू प्रज्ञा, सृष्टि र पूजा राजकर्णिकारले हाँकिरहेका छन् । 


कृष्णबहादुरले ७५ वर्षअघि सुरु गरेको कृष्ण पाउरोटी भण्डारको जिम्मा अहिले उनका कान्छा छोरा घनश्याम राजकर्णिकारको पाँचमध्ये तीन छोरीहरूको काँधमा आएको छ । बैंकिङ करियरलाई चटक्कै छोडेर तीन दिदीबहिनीले पुस्तैनी व्यवसाय धान्न थालेका छन् । प्रज्ञा ‘इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स’मा शाखा प्रमुख थिइन् । ‘ग्लोबल आइएमई बैंक’मा अधिकृत थिइन् सृष्टि । त्यस्तै पूजा तत्कालीन ‘सिभिल बैंक’मा अधिकृतस्तरको जिम्मेवारीमा थिइन् । अहिले तिनैजनाले जागिर छाडेर हजुरबुबाले स्थापना गरेको कृष्ण पाउरोटीलाई अगाडि बढाउन लागिपरेका छन् । छोरीहरूले सम्हाल्नुअघि कृष्णबहादुरका छोरा घनश्यामले कृष्ण पाउरोटी सम्हालिरहेका थिए । छोरीहरूले सम्हालिसकेपछि अहिले ६ ठाउँमा यसका शाखाहरू विस्तार भएका छन् । कमलपोखरीमा दुई र ललितपुरका चार ठाउँ(भैंसेपाटी, हात्तीवन, इमाडोल, खुमलटार)मा कृष्ण पाउरोटी भण्डारको शाखा विस्तार भएको छ । 


यी तीन दिदीबहिनी कसैको दबाबमा पुस्तैनी व्यवसाय सम्हाल्न फर्किएका भने होइनन् । जागिरे जीवनकै रमाइरहेका वेला सबैभन्दा पहिला सृष्टि, प्रज्ञा हुँदै चार वर्षअघि मात्र पूजा कृष्ण पाउरोटी भण्डारसँग जोडिएकी हुन् । हामीले भेट्नेबित्तिकै सोध्यौँ, ‘आकर्षक सुविधासहितको जागिरे जीवन छोडेर पुस्तैनी व्यवसायतर्फ किन मोडिनुभयो ?’ तीनैजनाको सरल जवाफ थियो, ‘बुबापछि को भन्ने भयो । त्यसैले आफ्नै व्यवसायलाई अगाडि लैजाऔँ भनेर हामी फर्कियौँ ।’ 


तीन दिदीबहिनीमध्ये सबैभन्दा पहिला सृष्टि पुस्तैनी व्यवसायमा फर्किएकी थिइन् । अमेरिकामा एमबिए अध्ययनपश्चात् सृष्टिले बैंक अफ अमेरिकामा एक वर्ष कामसमेत गरिन् । त्यसपछि नेपाल फर्किएकी उनले ग्लोबल आइएमई बैंकमा तीन वर्ष काम गरेपछि कृष्ण पाउरोटीमै आबद्ध भइन् । ‘बुबाले पहिला कहिले पनि पढिसकेपछि आफ्नै व्यवसायमा आउनुपर्छ भन्नुभएन । तिमीहरू जे गर्नु छ गर भनेकोले सजिलो पनि भयो । बुबाले दबाब दिनुभएको भए हामीले दबाबमा काम गर्नुपथ्र्याे । हाम्रो इच्छा हुन पनि सक्थ्यो, नहुन पनि । अहिले हामी आफ्नै इच्छाले यो काममा फर्किएका हौँ,’ सृष्टिले भनिन् । करिब १२ वर्षदेखि उनी पुस्तैनी व्यवसायमा रमाइरहेकी छिन् ।

समाजमा अघिल्लो पुस्ताको विरासत धान्ने काम पुरुषको मात्रै हो भने जसरी व्याख्या गरिन्छ । तर, तीन दिदीबहिनी समाजको यो गलत भाष्यलाई चिर्न सफल भएका छन् । तीनैजना विवाहित र आमा, उनीहरूले घरसँगै व्यवसाय पनि सफलतापूर्वक सञ्चालन गरिरहेका छन् ।


१३ वर्ष बैंकिङ क्षेत्रमा बिताएकी प्रज्ञालाई सुरुदेखि नै आफ्नो खुट्टामा उभिन मन थियो । त्यसैले भारतको पुनेबाट व्यवस्थापनमा स्नातक गरेर फर्केपछि बैंकमै काम गरिन् र अनुभवले खारिएपछि कृष्ण पाउरोटीलाई अगाडि बढाउन लागिन् । ‘मलाई पढिसकेपछि पहिला आफ्नो खुट्टामा आफैँ उभिन्छु भन्ने थियो । पढेर आएर बुबाको अन्डरमा काम गरिहाल्न मन थिएन । म केही गरेर देखाउँछु । त्यसपछि हेरौँ भन्ने थियो । त्यसपछि म बैंकिङ क्षेत्रमा लागेँ । १३ वर्ष काम पनि गरेँ,’ प्रज्ञाले भनिन्, ‘बुबाले कृष्ण पाउरोटीमा म पछि को भन्नुभयो ? बैंकिङ क्षेत्रमा बटुलेको अनुभवले पनि आत्मबल बढायो । त्यसपछि बैंकिङ क्षेत्र छोडेर यता आएँ ।’ 


चार वर्षअघि मात्र कृष्ण पाउरोटीमा प्रवेश गरेकी पूजा आफ्नै क्षेत्रमा रमाइरहेकी थिइन् । थाइल्यान्डबाट मास्टर इन टेक्नोलोजी म्यानेजमेन्ट पढेर फर्केपछि पढाइअनुसार नै काम गर्न थालेकी थिइन् । उनी बैंकमा काम गरिरहँदा दुई दिदीले कृष्ण पाउरोटी धानिरहेका थिए । त्यही वेला बुबा घनश्यामले उनलाई भने, ‘तलब थाप्ने होइन, तलब दिने काम गर ।’ यसपछि उनी पनि अरू दुईदिदीजस्तै कृष्ण पाउरोटीमा आबद्ध हुन पुगिन् । ‘बैंकिङ क्षेत्रमा टेक्नोलोजी डिपार्टमा मेरो काम थियो । त्यहाँ म इन्जोय गरिरहेकै थिएँ,’ उनले भनिन्, ‘बुबाले पारिवारिक व्यवसाय तिमीहरूले नै हेर्ने हो । त्यसैले किन आफ्नै व्यवसायतर्फ नआउने भन्नुभयो । त्यसपछि म पारिवारिक व्यवसायलाई निरन्तरता दिनुपर्छ भन्ने लागेर यता आएँ ।’


भएको राम्रो जागिर चटक्क छोडेर आएका उनीहरूलाई सुरुमा पुस्तैनी व्यवसाय अगाडि बढाउन कठिनै भयो । आफ्नो बुबाले अगाडि बढाइरहेको व्यवसाय घाटामा थियो । व्यवसायमा कुनै प्रणाली थिएन । पुरानै तरिकाबाट व्यवसाय अघि बढिरहेको थियो । कर्मचारीको मनोमानी थियो । भद्रगोल थियो व्यवसाय । उनीहरूका अनुसार व्यवसाय शून्यबाट सुरु भएको थियो । ‘सिस्टम थिएन । सामान कति आयो ? कति गयो ? को मान्छेले कति पैसा लग्यो नो रेकर्ड । जे थियो, बुबाको दिमागमा अटेको मात्र थियो,’ प्रज्ञाले भनिन्, ‘हामीले शून्यबाट बुबाको व्यवसाय सुरु गर्यौँ । पहिला सिस्टम बसाल्यौं । सिस्टम त बसाल्यौँ । तर, कसैलाई त्यसको बानी थिएन ।’ उनीहरूका अनुसार तीन दिदीबहिनी आएपछि आफ्नै तरिकाले काम गरिरहेका कतिपय कर्मचारीले जागिर छाडे । संस्थामा प्रणाली बसेपछि त्यसमा रमाउन सक्ने मात्रै बसे । व्यवसायलाई कम्युटराइज गरे । गुणस्तरलाई पहिलो प्राथमिकतामा राखे । 


त्यसपछि उनीहरू शाखा विस्तारमा लागे । १० वर्षअघि बस्ती नै नभएको भैंसेपाटीमा शाखा विस्तार गर्दा बुबालाई सम्झाउनै कठिन भएको थियो । तर, छोरीहरूको लगनशीलताका कारण व्यवसाय एक वर्षमै फस्टायो । नाफाको ग्राफ बढ्न थाल्यो । ‘भैंसेपाटीमा शाखा खोल्दा बुबा एकदमै हिच्किचाउनु भएको थियो । कमलपोखरीमा सेन्टरमा पसल चलाइरहेको मान्छेलाई भैंसेपाटीको गाउँजस्तोमा खोलेर के फाइदा हुन्छ होला भन्ने उहाँलाई लागेको थियो । एक वर्षसम्म त्यहाँको आम्दानी हेर्नुभयो । वर्ष दिनमै फाइदा हुन थाल्यो । त्यसपछि छोरीहरूले भनेको ठिक रहेछ भन्ने भयो,’ प्रज्ञाले भनिन्, ‘उहाँलाई प्राइम लोकेसन न्युरोडमा मात्र व्यवसाय राम्रो हुन्छ जस्तो लागेको थियो । हामी उहाँले भनेकोभन्दा फरक तरिकाबाट गयौँ । राम्रो गर्यौँ ।’


त्यसरी सुरु भएको कृष्ण पाउरोटीले अहिले गुणस्तरलाई ध्यान दिन्छ नै । परिकारको संख्या पनि बढाएका छन् । सुरुमा कृष्णबहादुरले १२–१४ वटा पाउरोटी बनाएर काम सुरु गरेका थिए । घनश्यामले त्यसमा केही परिकार थपे । अहिले प्रज्ञा, सृष्टि र पूजाको टिमले केक, पेस्ट्री, कुकिज, बर्थ डे केकजस्ता आधुनिक बेकरीको परिकार पनि थपेका छन् । अहिले परिकार बनाउने सामग्रीसमेत हेरफेर गरेका छन् । जसले गुणस्तर कायम गर्न सहज बनाएको छ । ‘सुरुमा हामी आउँदा मैदाको उत्पादन थियो । गुणस्तरलाई त्यति ध्यान दिनुभएको थिएन । हामी आइसकेपछि गुणस्तरलाई प्राथमिकतामा राख्न थाल्यौँ । मकै, आटा, फापर, कोदोको सामान बनाउन थाल्यौँ,’ सृष्टिले भनिन्, ‘पहिला मानिसहरू स्वास्थ्यमा त्यति सचेत थिएनन् । अहिले एकदमै सचेत छन् । त्यसैले हामीले पनि सोहीअनुसारका परिकारहरू बनाउन थालेका छौँ ।’


६ वटा शाखालाई अझै विस्तार गर्न उनीहरू लागि परेका छन् । तर, अर्थतन्त्रमा आएको गिरावट, पाउरोटीको निश्चित मूल्य निर्धारण नहुनेलगायत कारण उनीहरूले कुनै निर्णय गर्न सकेका छैनन् । ‘उपत्यकाबाहिर जानका लागि वर्कआउट भइरहेको छ । तर, अर्थतन्त्र डाउन छ । अहिले गाह्रै छ । कच्चापदार्थको भाउ बढेको बढ्यै छ । सरकारले बेकरी परिकारको गुणस्तरअनुसार मूल्य निर्धारण गरिदिए सजिलो हुन्थ्यो,’ प्रज्ञाले भनिन् । उनीहरूका अनुसार चिनी, अन्डा, दूधजस्ता कच्चापदार्थको मूल्यवृद्धि भइरहेको छ, त्यसैले सरकारले पाउरोटीको पनि उचित मूल्य निर्धारण गर्नुपर्छ । 


हाल पूजा कृष्ण पाउरोटी भण्डारको सोसल मिडिया र सफ्टवेरका काम हेर्छिन् । सृष्टिले भुक्तानीसँगै सामान के आयो, के गयोजस्ता पक्ष हेर्छिन् । प्रज्ञाले उत्पादन क्षेत्र हेर्छिन् । बजार व्यवस्थापनको पाटो तीनैजनाले मिलेर हेर्ने गरेका छन् । अहिले उनीहरूको भूमिका तलब लिनेबाट तलब दिनेमा फेरिएको छ । ‘बुबाले सधैँ भन्नुहुन्छ । पैसा थाप्नु र दिनुमा फरक छ । हामीले त्यो बुझेका थिएनौँ । काम गर्दै जाँदा बल्ल बुझ्यौँ,’ पूजाले भनिन् । समाजमा अघिल्लो पुस्ताको विरासत धान्ने काम पुरुषको मात्रै हो भने जसरी व्याख्या गरिन्छ । तर, तीन दिदीबहिनी समाजको यो गलत भाष्यलाई चिर्न सफल भएका छन् । तीनैजना विवाहित र आमा उनीहरूले घरसँगै व्यवसाय पनि सफलतापूर्वक सञ्चालन गरिरहेका छन् । 

कृष्णबहादुरले ७५ वर्षअघि सुरु गरेको कृष्ण पाउरोटी भण्डारको जिम्मा अहिले उनका कान्छा छोरा घनश्याम राजकर्णिकारका पाँचमध्ये तीन छोरीहरूका काँधमा आएको छ । बैंकिङ करियरलाई चटक्कै छोडेर तीन दिदीबहिनीले पुस्तैनी व्यवसाय धान्न थालेका छन् ।


‘समाजले तपाईंलाई कहिले पनि सपोर्ट गर्दैन । आफैँ बलियो हुनुपर्छ । आफूमा विश्वास गर्नुपर्यो । त्यति भएपछि तपाईंले जे पनि गर्न सक्नुहुन्छ,’ प्रज्ञाले भनिन् । सृष्टि भने घर र कृष्ण पाउरोटी दुवैलाई बराबर समय दिन सकेकाले आफूहरू सफल हुँदै गएको बताउँछिन् । ‘हामीले घरमा पनि समय दियौँ । यहाँ पनि बराबर समय दियौँ । समय व्यवस्थापन गर्नुपर्छ । घरको काम अफिसमा ल्याउँदैनौँ । अफिसको काम घरमा लग्दैनौँ । त्यसैले सफल हुँदै गएका छौँ,’ उनले भनिन् । पूजा पनि परिवारबाट सहयोग भएकाले यो सम्भव भएको बताउँछिन् । अचेल उनीहरूले प्रशंसा र शुभकामना पाइरहेका छन् । ‘हामीले अहिलेसम्म सकारात्मक प्रतिक्रिया पाएका छौँ । हजुरबुबाले राणाशासनकै वेला सोचेर सुरु गर्नुभएको व्यवसायलाई अगाडि बढाउन सक्यौँ । डुबिसकेको कृष्ण पाउरोटीलाई उठाएर यहाँसम्म ल्याउन सक्यौँ । खुसी लाग्छ,’ प्रज्ञाले भनिन् ।

अब उनीहरूका बुबा घनश्यामले कृष्ण पाउरोटीको सम्पूर्ण जिम्मा छोरीहरूलाई हस्तान्तरण गरेर आराम गर्ने सोच बनाएका छन् । जुन कुरा उनले भर्खरै प्रकाशित संस्मरण ‘कृष्ण पाउरोटी र कृष्णबहादुर राजकर्णिकार’ पुस्तकमा समेत उल्लेख गरेका छन् । बुबाबाट पूर्ण रूपमा जिम्मेवारी पाउनेसम्मको विश्वास जित्नु आफूहरूका लागि ठूलो उपलब्धि भएको प्रज्ञा बताउँछिन् । ‘पूर्ण रूपमा जिम्मेवारी पाउनुभन्दा पनि बुबाबाट विश्वास जित्न सक्नु नै ठूलो हो । हामीले उहाँलाई पूरै छोडेर रिटायरमेन्ट लिन भनेका छैनौँ । मान्छेजति शारीरिक रूपमा क्रियाशील रह्यो, स्वास्थ्य राम्रो हुन्छ,’ प्रज्ञाले भनिन् । 


अझै शाखा विस्तार गर्ने योजना बनाइरहेका उनीहरूले हाल गुणस्तरमा केन्द्रित भएर काम गरिरहेका छन् । ३० जनालाई रोजगारी दिइरहेका छन् । प्रज्ञाका अनुसार स्टाफहरूले काम छोड्ने गरेका छैनन् । अहिले भक्तपुरबाट समेत शाखा खोल्नुपर्यो भन्ने माग आइरहेको छ ।कृष्ण पाउरोटीलाई सफल बनाइरहेका दिदीबहिनी भन्छन्, ‘व्यवस्थापन गर्दै जाने हो भने केही पनि गाह्रो छैन । छोरीले चाह्यो भने जे पनि काम गर्न सक्छन् ।’

सम्पादकको रोजाइ

सुझावित समाचार