ह्विलचियरबाटै पत्रकारिता गरिरहेका सम्पादक

संघर्ष

टाेपलाल अर्याल टाेपलाल अर्याल
शनिबार, १४ माघ, २०७९
डिजिटल संस्करण
ह्विलचियरबाटै पत्रकारिता गरिरहेका सम्पादक

ओझेलकाखबरडटकमका सम्पादक सालिक खत्री

एक औँलाकै भरमा सालिकले गरिरहेको पत्रकारिताको थुप्रैले प्रशंसा गरिरहेका छन्

मुसिकोट नगरपालिका–३ गुल्मीका ३२ वर्षे युवा सालिक खत्री आफ्नै आँगनमा पनि नउभिएको वर्षौं भइसक्यो । किनकि उनको कम्मर तलको भाग र दुवै हात चल्दैनन् । ह्विलचियरको सहाराले कोठाबाहिर निस्किन्छन् । उनलाई पनि कुद्न र उफ्रन मन थियो । आँखाले देख्ने ठाउँसम्म पुग्ने रहर थियो । शारीरिक अशक्तताका कारण मोबाइल र ट्याब चलाउँदै अधिकांश समय बिस्तरामै बिताउँछन् । तर, उनको बायाँ हातको बुढीऔँला चल्छ । त्यही बुढीऔँलाकै भरमा सालिकले गर्ने कर्म भने विचित्रको छ ।

सालिकले बुढीऔँलाकै भरमा मोबाइलका सबै एप चलाउँछन् । उनले आफ्नो फेसबुक अकाउन्ट खोले । कतै तालिम लिने सम्भावना पनि थिएन । बिस्तारै ब्लग र पोर्टल बनाए । अहिले समाचारहरू सम्पादन गरेर ‘ओझेलकाखबरडटकम’मार्फत आफैँ अपडेट गर्छन् । यति मात्रै होइन, उनी त्यो अनलाइन पोर्टलको सम्पादक नै हुन् । अनलाइनमा विभिन्न सन्देश र विज्ञापन आफैँले डिजाइन गरेर निःशुल्क प्रकाशित गर्छन् । साथै लोगो र ब्रोसर पनि डिजाइन गर्छन् । उनले बनाउने ब्रोसरहरू व्यावसायिक डिजाइनरको भन्दा कम छैन । एक औँलाकै भरमा सालिकले देखाएको कलाकारिताको थुप्रैले प्रशंसा गरिरहेका छन् । 

सालिक ‘स्पाइनल बिफिदा’का कारण बिस्तरा छोड्न सक्दैनन् । बल्झिँदै गएको स्वास्थ्य समस्याका कारण शरीरमा नदुख्ने ठाउँ कम छन् । निको हुने औषधि पनि छैन । सालिक भन्छन्, ‘इन्टरनेट नै मेरो पीडा कम गर्ने औषधि बनेको छ ।’ उनी सामाजिक सञ्जालमा सक्रिय छन् । उनकै उमेरको सांग व्यक्तिले भन्दा धेरै सालिकले सञ्जालमा लेखरचना अध्ययन गर्ने र प्रतिक्रिया दिने गर्छन् । ‘म बिस्तरामा छु । म मेरा लागि भन्दा मजस्ता तर बोल्न नसक्नेहरूका लागि सूचना र समाचार राख्न अनलाइन र सञ्जालमा सक्रिय छु,’ उनी भन्छन्, ‘सोचेअनुसार गर्न स्वास्थ्यले साथ दिइरहेको छैन ।’

सालिकले फेसबुकमा ‘जिउँदो सालिक’ नाम राखेका छन् । स्वास्थ्य समस्या भए पनि नयाँ–नयाँ सोच र ऊर्जा कायम राख्ने सालिकको बलियो पक्ष हो । उनी विद्यालय पढ्ने उमेरको हुँदा सोच्थे, ‘मरेको सालिकको अर्थ छैन । जिउँदोमै समाजका लागि केही गर्नु छ ।’ स्पाइनलको समस्या बल्झिँदै गयो । टाढाको विद्यालय । बडिगाढ खोलानजिक पुल थिएन । जसका कारण सालिकले महेन्द्र आदर्श नमुना माविबाट कक्षा ८ उत्तीर्ण गरेर पढाइलाई विराम लगाए । थपिँदै गरेको स्वास्थ्य समस्या र घरको पिढीँमा सीमित बनेको जिन्दगी निकै उराठलाग्दो बन्दै गयो । उपचारका नाममा धामीझाँक्री लगाइयो, कुष्ठरोग भन्दै औषधि खुवाइयो । ०७१ सालमा स्पाइनल बिफिदाको अप्रेसन गरियो । अप्रेसनपछि पनि उनी हिँड्डुल गर्न सक्ने भएनन् । ६८ वर्षीया आमा भीमकुमारी खत्री सालिकको सहारा बनेकी छिन् । खानादेखि शौचालयसम्म आमाले नै सहयोग गर्छिन् । चार भाइमध्ये सालिक कान्छा छोरा हुन् । 

सालिकका बुबा मीनबहादुर खत्री हुलाकका हल्कारा थिए । मीनबहादुरको घरमा पत्रिका आउँथ्यो । सालिक पत्रिकाको डिजाइन र विज्ञापनहरू देखेर प्रभावित हुन्थे । ०६६ सालमा बुबाको थाइराइडको क्यान्सरका कारण निधन भयो । पत्रकार बन्ने सपना आफ्नो स्वास्थ्यका कारण र बुबाको निधनका कारण पूरा भएन । तर, अहिले मोबाइल र ट्याबमार्फत पत्रकारिताको सपना भने पूरा गरिरहेका छन् । स्वास्थ्यका कारण उनी बिस्तरामा छन् । तर, अनलाइन पोर्टल ‘ओझेलकाखबरडटकम’ मार्फत विपन्न, सहाराविहीन र अपांगता भएका व्यक्तिहरूबारे खबर सम्प्रेषण गरिरहेका छन् । ब्रोसर, ब्यानर, लोगो बनाएको मूल्य उनले तोकेका छैनन् । सालिकको सीप र कलाको सम्मान गर्दै पैसा दिने गर्छन् । 

सालिकको अनुभवमा अझै पनि अपांगता भएका व्यक्तिलाई हेर्ने सरकारको दृष्टिकोण परिवर्तन भएको छैन । अपांगता भएका व्यक्ति समुदाय र परिवारबाटै उपेक्षित छन् । नेपालमा अपांगमैत्री नीति र संरचना छैन । पहाडमा जन्मिएका अपांगता भएका व्यक्तिहरू शिक्षालगायत अवसर लिन घरबाट टाढा जान सक्दैनन् ।

सालिक ह्विलचियरमै बस्न थालेको एक दशक भइसक्यो । उनले कुनै पनि तालिम लिन पाएका छैनन् । मुसिकोट नगरपालिकाले गतवर्ष मात्रै एउटा ह्विलचियर दिएको थियो । ह्विलचियर साँघुरो भएकाले सालिकले प्रयोग गरेनन् । साथीले ल्याइदिएको ह्विलचियर टालटुल गरेर काम चलाइरहेको उनले सुनाए । ‘साइज नहेरीकनै ल्याइदिएको ह्विलचियर प्रयोग गर्न सकिनँ, थन्क्याएको छु,’ उनी भन्छन्, ‘सरकारसँग ठूलो आशा के गरौँ खोइ !’ 

अपांगता भएको व्यक्ति परिवारमा छन् भने पीडा हुन्छ । परिवारलाई आर्थिक अभावसँगै व्यवस्थापनको पिरलो हुन्छ । सालिककी आमा भीमकुमारी भन्छिन्, ‘पैसा नभएकै कारण छोराको रोग बल्झिँदै छ । खोइ के गर्ने होला, चिन्ता लाग्छ ।’
 

सम्पादकको रोजाइ

सुझावित समाचार