हेऽ बिर्सिने साइँलीऽ
के चलन त्यताको,
हितकारी मायालाई भेटा’को ...’
हाफ सेन्चुरी उक्लिसकेका लोकगायक खर्कबहादुर बुढामगर राष्ट्रिय नाचघरको प्रेक्षालयमा आफ्नै जीवनसाथी लीलावती बुढामगरसँग दोहोरी गाइरहेका थिए । गीतसंगीतमा ‘खड्क बुढा’ भनेर चिनिने खर्कबहादुरले राप्ती सेरोफेरो गुन्जिने लोकभाका गाइरहँदा दर्शक नाचिरहेका थिए । ताली बजाइरहेका थिए । यस्तो लाग्यो– उनीहरू राप्तीको लेकबेसीमा आफ्नै सुरमा दोहोरी गाइरहेका छन् । ती जोडीले टप्पा, पैसारु, सोरठी, ठाडीभाकालगायत एक दर्जन गीत गाए । उनीहरूको गीतमा उपराष्ट्रपति नन्दबहादुर पुनसम्म नाचे ।
०००
यी जोडीले करिब २ घन्टा नाचघरको माहोल बदलिदिए । युगल साँझमा उनले मादलको सोलो प्रदर्शन पनि गरे । उनलाई अन्य कलाकारले पनि साथ दिएका थिए । कार्यक्रम सकिएपछि नाचघरकै एउटा कुनामा सुनाए ती जोडीले संगीतयात्राका उकाली–ओराली । उनी फर्किए २०४३ सालतिर ।
खर्कबहादुरको गाउँ सल्यान त्रिवेणी हो । लीलावतीको घर पनि त्यहीँ हो । उनीहरू सँगै हुर्किए । सँगै वनपाखामा दाउरा खोज्न गए । खर्कबहादुर लीलावतीका लागि दाउरा खोजिदिन्थे । साँझ फर्किंदा लीलावती दाउराको भारी बोकेर फर्किन्थिन्, तर खर्कबहादुर हुन्थे रित्तै । दाउरा खोज्न गएको नाति रित्तै फर्किएको देखेपछि खर्ककी हजुरआमा रिसाउँथिन् । त्यो पल सम्झँदै खर्कबहादुरले हाँस्दै भने, ‘त्यही वेलादेखि म लीलावतीलाई प्रेम गर्थेँ ।’
‘गाउँघरमा बिहान–बेलुकी नै जाँतोमा मकै पिस्नुपथ्र्यो,’ लीलावतीले सम्झिए । लीलावती खर्कबहादुरको बाजेको घरमा मकै पिस्न जान्थिन् । त्यहाँ जाँदा खर्कबहादुरसँग आँखा जुध्थ्यो । त्यही चल्थ्यो दोहोरी । लीलावती जाँतो पिस्दै दोहोरी गाउँथिन् । खर्कबहादुर पिँढीमा बसेर गीत गाउँथे । लजाउँदै लीलावतीले सुनाइन्, ‘त्यहीवेला पिरती बस्यो ।’
गीतविना आफूलाई अधुरो ठान्छ यो जोडी । ५० नाघेका यी बुढाबुढी अझै उही वनपाखाका मौलिक गीत गाउँछन् । तर, बुढाले जस्तो निरन्तरता दिन नपाएको बताउँदै लीलावती भन्छिन्, ‘मेरो गायनलाई घरधन्दाले पछाडि पा-यो ।’ बोल्दाबोल्दै मनको बह अनुहारमा झल्कियो । ‘उनको गुनासो भनेकै गायनलाई निरन्तरता दिन नपाएकोप्रति छ,’ खर्कबहादुरले निराश श्रीमतीलाई सान्त्वना दिँदै भनिन् ।
कतिपय ठाउँमा सँगै गाउँदा लाज मान्छिन् लीलावती । तर, उनलाई हौस्याइरहन्छन् खर्कबहादुर । ‘सँगसँगै गाउँदा कलासंस्कृतिको संरक्षणसँगै हाम्रो प्रेम पनि संरक्षण भएको महसुस हुन्छ,’ खर्कबहादुरले लीलावतीलाई हँसाउन खोज्दै भने । लीलावतीले लजाउँदै खर्कबहादुरतिर हेरिन् । त्यसपछि मुसुमुसु हाँस्न थालिन् । स्टेजहरूमा मात्रै होइन, घरमै पनि उनीहरू दोहोरी गाउँछन् । जिस्किन लागेका श्रीमान्लाई लीलावतीले धक खोलेर भनिन्, ‘कहिलेकाहीँ त मध्यरातिसम्म दोहोरी चल्छ हाम्रो ।’ अब खर्कबहादुर पनि के कम ? त्यहीँ गाउन थाले, ‘हे बिर्सने साइँला ... ।’
‘हे साइँली’ लोकगीतको थेगो हो । सुख–दुःखका गीत होस् कि मायापिरतीका गीत होस् साइँली भेटिन्छन् । सल्यानको गाँउघरदेखि वनपाखामा हे साइँली जनजनको गीतमा बाँचेको बताउँछिन् लीलावती । भन्छिन्, ‘सल्यानका भाका हाम्रो दिलोदिमागमा छ ।’खर्कबहादुर र लीलावती सोरठी, ठाडीभाकामा पनि दोहोरी गाउँछन् । उनीहरू बोल्दा सल्यानको लवज आउँछ । उनीहरू कतिपय शब्द र लय आफैँ संकलन गर्छन् ।
मादले खर्कबहादुर खर्कबहादुर गीत मात्रै गाउने होइन, मादल पनि उत्तिकै राम्रो बजाउँछन् । स्टुडियोदेखि स्टेजसम्म उनले मादल बजाएका छन् । उनले बजाएको मादलको रक्कोमा मोहित हुने कैयन् छन् । ‘बाजेहरूले मादलको ‘डाप्को’ घन्काएपछि म लोभिन्थेँ,’ खर्कबहादुरले भने । उनले नाचघरमा मादलकै मात्र एकल प्रस्तुति दिए । मादलका अनेक ताल सुनाएर दर्शकलाई मुग्ध पारे ।
उनको गाउँतिर दसैँको सप्तमीको दिनबाट कालरात्रि जगाउने चलन रहेछ । कालरात्रि जगाइसकेपछि दिनभरि नाच्ने चलन पनि रहेछ । यो नाच दसैँमा सुरु भएर माघेसंक्रान्तिमा समापन गरिने रहेछ । त्यही चाडपर्वमा बजेको मादल उनको दिलोदिमागमा बसेको थियो । भन्छन्, ‘मादलको ताल मनमा बस्यो । त्यसपछि मलाई पनि जीवनमा मादल बजाउँछु
भन्ने लागिरह्यो ।’
पर्वमा मादल बजाएको देखेपछि खर्कबहादुरले घरमा लगेर मादल बजाउन थाले । मादल बजाएको सुनेर उनकी हजुरआमाले गाली गरिन् । तर, रोकिएन उनको मादल बजाउने क्रम । उनी लुकीलुकी मादल बजाउँथे । हजुरआमाले घाँस काट्न, गहुँ काट्न जा भनेर खेतमा पठाउँथिन् । तर, उनी घरकै थारो (घरको तला) मा लुकेर मादल बजाइरहन्थे । मादल बजाउँदै गीत गाउन थाले उनी । हाँस्दै सुनाउँछन्, ‘मकै पिस्न आउने लीलावतीसँग आफैँ मादल बजाएर दोहोरीमा भिड्थेँ ।’
खर्कबहादुर गीत मात्रै होइन, मादल पनि उत्तिकै राम्रो बजाउँछन् । स्टुडियोदेखि स्टेजसम्म उनले मादल बजाएका छन् । उनले बजाएको मादलको रन्कोमा मोहित हुने कैयन् छन् ।
नाचघरका वाद्यवादक
गाउँघरमा मादल बजाएर उनको धोको मेटिएन । राप्तीको टप्पा र पैसारुले उनलाई रेडियो नेपाल सम्झाइरह्यो । त्यही लहडमा २०४३ सालतिर रेडियो नेपाल आए । भाग लिए । तेस्रो स्थानमा नाम निकाले । अनि त उनको स्वर पनि रेडियोमा घन्किन थाल्यो ।
२०४५ सालतिर राष्ट्रिय नाचघरले कलाकार खोज्यो । उनी छानिए । एक महिनाका लागि करारमा सात सय रुपैयाँमा उनले जागिर पाए । तर, नाच्न–गाउन धेरै पाएनन् । उनलाई वाद्यवादनमा राखियो । त्यसपछि नाचघरमा पनि मादल उस्ताद भएर झुल्किएका खर्क भन्छन्, ‘नाच्न गाउन आएको थिएँ, तर वाद्यवादक भएँ ।’
२०४५ सालदेखि राष्ट्रिय नाचघरमा सँगै काम गर्दै आएका लोकगायक तथा बाँसुरीवादक कृष्ण गुरुङ भन्छन्, ‘राप्ती जिल्लाको पहाडी लोकभाकालाई जस्ताको तस्तै गाउने लोकगायक हुन् खर्क र लीलावती ।’ खर्कबहादुर लाइभ मादलमा पनि उत्तिकै दमदार लाग्ने कृष्ण बताउँछन् । भन्छन्, ‘राप्ती सेरोफेरोको लोकभाका बुझ्ने र बुझाउने क्षमता भएको गायक हो खर्क ।’
मौलिक गीत गाउन रुचाउने यो जोडीलाई वरिष्ठ नाट्यकर्मी हरिहर शर्मा भन्छन्, ‘माटोको गीत गाउन नबिर्सने लोकगायक हुन् खर्कबहादुर र लीलावती ।’ शर्मालाई आफ्नो कार्यकालमा अति इमानदार र बहुमुखी प्रतिभाको धनी लाग्छ खर्कबहादुर । भन्छन्, ‘लोक गला पाएका स्रष्टा हुन् यी जोडी ।’
लेखक तथा कथाकार नवीन विभास यो जोडीलाई राप्तीको भिरपहरामा फुलेका लोकजीवनका गीति अभिव्यक्तिलाई पहिचान दिने बताउँछन् । भन्छन्, ‘यो जोडीले राप्तीको मौलिकतालाई कला र गलाले गतिशील र जीवित प्राण भरिदिएका छन् ।’ संगीतकार राजु सिंहको तीन सय गीतमा मादल बजाइसकेका खर्कबहादुर उनलाई मौलिक लाग्छ । भन्छन्, ‘टिपिकल गीतका लागि खर्कबहादुर अर्गानिक वाद्यवादक हुन् ।’
लीलावती खर्कबहादुरको बाजेको घरमा मकै पिस्न जान्थिन् । त्यहाँ जाँदा खर्कबहादुरसँग आँखा जुध्थ्यो । त्यहीँ चल्थ्यो दोहोरी । लीलावती जाँतो पिस्दै दोहोरी गाउँथिन् । खर्कबहादुर पिँढीमा बसेर गीत गाउँथे । लीलावतीले लजाउँदै सुनाइन्, ‘त्यही वेला पिरती बस्यो ।’
‘मादल बजाउँदा ज्वरो आयो’
‘यो हातको ठेला मादल बजाएरै उठेको हो,’ आफ्नो हात देखाउँदै खर्कबहादुरले भने । उनको हत्केलामा परेका ठेला मिहिनेतले बनेको थियो । कर्मले बनेको थियो । उनको साथमा मादल टुट्दैन । मादल नबजाएको दिन कमै हुन्छ उनको । एकसाथ धेरैवटा मादल पनि बजाउँछन् खर्कबहादुर ।
खर्कबहादुरलाई मेचीदेखि महाकालीसम्मको भाकामा कस्तो ताल चाहिन्छ, थाहा छ । उनी एउटै मादल अनेक तालले बजाउँछन् । धिमे, खिँ, ढोलक, कोचकीलगायत अन्य मादल राखेर एकैपटक १८ वटा मादल बजाउने खर्क भन्छन्, ‘धेरैवटा मादल बजाउनु मान्छेलाई आकर्षण गर्ने मात्रै हो । तर, ताल एकै हुन्छ ।’
लोकगायिका चन्द्रकला शाह र खर्कबहादुरले चर्चित गीतहरूमा सँगै गाएका छन् । कुनै वेला रेडियो नेपालमा यी गायकगायिकाको गीत निरन्तर गुन्जिन्थ्यो । खर्कबहादुर र लीलवतीले गीत गाउनेबित्तिकै पहिचान झल्किने उनी बताउँछिन्, ‘यो एकजोडीको स्वरमा राप्ती अञ्चलको भाका र पहिचान झल्किरहन्छ ।’ वाद्यवादक खर्कबहादुर चन्द्रकलालाई ‘मादल उस्ताद’ नै लाग्छ । भन्छिन्, ‘उहाँ मादल उस्ताद नै हो ।’
खर्कबहादुरसँग मादल बजाउँदाका अनुभवहरू छन् । ‘मादल बजाउँदा हात तात्छ । कहिलेकाहीँ त ज्वरो नै आउँछ । दिनभरि बजाउँदा कहिलेकाहीँ त छाती दुखेर हैरान हुन्छ,’ उनले हात देखाउँदै भने, ‘तर, कहिलेकाहीँ मादलमा हात नपरेपछि हात चिलाउँछ ।’
मादलको मौलिकता
‘मेरो जिन्दगीमा रहर र पेसा एकै बन्यो,’ हातको मादल सुमसुम्याउँदै भन्छन् खर्कबहादुर । नाचघरमा मादल सिकाउँछन् र राजधानीका स्टुडियोहरूमा मादल बजाउन पुग्छन् उनी । संगीतकार तथा गायक राजनराज शिवाकोटीको गीतमा मादल बजाउन खर्कबहादुर नै छनोटमा पर्छन् । राजनराज भन्छन्, ‘उहाँको मादल बजाइमा मौलिकता पाउँछु । त्यसैले मेरो पहिलो रोजाइमा उहाँ नै पर्नुहुन्छ ।’ बद्री पंगेनी, मिलन लामा, पशुपति शर्माजस्ता चर्चित लोकगायकका गीतमा मादल बजाएका छन् उनले ।
खर्कबहादुर अनुभव सुनाउँछन्, ‘२०४४ सालमा रेडियो नेपालमा लाइभ बजाउँथ्यौँ । अहिलेचाहिँ कम्पोज गरेर बजाइन्छ । नोटेसन हेरेर बजाइन्छ ।’ पछिल्ला फिल्ममा लोक मेलोडीको लहर चलेको छ । फिल्ममा मौलिकपन कम हुँदै गइरहेको वेला मादलले मौलिकता जोगाउन भूमिका खेल्ने उनको धारणा छ । भन्छन्, ‘लैजाऊ घुमाउन मलाई ठमेल बजार...’ भन्ने गीतमा मैले नै मादल बजाएँ । गीत मोडर्न हो । तर, मादलले मौलिकता थपेको छ ।’ कतिपय गीत मादलकै कारण हिट भएको तर्क छ उनको । भन्छन्, ‘मादलविना नेपाली गीत नेपालीजस्तो हुँदैन ।’
खर्कबहादुरको जीविकोपार्जनको मुख्य स्रोत नै मादल हो । उनी मादल बजाएबापत पारिश्रमिक लिन्छन् । स्टुडियोहरूमा सिंगल मादल बजाएको १ हजार लिन्छन् । प्याकेजमा बजाउँदा ३ हजार लिन्छन् । लोकगीतमा प्रायः उनकै माग हुन्छ । उनकै मादल घन्किन्छ । तर, संगीतकारले मादल चाहिने गीत चिन्न नसकेकोप्रति उनको गुनासो छ । भन्छन्, ‘मादल बजाउनुपर्ने गीतमा मादल बजाइदिँदैनन् । नपर्ने गीतमा बजाउन लगाउँछन् ।’
अहिले १२ जना विद्यार्थी खर्कबहादुरसँग नाचघरमा मादल सिक्छन् । मादललाई जगेर्ना गर्नुपर्ने उनको भनाइ छ । पुराना संस्कृति धान्ने मौलिक बाजा हो मादल । त्यसैले मादललाई तालिम तथा स्कुल स्तरबाट सिकाइका रूपमा ल्याउनुपर्ने खर्कबहादुरको मत छ । भन्छन्, ‘राज्यले स्कुलस्तरबाटै मादलको प्रशिक्षण र शिक्षा दिनुपर्छ ।’