इतिहास रचेका जुझारु महिलाहरू

उषा थपलिया उषा थपलिया
शनिबार, १७ माघ, २०७७
डिजिटल संस्करण

राज्य संयन्त्रमा महिला सहभागिताको कुरा गर्दा जोडतोडले उठ्ने एउटा सवाल हो, ‘महिला पुग्न बाँकी देशको कार्यकारी प्रमुखको पदमा मात्र हो, अबको लक्ष्य त्यता सोझिनुपर्छ ।’ तर, विगतलाई राम्रोसँग नियाल्ने हो भने जनताको मतद्वारा निर्वाचित नभए पनि महिलाले त्यो भूमिका आजभन्दा दुई सय ४३ वर्षअघि नै सम्हालिसकेको देखिन्छ । 

नायबी सम्हाल्ने रानीहरू
पृथ्वीनारायण शाहपछि राजा बनेका उनका छोरा प्रतापसिंह शाह २५ वर्षमै बितेपछि उनकी पत्नी राजेन्द्रराज्यलक्ष्मीदेवी शाहले दुईवर्षे छोरा रणबहादुर शाहलाई गद्दीमा राखेर ८ वर्ष नायबी चलाइन् । त्यो वेलाको नायबी भनेकै देशको कार्यकारी प्रमुखको भूमिका हो । यसर्थ भूमिकाका आधारमा एकीकृत नेपालको प्रथम महिला कार्यकारी प्रमुख उनी नै हुन् भन्दा फरक नपर्ला । उनले नायबीको दर्जा मात्र ओगटिनन्, चौबीसे राज्यहरूको संयुक्त आक्रमणलाई परास्त गर्दै ससुरा पृथ्वीनारायणले अघि बढाएको एकीकरण अभियानमा महत्वपूर्ण इँटा थप्ने काम गरिन् ।

किशोरावस्था मात्रै पार गर्दा सैनिक नेतृत्व सम्हालेर लमजुङ, कास्की, तनहुँ आदि राज्यलाई नेपालभित्र गाभ्नु र नेपालको सिमाना कालीगण्डकीसम्म पुर्याउनु उनको सानो हिम्मत थिएन । नायबी सुरु गरेको एक वर्षपछि दरबारभित्रकै दाउपेचका कारण उनले दुई वर्ष बन्दी जीवन बिताउनुप¥यो । त्यसबाट मुक्ति पाएपछि फेरि नायबी सम्हालेर एकीकृत नेपाल निर्माणको बाँकी कामलाई निरन्तर अघि बढाइन् । ३० वर्षमै क्षयरोगका कारण मृत्यु नहुँदासम्म उनको अभियान रोकिएको थिएन । 

रणबहादुर शाह सन्न्यासी बनेर वनारस लागेपछि राजा भएका गिर्वाणयुद्धविक्रम शाहको नायबी रणबहादुरका तीन रानीहरूले चलाए । राजगद्दी उत्तराधिकारको हकभन्दा बाहिर रहे पनि आफ्नी सबैभन्दा प्रिय रानी कान्तिवतिका छोरा गिर्वाणयुद्ध विक्रमलाई डेढ वर्षकै उमेरमा रणबहादुरले नै गद्दीमा बसालेका थिए । उनका दुई पत्नीहरू राजराजेश्वरी र सुवर्णप्रभादेवी पटक–पटक एकबाट अर्कोले नायबी हत्याउने प्रपञ्च चलिरह्यो । वि.सं १८०६ मा रणबहादुर शाहको मृत्युपछि नायबी शासन आफ्नो हातमा लिन रणबहादुर शाहकी कान्छी रानी ललितत्रिपुरासुन्दरी सफल भइन् ।

११ वर्षको उमेरमा रणबहादुर शाहसँग बिहे गरेकी भीमसेन थापाकी भतिजी ललितत्रिपुरा सुन्दरी बिहेको वर्षदिनमै विधवा भइन् । त्यसलगत्तै एकपछि अर्को हाबी हुँदै नायबी चलाइरहेका दुई सौतालाई पाखा लगाएर किशोरावस्थाको सुरुवातमै उनले सौतेलो छोरा गिर्वाणको नायबी आफ्नो हातमा लिइन् र राजा हुन उमेर नपुगेसम्म गिर्वाणको नायबी सम्हालिन् ।

वि.सं १८१९ मा गिर्वाणको मृत्यु भएर ३ वर्षमै राजा बनेका गिर्वाणका छोरा राजेन्द्रविक्रम शाहको नायबी पनि उनैले सम्हालिन् । त्यति मात्र होइन, रणबहादुर शाहले दिएको काजी (मन्त्री) बाट मुख्तियार (प्रधानमन्त्रीसरह) हुन एकपछि अर्को तिकडम गर्दै भारदार, रानीहरू, सुसारे, सिपाहीलगायत ९३ जनाको हत्या गराउन पछि नपर्ने भीमसेन थापाले समेत २६ वर्षसम्म ललितत्रिपुराकै अधीनस्थ काम गरे ।

भीमसेन थापालाई जंगबहादुरभन्दा बढी सनकी, षड्यन्त्रकारी र महत्वाकांक्षी व्यक्तिको रूपमा इतिहासकारले चित्रित गरेका छन् । त्यस्ता व्यक्तिलाई आफ्नो मातहत झन्डै तीन दशक काम गराउन सक्नु ललितत्रिपुराको अद्वितीय क्षमताकै कारण थियो । हैजाको प्रकोपले ३८ वर्षमै मृत्यु हुनुअघिसम्म उनको ओज कहिल्यै घटेन, बरु उनको मृत्युपछि भीमसेन थापाको पतनको क्रम सुरु भएको जनाइन्छ । 

सामाजिक जागरणकी प्रतिमूर्ति योगमाया
योगमायालाई अहिलेसम्म पहिचान भएकी प्रथम विद्रोही नारी मानिन्छ । त्यसपछिका नारीहरूमा विद्रोही चेतनाको लय उनकै कारणले बसेको विश्लेषणसमेत हुने गरेको छ । निरक्षर रहेर पनि समाज सुधारका लागि संगठन निर्माण र अभियान फैलाउन सक्ने उनको क्षमता अतुलनीय छ । समाजका कुरीति, अन्धविश्वास, भेदभाव, छुवाछुत, भ्रष्टाचार, महिलामाथिको अन्यायविरुद्ध विद्रोह गरेर राणा प्रधानमन्त्रीलाई समेत पटक–पटक चेतावनी दिने खुबी उनीसँग थियो ।

माग पूरा गर्ने वचनबद्धतासहित राणा प्रधानमन्त्री जुद्धशमशेर उनका अगाडि पुग्न बाध्य भएका थिए । यद्यपि आश्वासनबमोजिम राणाहरूले माग पूरा नगरेकाले विक्षिप्त भई आफ्ना ६८ जना अनुयायीसहित अरुण नदीमा जलसमाधि लिएर उनले राणाहरूको नैतिकता समाजको अगाडि छर्लंग पारेकी थिइन् । 

ती समर्पित महिलाहरू
नेपालको प्रजातान्त्रिक आन्दोलनलाई ठूलो भर दिएकी एक महिला हुन्, राममाया पोडे । उनी गणेशमान सिंह रहेको भद्रगोल जेलमा चर्पी सफा गर्थिन् । गणेशमान र उनका परिवारबीच सन्देश, चिठीपत्र आदान–प्रदानमा सुरुदेखि नै सहयोग पुर्याउँदै आएकी उनले गणेशमानलाई जेलबाट भगाउने क्रममा समेत विशिष्ट योगदान दिइन् । यसबाहेक जेलमा बस्ने सबै नेताहरूको सन्देश आदान–प्रदानमा राममायाले ठूलो भूमिका खेलेको बिन्दा पाण्डेको पुस्तक ‘समानताका पाइलाहरू’मा उल्लेख छ ।  

राजनीतिक उद्देश्यले खोलिएका ठूला संगठनमा विषम परिस्थितिका बाबजुद केही महिलाहरू सुरुदेखि नै संलग्न भए । नेपाल कम्युनिस्ट पार्टीको संस्थापक सदस्यहरूमध्ये एक मात्र महिला सदस्य मोतीदेवी श्रेष्ठ हुन्, जो तत्कालीन समयमा घरपरिवारभित्रको प्रतिकूल अवस्था तथा कडा सामाजिक बन्धन तोडेर पार्टी स्थापनाका लागि कलकत्तासम्म पुगेकी थिइन् ।

‘नेपाल प्रजातन्त्र कांग्रेस’ खोल्ने उद्देश्यले वि.सं. २००५ सालमा आयोजित भेलामा लक्कीदेवी परियार, गुलबदन ताम्राकार, मायादेवी शाह, टिकन्थी बस्नेत तथा सुशीला चालिसे उपस्थित थिए । भेलाको आधारमा पार्टी स्थापना भयो । तर, एकजना महिलालाई पनि संस्थापक सदस्य बनाइएन । त्यस्तै, ‘नेपाली राष्ट्रिय कांग्रेस’ले विराटनगरमा मजदुर आन्दोलन गर्दा महिलाहरू पनि सहभागी थिए ।

दिव्या कोइराला, इन्दिरा वस्नेत, नलिनी उपाध्यायलगायत महिलाहरू गिरफ्तारीमा परे । २००६ सालमा ‘नेपाल प्रजातन्त्र कांग्रेस’ र ‘नेपाली राष्ट्रिय कांग्रेस’ एक भएर ‘नेपाली कांग्रेस’ बन्यो । तर, दुवै पार्टीमा योगदान दिने महिलाहरू संस्थापक सदस्य हुनबाट वञ्चित गरिए । नेपालका राजनीतिक नेतृत्व पितृसत्तात्मक सोचबाट कति ग्रस्त थिए भन्ने यी तथ्यबाट प्रस्टिन्छ ।

महिला नेतृहरूको अदम्य साहस 
२००८ सालमा नगरपालिका चुनावका लागि मतदाता नामावली संकलन थाल्दा महिलालाई मताधिकार दिने छाँटकाँट थिएन । यसविरुद्ध २००४ सालमा गठन भएको नेपाल महिला संघका नेतृहरू विरोधमा उत्रिए । मंगलादेवी सिंह, सहाना प्रधान, साधना प्रधान, स्नेहलता श्रेष्ठ, हिरादेवी तुलाधरलगायत नेतृहरूको जुलुस प्रधानमन्त्री मोहनशमशेरको दरबारमा दबाब दिन पुग्यो । खुला ट्रकभरि महिलाहरू खचाखच भएर विरोधमा उत्रिँदा तत्कालीन समाजमा एउटा गजबकै तरंग उठेको सुशीला श्रेष्ठद्वारा लिखित ‘सहाना प्रधान स्मृतिका आँखीझ्यालबाट’ पुस्तकमा उल्लेख छ । जसका कारण राणा प्रधानमन्त्रीले महिलाको मताधिकार कुण्ठित गर्न सकेनन् र देशमा भएको पहिलो चुनावमा महिलाले पनि पुरुषसरह मताधिकारको अवसर पाए ।

तिनै महिला नेतृहरू महिलाको शैक्षिक अधिकारका लागि पनि क्रियाशील रहे । महिला संगठन बनिसकेकाले उनीहरूलाई सामूहिक रूपबाट अघि बढ्न सजिलो भयो । निरन्तरको संघर्षकै कारण प्रधानमन्त्री पद्मशमशेरले सुरुमा नारी शिक्षाका लागि प्रौढ शिक्षा आरम्भ गर्ने तदारुकता देखाए । त्यसपछि राजधानीमा स्कुल खोल्ने क्रम सुरु भएर क्रमशः देशैभरि फैलियो । जागरुक महिलाहरूले त्यति साहस नदेखाएका भए मताधिकार र शिक्षाको अधिकार महिलाहरूलाई त्यति छिटै पक्कै हासिल हुने थिएन । 

कालोझन्डा प्रदर्शन गर्ने महिला
२००७ साल कात्तिक २१ गते राजा त्रिभुवन दिल्ली लागेपछि राणा प्रधानमन्त्री मोहनशमशेरले चार वर्षका ज्ञानेन्द्रलाई राजा घोषित गरे । ज्ञानेन्द्रलाई राजा स्वीकार गराउन मोहनशमशेरले अन्तर्राष्ट्रिय क्षेत्रमा धेरै प्रयास गरेका थिए । भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूले राणाको आग्रहविपरीत त्रिभुवनलाई नै राजा मान्ने बताएपछि वास्तविक स्थिति बुझ्न बेलायतबाट ब्रिटिस मिसन नेपाल आउँदै थियो । भारतस्थित ब्रिटेनका उपहाई–कमिस्नर रावर्टस र ब्रिटिस परराष्ट्र विभागका विशेषज्ञ सर इस्टर डेनिडको विशेष टोली मंसिर १८ गते विमानस्थल उत्रियो । ‘हाम्रो राजा त्रिभुवन, हामी प्रजातन्त्र चाहन्छौँ, ब्रिटिस सेना फिर्ता जा’ आदि नारा लगाउँदै दुई महिलाहरू शान्ता श्रेष्ठ र प्रभा नेपाली नेतृत्वको जुलुस विमानस्थल पुग्यो । प्रहरी दमनमा दुवै युवतीको टाउको फुटेर रगताम्य भयो । फागुन ७ गते प्रजातन्त्र स्थापनाको घोषणा हुनुअघिसम्म उनीहरूले भूमिगत बस्नुपर्यो । 

२०१७ साल पुस १ गते राजा महेन्द्रले चालेको कदमका कारण राजनीतिक दलहरू प्रतिबन्धित भए । शीर्ष नेताहरू जेल गइसकेका थिए । फागुन ७ गते प्रजातन्त्र दिवस मनाउन टुँडिखेलमा महेन्द्र सवारी हुने मौकामा विरोधस्वरूप कालोझन्डा प्रदर्शन गर्ने तयारीमा महिलाहरू थिए । यसक्रममा पद्मकन्या क्याम्पसबाट महिला जुलुस टुँडिखेलतर्फ प्रस्थान गर्यो । राजा महेन्द्रको नजिक पुग्नासाथ शैलजा आचार्य नेतृत्वमा विजया शर्मा, सरोज जोशी आदिले ‘राजा महेन्द्र मुर्दावाद’ नारा लगाउँदै आफूले ओढिरहेको कालो पछ्यौरा राजातर्फ फैलाएर विरोध जनाए । तत्काल गिरफ्तार गरी हिरासतमा उनीहरूलाई चरम यातना दिइयो । 

उक्त घटनाको पाँच दिनपछि बेलायती महारानी एलिजावेथ द्वितीय नेपाल भ्रमणमा आउँदै थिइन् । उनको भ्रमण प्रजातन्त्र मासेका महेन्द्रको कदमलाई मान्यता दिनु हो भन्ने महिलाहरूले बुझेका थिए । महेन्द्रको कदम जनविरोधी हो भन्ने सन्देश दिन एलिजावेथ भ्रमणमा पनि कालोझन्डा देखाउने महिलाहरूको योजना बन्यो । फागुन १२ गते एलिजावेथको सवारी चलिरहँदा कालोझन्डा देखाउने सिलसिलामा नोना कोइराला गिरफ्तार भइन् र लामै समय जेल परिन् ।

इतिहास रच्ने निर्वाचित महिलाहरू 
पहिलोपटक निर्वाचित हुने महिला साधना प्रधान थिइन् । उनी २००८ सालको काठमाडौं नगरपालिकाको सदस्यमा निर्वाचित भएकी थिइन् । ०१५ सालको निर्वाचनपछि गठित राष्ट्रिय सभा सदस्यमा मनोनीत भई सभाको उपाध्यक्ष हुने पहिलो महिला कमल राणा थिइन् । २०१५ सालकै निर्वाचनमा डँडेल्धुराबाट निर्वाचित द्वारिकादेवी ठकुरानी बिपी कोइरालाको मन्त्रिमण्डलमा स्वास्थ्यमन्त्री बनिन्, जसले नेपालकै पहिलो महिलामन्त्री हुने इतिहास रचिन् ।

पञ्चायत कालमा उदाएका महिलाहरू अझ बढी निर्भीक थिए । भद्रा घले, नानीमैया दाहाल, सुशीला थापालगायत महिला केही उदाहरण हुन् । भद्रा घलेले सिन्धुलीको एउटा पञ्चायतको प्रधानपञ्चदेखि वडासदस्यसम्म सबै पदमा महिलाको प्रतिनिधित्व गराएकी थिइन् । ०३८ सालको राष्ट्रिय पञ्चायतको चुनावमा राजधानीबाट चुनाव जितेर नानीमैया दाहालले छुट्टै इतिहास रचिन् । राजनीतिमा अपरिचित र दैनिक श्रम गरेर जीविकोपार्जन गर्ने सामान्य महिला नानीमैयाले उच्चवर्गीय ठाँटबाँठसहितका पुरुष उम्मेदवारलाई हराउँदै अत्यधिक मतान्तरले चुनाव जित्नु सानो उपलब्धि थिएन । जसका कारण उनको चर्चा अन्तर्राष्ट्रिय जगत्मा समेत उत्तिकै फैलिएको थियो । 

तत्कालीन समयमा जोखिमपूर्ण काम गरेका कतिपय महिलाहरू पछि राजनीतिबाट पलायन भए । तर, उनीहरूबाट उठेको आन्दोलनको तरंगले पछिल्लो पिँढीका महिलालाई तरंगित बनाइरह्यो । राष्ट्रका लागि योगदान दिने अरू कैयौँ महिलाहरू माथि उल्लेख गरिएभन्दा बाहेक पनि छन्, ती सबैको निर्भीकताको उछालले नै नेपाली महिला आन्दोलन यो अवस्थामा आइपुगेको हो । सामाजिक विभेद तथा संकीर्णताको चरम अवस्था र कठोर राज्यव्यवस्थाजस्ता सबै पक्ष प्रतिकूल भएको त्यो वेला महिलाहरूले आफ्नो अदम्य क्षमता देखाउनुले के बताउँछ भने अहिले धेरै अगाडि बढिसकेको शिक्षित महिलावर्गले गर्नुपर्ने जिम्मेवारी कैयौँ गुणा बढी छ ।

तर, विगतका महिलामा जस्तो जुझारुपन अहिले नभएकैले होला महिला सहभागिताको व्यापकता हुँदाहुँदै पनि सोहीअनुरूप उपलब्धि देखिन सकेको छैन । तसर्थ हामी सबैले विगतका नारीहरूको साहसबाट सिकेर आफूलाई ऊर्जाशील बनाउनुपर्छ । आरक्षणको बर्को फुकालेर क्रमशः प्रतिस्पर्धाको आकाशमा विचरण गर्ने आँट देखाएपछि त्यो गन्तव्यमा अझ छिटो पुगिएला । 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार