विदेश पुर्‍याइएको अर्बौँ डलर खोजिरहेका बंगलादेशका गभर्नर

सेख हसिनाको शासनमा उनीनिकटका ११ कुलीन परिवारले बंगलादेशको बैंकिङ प्रणालीबाट अर्बौँ डलर विदेशमा पुर्‍याएका थिए । सरकारले त्यो विशाल रकम पहिल्याउने प्रयास तीव्र बनाएको छ ।

रव डेभिस रव डेभिस
शनिबार, २२ चैत, २०८१
डिजिटल संस्करण
विदेश पुर्‍याइएको अर्बौँ डलर खोजिरहेका बंगलादेशका गभर्नर

डा. अहसन एच. मन्सुर, गभर्नर, बंगलादेश बैंक

अगस्ट २०२४ मा बंगलादेशमा उठेको सडक आन्दोलनले सेख हसिना नेतृत्वको सरकार ढालिदियो । अबामी लिगकी नेतृ हसिना डेढ दशक अनवरत सरकारमा थिइन् । कठोर तानाशाही तरिकाले शासन गरेकी हसिनाले डेढ दशकको शासनकालमा आफूनिकटका केही व्यापारीलाई ठुलो आर्थिक अपचलन गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सघाएकी थिइन् । यसै परिपे्रक्ष्यमा हसिनाको सरकार ढलेपछि देशको केन्द्रीय बैंकका गभर्नर नियुक्त भएका डा. अहसन एच. मन्सुरले नियमित कामका अतिरिक्त हसिनानजिकका कुलीन वर्गले विदेश पुर्याएको अर्बौं डलर खोज्ने जिम्मेवारी पाए । 


मन्सुरको यो अनुसन्धानलाई सघाउन बंगलादेश बैंकले ११ वटा विशेष टिम बनाएको छ । टिमलाई बंगलादेशको बैंकबाट बेलायत, संयुक्त अरब इमिरेट्स, संयुक्त राज्य अमेरिका, मलेसिया र सिंगापुर पुर्याएर लुकाएको अर्बौं डलर खोज्ने जिम्मा दिइएको छ । अनुसन्धानको घेरामा अहिलेसम्म ११ शक्तिशाली कुलीन परिवार देखिएका छन् । अनुसन्धानको दायरामा रहेको रकमको परिणाम असाधारण रूपमा ठुलो छ । उदाहरणका लागि, ११ परिवारमध्ये एउटाले मात्र बंगलादेशबाट १५ अर्ब डलरबराबरको रकम विदेश पुर्याएको आशंका छ । एउटा घटनामा एउटा बैंकको कुल निक्षेपको झन्डै ९० प्रतिशत रकम झिक्दा सो बैंक झन्डै धराशयी भएको थियो । मन्सुर अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ)का पूर्वअर्थशास्त्री हुन् । पहिलो भेटमा साना कद र नरम स्वरमा बोल्ने डा. अहसान मन्सुर क्लेप्टोक्रेट (लुटतन्त्र) बाट फाइदा उठाउनेहरूको मनमा डर पैदा गर्न सक्षम व्यक्तिजस्ता लाग्दैनन् । तैपनि, पछिल्लो समय यी गभर्नरले देशका शक्तिशाली व्यक्तिलाई हल्लाएका छन् । 


मन्सुरलाई पनि आजकाल एउटा डरले सताइरहन्छ । देशबाहिर लुकाएको रकमबारे छिटै आवश्यक सूचना पत्ता लाग्न सकेन भने तीमध्ये धेरै राज्यले सधैँका लागि गुमाउन सक्छ । ‘समय अहिले हाम्रा लागि एकदम महत्वपूर्ण छ,’ मन्सुरले अल जजिरासँग भने । रकम खोजीमा पछिल्लो समय उनी स्वयं विदेश भ्रमणमा निस्किएका छन् । बेलायत उनको पहिलो गन्तव्य बनेको छ । यसै महिना लन्डन पुगेर मन्सुरले बंगलादेशबाट लुटेको अनुमानित २५ अर्ब डलर पहिचान गरी जफत गर्न ब्रिटिस विदेश मन्त्रालय र लन्डनका कानुनी फर्मसँग अन्तत्र्रिmया गरे । त्यसबाहेक उनले एनजिओ र सम्पत्ति पहिल्याउने विज्ञलाई पनि भेट गरे । तिनले मन्सुरसँग बंगलादेशको बैंकिङ प्रणालीबाट चोरिएका दसौँ अर्ब डलर पहिल्याउन सघाउने वाचा गरेका छन् । 


‘बंगालदेशबाट रकम बाहिर लगेका अधिकांश परिवारको सम्पत्ति लन्डनमा ल्याइएको छ । त्यसैले यहाँ धेरै सम्पत्ति फेला पार्छौं भन्ने लागेको छ,’ मन्सुरले भने, ‘यो भ्रमणको मुख्य उद्देश्य कम्तीमा पनि बेलायत विश्वभरबाट चोरी हुने सम्पत्ति ल्याइने प्रमुख गन्तव्य हो भन्ने जनचेतना जगाउने हो । तीमध्ये बंगलादेश पनि एउटा देश हो,’ उनी भन्छन् ।


उनको बेलायत भ्रमणअघि कैयौँ ब्रिटिस सांसदलाई मन्सुरलाई बदनाम गर्ने खालका इमेलहरू पठाइएको थियो । अभियानको पछाडि को छ भन्ने नखुले पनि त्यो भ्रमण बिथोल्ने हिसाबले चलाइएको अभियानजस्तो देखिएको एक ब्रिटिस सांसदले गार्जियनलाई बताए । मन्सुरलाई भने यो अभियान कसले चलाइरहेको थियो भन्नेमा कुनै आशंका छैन । ‘ती को हुन्, हामीलाई राम्ररी थाहा छ । हामी सबैलाई तिनको नाम थाहा छ । तिनीहरू वा तिनीहरूबाट परिचालितहरूले यो ‘कथित मिथ्या सूचना अभियान’ चलाएका हुन्,’ मन्सुरले भने, ‘तिनैले मेरो प्रतिष्ठामा प्रहार गरेर म बाहिर देखेजस्तो नभएको देखाउने अभियान चलाएका छन् ।’ 


लक्ष्यमा स्पष्ट मन्सुर


मन्सुर आफ्नो लक्ष्यमा स्पष्ट छन् । ‘सम्पत्ति पुनः प्राप्तिका लागि बंगलादेशबाट र विशेषगरी त्यहाँको बैंकिङ प्रणालीबाट ठुलो मात्रामा स्रोत अन्यत्र सारेका व्यक्तिलाई पछ्याउने काम भइरहेको छ । जुन पैसा लुटिएको छ, त्यो सर्वसाधारण जनताको पैसा हो । तिनले विश्वासमा बैंकहरूमा जम्मा गरेका पैसा कानुन मिचेर बाहिर लगिएको छ,’ मन्सुरले भने । 


ब्रिटिस सांसदहरूलाई पठाइएको इमेलमा विभिन्न ‘पत्रकार’ले लेखेको भनिएको समाचारको लिंक पनि छ । तथापि, जति पनि पत्रकारको नाम दिइएको छ, ती नक्कली साबित भएका छन् । तथापि, लिंक खोल्दा देखिने ‘समाचार’हरूले विशेषगरी मन्सुरकी छोरी मेहरिनको महँगो लुगा र विलासिताको चर्चा गरेका छन् । 
समाचारमा बंगलादेशीको सम्पत्तिको अनुसन्धान गरिरहेका मन्सुर किन आफ्नै परिवारमाथि अनुसन्धान गरिरहेका छैनन् भन्ने प्रश्न गरिएको छ । ‘उनी (छोरी मेहरिन) अमेरिकी नागरिक हुन् । उनको बंगलादेशसँग खासै सम्बन्ध छैन । अमेरिकामा बस्ने मानिसले त्यहाँको ड्रेसकोड पछ्याउनु कुन नयाँ कुरा भयो त ? मेरा सल्लाहकारले मलाई यो कुरामा बेवास्ता गर्न भन्छन् । नत्र त मैले राजीनामा दिने सोचेको थिएँ । तर, मैले राजीनामा दिएँ भने तिनको जित हुनेछ ।’


‘नैतिक अनिवार्यता’


मन्सुरको चासोमा रहेकामध्ये पूर्वभूमिमन्त्री सैफुज्जमान चौधरी पनि एक हुन् । अलजजिराको अनुसन्धान एकाइ (आई–युनिट)ले गरेको खोजमा उनले लन्डन र दुबईमा ५० करोड डलरभन्दा बढीको घरजग्गा किनेको पाइएको थियो । गत वर्ष आई–युनिटले गरेको उक्त खोजमा चौधरीको परिवारले बेलायतभर ३६० भन्दा बढी विलासी अपार्टमेन्ट किनेको पत्ता लगाएको थियो, जसमध्ये अधिकांश लन्डनमै थिए । 


बंगलादेशको भ्रष्टाचारविरोधी आयोगले अहिले चौधरीका लगभग ४० बैंक खाताहरू फ्रिज गरेको छ । उनलाई विदेश यात्रामा प्रतिबन्ध लगाएको छ । तर, केन्द्रीय बैंक चौधरीको विदेशमा रहेको सम्पत्तिसमेत फ्रिज गर्न चाहन्छ । यसले मात्र ती सम्पत्तिको सम्भावित किनबेच रोकिने बैंकको विश्वास छ । चौधरीले भने आफू अघिल्लो सरकारसँग सम्बन्धित व्यक्तिविरुद्ध वर्तमान सरकारले चलाइरहेको ‘नियोजित अभियान’को सिकार भएको दाबी गरेका छन् । उनले विदेशमा रहेका सबै सम्पत्ति वैध रूपमा कमाएको दाबी गरेका छन् । 


बंगलादेश बैंक विदेशमा रहेको सम्पत्ति फ्रिज गर्ने विषयमा केन्द्रित हुँदा मन्सुरले थप कारबाही चाहेका छन् । उनी ‘कुलीन’ परिवारलाई अर्बौं डलर विदेश सार्न सघाउने वकिल, बैंकर र सम्पत्ति एजेन्टमाथि पनि अनुसन्धान होस् भन्ने चाहन्छन् । यसमा बेलायत र अन्य देशका अधिकारीले सघाउनुपर्ने उनको सोच छ । ‘कानुनको उल्लंघन भइरहेको छ । धेरै अवस्थामा एजेन्ट वा सञ्चालक, बैंकहरू नै अपराधीलाई पुनस्र्थापना गर्न सघाइरहेका छन् । एक अवस्था मात्र होइन यो धेरै ठाउँमा देखिन्छ । मेरो विचारमा बेलायतलगायत देशका अधिकारीको यी चिजविरुद्ध कडा अडान लिनु नैतिक अनिवार्यता हुन आउँछ ।’


प्रमाणका लागि आममाफी ?
मन्सुरको अनुमानमा देशबाट बाहिर लगिएको रकम पुनः प्राप्त गर्न पाँच वर्षसम्म लाग्न सक्छ । कामको जटिल प्रकृतिका कारण प्रगति सुस्त भएको उनी स्विकार्छन् । अहिले उनले ठुला रकम स्थानान्तरण गर्नेहरूविरुद्ध सुराकी दिनेहरूको सजाय घटाउने विषयमा विचार गरिरहेका छन् । साथै, देशको बैंकिङ प्रणालीबाट हराएको पैसा बंगलादेश फिर्ता ल्याउन सघाउनेलाई कुनै प्रकारको आममाफी दिने योजनामा पनि छलफल भइरहेको उनले बताए । 


अमेरिकामा डोनाल्ड ट्रम्पको आगमनले पनि मन्सुरको कामलाई प्रभावित बनाएको छ । विभिन्न क्षेत्राधिकारमा अर्बौं डलर पहिल्याउने जटिल कार्यलाई अमेरिकाले सघाउने प्रतिबद्धता जनाएको थियो । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनरागमनपछि उनले ‘अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी)’लाई दिँदै आएको कोष रोके । यस परिवर्तनले यसै वर्ष बंगलादेशमा काम सुरु गर्ने तय भएको अमेरिकी अनुसन्धानकर्ताको टोलीको काम अब रोकिएको छ । उनीहरूलाई कामबाट हटाइएको छ । ‘उनीहरू पूर्ण क्षमताका साथ ढाकामा पुग्ने तय भइसकेको थियो । तर, रद्द भयो । हाम्रा धेरै विज्ञलाई युएसएआइडीले वित्तीय सहयोग दिएको थियो । तर, यो रोकिएको छ,’ मन्सुरले भने, ‘यो हाम्रा लागि दुर्भाग्यपूर्ण छ । तर, परिस्थिति यस्तै–यस्तै छ ।’


बैंकिङ प्रणालीमा बनाइएका ठुल्ठुला खाडल पुरेर मात्र बंगलादेशी अर्थतन्त्रलाई दीर्घकालीन रूपमा स्थिर बनाउन सकिने मन्सुरको विश्वास छ । यसै उद्देश्यका कारणले उमेरले ७० को दशकमा हिँडिरहेका मन्सुर अवकाश त्यागेर गभर्नर बन्न तयार भएका हुन् । 


(द गार्जियनमाबाट श्रवण उप्रेतीले गरेको अनुवाद)

सम्पादकको रोजाइ

सुझावित समाचार