ठूलोगाउँ । रसुवाको यो पहाडी गाउँ यही देशको नक्साभित्र पर्छ । तर, ‘राज्य’बाट तन्की–तन्की हेर्दासमेत कहीँ देखिँदैन, सायद ‘कोल्टो’ छ । गुरुङ संस्कृतिको जिउँदो संग्रहालय भने पनि हुने यस गाउँमा घाटु, मारुनी, रोधी, नाचगान, एकादशी मेला, माघे संक्रान्ति मेलाहरूले घाँस–दाउरा र खेतीपातीका दैनिक दुःख बिसाउने-भुलाउने लय दिएका छन् । गाउँको भिरालो पुछारमा केही तामाङ–घरहरू छन् । बस्तीभित्र औँलामा गन्न सकिने दलितहरूले आरनबाट गाउँले श्रमलाई चलायमान बनाइरहेकै छन् ।
यहीँको हावापानीले सञ्जय विश्वकर्मा र सन्तोषी गुरुङलाई पनि हुर्काउँदै लग्यो । एउटै गाउँ–टोल र उही स्कुलका साथी भएकाले आत्मीयता बढ्नु स्वाभाविकै थियो । सञ्जयले प्रत्यक्ष–अप्रत्यक्ष विभेद भोगिरहेकै थिए । कक्षा चढ्दै जाँदा सञ्जयहरूले सहनुपरेको विभेदले सन्तोषीको मनमा ननिको भाव ल्याउँथ्यो । एकातिर उनीहरूको आत्मीयता बिस्तारै प्रेममा बदलिँदै गयो, अर्कातिर जातीय सोपानतन्त्रबारे मसिनै स्वरमा भए पनि छलफल हुँदै गयो । एसइईपछि अध्ययनका लागि उनीहरू काठमाडौं झरे । कलेज जीवनको एकाध वर्षमा प्रेमले मूर्त आकार लियो । प्रेमको साउती एक कान, दुई कान मैदान हुँदै घर–परिवारसम्मै पुग्यो ।
उनीहरूबीच झांगिएको प्रेम घरले थाहा पाएपछि सन्तोषीलाई मानसिक दबाब बढ्न थाल्यो । विदेशमा भएकी फुपूले पढाइमा आर्थिक खर्च कटौती गर्ने चेतावनी दिन्थिन् । सन्तोषीको परिवारमा एउटै असहमति थियो, जातमाथि । लकडाउनमा गाउँ जाँदा सन्तोषीले परिवारका अनेक टोकसो सहन नसकेर सञ्जयलाई भनिन्– ‘मलाई घरमा धेरै गाह्रो भयो । अब हामी भागौँ, नत्र म मर्छु ।’
समाजमा राम्रो सन्देश जाने र आफ्नो सपना पनि सफल हुने भएकाले कुनै दिन प्रेमलाई बिहेमा बदल्नेबारे दुवैजना दृढ संकल्पित थिए । तर, यत्ति चाँडै अप्ठेरो मोड आउला भन्ने सोचेका थिएनन् । सञ्जयले सोचे– ‘आफ्नी प्रेमिकाको आत्महत्या सहनुभन्दा यो चुनौती बोकेर बिहे गर्छु ।’ उनीहरू आफ्नो गाउँबाट भागेर पारि नुवाकोटपट्टि आफन्तकहाँ गए, चैतको अन्तिम साता । जाने वेला सन्तोषीले काकाको पर्सबाट तीन हजार रुपैयाँ पनि खुुुसुक्क झिकिन् । र, आफूले चालेको कदम सही ठहर्याउने व्यहोरासहितको चिठी पनि छोडिन् ।
कतिपयलाई लाग्छ- ‘एक्काइसाैँ शताब्दीमा जातीय भेदभाव हराइसकेको छ, दलितका नाममा राजनीति गरिएको मात्रै छ ।’ तर, हाम्रो समाजमा दरोसँग जरा गाडिएको जात-व्यवस्थाको सोपानतन्त्रले सबैभन्दा पिँधमा पारेको दलित समुदायमाथि हुने दलन चीत्कारपूर्ण नै छ ।
सन्तोषीका माइती पक्षबाट सञ्जयको परिवारलाई केटा–केटी तुरुन्तै नझिकाइए घर जलाइदिनेसम्मको धम्की आयो । आवेशमा जे भनिए पनि बिस्तारै सहज हुँदै जाने अपेक्षासहित सन्तोषी–सञ्जय वैशाख पहिलो साता घर फर्किए । सञ्जयका बा छलफलका लागि सबेरै सन्तोषीका बालाई बोलाउन गए, तर ‘सल्लाह गर्दै छाैँ’ भनी माइती पक्षआएनन् ।
तर साँझमा माइती पक्षका युवक हुल बाँधेर आए । उनीहरूले केटाकेटीलाई बाहिर बोलाएर तथानाम भन्दै निर्घात पिट्न थाले । सन्तोषीलाई काकाले पन्ध्र हजार चोरीको आरोप लगाउँदै दोब्बर जरिवाना तिर्न आदेश दिए । सन्तोषीको मोबाइल नियन्त्रणमा लिए ।
रिस र रक्सी मिसिएको उत्तेजित प्रहारले सञ्जय बेहास भएपछि पटक–पटक पानी छम्केर बिउँझाइयो । सन्तोषीले पनि निरन्तर थप्पड सही नै रहिन् । यस्तैमा माइती पक्षको धम्की गुञ्जिन्छ– ‘भोलिदेखि यो गाउँमा तिमीहरूलाई देखेमा काटिन्छ र जेल गइन्छ ।’ वातावरणमा त्रासदी बढ्दै गएपछि वडाका जनप्रतिनिधिलाई कसैले खबर गर्यो। वडाध्यक्ष र सदस्यले घाइते केटाकेटीलाई स्वास्थ्यचौकी लगेर प्राथमिक उपचार गराएर वडाकै एम्बुलेन्समा राखी काठमाडौं पठाए । ऋण खोजेर भए पनि सञ्जयका बाले काठमाडौंमा उनीहरूको उपचार गरे ।
समाजका रुढिग्रस्त पर्खाल भत्काउन हिँडेको यो जोडी काठमाडांैकै डेरामा खुम्चिएर बस्न बाध्य भयो ।
०००
दौंतरीहरूले यो जोडीलाई नैतिक ढाडस दिइरहेकै छन् । तर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भइसकेका आफ्ना बा पनि भाइ–खलकलाई सम्झाउन असमर्थ भएकोमा सन्तोषीलाई दुःख छ । पढेलेखेका र देश–विदेश देखेका आफन्तहरूले पनि मोबाइलको सन्देश बाकसमा निकृष्ट जातीय गाली पठाएको सम्झिँदा उदेक लाग्छ । त्यस्तो निर्मम कुटपिट हुँदा पनि कोही कसैले रोकेनन्, यो कुराले सन्तोषीलाई उदास बनाइरहन्छ । उनलाई झन् ठूलो दुःख लाग्छ, आफ्नै शिक्षकले ‘सन्तोषीले पनि यस्तो गरी !’ भनेर दुखेसो पोखेको थाहा पाउँदा । सन्तोषीको मनमा मडारिने सवाल यही हो– ‘मैले दलितबाहेक अर्को केटासँग विवाह गरेको भए पनि मेरा शिक्षक यसरी नै दुःखी हुन्थे ?’
०००
घटनाको दुई–तीन दिनपछि विदेशबाट एक भाइले मलाई थाहा दिएको थियो । तुरुन्तै घरमा सोधखोज गरेँ । मेरै परिवारका सदस्यले पनि निकै सामान्य रूपमा लिए, घटनालाई । जिल्लाका पत्रकार मित्रलाई फोन गरेर घटनाबारे जानकारी गराउँदै स्थानीय प्रतिनिधिलाई सम्पर्क गर्न अनुरोध गरेँ ।
धेरैले सामान्य मानेको त्यो घटनाले भने मलाई दुखाइरहेकै थियो । उनीहरू उपचारपछि सुरक्षित रहेको जानकारी पाएपछि लकडाउनमा म व्यक्तिगत व्यस्ततामा अल्झिएँ ।
०००
जब रुकुम हत्याकाण्ड छापामा आयोे, तब मेरो टोलको त्यही घटना फेरि बाडुलीमा आयो । सबैभन्दा पहिले जिल्लाका पत्रकार मित्रलाई फोन गरेँ । उनले निकै सहजताका साथ भने– ‘मैले त बिर्सिएछु ।’ मुखेन्जी केही भनिनँ तर हाम्रो पत्रकारिताको चस्मा र चेतबारे आफैँलाई प्रश्न गर्नुपर्ने ठाउँमा पाएँ, आफूलाई । सोचेँ– यदि ती जिल्ला संवाददाता साथी दलित समुदायका भए यसरी नै बिर्सिन्थे ?
साथीको नाताले मैले सन्तोषीका बालाई फोन गरेर घटना र समाधानबारे जिज्ञासा राखेँ । लामो कुराकानीमा ‘भाइहरूले त्यसरी कुटपिट गर्नु गल्ती भएको’ स्वीकार गरे, उनले । मिलनबिन्दु खोज्नकै लागि उमेर नपुगेकी आफ्नी छोरीलाई भगाउँदा पनि मुद्दा दायर नगरेको दाबी गरे । र, थपे– ‘म साह्रै चेपुवामा छु । छोरीको कुरा सुनुँ, भाइ–खलकले कुलबाट बहिष्कार गर्ने । भाइ–खलकको धम्की सुनुँ, आफ्नी छोरी टाढा हुने ।’ सन्तोषी र उनको माइतीबीच फोन संवाद गराउने कोसिस गरेँ ।
०००
लकडाउनमा काठमाडौं बसाइ दिन–प्रतिदिन सकस बन्दै गएपछि गाउँबाट आएको एम्बुलेन्सलाई महँगो रकम थमाएर असारको दोस्रो साता सन्तोषी र सञ्जय गाउँ गए । उनीहरू ‘होम क्वारेन्टाइन’मा छन्, अहिले । सन्तोषीका केही साथी र दिदीबहिनी भेट्न आएका छन् । तर, उनीहरूमा डरको परकम्प आइरहन्छ । माइती पक्षले मेलापातमा भन्ने गर्छ रे– ‘हामीलाई जिस्काउन किन गाउँ फर्केका हुन् ? मारेर फालिदिन्छाैँ । बरु जेल जान्छाैँ ।’ सञ्जयको मनमा साउने तुवाँलोभन्दा बाक्लो चिन्ता मडारिइरहन्छ । उनलाई लाग्छ, ‘बाले श्रम गरेरै समाजमा इमानदारको छवि बनाएका थिए, तर हाम्रै कारणले समाजमा गाह्रो हँुदै छ ।’ मलाई हतास हुँदै उनी म्यासेज गर्छन्, ‘हिजो पनि बाका आँखामा आँसु देखेर सुसाइड गर्न मन लाग्यो । ठीकै छ, ससुरालीले मलाई स्वीकार गर्न सकेन । तर, हामीलाई स्वतन्त्र ढंगले जिउन दिए कुनै गुनासो थिएन ।’
राज्यको संयन्त्रप्रति सञ्जयहरूले विश्वास गर्ने माहोल नहुनु कानुनी राज्य असफलतातिर जानु होइन ? अन्तर्जातीय प्रेमकै कारण त्रास र भयको मानसिक÷सामाजिक क्वारेन्टाइनमा बस्न बाध्य यस्तै जोडीको कहरलाई अनदेखा गर्दै समाजका केही ‘बुज्रुक’ दाबी गर्छन्– ‘भेदभाव छैन, यो सबै डलरको खेती हो ।’ तर, सन्तोषी–सञ्जयको व्यथा बेरिएको यो लहराले हाम्रो वर्ण–व्यवस्थाको भयंकर पहरालाई दृश्यमान बनाइदिन्छ ।
०००
रुकुमको नरसंहारपछि राष्ट्रियस्तरमै दलित विषयमा विमर्श त उर्लियो तर आफूलाई समाज परिवर्तनको मसिहा ठान्ने दल र तिनका नेतृत्वले यस विषयलाई पिठ्युँ फर्काएर तर्किने र निस्तेज पार्ने उपाय रोजिरहे । धेरैले मौनताको सहज बाटोलाई सुरक्षित माने । जात–व्यवस्थाबाट संरचनात्मक लाभ पाउने धेरैले रुकुम काण्डलाई लकडाउनका वेला युवा जोसबाट आइपरेकोे दुर्घटना पुष्टि गर्न विवेकलाई तिलाञ्जली दिएर अनेकाैँ तर्क बटारिरहे । तर, जात–व्यवस्थालाई समाज रूपान्तरणको बाधक देख्ने ठूलो हिस्सा र दलित समुदायले निरन्तर खबरदारी गरेपछि राज्य संयन्त्रले अभियुक्तविरुद्ध मुद्दा दायर गर्यो । घटनालाई ‘सामान्य’ ठानेरै अधिकांशले बेमतलबी ठहर्याए । तर पत्रकार, लेखक र कलाकार र संस्कृतिकर्मीले नै जातीय हिंसालाई अपराध नदेखेपछि आजको मात्रै नभई भोलिको समाज कल्पेर अत्यास लाग्छ ।
छुवाछुतमुक्त समाज बनाउने कागजी घोषणा गरेर राज्य कुम्भकर्ण निद्रामा डुबेपछि हजाराैँ वर्ष लामो सिँढीपार गरेको सांस्कृतिक चिन्तनका कुरूप पाटो टाँसिएर आउँछ नै । अनि नवराजहरूका प्रेम, भविष्य र सपनाहरू भेरी नदीमा बगेर खेर जानुलाई अति सामान्य भवितव्य मानिदिने बोधो बुढ्यौलीहरू बढ्दै जान्छन् । कतिपयलाई लाग्छ– ‘एक्काइसौँ शताब्दीमा जातीय भेदभाव हराइसकेको छ, दलितका नाममा राजनीति गरिएको मात्रै छ ।’ तर, हाम्रो समाजमा दरोसँग जरा गाडिएको जात–व्यवस्थाको सोपानतन्त्रले सबैभन्दा पिँधमा पारेको दलित समुदायमाथि हुने दलन चीत्कारपूर्ण नै छ ।
जात–व्यवस्थालगायत अन्धविश्वासबारे कुरा उठाइए निकृष्ट धारणा ओकलिन्छ । क्वारेन्टाइनमा महिलामाथि सामूहिक बलात्कार हुँदा त्यसमा मुछिएका पात्र दलित समुदाय भएकै आधारमा सिंगो दलित आन्दोलनमाथि गालीगलोज भयो । हाडनाता करणीमा दलितको नाम जोडिएको समाचारका प्रतिक्रिया पढ्नै नसकिने थिए । त्यहाँ अपराधभन्दा जातमाथि दुर्वाच्य ओकलिएको थियो ।
केही वर्षअघि एसिड आक्रमणमा दलित युवाको संलग्नताको समाचार छापामा आएपछि समाजशास्त्रमा डिग्री गरेका एक शिक्षकले मसँग भने– ‘सानो जात, सानै बुद्धि !’ समाजमा दलन हटिसकेको जिकिर गर्नेहरूले बुझे हुन्थ्यो, तिनै शिक्षकले नयाँ पुस्तालाई जात–व्यवस्था पढाइरहेका छन् । बालमस्तिष्कलाई कखरामै ज्ञानी ‘ज्ञ’ को वर्गाकार घेरामा टुप्पी र जनैधारी पुरुषको चित्र राखेर घोकाइन्छ । त्यसपछि कानुनमा जे लेखे पनि बालकले वर्णाश्रम र लैंगिक वर्णमाला सिकिहाल्छ ।
सरस्वती पूजा गरेर स्कुलले अक्षरारम्भ गराएपछि यो ‘धर्म निरपेक्ष’ राज्यका नयाँ पुस्ताले हिन्दू व्याकरण पछ्याइहाल्छ । कक्षा चढ्दै जाँदा कवि भानुभक्तको बहानामा रामायण घुसाइन्छ । बिस्तारै हिन्दू मिथकहरू पढ्दै गर्दा ब्रह्माद्वारा सृष्टि भनिने जन्मकथा पढ्छ– ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र । अनि, बिरुवाजस्तो बालकभित्र जात–व्यवस्थाको जब्बर रूख हुर्किंदै जान्छ । खराबै भए पनि कुनै विचारलाई आन्तरिकीकरण गरिसकेपछि सबै अपराध र अन्याय सामान्य लाग्दै जाँदो हो । परिणाम–जसले यो रुढताको खम्बा भत्काउन खोज्छ, उसको साहसलाई भेरीमा बगाउन खोजिन्छ । संयोगले मात्रै बाँचेका छन्, कैयाँै नवराजहरू ।
०००
लोकतान्त्रिक र कम्युनिस्ट भनिने दल र कार्यकर्ता मेरो गाउँका टोलटोलमा छन् । उनीहरूका प्रतिनिधिलाई पटक-पटक आग्रह गरेको छु– रूपान्तरणकारी काम गर्ने यो जोडीलाई सार्वजनिक सम्मानसहित समाजमा स्थापित गर्न पहल गरौँ । तर, यस्ता घटनाको निकास खोज्नेबारे उनीहरूमा न योजना छ, न त अग्रसरता नै । उनीहरूको चुनावी घोषणापत्र अनुसार त समाज उहिल्यै समतामूलक भइसकेको हुनुपर्ने हो । तर, सञ्जय–सन्तोषीहरूको मनको संयुक्त आकाश रुँदिरहेकै छ ।
रुकुम हत्याकाण्डमा राजनीतिक या अरू कुनै प्रभावमा न्याय दूर–दूर हुँदै गयो भने दलित प्रेमी–प्रेमिकाहरूले थप प्रताडना सहनुपर्ने हुन्छ ।
‘नवराज’हरूले फेरि पनि भेरी या त्रिशूलीमा बग्नुपर्ने घडी आउन सक्छ । बौद्धिक जमातले दीर्घ मौनता बोकिरहने हो भने नदीमा मिसिएका ती रगत र चीत्कारलाई नेपाली समाजले नै बेवास्ता गरेको ठहरिनेछ । जात-व्यवस्थाले हाम्रो सत्वमा जमाएको डेराले स्थायी घर बनाउनेछ र मानवजातिको पूर्ण मुक्तिको यात्रामा अल्पविराम लाग्नेछ । मलाई थाहा छ, हाम्रो मौनताले पहिरोजस्तो यही डरलाग्दो व्यवस्थालाई ल्याप्चे लगाउँदै छ । हाम्रा शब्दहरूले आवाज खोजिरहेका छन्, सायद ।
तर दुःख यसैमा छ- सञ्जय-सन्तोषीहरू आफ्नोडर र चिन्ता मलाई पोखिरहेका छन् । र, म केही गर्न सकिरहेको छैन ।