
प्रधानमन्त्री केपी ओलीको गृहजिल्लामा उनीविरुद्ध राँके जुलुस प्रदर्शन गरिएको छ । पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका कार्यकर्ताले झापाको बिर्तामोडमा राँके जुलुस निकालेका हुन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध देशभर आन्दोलनमा उत्रिएको प्रचण्ड–माधव समूहको राष्ट्रिय युवा संघको आयोजनामा बिर्तामोडको पश्चिम स्टेन्डदेखि सुरु भएको राँके जुलुस मुक्तिचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सो क्रममा प्रहरीले राँको निभाएर मुक्तिचोकसम्म जान नदिँदा आन्दोलनकारी र प्रहरीबीच घम्साघम्सीसमेत भएको थियो ।
सो क्रममा अनेरास्ववियूकी नेतृ पूजा कँडेल घाइते भएको नेकपा झापाका सचिव मणिकुमार साङ्पाङले जानकारी दिए । जुलुसपछि भएको कोणसभामा नेकपा केन्द्रीय सदस्य भास्कर काफ्ले, प्रदेश सदस्य झलकसिंह दर्लामीलगायतले सम्बोधन गरेका थिए । उनीहरूले प्रधानमन्त्री ओलीको प्रतिगामी कदमविरुद्ध सशक्त आन्दोलनमा उत्रने चेतावनी दिए ।