
चेन्नई सुपर किंग्सविरुद्ध दुई रनको रोमाञ्चक जित निकाल्दै रोयल च्यालन्जर्स बेंगलुरु (आरसिबी) इन्डियन प्रिमियर लिग (आइपिएल)को शीर्ष स्थानमा फर्किएको छ । शनिबार चिन्नास्वामी मैदानमा चेन्नईलाई खेल जित्न अन्तिम ओभरमा १५ रन चाहिएको थियो । तर, मात्र १२ रन जोडेपछि चेन्नई पराजित भएको हो । पहिलो ब्याटिङ गरेको आरसिबीले निर्धारित ओभरमा पाँच विकेट गुमाउँदै दुई सय १४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा चेन्नईले पाँच विकेट गुमाउँदा २११ रन मात्रै बनायो ।
आइपिएलमा ११ मध्ये आठ खेलमा जित निकालेको आरसिबी १६ अंकसहित शीर्ष स्थानमा उक्लियो । यो जितले टोलीको प्लेअफ सम्भावना बलियो भएको छ । समान १४ अंक भए पनि मुम्बई इन्डियन्स दोस्रो र गुजरात टाइटन्स तेस्रो स्थानमा छन् । चेन्नई भने चार अंकसाथ पुछारमा छ । दुई टोलीबिचकोे हेड टु हेडमा चेन्नई निकै बलियो देखिए पनि आरसिबी जित निकाल्न सफल भयो । यअसघि खेलिएको ३५ खेलमा चेन्नईले २२ तथा आरसिबीले १२ खेल जितेको हो । एक खेलमा कुनै नतिजा आएको छैन ।
आयुषको ९४ रन
चेन्नईका लागि ओपनर आयुष महात्रेले सर्वाधिक ९४ रन बनाए । उनले ४८ बलमा ९ चौका र ५ छक्कासहित सर्वाधिक रन बनाएका हुन् । आइपिएलको इतिहासमा कम बलमै अर्धशतक बनाउने तेस्रो खेलाडी हुन् । उनले अर्धशतक बनाउँदा चेन्नईले १० ओभरमा २ विकेट गुमाउँदै एक सय ६ रन जोडेको थियो । रवीन्द्र जडेजाले ४५ बलमा ८ चौका र २ छक्कासहित ७७ रन बनाएका हुन् ।
जडेजा र आयुुषबिच तेस्रो विकेटका लागि शतकीय साझेदारी भयो । उनीहरूले ६४ बलमा ११४ रन बनाएका थिए । यसअघि आयुष र साइक रसिदबिच पहिलो विकेटका लागि ५१ रनको साझेदारी भएको हो । आरसिबीका लागि लुन्गी जिदीले सर्वाधिक ३ विकेट हात पारे । क्रुनाल पान्ड्या र य दायलले एक विकेट लिएका थिए ।
तीन खेलाडीको अर्धशतक
पहिलो इनिङ्समा आरसिबीले बलियो स्कोर बनाउँदा विराट कोहलीसँगै तीन खेलाडीले अर्धशतक बनाएका हुन् । कोहलीले ३३ बलमा समान पाँच छक्का र चौकासहित ६३ रन बनाए । यो सिजन कोहलीको छैटौँ अर्धशतक हो । अर्काे ओपनर ज्याकोब बेथेलले पनि ३३ बलमै ८ चौका र २ छक्कासहित ५५ रन बनाए ।
विस्फोटक वेस्ट इन्डियन रोमारियो सेफर्डले मात्र १४ बलमा ४ चौका र ६ छक्कासहित ५३ रन बनाएका हुन् । यसअघि यशस्वी जैसवालले १३ बलमा अर्धशतक बनाएका थिए । पहिलो विकेटका लागि कोहली र बेथेलले ९७ रनको साझेदारी गरेका थिए । त्यस्तै, सेफर्ड र डेभिडले पनि अविजित ५६ रनको साझेदारी गरेका हुन् । देवदत्त पादिकले १७, कप्तान रजत पटिदारले १११ तथा जितेश शर्माले जम्मा ७ रन जोडेका थिए ।