मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २९ शुक्रबार
  • Friday, 14 August, 2026
२o८३ श्रावण २९ शुक्रबार २२:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तुलसीपुर दुर्घटना अपडेट : दुई मोटरसाइकल ठोक्किँदा घाइते चौधरीको मृत्यु, दाजुभाइ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण २९ शुक्रबार २२:२५:oo

दाङको तुलसीपुरस्थित गुम्ह्राचोकनजिकै दुई मोटरसाइकल आपसमा ठोक्किँदा घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– १४, ड्वाँङपुरका ३३ वर्षीय कमलेश चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीले बताए । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको बाँकेको नेपालगन्जस्थित न्युरो हस्पिटलमा उपचारका क्रममा दिउँसो पौने ४ बजे मृत्यु भएको हो ।

दुर्घटनामा तुलसीपुर– ६ का ३० वर्षीय वसन्त बस्नेत र उनका २५ वर्षीय भाइ विवेक बस्नेत घाइते भएका छन् । प्रहरीका अनुसार सहोदर दाजुभाइ दुवैजना शिक्षक हुन् ।

घाइतेमध्ये मोटरसाइकलचालक दाजु वसन्तको तुलसीपुरस्थित सिटी हस्पिटलमा घाँटीनजिकैको हड्डीको शल्यक्रिया गरिएको छ भने पछाडि सवार भाइ विवेकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार बिहान साढे १० बजेतिर दाजुभाइ सवार लु.प्र ०२–००१ प ११४७ नम्बरको मोटरसाइकल उत्तरबाट दक्षिणतर्फ गुम्ह्राचोक जाँदै थियो । भाइलाई मुनाल गेस्ट हाउसनजिकैको शिशु कक्षामा पुर्‍याउन जाने क्रममा गुम्ह्राचोकभन्दा केही उत्तरमा विपरीत दिशाबाट आउँदै गरेको मृतक चौधरी सवार रा.३प ८८५५ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो ।

यसअघि साउन २१ गते पनि सोही सेरोफेरोमा भएको सवारी दुर्घटनामा तुलसीपुर– ११, कटाँहाकी २१ वर्षीया कल्पना केसी डाँगीको मृत्यु भएको थियो ।