
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र व्यवस्था तलमाथि हुन नदिन आफू प्रतिबद्ध रहेको बताएका छन् । असहज परिस्थितिमा संविधानले राष्ट्रपतिलाई दिएको अधिकार प्रयोग गरेर जनमतलाई ध्यान दिई दलका शीर्ष नेताहरूसँग समेत संवाद गरेर आफूले कदम चालेको उनले स्पष्ट पारे । असहज परिस्थितिमा केही तलमाथि भए पनि संविधानविपरीतका कुनै पनि काम नहुने विश्वास उनले दिलाएका छन् । नागरिक अगुवासँग बिहीबार भएको भेटमा पौडेलले जेन–जी आन्दोलनकारीसँगको वार्ताको प्रसंग स्मरण गरेका हुन् ।
‘आन्दोलनपछि स्थिति असहज बन्यो । देश, व्यवस्था र संविधानका लागि म सहिद हुन पनि तयार थिएँ । व्यवस्था र संविधान बचाउन देशको आवश्यकताअनुसार केही कदम चाल्नुपर्ने भयो । संविधानले राष्ट्रपतिलाई विशेष परिस्थितिमा दिएको अधिकार प्रयोग गरेर देशका लागि जनमतलाई हेरेर गर्नुपर्ने कुरा गरियो । अरू संविधानविपरीत गरिएको छैन । आगामी दिनमा पनि संविधानअनुसार नै अगाडि बढ्ने हो । सबैसँग संवाद गरेर जान्छु,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै नागरिक अगुवा गीता त्रिपाठीले भनिन् ।
पौडेलले संसद् विघटन गरेर अन्तरिम सरकार बनाउन नमानेको पनि बताए । ‘प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीको नियुक्ति गर्नुपर्छ भन्ने माग आन्दोलनकारीको थियो । मैले मलाई यो अधिकार छैन, म त्यो गर्न सक्दिनँ । संविधानभन्दा बाहिर जान्नँ । संविधानको रक्षाका लागि म सहिद हुन तयार छु भनेँ,’ राष्ट्रपतिको भनाइ थियो ।
संविधानअनुसार सरकारको गठन धारा ७६ अनुसार हुनुपर्ने भए पनि राष्ट्रपति पौडेलले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार धारा ६१ अनुसार गठन गरेका थिए । उनका अनुसार राष्ट्रपतिले तत्कालीन प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग संवाद गरेका थिए ।
देउवासँग भने लामो कुरा हुन नपाएको उनले बताए । देउवा जेन–जी आन्दोलनकारीको आक्रमणमा परेका थिए । ‘प्रधानमन्त्रीसँग पनि सम्पर्क गरेँ । संविधानसम्मत निकासका लागि प्रधानमन्त्रीले पनि सहयोग गर्नुभयो । देउवाजीसँग पनि सम्पर्क भयो । प्रचण्ड र माधव नेपाल यहीँ आउनुभयो,’ पौडेलले भने ।
राष्ट्रपति पौडेलले सुरक्षा निकायको भूमिकाको पनि प्रशंसा गरेका छन् । ‘सुरक्षा निकाय पनि अप्ठ्यारोमा थियो । राम्रै भूमिका निर्वाह गर्नुभयो । मसँग निरन्तर सम्पर्क र संवाद भएको थियो । मैले राजनीतिक दलसँग पनि सम्पर्क गरेँ,’ पौडेलले भने । पौडेलले अब देश चुनाव केन्द्रित हुने पनि बताएका छन् । ‘संविधानविपरीत कुनै पनि काम राष्ट्रपतिले गर्दैन । सरकार पनि त्यसविपरीत जानुहुँदैन,’ पौडेलले भनेका छन् । राष्ट्रपति पौडेलले संविधान दिवसका अवसरमा आफूले जनतासामु विषय स्पष्ट पार्ने पनि बताएका छन् ।
नागरिक अगुवाहरूले संविधान र व्यवस्था बचाउन राष्ट्रपतिले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । ‘विषम र असाधारण राजनीतिक संकटका वेला राष्ट्रपतिले यथाशक्य संविधानको रक्षा गर्दै देशलाई अराजकताको दिशातर्फ जानबाट रोकी दलहरूको समेत सहमतिमा अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्न खेल्नुभएको भूमिका सराहनीय रहेको हाम्रो निष्कर्ष छ,’ नागरिक अगुवाहरूले भनेका छन् ।
नागरिक अगुवाहरू महेशकुमार मास्के, मल्ल के सुन्दर, परशुराम तामाङ, रत्नसंसार श्रेष्ठ, कुन्दन अर्याल, जगत देउजा, टीकाराम भट्टराई, कणकमणि दीक्षित, चण्डेश्वर श्रेष्ठ, राजेन्द्र महर्जन, गीता त्रिपाठी, विन्दु शर्मा, शरद वन्त र सुशील प्याकुरेलले बिहीबार राष्ट्रपतिलाई शीतलनिवासमा भेटेका हुन् । राष्ट्रपतिबाट संविधानको पूर्ण पालना र रक्षा हुनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।