
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली जनताले गरेको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त संविधानले सबै नागरिकलाई समान अधिकार दिलाएको बताएका छन् । संविधानले लोकतान्त्रिक गणतन्त्रको स्थापना र संस्थागत गर्न महत्त्वपूर्ण योगदान पुर्याएको उनको भनाइ छ।
संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ का अवसरमा आइतबार जारी गरिएको शुभकामना सन्देशमा मुख्यमन्त्री बानियाँले ०६५ साल असोज ७ गतेको ऐतिहासिक जनआन्दोलनपछि पहिलो संविधानसभा गठन भई ०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएको स्मरण गराउँदै लोकतान्त्रिक आन्दोलनका सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।
‘संविधानले नेपालको लोकतान्त्रिक, संघीय, गणतान्त्रिक अभ्यासलाई संस्थागत गरेको छ,’ सन्देशमा भनिएको छ, ‘संविधानको मर्म र भावनाअनुसार न्याय, समानता, समावेशिता, सेवा, राष्ट्रियता, विकास र जनमुखी शासनलाई प्रभावकारी बनाउन सबै तहका सरकारलाई जिम्मेवारी निर्वाह गर्न आवश्यक छ ।’ उनले हालै सम्पन्न जेन–जी आन्दोलनले जनआवाजलाई थप स्पष्ट पारेको उल्लेख गर्दै त्यसलाई समाधान गर्न सहकार्य र सहअस्तित्वका आधारमा अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
मुख्यमन्त्री बानियाँले प्रदेशमा सुशासन र विकासलाई मुख्य प्राथमिकता बनाएको उल्लेख गर्दै संविधान दिवसलाई जनउत्तरदायी शासन, सामाजिक सदभाव र राजनीतिक स्थायित्व प्रवर्द्धन गर्ने अवसरको रूपमा लिनुपर्ने बताए । सन्देशमार्फत उनले सबै नेपालीबिच एकता, आपसी सहकार्य र साझा जिम्मेवारीको भावनासहित अघि बढ्न आह्वान गर्दै सुदृढ लोकतन्त्र र समृद्ध नेपाल निर्माणमा एकताबद्ध हुन आग्रह गरेका छन् ।