
जेन–जी आन्दोलनको क्रममा सहिद भएका सिरहाको लहान नगरपालिका– १५ ढोढना सिमलटोकी गाउँका करिब २७ वर्षीय विजय चौधरीको परिवारलाई लहान नगरपालिकाले एक लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ।
लहान नगर प्रमुख महेशप्रसाद चौधरीले बिहीबार अपरान्ह नगर सभाहल परिसरमा पत्रकार सम्मेलनमार्फत आन्दोलनमा सहिद भएका विजयको परिवारलाई तत्काल एक लाख रुपैयाँ राहत दिने निर्णय भएको बताए। नगर कार्यपालिकाको बिहीबार बिहान सम्पन्न बैठकले सहिद परिवारलाई एक लाख रुपैयाँ राहतसहित उनकी श्रीमतीलाई नगरपालिकामा योग्यताअनुसार रोजगारी र एक्ली छोरीलाई कक्षा १२ सम्म नगरपालिकाले पढाउने निर्णय भएको सुनाए।
जेन–जी आन्दोलनको नाममा गत २४ भदौको दिउँसो विभिन्न दल सम्बद्ध व्यक्ति र अराजक समूहले नगर कार्यपालिकामा तोडफोड र आगजनी गरेकाले सरसफाइ चलिरहेको बताउँदै उनले भने, ‘५ असोजदेखि कार्यालय नियमित रुपमा संचालन गर्ने गरी काम गरिरहेका छौं।’
तोडफोडमा संलग्न व्यक्तिहरुलाई सामाजिक संजाल, पत्रकारहरुले खिचेका फोटो, भिडियोका आधारमा प्रशासनले कारबाही गर्ने उल्लेख गर्दै उनले भने, ‘आन्दोलनको नाममा सात करोड रुपैयाँ बढीको क्षति भएको छ, नगरपालिका सबैको साझा भएकाले जेन–जी पुस्ताको माग र चाहनाअनुसार सबै मिलेर नगर बनाऔं।’
पछिल्लो करिब एक दशकदेखि हाउसवायरिङको काम गरेर काठमाडौंमा श्रीमती उर्मिला र चार वर्षीया छोरीसहित बस्दै आएका चौधरीको २३ भदौको अपरान्ह बानेश्वरमा प्रहरीको गोली लागेर मृत्यु भएको थियो। सिमलटोकी गाउँमा बस्दै आएका बाबु हरिप्रसाद चौधरीका कान्छो छोरा विजय घरको मियो रहेको छिमेकीहरु बताउँछन्। विजयको गोली लागेकै दिन निधन भएपनि चार दिनपछि २७ भदौको दिउँसो महाराजगंजस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर दिदी सुशीलाले पहिचान गरकी थिइन्।
विजयको पार्थिव शरीर मंगलबार अपरान्ह बुद्ध एयरको जहाजमा सप्तरीको राजविराज पुर्याई त्यहाँबाट नेपाली सेनाको हेलिकप्टरले लहान नगरपालिका– १० स्थित यातायात व्यवस्था कार्यालयदेखि पश्चिमपट्टिको चौरमा उतारेर परिवारजनलाई बुझाएको थियो। उनको पार्थिव शरीर परिवारजन, आफन्त, लहान– १५ का वडाध्यक्ष तेजनारायण चौधरीसहितले बुझेका थिए।
त्यसपछि सयौंको संख्यामा रहेका गाउँले युवाहरुले इलाका प्रशासन कार्यालय लहान हुँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय, सहिद रमेश महतो चोक, घण्टाघर, नयाँ बजार, ग्रामीण चोकसम शव यात्रा गरी ढोढना सिमलटोकी लगिएको थियो। उनको त्यही साँझ गाउँनजिकैको बानो खोला किनारमा दाहसंस्कार गरिएको छ।