मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज २ बिहीबार
  • Thursday, 18 September, 2025
२o८२ असोज २ बिहीबार १८:११:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको बैठक        

पुनर्निर्माण कोष स्थापना गर्न दलको तर्फबाट १० लाख प्रदान गर्ने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ असोज २ बिहीबार १८:११:oo

‘जेन-जी’ को प्रदर्शनका क्रममा २३ र २४ गते गरिएको तोडफोड र आगजनी कारण क्षति पुगेका संरचनाहरू पुनर्निर्माणको लागि नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले १० लाख प्रदान गर्ने भएको छ ।

दलका नेतासमेत रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बिहीबार बसेको दलको बैठकले ‘जेन-जी’को प्रदर्शनका क्रममा प्रदेशभित्रका सार्वजनिक तथा निजी क्षेत्रका भौतिक संरचना र यातायातको साधनमा ठुलो क्षति भएकाले त्यसको यकिन विवरण तत्काल तयार गरी पुनर्निर्माणको योजना अघि ल्याउन र त्यसका लागि पुनर्निर्माण कोष स्थापना गर्न गण्डकी प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गर्दै दलका तर्फबाट १० लाख प्रदान गर्ने निर्णय गरेको हो।

बैठकले ‘जेन-जी’को प्रदर्शनका क्रममा दिवंगत भएकाहरूप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना, प्रदर्शनको क्रममा भएको ज्यादती तथा ध्वंसात्मक गतिविधिहरूको निष्पक्ष न्यायिक छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न, निजी क्षेत्रमाथि भएको गम्भीर आक्रमणको भर्त्सना गर्दै, लगानीमैत्री वातावरण पुनर्स्थापित गर्न संघ, प्रदेश र स्थानीय सरकारबिच समन्वयात्मक पहल गर्न प्रदेश सरकारलाई अनुरोध गर्नेलगायतका विभिन्न आठ निर्णयहरू गरेको दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए।
यस्ता छन् बैठकले गरेका निर्णयहरूः                                                                                                              

१) भदौ २३ गते जेन-जी युवाद्वारा आह्वान गरिएको आन्दोलनका क्रममा सहादत प्राप्त गरेका होनहार युवाहरू, सुरक्षाकर्मीहरू तथा दिवंगत भएका सम्पूर्ण नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।

 २) भदौ २३ र २४ गते भएका ज्यादती तथा ध्वंसात्मक गतिविधिहरूको निष्पक्ष न्यायिक छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गर्दछौँ।

 ३) जेन-जी पुस्ताले आन्दोलनका क्रममा उठाएका मुद्दाहरू—सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाउनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, सुशासनको प्रत्याभूति गर्नुपर्नेबारे हामी प्रतिबद्ध छौँ। यस सन्दर्भमा नेपाली कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारले मितव्ययिता कायम गर्न चालू खर्च घटाउने, दरबन्दी कटौती गर्ने, कार्यालय समायोजन गर्नेजस्ता सुशासनमैत्री कार्यहरूको प्रशंसा गर्दै, अझ जनमैत्री र उत्तरदायी ढंगले अघि बढ्न आग्रह गर्दछौँ।

४) नेपाली जनताले लामो संघर्षपछि निर्माण गरेको नेपालको संविधानकै मार्गबाट मुलुकको समुन्नति र नयाँ पुस्ताको चाहना पूरा हुन सक्ने भएकाले संविधानको रक्षा तथा सुदृढीकरण गर्नु हामी सबैको कर्तव्य हो। यसै सन्दर्भमा संविधानको मर्म र भावनाअनुरूप विषम परिस्थितिमा निर्वाह गरेका अभिभावकत्वप्रति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूलाई नेपाली कांग्रेस संसदीय दल हार्दिक आभार व्यक्त गर्दछौँ।  

५) मुलुकमा रोजगारी सिर्जना र राजस्व उत्पादनमार्फत अर्थतन्त्रलाई गतिशील बनाउन योगदान दिइरहेको निजी क्षेत्रमाथि भएको गम्भीर आक्रमणको भर्त्सना गर्दै, लगानीमैत्री वातावरण पुनर्स्थापित गर्न संघ, प्रदेश र स्थानीय सरकारबिच समन्वयात्मक पहल गर्न प्रदेश सरकारलाई अनुरोध गर्दछौँ।

६) आन्दोलनका क्रममा नेपाली कांग्रेसका श्रद्धेय सभापति शेरबहादुर देउवासहित राजनीतिक दलका नेताहरूलगायत आमनागरिकमाथि भएको आक्रमणको घोर भर्त्सना गर्दै उहाँहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।

७) आन्दोलनका क्रममा गण्डकी प्रदेशभित्र सार्वजनिक तथा निजी क्षेत्रका भौतिक संरचना र यातायातको साधनमा ठुलो क्षति भएको हुँदा त्यसको यकिन विवरण तत्काल तयार गरी पुनर्निर्माणको योजना अघि ल्याउन प्रदेश सरकारलाई आग्रह गर्दछौँ। जनतालाई अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालयहरूको शीघ्र पुनर्निर्माणका लागि सामूहिक प्रयास आवश्यक भएकाले पुनर्निर्माण कोष स्थापना गर्न गण्डकी प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ। सो कोषमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको तर्फबाट दश लाख प्रदान गर्ने निर्णय गरिएको छ।  

८) यस विषम परिस्थितिमा सम्पूर्ण राजनीतिक दलहरू, नागरिक समाज, युवापुस्तालगायत सबैमा धैर्य रही संवैधानिक तथा लोकतान्त्रिक मूल्य मान्यताअनुसार थप एकताबद्ध हुन सबैमा अपिल गर्दछौँ।