
दिप्रुङ चुइचुम्मा गाउँपालिका–४, बतासेकी २६ वर्षीया रेस्मिका सिवा परियारको बलात्कारपछि हत्या गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । गत भदौ– ३० गते मृत फेला परेकी रेस्मिकाको बलात्कारपछि हत्या गरेको आरोपमा सोही गाउँपालिकाका अन्दाजी १६–१७ वर्षीय एक किशोर पक्राउ परेका हुन् ।
स्थानीय अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत रेस्मिकालाई कार्यालयस्थल पञ्चमी बजारबाट घर फर्कने क्रममा मार्से सामुदायिक वनमा लगेर बलात्कारपछि हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिएका छन्। 'पक्राउ परेका किशोरले घटनाबारे स्वीकार गरिसकेका छन्। उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत खोटाङबाट चार दिनको म्याद थप गरिएको छ,' उनले भने, 'पक्राउ परेका किशोरले आफू नाबालक रहेको बताएका छन्। उमेर प्रमाणित गर्न जन्मदर्ताको प्रमाणपत्र मगाएका छौँ।'
बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका किशोरको जन्मदर्तासमेत नरहेको र उनले अहिलेसम्म कुनै पनि विद्यालयमा अध्ययन नगरेको खुलेको सहकारी संस्थाका अध्यक्ष सागर तामाङले जानकारी दिएका छन्। 'स्थानीयले दिएको जानकारीअनुसार आरोपित किशोर १७–१८ वर्षका हुन् भन्ने छ। तर, उसको उमेर प्रमाणित गर्ने कुनै प्रमाण भेटिएको छैन,' उनले भने, 'गाउँमा बुझ्दा उनी त्यसै बरालिएर हिँड्ने व्यक्ति भन्ने बुझिएको छ। जे भए पनि उनीमाथि लागेको आरोप प्रमाणित भएको खण्डमा कडाभन्दा कडा कानुनी कारबाही हुनुपर्छ।'
एक छोरीकी आमा रेस्मिका भदौ–३० गते बेलुकी अबेरसम्म कार्यालयबाट घर नफर्किएपछि खोजी गर्ने क्रममा सोही राति करिब नौ बजे बतासेको ह्याकुले र रमितेडाँडाको बिचमा पर्ने मार्से सामुदायिक वनमा मृत फेला परेकी थिइन्। जागिरका लागि काममा गएकी एक छोरीकी आमा रेस्मिकाको बलात्कारपछि हत्या भएको भन्दै आफन्त तथा स्थानीयले कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरेका छन्।
सडकदेखि करिब १५० मिटर तल रेस्मिकाको शव रहेको स्थानसम्म घिसारिएको र झाडी मडारिएको देखिएको स्थानीयले बताएका छन्। शव रहेको ठाउँभन्दा केही तल रेस्मिकाले बोक्ने झोला र अन्डरवेयर (प्यान्टी) भेटिएको प्रहरीले जनाएको छ।
अन्डरवेयर पाखामा भेटिए पनि शव भने लुगा लगाएको अवस्था देखिएको घटनास्थलमा पुगेका प्रत्यक्षदर्शीहरूले बताएका छन्। रातामाटाबाट जंगलतर्फ जाने वेला रेश्मिकाको पारपानीका आफन्तसँग भेट भएको खुलेको छ। त्यो भेटमा रेस्मिका ‘डराएको हाउभाउ’मा देखा परेको जनाइएको छ ।
मृतक रेस्मिकाको शव तीन दिनपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर परीक्षण गरेपछि दाहसंस्कारका लागि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। सामुदायिक वनमा शंकास्पद अवस्थामा मृत फेला परेकी रेस्मिकाको श्रीमान् र एक छोरी छन्।