मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 18 September, 2025
Invalid date format १३:५९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सल्यानका ग्रामीण सडकहरू कालोपत्रे 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:५९:oo

सल्यानमा  पाँच वर्षको अन्तरालमा ५३ किलोमिटर सडक कालोपत्रे भएको छ । कर्णाली प्रदेशमार्फत जिल्लाका मुख्य र ग्रामीण सडकहरू कालोपत्रे भएपछि सवारी आवागमन छिटोछरितो भएको छ । 

कर्णाली प्रदेशको राजधानी जोड्ने खलंगा–बालुवासाग्रही सडकको ट्रयाक तीन दशकअघि नै खुलेको हो । तर, कालोपत्रे भने ०७७ सालबाट मात्रै सुरु गरियो । दशकौंसम्म प्राथमिकतामा नपरेको यो सडक, प्रदेश सरकार बनेपछि राजधानी सुर्खेत जोड्ने लाइफलाइन बनेको छ । दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम सुरु गरिए पनि निर्माण व्यवसायीको ढिलासुस्तीले कामले अपेक्षित गति लिन सकेन ।

लामो प्रतीक्षापछि सडक कालोपत्रे पूरा भएपछि सवारी आवागमन सहज भएको बनगाड कुपिण्डे नगरपालिकाका गोविन्द कुँवर बताए। उनले सल्यानको प्रमुख पर्यटकीय स्थल कुपिण्डे ताल जाने पनि यही सडक प्रयोग हुने हुँदा सडक कालोपत्रे भएसँगै तालसम्म पुग्ने पर्यटकलाई समेत सहज भएको बताए।  

थारमारे बडागाउँ हुँदै रूकुम पश्चिमको चौरजहारी जोड्ने सडक पनि कालोपत्रे भएपछि स्थानीय खुसी भएका छन् । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्य हुने उक्त सडक पिच भएसँगै यात्रुहरूले विगतको सास्तीबाट मुक्ति पाएका छन् ।  थारमारेदेखि बडागाउँसम्म १८ किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने बाँकीमा काम जारी छ ।

लामो समयदेखि अधुरो रहेका अन्य ग्रामीण सडक पनि कालोपत्रे भएपछि राहत मिलेको कुमाख गाउँपालिका– ६ का पुर्णबहादुर खत्रीको भनाइ छ । उनले सडक पिच भएसँगै गाउँघरमा उत्पादन भएको कृषिजन्य वस्तु बजारसम्म पुर्‍याउन सजिलो भएको बताए । 

त्यस्तै, लुहाम–काभ्रा–कालीकाटी १६ किलोमिटर सडक कालोपत्रे भएको छ ।  जिल्लाका लाइफलाइनका रूपमा रहेका अन्य छायाछेत्र शत्तिपीठ सडक, छात्राक्षेत्र लैसे सडकलगायतका सडकहरू कालोपत्रे भएका छन् । 

ग्रामीण सडकको स्तरोन्नतिले जनजीवन सहज बनाइरहँदा अपेक्षाअनुसार कामको गति भने लिन सकेको देखिँदैन । गत आर्थिक वर्ष ०८१/८२ मा २० किलोमिटर कालोपत्रे गर्ने लक्ष्य राखिएकोमा १५ किलोमिटर कालोपत्रे भएको पूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख इन्जिनियर नवीन थापाले बताए ।