
आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेर ध्वस्त पारिएको ललितपुरको गोदावरी बसपार्कको प्रहरी चौकी वडाध्यक्ष र स्थानीयको सहयोगमा पुनर्निर्माण भएको छ। भत्किएको, जलेको र तोडफोडबाट पूर्ण क्षति भएको प्रहरी चौकी सबै मिलेर ठड्याइएको गोदावरी नगरपालिका– ३ का वडाध्यक्ष सानुराजा घिमिरे (राज) ले जानकारी दिए ।
उनका अनुसार छिटोभन्दा छिटो चौकी पुरानै अवस्थामा पुर्याएर उच्च मनोबलका साथ प्रहरीलाई चौकीमा भित्र्याइएको हो । ‘प्रहरी हाम्रो साथी हो, प्रहरीविना कोही सुरक्षित रहन सक्दैन, वडा कार्यालय र स्थानीयवासी मिलेर प्रहरी चौकी दुई दिनमै तयार गर्याैँ,’ वडाध्यक्ष घिमिरेले भने, ‘मेरो लक्ष्य र उद्देश्यअनुरूप सम्पूर्णको उपस्थितिमा बुधबार स-सम्मान अनि सुविधासम्पन्नका साथ प्रहरीहरूलाई प्रहरी चौकीमा भव्य रुपमा भित्र्याउन पाउँदा खुसी लागेको छ, पर्यटकीय क्षेत्र गोदावरीको सुरक्षा संवेदनशीलतालाई ध्यान राखेर चौकी छिटोभन्दा छिटो तयार गरेका हौँ, अहिले प्रहरीको मनोबल उच्च बनाउन टोल–समाजले सहयोग गर्नुको विकल्प छैन, टोल–समाज मिलेपछि एउटा प्रहरी चौकी तयार गर्न कठिन नहुने रहेछ ।’