Skip This
बुकिङ रद्द गर्दै पर्यटक, रामेछापका होटेल सञ्चालक चिन्तित
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज १ बुधबार
  • Wednesday, 17 September, 2025
दीपक भट्ट रामेछाप
२o८२ असोज १ बुधबार १६:o९:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

बुकिङ रद्द गर्दै पर्यटक, रामेछापका होटेल सञ्चालक चिन्तित

Read Time : > 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८२ असोज १ बुधबार १६:o९:oo

रामेछापको विमानस्थलबाट सोलुको सगरमाथा आधार शिविरतर्फ जाने पर्यटकहरूले मन्थलीमा बुक गरेका होटेल तथा होमस्टे धमाधम रद्द गर्न थालेका छन्।

शरद ऋतुका लागि २५ सेप्टेम्बरदेखि रामेछापको विमानस्थलबाट सोलुको लुक्ला विमानस्थलमा उडान भर्ने तालिका नागरिक उड्डयन प्राधिकरणले निकालेको छ। तर,  जेन–जी आन्दोलनपछि रामेछाप आउने पर्यटकले विमान टिकट र होटेलको बुकिङ रद्द गर्न थालेका व्यवसायीहरू बताउँछन्।

यो समय सगरमाथा घुम्नका लागि धेरै उपयुक्त मानिन्छ। सगरमाथा आधार शिविर जाने विदेशी पर्यटकहरूले केही महिना अघिदेखि नै हवाई टिकट र वासका लागि होटेलहरू बुक गरेका थिए। अहिलेको मौसममा हिमालको दृश्यावलोकन अत्यन्त मनमोहक हुने भएकाले पनि विदेशी पर्यटकहरूको रोजाइ असोज र कात्तिक महिना हुने गरेको छ।

केही दिनअघिको जेन–जी आन्दोलनपछि बुक  भइसकेका होटेल र हवाई टिकट रद्द गर्न थालेको एल्लो जिएस मन्थलीका सञ्चालक गणेश थपलियाले बताए। उनले भने, ‘नेपालमा भएको हिंसात्मक घटनाका कारण विदेशी पाहुनाले बुक गरेको होटेलका रुमहरू रद्द गर्ने क्रम बढ्दो छ। दैनिकजसो विदेशी पर्यटकहरू र ट्राभल एजेन्सीका प्रतिनिधिहरूले टेलिफोन गर्दै कोठा रद्द गर्दै आएका छन्।’ आन्दोलनका कारण होटेल सञ्चालकहरू थप मारमा परेको घरभाडा तिर्नसमेत धौधौ भएको थपलियाले बताए।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरणमा पालो पर्खनुपर्ने अवस्था हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई वर्ष अघिदेखि निजी कम्पनीका हवाईजहाजका लागि मन्थली विमानस्थल सञ्चालनमा ल्याएको थियो। पर्यटकहरूलाई विभिन्न ट्राभल एजेन्सीहरूले स्थलमार्ग (बिपी राजमार्ग) हुँदै रामेछापसम्म ल्याउने र रामेछाप विमास्थलबाट हवाईजहाजमार्फत सोलुको लुक्ला लैजाने गर्छन्।

रामेछाप विमानस्थलबाट एक सिजनमा करिब १० हजारको हाराहारीमा पर्यटकहरू लुक्ला जाने गर्छन्। तर, अहिले लुक्ला जाने पर्यटकहरूमध्ये १० प्रतिशत पर्यटकले हवाई टिकट रद्द गरेको तारा एयर रामेछापका स्टेसन म्यानेजर प्रवीण सुवेदीले बताए। टिकट रद्द गर्नेमा बढीजसो भारतीय पर्यटकहरू रहेका उनको भनाइ छ।

रामेछाप विमानस्थलबाट सोलुका लागि निजी कम्पनीका तारा, समिट र सीता एयरलाइन्सले विदेशी पर्यटकरूलाई सेवा पुर्‍याउँदै आएका छन्। पर्यटक सिजनमा मात्रै सञ्चालनमा आउने रामेछाप विमानस्थलबाट अन्य समयमा भने कुनै पनि उडान हुने गरेको छैन।