
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) घोषित समयमै हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी १ देखि २७ मंसिरमै एनपिएल गर्ने जनाएको छ । गत साता जेन–जीको आन्दोलनका कारण देशमा चलिरहेका तथा घोषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित भएका छन् । यसै परिपे्रक्ष्यमा देशमा हुने सर्वाधिक महँगो खेलकुद फ्रेन्चाइज हुने वा नहुने अन्योल बढेको थियो । तर, क्यानले प्रतियोगिता नरोकिने जनाएको छ ।
एनपिएलको आयोजक क्यानले भने एनपिएल नरोकिने र समयमै हुने प्रवक्ता छुम्बी लामाले बताएका छन् । ‘हामी एनपिएल १ मंसिरमै गछौँ,’ लामाले भने । एनपिएलमा सहभागी आठवटै फ्रेन्चाइज टोलीका पदाधिकारीसँगको छलफलपछि नै प्रतियोगिता निर्धारित घोषित समयमै गर्ने सहमति गरेको उनले बताए । ‘एनपिएलको विषयमा हामीले फ्रेन्चाइजका पदाधिकारीसँग छलफल गर्यौँ । उहाँहरू आयोजना गर्ने पक्षमा सहमति हुनुभयो,’ लामाले भने । दोस्रो एनपिएल तोकिएको समयमै क्यानले आयोजना गर्ने भनिए पनि सुरक्षा व्यवस्थामा चुनौती आउन सक्छ ।
सुरक्षा व्यवस्थाको सम्बन्धमा क्यानले सम्बन्धित निकायसँग छलफल गर्ने उनले बताए । ‘एनपिएलका आठ टोलीबिचको छलफलपछि क्यानले सुरक्षा व्यवस्थालगायत परिस्थितिअनुसारै अघि बढ्ने योजना बनाएको छ,’ लामाले भने । एनपिएलमा साबिक विजेता जनकपुर बोल्ट्ससहित विराटनगर किंग्स, काठमाडौं गोर्खाज, चितवन टाइगर्स, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्नेछन् ।
क्यानले दोस्रो संस्करणको एनपिएल कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गर्नेछ । यद्यपि, अहिले क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरका रूपमा निर्माण कार्य भइरहेको छ । केही समयअघि क्यानका सचिव पारस खड्काले एनपिएल फ्लडलाइटमै आयोजना गर्ने लक्ष्य राखेको बताएका थिए । ‘सम्भवत: हामी यसपटकको एनपिएल डे लाइटमै आयोजना गर्ने तयारीमा छौँ,’ उनले भनेका थिए ।
अक्सनबाट २६ खेलाडी अनुबन्ध
आयोजक क्यानले एनपिएलको तयारीको क्रममा खेलाडीको अक्सन सम्पन्न गरिसकेको छ । गत २४ साउनमा काठमाडौंमा भएको अक्सनमा आठ टोलीले ३७ जना खेलाडीमाथि बोली लगाइएको थियो । अक्सनमा भने २६ जना खेलाडी बिक्री भए । मिनी अक्सनमा चितवन राइनोज महँगो टोली बनेको थियो । पोखरा एभेन्जर्स सबैभन्दा कम खर्च गर्ने फ्रेन्चाइज टोली बनेको थियो । अक्सनमा मोहमद आदिल अन्सारीमाथि सबै फ्रेन्चाइज टोलीले भित्र्याउने कसरत गरेका थिए । क्यानको प्रतिबन्धको फुकुवापछि उनले घरेलु क्रिकेटमा फर्किएको महिनामै आफूलाई एनपिएलको अक्सनमा राखे । ‘ए’ क्याटेगोरीमा रहेका अन्सारीको उच्चतम मूल्य १५ लाख थियो । गोलाप्रथामा काठमाडौंले उनलाई भित्र्याउन सफल भयो । अन्सनमा देव खनाल, अर्जुन साउद, पवन सर्राफ र सागर ढकाल सर्वाधिक १५ लाख रुपैयाँमा बिक्री भएका थिए ।
विदेशी खेलाडी भित्र्याउन मात्र बाँकी
क्यानले एनपिएलको मिनी अक्सनपछि अब विदेशी खेलाडी भित्र्याउने प्रक्रिया अगाडि बढाइसकेको छ । गत संस्करणको उपविजेता सुदूरपश्चिम विदेशी खेलाडी भित्र्याउने पहिलो फ्रेन्चाइज टोली हो । सुदूरपश्चिमले अस्ट्रेलियाका क्रिसलिनलाई भित्र्याएको हो । अस्ट्रेलियामा आयोजना हुने बिग वास लिगकै अनुभवी खेलाडी लिनको आगमनले सुदूरपश्चिमको कर्णालीको अल्राउन्ड पक्ष बलियो देखिएको छ । गत वर्ष भएको एनपिएलमा कर्णालीले भारतकै चर्चित क्रिकेटर शिखर धवनलाई भित्र्याएको थियो ।
शिखरले पूरै एनपिएलमा सहभागिता जनाएनन् । न्युजिल्यान्डका मार्टिन गुप्तिललाई विराटनगरले अनुबन्ध गरेको थियो । यसपटकको एनपिएलमा विश्व क्रिकेटमै नाम कमाएका विदेशी क्रिकेटरको आगमन हुने क्यानले जनाएको छ । यसैगरी, काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वमुख्य प्रशिक्षक मोन्टी देसाईलाई प्रशिक्षणको जिम्मेवारी दिएको छ । देसाई पहिलोपटक नेपालको फ्रेन्चाइज लिगका प्रशिक्षक बनेका हुन् । देसाईलाई वसन्त शाहीले सहयोग गर्ने छन् । काठमाडौंले शाहीलाई पनि प्रशिक्षक नियुक्त गरेको छ ।
यसैगरी, चितवनले कलाम अलीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ । पहिलो संस्करणमा चितवनको मुख्य प्रशिक्षकमा उमेश पटवाल र अली सहायक प्रशिक्षक थिए । अली अहिले बागमती प्रदेश क्रिकेट टोलीको प्रशिक्षकका रूपमा कार्यरत छन् ।
प्यारापिटको निर्माण पूरा
त्रिवि क्रिकेट मैदानको फ्लडलाइटको निर्माण कार्य प्रभावित भए पनि प्यारापिट जडान काम पूरा भएको छ । बिटिओआई–केसिडिसी–पिजी कन्स्ट्रक्सन्सले मैदान निर्माणको संयुक्त रूपमा ठेक्का पाएका हुन् । पूर्वीय र पश्चिम गरी तीन ब्लकमा विभाजित प्यारापिटमा १० हजार सिट जडान भइसकेका छन् । ‘हामीले प्यारापिटको काम भदौको दोस्रो हप्तातिर सम्पन्न गरेका थियौँ,’ कम्पनीले जनाएको छ, ‘क्रिकेट मैदानमा जोड्नुपर्ने लगभग सबै सिट जडान भइसकेको छ । प्यारापिटको काम शतप्रतिशत सम्पन्न भयो ।’ फ्लडलाइट निर्माणको जिम्मा विसान ईश्वरी जेभीले पाएको हो ।
यसैगरी, मैदानमा फ्लडलाइटका पोल जडान कार्य भइरहेका छन् । ठेकेदार कम्पनी विसान ईश्वरी जेभीका अनुसार मैदानमा ६ फ्लडलाइट जडान गरिनेछ । फ्लडलाइटका निम्ति भारतबाट वीरगन्ज नाका हुँदै सामान मैदानसम्म ल्याइने हो । अहिले आन्दोलनका कारण हाल यो नाका बन्द छ ।
वीरगन्ज भन्सार कार्यालयमा फ्लडलाइटको हेडफ्रेम र लाइट अड्किएको कम्पनीले जनाएको छ । ‘आन्दोलनले गर्दा भन्सार बन्द भएसँगै फ्लडलाइटका सामान त्यहीँ अड्किएको छ । आन्दोलनले गर्दा भारतीय नाकाबाट नेपाल आउँदा–आउँदै रोकियो,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ, विसानले दसैँअघि सबै फ्लडलाइट निर्माण सम्पन्न गर्न लागेको छ ।