
धनकुटामा गत आर्थिक वर्षमा तरकारी उत्पादन बढेको छ। आर्थिक वर्ष ०८०/८१ को तुलनामा गत आर्थिक वर्ष ०८१/८२ मा तरकारीको उत्पादनमा वृद्धि भएको हो।
पछिल्लो समय धनकुटामा व्यावसायिक कृषिखेती गर्ने कृषकहरूको संख्या बढेसँगै तरकारी उत्पादनमा पनि वृद्धि भएको हो। धनकुटामा गत आर्थिक वर्षमा एक लाख ६४ हजार २१८ मेट्रिक टन तरकारी उत्पादन भएको छ। त्यसअघि आर्थिक वर्ष ०८१/८२ मा एक लाख ३७ हजार ४४८ मेट्रिक टन तरकारी उत्पादन भएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ।
मौसमी तथा बेमौसमी तरकारी उत्पादनमा धनकुटा कोशी प्रदेशका पहाडी जिल्लामध्ये अगाडि छ। कोशी पहाडी जिल्लाहरू तेह्रथुम, भोजपुर र संखुवासभाको तुलनामा धनकुटा तरकारी उत्पादनको हिसाबले अगाडि रहेको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नरेन्द्र रानाले बताए।
धनकुटामा व्यावसायिक रूपमा बन्दाकोबी, काउली, गोलभेँडा, मुला, रायो साग, फुलकोबी, आलु, केराउ, गाँजरलगायतका तरकारी उत्पादन हुने गर्छ। यहाँ उत्पादन भएका तरकारीमध्ये ९० प्रतिशत जिल्लाबाहिर निर्यात हुने गर्छ। धनकुटामा उत्पादित तरकारी धरान, इटहरी, विराटनगर, दमक, बिर्तामोडसहित छिमेकी देश भारत, बंगलादेश, भुटानसम्म निर्यात हुने गरेको छ।
धनकुटामा गत आर्थिक वर्षमा बन्दाकोबी ३९ हजार ९८७ मेट्रिक टन, फुलकोबी ११ हजार ७२७ मेट्रिक टन, मुला १० हजार १३८ मेट्रिक टन, गाँजर ३ हजार ६५ मेट्रिक टन, मटरकोसा ३३३ मेट्रिक टन, गोलभेँडा ५६ हजार ४२९ मेट्रिक टन, आलु ४१ हजार १३९ मेट्रिक टन र अकबरे खुर्सानी आठ सय मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ।
जिल्लाको छथरजोरपाटी गाउँपालिका, महालक्ष्मी नगरपालिका, धनकुटा नगरपालिका र पाख्रीवास नगरपालिकामा बढी मात्रामा तरकारी उत्पादन हुन्छ।