
जेन–जीको प्रर्दशनको कारण रोकिएको दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगको बाँकी खेलका लागि नयाँ मिति घोषणा गरिने भएको छ । इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्ड हलमा २० भदौदेखि सुरु प्रतियोगिता २४ भदौबाट रोकिएको थियो ।
आयोजकका तर्फबाट लिगकी प्रमुख कार्यकारी अधिकृत स्नेभी चापागाइँले आईतबार विज्ञप्ति जारी गर्दै लिगका बाँकी खेल सञ्चालनका लागि नयाँ मिति तोकिने जानकारी दिएकी हुन् ।
२८ भदौसम्म सञ्चालन हुनेगरी आयोजना गरिएको लिग जेन–जीको प्रर्दशनका कारण रोकिन पुगेको थियो । लिगका १६ मध्ये नौ खेल सम्पन्न भइसकेको र बाँकी सात खेल बाँकी रहेकाले अंक तालिका हेरेर नयाँ मिति तय गरेर आगामी दिनमा निरन्तरता दिइने चापागाईले जानकारी दिइन । बाँकी खेलहरू पुनः सुरु गर्ने मिति नेपाल भलिबल संघ, प्रतिस्पर्धी ६ फ्रेन्चाइजी टिम र प्रायोजकसँग मिलेर तय गरिने विज्ञप्तिमा उल्लेख छ । नयाँ मिति तय गर्दा सुरक्षा र उपयुक्ततालाई प्राथमिकता दिइने भएको छ ।
६ फ्रेन्चाइज टोलीमा तीन तीन जनाका दरले १८ जना विदेशी खेलाडीहरू आवद्ध भएका थिए । विदेशबाट लिग खेल्न आएका खेलाडीमध्ये सबैभन्दा धेरै थाइल्याण्डका पाँचजना छन् । लिगमा नेदरल्याण्डका तीन, ब्राजिल र रुसबाट समान दुई–दुई जना आउदा क्रोएसिया, अमेरिका, बुल्गेरिया, कीर्गिस्तान, रोमानिया र ग्रीसका एक एकजना खेलाडी पोखरा आएका थिए । सहभागी सबै स्वदेशी र विदेशी खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई हाल सुरक्षित रुपमा घर पठाइएको विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ अंक तालिकामा स्थान
लिगमा सहभागी ६ टोलीले समान पाँचपाँच खेल खेल्ने तालिका रहेकोमा चार दिनको खेल सकिदा प्रतिस्पर्धी सबै टोलीले समान तीन तीन खेल मात्र खेलेका छन् । लिग चरणका खेलपछि अंक तालिकामा पहिलो र दोस्रो स्थानमा रहेका टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
समान तीन तीन खेल सकिदा अपराजित रहेको पहिलो संस्करणको उपविजेता ललितपुर क्विन्स र गत वर्षको उपाधि विजेता कर्णाली यशविस समान नौ अंक रहेको छ । दुई टोलीको समान नौ अंक भए पनि सेटको आधारमा हाल ललितपुर तालिकाको शीर्ष स्थानमा रहेको छ ।
अन्य चार टोलीमध्ये मधेस युनाइेटेड, काठमाडौँ स्पाइकर्स र लुम्बिनी लाभाले समान तीन खेलमा दुईमा हार र एकमा जित हात पार्दै अंक तलिकामा समान तीन अंकका साथ मधेश तेस्रो र काठमाण्डौ चौथो स्थानमा रहेका छन् । यसैगरी दुई अंकका साथ लुम्बिनी पाचाैँ स्थानमा रहँदा तीन खेलमै पराजित भएको घरेलु टोली पोखरा निन्जाज शून्य अंकका साथ पुछारमा रहेको छ ।
समान तीन तीन खेल सकिदा अंक तालिकाको पाचाँै स्थानमा रहेको लुम्बिनी र पुछारमा रहेको पोखराको दुई खेल बाँकी रहदा फाइनलमा स्थान बनाउने बाटो बन्द भै सकेको छ ।